दमौलीमा सामसुङ सेवा केन्द्र खुल्यो
काठमाडौँ । नेपालभर १६ वटा सामसुङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले १७ औं सेवा केन्द्र कालिकामार्ग, दमौलीमा शुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका हुन् । उक्त अवसरमा ग्रुपका अध्यक्ष दीपक मल्होत्राले विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य भएको बताउँदै सेवा केन्द्र स्थापना गरेर सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा प्रदान गर्न लागेको बताए ।
सनराइज बैंकको ऋणपत्र बाँडफाँड, डिबेन्चरधनीले १० प्रतिशत ब्याज पाउने
काठमाडौं । सनराइज बैंकले जारी गरेको डिबेन्चर(ऋणपत्र)को मंगलबार बाँडफाँड भएको छ । बैंकले चैत २० गतेदेखि बैशाख १९ गतेसम्म बिक्री खुला गरेको ऋणपत्र वैशाख ३१ गते बाँडफाँड गरेको हो । बैकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । कम्पनी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत १००० रुपैयाँ अंकित दरको १० लाख कित्ता सेयर बिक्री गरेको थियो । ऋणपत्र बाँडफाँड भएको दिन अर्थात बैशाख ३१ गतेदेखि नै लागू हुनेगरि डिबेन्चरधनीहरुले अर्ध वार्षिक रुपमा १० प्रतिशत ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ । निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भई डिबेन्चरधनीहरुले डिबेन्चरको खरिद बिक्रि गर्न सक्नेछन् । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको बैंकले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ ।
अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो जेठ ३ देखी ५ गतेसम्म, ६० वटा स्टल रहने
काठमाडौं । नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो जेठ ३ देखि ५ गतेसम्म खानी विभाग परिसरमा हुने भएको छ । खानी तथा भूभर्ग विभागको सहकार्यमा सो एक्स्पो काठमाडौंको लैनचौरस्थित विभाग परिसरमै आयोजना हुने भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ६० वटा कम्पनीहरुले भाग लिने बताए । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना गर्न लागिएको महर्जनले बताए । खानी तथा भुगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोले आयातमा पनि कमीे आउने बताए ।
अर्थविद्हरुको सुझाव-‘पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउनु हुन्न’
काठमाडौँ । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा पूर्व मुख्यसचिव डा. बिमल कोइराला, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री र अर्थविद् डा. चन्द्रकान्त पौडेलले यस्तो कुरामा जोड दिएका हुन् । उक्त कार्यक्रममा पूर्व मुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे । उनले भने,‘यसअघिका बजेटहरु प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो । पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’ उनले ‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु ल्याउनुपर्छ । पेचिला प्रश्नहरु सामना गर्ने कार्यक्रम ल्याउनुपर्छ’ भने । सरकारले अघि सार्ने कतिपय परियोजनाहरु राजनीतिक रुपले ठीक भएपनि सामाजिक–आर्थिक दृष्टिकोणले ठीक नहुनेपनि उनले सचेत गराए । त्यस्तै, स्थानीय सरकारलाई बलियो बनाउनु पर्नेमा पनि उनले जोड दिए । कोइरालाले केन्द्र सरकारले कठोरताका साथ प्राथमिकताहरु निर्धारण गर्नुपर्ने धारणा राखे । उत्पादकत्व बढाउनु पर्ने र शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलगायत आधारभूत कुरामा जनताको पहुँच हुनु पर्नेपनि उनले स्पष्ट पारे । त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले संघीयतालाई जोडदार रुपमा कार्यान्वयन गर्ने खालको बजेट आउनु पर्ने सुझाव दिए । क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानीय सरकारले सानातिना आयोजनाहरु हेर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुनेपनि तर्क गरे । वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकोले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए । अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५ औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’ उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए । उनले भने,‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ । समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ । अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ ।’ पौडेलले पूर्वाधार विकासमा जोड दिने गरी बजेट आउने विश्वास दिलाए । औद्योगिक क्षेत्रलाई पनि विशेष जोड दिने गरी बजेट आउनु पर्ने पौडेलको भनाई छ ।
ककनीमा पोष्टबहादुर स्मृती कृषि प्रर्दशनी जेठ ४ गतेदेखि, २ करोडको कारोबार हुने
