विकासन्युज

राष्ट्र बैंकको क्षेत्राधिकार मिच्न अर्थमन्त्रीलाई उक्साउँदै उद्योगी, बैंककाे ब्याज घटाउन बजेटमा व्यवस्था !

काठमाडौं । उद्योगी व्यवसायीहरुले अर्थमन्त्रीलाई राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकार मिच्न फेरि उक्साएका छन् । बैंकको ब्याजदर घटाउन यसअघि सडक आन्दोलनमै उत्रिएका उनीहरुले बजेटमार्फत् नै माैद्रिक बिषयहरु सम्बाेधन गर्नुपर्ने आशयसहितकाे सुझाव सरकारलाई बुझाएका हुन् । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल वैदेशिक व्यापार संघसहित ४ वटा संस्थाहरुका प्रतिनिधिहरुले संयुक्त रुपमा बजेटमा समेट्नुपर्ने विषयका सम्बन्धमा दिइएकाे सुझावमा उनीहरुले राष्ट्र बैंक र बीमा समितिकाे क्षेत्राधिकार रहेकाे आधा दर्जनभन्दा बढी विषय सम्बाेधन गर्न अर्थमन्त्रीलाई सुझाएका हुन् । उद्याेगीहरुले बुझाएका सुझावमा पुनर्कर्जा काेषकाे सीमा बढाउने, तरलता ब्यवस्थापन गर्नेदेखि बैंकहरुकाे ब्याजदर र शुल्क नियन्त्रण विषयहरु समेत समेटिएका छन् । हाल ५० अर्ब रहेकाे पुनर्कर्जा काेषकाे आकार १०० अर्ब पुर्याउन उनीहरुले  सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिमार्फत अघिल्लाे वर्षमात्रै पुनर्कर्जाकाे आकार ३५ अर्वबाट ५० अर्ब पुर्याएकाे थियाे तर उद्याेहरुले साे रकमको आधामात्रै प्रयाेग भएकाे छ । त्यस्तै,  बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर र शुल्क तथा बीमा कम्पनीहरुको समेत शुल्क नियन्त्रण गर्नुपर्ने उनीहरुकाे माग छ । बैंकको ब्याजदरलाई निश्चित सीमामा कायम राख्दै यसको उतारचढाव नियन्त्रण गर्न, तरलता व्यवस्थापन गर्न र ऋण सुधारको प्रणालीमा सुधार ल्याउन, बैंकहरुले दिने आधारभूत सेवाहरुलाई निःशुल्क बनाउन तथा प्रत्येक वर्ष ऋणको नवीकरण गर्दा थप सेवाशुल्क लिन नपाउने व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् । त्यस्तै  उनीहरुले एउटै व्यवस्थापनको कुनै कम्पनी दामासाहीमा परि कालोसूचीमा परेकै आधारमा अन्य कम्पनीहरुलाई कालोसूचीमा राख्न नहुने माग समेत गरेका छन् । त्यस्तै, व्यवसायीहरुले बीमा कम्पनीहरुको प्रिमियम शुल्कदर पनि व्यवहारिक नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले त्यस्ता शुल्कहरु घटाउन तथा सरकारी सम्पत्तिहरुको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न समेत सुझाव दिएका छन् । व्यवसायीले दिएका यी सुझावहरु विशुद्ध मौद्रिक विषय हुन्, जुन राष्ट्र बैंकको क्षेत्राधिकार अन्तर्गत पर्छ । बीमा क्पनीकाे शुल्क नियन्त्रण भने बीमा समितिले गर्छ । तर नियामकीय अधिकारका विषयमा समेत उद्याेगीहरुले सरकार नै गुहारेका हुन्, जुन शाेभनीय विषय हाेइन । त्यसाे त नेपाल राष्ट्र बैंकले माैद्रिक नीति तर्जुमा गर्नुअघि पनि व्यवसायीहरुसँग छलफल गर्छ । यसअघि व्यवसायीहरुकै दवावमा अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाकाे ब्याजदर नियन्त्रणमा सरकारलाई हस्तक्षेप गर्न बाध्य बनाएकाे थियाे, जसका कारण स्वायत्त रुपमा रहेकाे नेपाल राष्ट्र बैंककाे स्वायत्ततामाथि सरकारी हस्तक्षेप भएकाे भन्दै आलाेचना भएकाे थियाे ।

