१३ खर्बको बजेट, विकासमा जम्मा एक खर्ब खर्च
काठमाडौँ । आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू आर्थिक वर्ष ०७५/७६ सम्पन्न हुन ६३ दिनमा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ । दुईतिहाइ बहुमतसहितको बलियो सरकारले ल्याएको बजेट खर्च गत आर्थिक वर्षको तुलनामा पनि कमजोर देखिएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म सुरु अनुमानको ५९ प्रतिशत बजेट खर्च भएको थियो । त्यस वर्ष १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएकोमा १० महिनामा सात खर्ब ५६ अर्ब ३६ करोड बजेट खर्च भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
काठमाडौंको कालोपुलमा युवतीमाथि आफ्नै श्रीमानले गरे एसिड प्रहार, अवस्था गम्भिर
काठमाडौं। कालोपुलमा युवती माथि बुधबार राति एसिड प्रहार भएको छ। कालोपुल नजिकै डेरा गरेर बस्ने दोलखाकी २० वर्षीय युवती माथि उनकै श्रीमान काभ्रे दाप्चा फुलबारिका २८ वर्षीय बिष्णु भुजेलले एसिड प्रहार गरेर भागेका थिए। उनलाई प्रहरीले बुधबार राति काँडाघारीबाट पक्राउ गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए। उनको अनुसार युवतीको अवस्था गम्भिर छ। उनलाई ओम अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचरको लागि किर्तिपुर मोडल अस्पताल रिफर गरिएको थियो। रासस
बीमा समितिको बार्षिकोत्सवमा अर्थमन्त्रीले भने-‘संख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढ्नू’
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढ्न सुझाएका छन् । बीमा समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो सुझाव दिएका हुन् । उनले भने–‘अब कृतिम दुबो भन्दा वास्तविक दुबो चिनेर काम गर्नु आवश्यक छ ।’ अर्थमन्त्री खतिवडाले आफ्ना आन्तरिक जोखिममा पनि कम्पनी सचेत हुन आवश्यक रहेको बताए । आगामी दिनमा साना तथा मझौता बीमा र लघु बीमा आवश्यक रहेकोमा उनले जोड दिए । प्याकेजमा बीमा बेचेर बिमितलाई मारमा पार्नु हुँदैन–उनले भने । वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले प्रगति विवरण प्रस्तुत गेका थिए । कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पदमप्रसाद सोडारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की लगायत बीमा क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । बीमा समाचार विचार विशेषाङ्क बिमोचन गर्नुका साथै प्रमुख अतिथि अर्थमन्त्री खतिवडाद्वारा लामो समय काम गरेका कर्मचारीहरुलाई ताम्रपत्र र दीर्घसेवा पदकद्वारा सम्मान गरिएको थियो ।
तारागाँउ होटलले किन मिच्याे नेप्सेको नीति ? २४ घण्टाभित्रै स्पष्टिकरण दिन निर्देशन
काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स (होटल हायात)ले आफ्नो बुक क्लोजको मिति सार्वजनिक गर्न ढिलाई गर्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को धितोपत्र सूचीकरण विनियमावली २०७५ लाई मिचेको छ । उक्त नियमावली अनुसार बुक क्लोजको मिति कम्तीमा सात दिन अगाडि नै सार्वजनिक गनुपर्नेमा कम्पनीले जम्मा दुई दिन अगाडि मात्रै उक्त सूचना नेप्सेमा दिएकाले नेप्सको नीतिलाई व्यवास्था गरेको हो । कम्पनीले बुधबार मात्रै नेप्सेमा एक सूचना जारी गर्दै बिहीबार(भोलि) अर्थात जेठ २ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको छ । जुन नेप्सेको नीति विपरित हो । उक्त सूचना अनुसार कम्पनीले नियमानुसार तोकिएको समयमा सूचना नपठाएकोमा नेप्सेको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसैले, उक्त सूचना दिन ढिलाई गर्नुको कारण खुलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न नेप्सेले आग्रह गरेको छ । साथै, धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार यस कम्पनीको सम्पूर्ण धितोपत्र वा सेयर कारोबार रोक्का भएको छ । होटलले बुधबार नेप्सेमा दिएकाे सूचना
विकास ऋणपत्र अहिलेसम्मकै महँगो, ट्रेजरी बिलको लागतनै ५.८० प्रतिशतसम्म
काठमाडौं । घाटा बजेटमा सरकारको सबैभन्दा भरपर्दो स्रोतको रुपमा रहेको आन्तरिक ऋणको ब्याज अहिलेसम्मकै महँगो देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार सरकारले जारी गरेको ८ अर्ब रुपैंया बराबरका विकास ऋणपत्रमा ६.५ प्रतिशतसम्म ब्याजदर बोलकबोल गर्ने बैंक तथा वित्तीय संस्थाहरुको ऋण नेपाल राष्ट्र बैंकले सकारेको छ । परिपक्व अवधि ७ वर्ष भएको उक्त विकास ऋणपत्र महँगोमा अक्सन हुँदा नेपाल सरकारलाई ७ वर्षसम्म नै त्यसको असर पर्नेछ । बजारमा तरलता अभाव भएकै समयमा एकैपटक ८६ अर्बको आन्तरिक ऋण उठाउने तयारी गरेको सरकारले थप तरलता खिच्ने भएपछि बैंकहरुले उच्च ब्याजदर बोलकबोल गरेका हुन् । अधिकांश बैंकहरुले सोही हाराहारीमा ब्याजदर कबोल गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अघिल्लो वर्ष पनि सरकारले यस्तै किसिमका ऋणपत्र जारी गरेको थियो । विभिन्न समयमा उठाइएको उक्त ऋणपत्रमा सो समयमा ५ प्रतिशतदेखि ६.