काठमाडौं । नुवाकोटका पुराना कम्युनिष्ट नेता तथा किसान आन्दोलनका अगुवा पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रर्दशनी हुने भएको छ । पोष्टबहादुर बोगटी स्मृती प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी दिएको हो । जेठ ४ गते शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा अध्याक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शनी उद्घाटन गर्ने पोष्टबहादुर स्मृती प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जानकारी दिए । प्रतिष्ठान मुख्य आयोजक तथा ककनी गाउँपालिका सहआयोजक रहेको प्रर्दशनीमा मेलामा ४० ओटा स्टल रहने छन् भने नुवकोटका १२ ओटै स्थानीय तहका उत्पादन प्रदर्शनीमा राखिने पोष्टबहादुर स्मृती प्रतिष्ठानका उपाध्यक्ष हितबहादुर तामाङले बताए । पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेता समेत रहेका पाण्डेले मेलाले स्थानीय तह र किसानबीच जोड्न मद्दत पुग्ने बताए । कृषि उत्पादनमा आएको गिरावटले मुलुक विस्तारै परर्निभर बन्दै गएको भन्दै पाण्डेले यहाँका युवा खाडीमा जाने गाउँका खेतबारी बाँझै रहने क्रम बढ्दो अवस्थामा रहेको बताए । नुवाकोटको पर्यटकीय क्षेत्र तथा कृषि उत्पादनले महत्वपूर्ण मानिएको ककनी गाउँपालिका स्थीत रानिपौवा बजारमा हुने कृषि प्रदर्शनीमा आधुनिक कृषि औजारका साथै व्यापारिक स्टलसमेत रहने छ । कार्यक्रममा जेवी टुहुरे, जीवन शर्मा, बद्री पंगेनी, सबोध गौतम, पुरुषोत्तम भण्डारीलगायत राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । यही जेठ ४ गतेदेखी ८ गतेसम्म चल्ने कृषि प्रदर्शनीमा करिव ४० हजारले अवलोकन गर्ने लक्ष्य रहेको ६० लाख अन्दानी र सोही बरावर खर्च हुने पोष्टबहादुर स्मृती प्रतिष्ठानका कोषध्यक्ष रुद्र ढुङ्गेलले बताए । मेलामा करिव २ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ । मेलामा कृषि प्रर्दशनीमा उत्कृष्ठ कृषकलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
गंगालाल बालिका मृत्यु प्रकरण : स्वास्थ्य मन्त्रालय मौन, उजुरी लिन मान्दैनन् प्रहरी
काठमाडौं। मुटु रोगको उपचारको क्रममा गलत रगत चढाएको कारण ज्यान गुमाएकी बालिकाको बुवाले चिकित्सकको लापारवाहीको कारण आफ्नो छोरीले ज्यान गुमाएको भन्दै छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका गलत रगत उपचारको क्रममा गलत रगत चढाएको कारण वैशाख २३ गते मृत्यु भएको थियो। बालिकाको बुवा रामप्रवेश साहले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे। उनले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’ शल्यक्रिया गर्नुपुर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ।’ आफूहरुले स्वास्थ्य मन्त्रालयमा न्याय पाउँ भनि हारगुहार समेत गरेको उनले सुनाए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे । आकृतिको मृत्यु भएको १० दिन भइसक्दा पनि रामप्रवेश र पिङ्कीले छोरीको मृत शरीर देख्नसम्म पनि पाएका छैनन् । छानबिनका लागि बालिकाको परिवारले १० दिनदेखी सरकारी कार्यालय धाउन थालेको भएता पनि अहिलेसम्म कुनै पनि सरकारी कार्यालयबाट सहयोग भने भएको छैन।
सिटिजन्स बैंकबाट भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा पाइने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनैपनि शाखाबाट प्राप्त गर्न सकिने भएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने जनाइएको छ ।
नेप्से परिसूचक यस वर्षकै उच्च अंकमा, एनसीसी सहित तीन कम्पनीको करोडौंको सेयर किनबेच
काठमाडौं । बुधबारको नेप्से परिसूचक सामान्य अंकले बढेर १३२१ अंकमा पुगेको छ । जुन यस वर्षकै उच्च बिन्दु हो । परिसूचक मंगलबारको तुलनामा ०.४२ प्रतिशत अर्थात ५.५५ अंकले उकालो लागेको हो । बजारमा परिसूचकसँगै सेयर कारोबारमा पनि सुधार भएको छ । बुधबार कुल १७२ कम्पनीको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये विभिन्न तीन कम्पनीको करोडौंको सेयर किनबेच भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । चैत मसान्तको वित्तीय विवरण अनुसार हाल बैंक सुधारको बाटोमा लागेकाले लगानीकर्ताहरु यस बैंकको सेयरमा आकर्षित भएका हुन् । बैंकले चालु आवको ९ महिनमा एक अर्ब १६ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । बुधबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको १३ करोड २४ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र विशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ७.९७ र ७.७९ प्रतिशत कमाएका छन् । बुधबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता १४९ र १७३९ रुपैयाँ रहेको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये ६ वटा उकालो लागेका छन् भने बाँकी ६ वटा ओरालो लागेका छन् । सबैभन्दा बढी विकास बैंक समूह २५ अंकले उकालो लागेको छ भने उत्पादन मूलक समूह ५९ अंकले ओरालो लागेको छ ।