ज्योति लाईफले बढायाे घातक रोगकाे बीमा, अब ५० लाखसम्म

काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ३५ वटा प्राण घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षासहितकाे नयाँ बीमा पाेलिसी जारी गरेकाे छ । ११ वटा घातक रोग विरुद्ध उपचारको लागि १० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा सहित जीवन बीमा हुने पाेलिसी कम्पनीले यसअघि पनि ल्याएको थियो । हाल भने ३५ वटा रोग विरुद्ध ५० लाख रुपैयाँसम्मकै सुरक्षा दिने नयाँ बीमा पाेलिसी कम्पनीले बजारमा ल्याएको हो । ज्योतिलाईफ ईन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष नन्द किशोर शर्माले भने– ‘हामीले बजारमा भएको भन्दा छुट्टै खालका प्रडक्ट ल्याउने प्रयास गरेका छौ, जसले गर्दा बीमितको आर्थिक जोखीममा सहयोग गर्ने अवस्था रहन्छ ।’ कार्यक्रममा कम्पनीका तर्फबाट बोल्दै कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्रीले भने–‘आफ्ना नयाँ पोलिसीको बारेमा छलफल गर्दै प्राण घातक रोगको असर बाट बच्न सजगता अपनाउनु पर्नेमा जोड दिए ।’ शुक्रबार राजधानीको होटल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी तथा  समाजसेवी कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ तथा कम्पनीका ब्राण्ड एम्बेस्टर महानायक राजेश हमाल लगायतकाे उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश अतिथि कर्ण शाक्य र डा. सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट पर्न सक्ने असरको बारेमा भनाईहरु राखेका थिए । यस्तै, कम्पनीका सदभावना दूत महानायक राजेश हमाललेपनि रोग लाग्नु अगावै सचेत रहन तथा बीमा गराउन आवश्यक रहेकोमा प्रकाश पारे । कम्पनीको ३५ घातक रोगमध्येमा ५० लाखसम्मको बीमा पाइने उमेर हद १८ देखी ५५ बर्षसम्मका बीमितले यो योजनामा प्रवेश गर्न सक्ने छन् । सो योजना अन्र्तगत अधिकतम अवधि भनेर २० वर्षलाई तोकिएको छ । साथै, अधिकतम बीमा समाप्ती उमेर ६० वर्ष रहेको कम्पनीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

‘निर्मल थोपाहरु’ थिएटर मल कीर्तिपुरमा, नाटकमा पानी र जनजीवन

काठमाडौं । थिएटर मलको कीर्तिपुर रंगमञ्चमा नाटक ‘निर्मल थोपाहरु’ मञ्चन भएको छ । पानी र जनजीवनबारे तयार पारिएको सातौं नाटकलाई काठमाडौं उपत्यकाको कीर्तिपुरमा मञ्चन गरिएको हो । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु)–नेपालले पाटन अस्पतालसँगको सहकार्यमा तयार पारेको नाटकलाई वन वल्र्ड थिएटरले प्रस्तुत गरेको हो । मानव जीवनको अपरिहार्य र महत्वपूर्ण पानीले दैनन्दित जीवनमा राख्ने भूमिका र पानी दूषित हँदा त्यसले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई नाटकले उठान गरेको छ । लण्डनस्थित सेसस युनिभर्सिटीका अनुसन्धानकर्ता सैन जेट्टेले काठमाडौं उपत्यकाका दरबार स्वायर क्षेत्र वरिपरीको पुरानो वस्तीमा रहेका पानीका स्रोतहरुको परीक्षण तथा अनुसन्धानबाट आएको रिपोर्टको आधारमा नाटकको विषय उठान गरेको लेखक तथा निर्देशक राजकुमार पुडासैनीले बताए । अन्तरक्रियामा डा. अभिलाषा कार्की र डा. सविना डंगोलले सहभागीको जिज्ञासामा उत्तर दिएका थिए । पानी जीवनको मुख्य कुरा तर त्यही कुरा खराब हुँदा मानव स्वास्थ्यमा कतिसम्म असर पर्न सक्छ भन्ने बुझाउन अभियानका रुपमा नाटक मञ्चन गरेको अक्रुका जनसम्पर्क अधिकृत सुनिता दास शाक्यले बताए । उनले नाटक ‘निर्मल थोपाहरु’ भक्तपुर र पाटनमा गरी ६ पटक मञ्चन गरिसकेको र कीर्तिपुर मञ्चनसँगै काठमाडौंमा मञ्चन थालेको बताए । नाटकमा लुनिभा तुलाधर, अबिरल बहादुर मानन्धर, समापिका गौतम, गुञ्जन दिक्षित, सविना गोपाली, एना देउजा, अमृत दाहालले अभिनय गरेका थिए ।

