काठमाडौं । उद्योग दर्ता सम्बन्धी सेवा एकै स्थानबाट दिने एकल बिन्दु सेवा केन्द्र बुधबारदेखि सञ्चालन हुने भएको छ । २०४९ साल देखी चर्चामा रहेको एकल बिन्दु सेवा केन्द्र लगानीलाई प्रवर्द्धन तथा कानूनी प्रक्रिया सहजीकरणका लागि स्थापना भई सञ्चालन हुन लागेको हो ।उद्योग विभाग अन्तरगत रहने सो केन्द्रको उद्योग मन्त्री मातृका यादवले एक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्योग विभागका महानिर्देशक केन्द्रका कार्यकारी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागको महानिर्देशकलाई कार्यकारी प्रमुखका रुपमा रहने व्यवस्था गरेको छ ।
निर्देशक जीवनराज सेढाईले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग परिसरमा निर्माण भइरहेको एकद्वार प्रणाली केन्द्रमा ८ वटा इकाईहरु रहने बताए । उनले भने–भन्सार तथा राजश्व इकाईमा ३ जना, पूर्वाधार ( उर्जा तथा सञ्चार समेत) मा ४ जना, जग्गा सहजीकरण इकाईमा ३ जना, भिसा सहजीकरण इकाईमा २ जना, उद्योग दर्ता इकाईमा ६ जना, वातावरण इकाईमा ५ जना, विदेशी विनिमय सहजीकरण इकाईमा १ जना र प्रशासन तथा कानून इकाई १६ जना गरी ४१ जनाको दरबन्दी रहेको छ ।
विदेशी लगानी भएका र लगानी गर्न चाहने स्वदेशी लगानीकर्ताहरुलाई सहजीकरण तथा समन्वयन गर्न उद्योग विभाग परिशर त्रिपुरेश्वरमा भवन निर्माण गरिएको छ । केन्द्रको भवन पूर्ण रुपमा निर्माण सम्पन्न हुन बाँकी रहेपनि भुईतलामा कार्यालय सञ्चालन शुरु हुने निर्देशक सेढाइले बताए । एकद्वार प्रणालीको खाका मन्त्रिपरिषदबाट पारित भई त्यो राजपत्रमा प्रकाशित भइसकेको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए ।

उद्योग दर्ता गर्नका लागि लगानीकर्ताले धेरै ठाउँमा जानु पर्दा लगानीकर्ता निरुत्साहित हुने गरेका थिए । लगानी गर्न इच्छुकहरुलाई उत्साहित गराउनका लागि एकद्वार प्रणालीको परिकल्पना गरिएको हो । उद्योगी तथा व्यवसायीले लामो समयदेखि माग गर्दै आएको एकल सेवा बिन्दुको प्रावधान नयाँ औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा पनि समेटिएको छ ।
एकल बिन्दु सेवा केन्द्रले लगानी प्रस्तावको मूल्यांकन गरी स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाई कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी विनिमयको अनुमति दिनेछ ।