४८ प्रतिशतसम्मको दरमा ब्याजदर बोलकबोल गर्नेले उक्त ऋणपत्र पाएका थिए । अघिल्लो २०७४ साल कात्तिकमा उठाइएको ऋणपत्रमा ६.४८ प्रतिशत कटअफ ब्याजदर थियो, त्यतिबेला पनि बजारमा तरलताको चरम अभाव थियो । उता जोखिमरहित मानिने सरकारी ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट दर ५.२४६३ प्रतिशत कायम भएको छ । बैंकहरुले सो बिलमा अधिकतम ५.८० प्रतिशतसम्म गरेको बोलकबोल स्वीकृत भएको छ । अहिले पहिलो चरणको अक्सनमै यति उच्च ब्याजदर बोलकबोल भएसँगै अरु अक्सनहरुमा ब्याजदर झनै महँगो हुनसक्ने बैंकरहरु बताउँछन् । ‘अत्यन्तै कम जोखिमयुक्त यस्तो बण्डमा उच्च ब्याजदरमा लगानी गर्न पाउनु बैंकहरुको लागि पनि खुसीको कुरा हो, यसले बैंकको नाफा पनि बढाउँछ, स्प्रेडदरमार्फत् सर्वसाधारणको कर्जा ब्याजदर पनि घटाउँछ ।’ एक बैंकरले भने । सरकारसँग हाल कायम रहेको विकास ऋणपत्रहरुको ब्याजदरको कटअफ मूल्य न्यूनतम २.९९ प्रतिशतसम्म छ । अघिल्लो साल साउनमा उठाइएको ऋणमा सो न्यूनतम प्रतिशतमा ब्याजदर कबोल गरिएको थियो । ‘तर सरकारले अहम्ता देखायो, तरलताको अवस्था नबुझी जथाभाबी पैसा उठाउँदा सरकारलाई नै घाटा हुने भयो, यसले सरकारी ऋणको भारित औसत लागत पनि बढाउँछ ।’ राष्ट्र बैंकका एक अधिकारीले भने ।
युनिग्लोव कलेजद्वारा ‘जव प्लेसमेन्ट मेला’ आयोजना
काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज परिसरमा बुधवार ‘जब प्लेसमेन्ट मेला’ सम्पन्न भएको छ । कार्यक्रममा व्यवस्थापन संकायका एमविए र एमविए(फाइनान्स) कार्यक्रमका भर्खरै उत्तीर्ण छात्रछात्राहरु गरी १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा चौधरी ग्रुप, पञ्चकन्या ग्रुप, गोर्खा ब्रुअरी, भिभो मोवाइल, वरुण वेभेरेज(पेप्सी), एपिवान टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, आइएमइ, अटोमोटिम्स, मेरो जव लगायत १८ वटा विभिन्न क्षेत्रका कम्पनीहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घाटनका अवसरमा मेरोजवका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरिले यस्ता कार्यक्रमले विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउँदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमता राम्रो रहेको बताउनु बताए । उक्त कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले युनिग्लोवका विद्यार्थीहरु बजारमा अरु भन्दा फरक र अब्बल रहेको वताए । कलेजका प्रिन्सिपल एवम् प्रवन्ध निर्देशक डा. नरबहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसँगै बजारको माग बमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आफ्नो गन्तव्यमा पु¥याउनको लागि विशेष सहयोग हुने बताए ।
कामीरिता २३ औँ पटक सगरमाथामा, आफ्नो विश्व रेकर्ड आफैँले तोडे
सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताए । बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।
त्रिशूली-काठमाडौँ प्रसारण लाइनको परीक्षण शुरु, लगातार तीन दिन परीक्षण अवधि चल्ने
बेत्रावती । त्रिशूली-काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइनको परीक्षण आजदेखि शुरु गरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म विस्तार गरिएको प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण थालिएको हो । परीक्षण अवधि लगातार तीन दिन (७२ घण्टा) चल्नेछ । परीक्षणका लागि केन्द्रीय प्रसारण लाइनको विद्युत् प्रवाह गरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार ६० मेगावाट क्षमताको थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेकाले उक्त आयोजनाको पहिलो युनिटमा लोड दिएर (विद्युत् उत्पादन) दुवै योजनाको संयुक्त परीक्षण गर्ने तयारीसमेत छ । प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुइ)का प्राविधिक विस्तार भएको खम्बा र तारमा स्थलगत रुपमा खटिएर परीक्षण शुरु गरेका छन् । परीक्षण अवधिमा विद्युतीय खम्बा, अर्थिङ्ग तार र विद्युतीय प्रसारण तारलगायत प्रसारण लाइनसँग सम्बन्धित संरचनाको दायाँबायाँ १५–१५ मिटर आसपासमा नजान आयोजनाले सूचना निकालेर सर्वसाधारणलाई सचेत गराएको छ । प्रसारण लाइनको परीक्षणमा खटिएका प्राविधिक (चिनियाँ नागरिक)को मङ्गलबार यहाँको लिखु गाउँपालिका–३ सूर्यमतीमा मृत्यु भएको थियो । परीक्षण अवधिमा प्रसारण लाइन आसपासको क्षेत्र ‘विद्युतीय सुरक्षाको दृष्टिकोणले जोखिम’ रहेको बताइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो । उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ । यसैगरी प्रसारण लाइन निर्माणमा यस आयोजनाअन्तर्गत नेपालमा पहिलोपटक काठमाडौँको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ । उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारण लाइन निर्माणमा चीन सरकारको सहुलियत ऋण सहयोगमा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजना निर्माणमा रु दुई अर्ब ५० करोड लागेको प्रारम्भिक अनुमान छ । रासस