अर्थमन्त्रीलाई उद्योगीको दवाव : भ्याट १० प्रतिशतमा झार, आयकर सीमा ७ लाख पुर्याऊ

काठमाडौं । उद्याेगी व्यवसायीहरुले भ्याटकाे दर १० प्रतिशतमा झार्न सरकारलाई दबाव दिएका छन् । यसअघि भ्याटमा बहुदर कायम गर्न र त्यसाे नगर्ने भए भ्याट १० प्रतिशतमा झार्न सरकारलाइ दबाव दिएका छन् । बजेट वक्तव्यकाे पूर्वसन्ध्यामा अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग भेट गरी बजेटका सम्बन्धमा सुझाव दिँदै त्यस्ताे दबाव दिएका हुन् । बहुदरकाे भ्याटमा अर्थमन्त्रीले असहमति जनाएपछि उनीहरुले १० प्रतिशतकाे नयाँ विकल्प दिएका हुन् । सरकारले हाल मूल्य अभिवृद्धि करवापत १३ प्रतिशत उठाउँदै आएकाे छ । भ्याटबाहेक उद्याेगीहरुले संस्थागत आयकर, व्यक्तिगत आयकर तथा काराेबार करलाई घटाउन सकेत माग गरेका छन् । उनीहरुले कर लाग्ने व्यक्तिगत आयको सीमा ७ लाख पुर्याउन माग गरेका छन् । उनीहरुले  हाल रहेको अविवाहितलाई ३ लाख ५० हजार र विवाहितको हकमा ४ लाख रहेको आयकरको सीमालाई क्रमशः ५ लाख र ७ लाख बनाउनुपर्ने माग गरेका हुन् । त्यस्तै, साे सीमाभन्दा माथि ३ लाख रुपैंयासम्मको आयकर १५ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने उनीहरुले माग गरेका छन् । ती संस्थाहरुले हालको संस्थागत आयकरको सीमालाई ५ प्रतिशत घटाउनुपर्ने माग गरेका छन् । हाल बैंक तथा वित्तीय संस्था र अन्य नकारात्मक बाह्यता भएका वस्तुहरुमा ३० प्रतिशत र अन्य कम्पनीहरुको हकमा २५ प्रतिशत आयकर लाग्दै आएको छ । केही कम्पनीहरुलाई भने आयकरमा छुट दिई २० प्रतिशत लिने व्यवस्था सरकारले गरेको छ । त्यस्तै, करको स्वघोषणा गरी इफाइलिङ गर्दा भुलवस हुन गएको गल्तीलाई एकपटकका लागि सच्याउन दिनुपर्ने माग समेत उद्योगीहरुले गरेका छन् ।

एभरेष्ट बैंकद्वारा गोरखाको महालक्ष्मी विद्यालयलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले गोरखाको लक्ष्मी बजारस्थित महालक्ष्मी विद्यालयलाई पिउँने पानीको सुविधा एवं शौचालय हस्तान्तरण गरेको छ । एभरेष्ट बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउँने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले सरकारी तथा सामुदायक विद्यालयहरुलाई स्वच्छता कायम गर्न एवं पिउँने पानीको व्यवस्था गर्न मद्दत गर्दै आइरहेको छ । एभरेष्ट बैंकले मेयर श्री राजन राज पन्त, वडा अध्यक्ष कुलबहादुर कुँवर, एभरेष्ट बैंकका डेप्यूटी जेनरल म्यानेजर राजिव जेन तथा अन्य विशिष्ट अतिथिहरुको संयूक्त उपस्थीतिमा विद्यालयलाई पिउने पानीको सुविधा र शौचालय हस्तान्तरण गरेको हो । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा अगाडी रहेकाे छ । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

स्वीच अन फ्रन्चाईज मिट २०१९, देशभर २२ वटा फ्रन्चाईज पार्टनर

काठमाडौं । मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेष्ठ १ गतेदेखि ३ गतेसम्म आयोजना भएकाे पहिलो पटक फ्रन्चाईज मिट सम्पन्न भएकाे छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाईमेक्स, ओस्राम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्राण्डहरु रहेको स्थापित स्वीच अन इलेक्ट्रोनिक आवश्यकतालाई पूरा गर्दै  आएको छ । देशभरका फ्रन्चाईजी पार्टनरहरुले स्वीच अनको तीन दिने फ्रन्चाईज मिटमा सहभागिता जनाएका छन् । यस फ्रन्चाईज मिटले फ्रन्चाईजी पार्टनरहरुलाई प्रतिस्पर्धात्मक लाभहरु लिन मद्दत पुग्ने विश्वास गरिएको छ । फ्रन्चाईज मिटमा सम्बोधन गर्दै स्वीच अनकी म्यानेजिङ डाइरेक्टर शिमा गोल्छाले भने “स्वीच अनले साना खुद्रा विक्रेतालाई प्रवद्र्धन गरेर स्वदेशी तथा विदेशी ब्राण्डको हिस्सा बन्न अवसर प्रदान गर्दछ ।” स्वीच अन देशभर रहेको आउटलेटमा पारदर्शिता, एकरुपता तथा स्थिरतामा गर्व गर्दछ । म्यानेजर माधब मल्लले स्वीच अन सदैव ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर तथा विश्वका उत्कृष्ट उत्पादनहरु सुपथ मुल्यमा प्रदान गर्न केन्द्रित रहेको बताए । स्वीच अनका देशभर २२ वटा फ्रन्चाईज पार्टनरहरु रहेका छन् जसमार्फत टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, कुलर, एलईडी लाईट, स्पीकर, घडी जस्ता घरयासी सामग्रहरु बिक्री बितरण गर्दै आईरहेको छ ।

पशुपति धर्मशालानै अब स्टार होटलजस्ताे, यस्ता अत्याधुनिक सुविधाहरू

काठमाडौं । पशुपति कोषले खुला प्रतिस्पर्धाकाे रुपमा टेंडर गर्दा होटेल आनन्दले १० वर्षको भाडामा संचालन गर्ने भएको छ । गत भदौंमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा उद्घाटन गरिएको पशुपति तिलगंगास्थित नेपाल भारत मैत्री उक्त धर्मशाला सञ्चालनका लागि होटेलले वार्षिक १ करोड ५ लाख ४१ हजार ६ सय १८ रुपैयाँमा संचालन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । १९ रोपनी क्षेत्रफलमा ८० कोठा भएको उक्त भवनको कोठाहरु सुविधा सम्पन्न गरि सञ्चालन गर्न ७ करोड लाग्ने संचालक ओस्कार बतास बताए । सम्पूर्ण कानुनी विधि प्रक्रिया पूरा गरि प्रतिस्पर्धात्मक रुपमा दिलै भए पनि धर्मशाला भवन हस्तान्तरण भएको बताए । वार्षिक धर्मशाला संचालन गर्दा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाउनु पर्ने र शुद्ध साकाहरी भोजन मात्र र मादक पदार्थ बिक्री गर्न नपाईने शर्त रहेको पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदिप पौडेल बताए । उक्त धर्मशाला भवन संचालन गर्न कम्तिमा १४४ जनालाई रोजगारी दिने प्रतिव्यक्ति ३५० रुपैयाँ देखि बढीमा ३ हजार ९सय ९९ लाग्ने र करार अवधी समाप्ति सम्ममा कोसलाई कम्तिमा २१ करोड भाडा भुक्तानी हुने र आउदो दशैं सम्ममा संचालन हुने योजना संचालक ओस्कार बतासको रहेको छ ।

९ करोड ३० लाखको आईपीओ आउँदै, दुई लघुवित्तले मागे बोर्डको अनुमति

काठमाडौं । पुँजी बजारमा दुई लघुवित्तले झण्डै ९ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सबैको लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले गरी कूल ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । सोमध्ये सबैको लघुवित्तले सबैभन्दा बढी आईपीओ जारी गर्ने भएको छ । संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ५ लाख ३० हजार कित्ता बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको हो । त्यस्तै, आँधीखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाटै ४ लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । पाइपलाइनमा रहेका यी दुबै संस्थाले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् ।