विकासन्युज

एनआईसी एशियाका ग्राहकलाई नोबेल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट पाउने छन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

अपर तामाकोशी र मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताको आकर्षण, सेयर मूल्य एक घण्टामै करिब १० प्रतिशतले बढ्यो

काठमाडौं । बुधबार अपर तामाकोशी हाइड्रोपावर र मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो दिन बजार खुलेको सावा एक घण्टामा यी दुईको सेयर मूल्य करिब १० प्रतिशतले बढिसकेको छ । १२ बजेर १७ मिनेटसम्मको डाटा अनुसार अपर तामाकोशीको सेयर मूल्य ९.७१ प्रतिशतले बढेर प्रतिकित्ता ३०५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २७ रुपैयाँ बढी हो । मंगलबार संस्थाको सेयर प्रतिकित्ता २७८ रुपैयाँ रहेको थियो । यो समाचार तयार पार्दासम्म मल्टिप्रपोजको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । सो अवधिसम्म संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा १९ रुपैयाँ बढी हो । मंगलबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको थियो । यी दुबै कम्पनीको सेयर किन्नेको चाप देखिएको छ भने बेच्ने कोही छैनन् । अपर तामाकोशीको २ लाख ६० हजार ३२० कित्ता र मल्टिप्रपोजको ७ हजार ९३१ कित्ता किन्न लगानीकर्ताको घुइँचो लागेको छ । त्यस्तै, अपरको सबैभन्दा बढी कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको ४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनेबेच भइसकेको छ । त्यस्तै, बुधबारको बजारले सकारात्मक संकेत दिइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९.९३ अंकले बढेर १३२२ अंकमा पुगेको छ ।

हेटौँडामा स्मार्ट लाइसेन्स वितरण शुरु, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन

हेटौँडा । प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यको आज शुभारम्भ गरेका छन् । मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्ने २६ जना मध्ये नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष माधव अधिकारी, हेटौँडा उद्योग सङ्घका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, समाजसेवी सुयस पराजुली, केशवलाल श्रेष्ठ र महिला सेवाग्राही सुरक्षा पौडेललाई स्मार्ट कार्ड वितरण गरे । सो अवसरमा मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा देखिएको अनियमित कार्य र विसङ्गतिलाई अन्त्य गरी सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताए । प्रदेश सरकारले अब छ महिनाभित्र प्रदेशको १३ जिल्लामा स्थायी राजधानी तोकिएपछि हेटौँडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने प्रणाली लागू गर्न गृहकार्यका साथ प्रक्रिया अघि बढाइसकेको उनले स्पष्ट पारे । यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले स्मार्ट कार्ड वितरण अभियानलाई निरन्तरता दिने र नयाँ सेवाग्राहीका लागि सवारी अनुमतिपत्र दुई महिनाभित्रै वितरण गर्ने कार्यलाई सहज पार्न प्रक्रिया शुरु भइसकेको जानकारी दिए । सेवाग्राहीका तर्फबाट नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष गोकर्ण पराजुली र माधव अधिकारीले यातायात क्षेत्रबाट सेवाग्राहीलाई दिँदै आएको कर दस्तुरलाई प्रदेश सरकारले पुनः समीक्षा गरी करको दरलाई घटाउन आग्रह गर्दै यातायात कार्यालयले १३ वटै जिल्लाबाट आएका सेवाग्राहीलाई निष्पक्ष एवं पारदर्शी र व्यावहारिक अनुकूलता हेरी स्मार्ट कार्ड र यातायात व्यवसायीलाई सवारीको साधनलाई नवीकरण गर्ने कार्यलाई निरन्तरता दिन सुझाव दिए ।

जुम्ला र दैलेखमा सानिमा लाइफको शाखा बिस्तार

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले जुम्ला र दैलेखमा शाखा कार्यालय बिस्तार गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका उपाध्यक्ष कारमा बुढाले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका महाप्रबन्धक शिवराज तिमल्सिना, मुख्यप्रबन्धक गणेश चौलागाईँ, प्रबन्धक उषा खतिवडा र शाखा प्रबन्धक रवि नेपालीको उपस्थिति रहेको थियो । त्यसैगरी जेठ ६ गते प्रदेश सभासद् अमरबहादुर थापाले दैलेख शाखा कार्यालयको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

४ वटा ठेकेदार कम्पनी कालोसूचीमा पर्दै, ‘ठेक्का तोडिने’

काठमाडौँ । उर्जा , जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तरगत जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता तोडी कालोसूचीमा किन नराख्ने भन्ने सम्बन्धमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न पनि भनेको छ । कार्यालयको ठेक्कापट्टामा संलग्न भई तोकिएको मितिभित्र काम सम्पन्न नगरेका र विभिन्न मितिमा ठेक्काको म्याद थप भई कार्य सम्पन्न गर्न लिखित ताकेता, सम्पर्क, समन्वय र निर्देशन दिंदा समेत लापरवाही गर्ने ठेकेदारहरुलाई किन कारवाही नगर्ने ? सूचनामा उल्लेख छ । ७ दिन भित्र कार्यालयमा उपस्थित नभएमा र स्पष्टिकरण मुनासिव नदिएमा सम्झौताको शर्त अनुसार एवम् सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) अनुसार ठेक्का तोड्ने, कालोसूचीमा राख्ने र जमानत रकम जफल गरी बाँकी काम गर्न लाग्ने खर्च समेत असुल गरिने सूचनामा उल्लेख छ । यसरी कालोसूचीमा राख्न लागिएका ठेकेदार कम्पनीमा धनगढीको आशिष कन्स्ट्रक्सन, काठमाडौँको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, हिमांशु/लोकस देव जेभी र महोत्तरीको शिवमहिमा कन्स्ट्रक्सन प्रालि रहेका छन् ।

दुई अर्ब लगानी थप्दै क्वेष्ट फर्मास्यूटिकल्स, प्रिमियम मूल्यमा आईपीओ ल्याउने

काठमाडौं । व्यापार र सेवा मूलक व्यवसायको तुलनामा उद्योग चलाउनु नेपालको सन्दर्भमा निकै कठिन काम हो । तर संघर्षशील उद्यमीहरु पछि हटेका छैनन् । नयाँ नयाँ उद्योग खोल्ने, भएको उद्योगको क्षमता विस्तार गर्ने कार्य जारी राखेका छन् । यस्तै उद्योग मध्ये एक हो क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि । औषधि उत्पादक कम्पनीहरु मध्ये अब्बल उद्योगको रुपमा स्थापित यो उद्योगले विरगञ्जमा नयाँ प्लान्टहरु लगाउँदै छ । ‘हामी इन्जेक्टएवल औषधि उत्पादमा जोड दिदैछौं’ क्वेष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठ भन्छन्–‘हामी नेपालमै अहिलेसम्म उत्पादन नै नभएका थप ५/६ ओटा नयाँ उत्पादनहरु ल्याउने तयारी गरिरहेका छौं ।’ गर्भनिरोधकको औषधि, दमको औषधि, थाइराइडको औषधि, सेक्स हर्मोन, पेड्नीसोलोन, अंकोलोजी तथा एन्टी क्यान्सर लगायत नेपालमा उत्पादन नहुने र पूर्ण रुपमा विदेशमा भर पर्नुपर्ने औषधिहरु उत्पादन गर्ने कम्पनीको तयारी छ । नयाँ उत्पादन ल्याउन कम्तिमा २०० करोड रुपैयाँ थप लगानी हुने कम्पनीको प्रारम्भिक अनुमान छ । नयाँ योजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । श्रेष्ठले औषधि उद्योगमा काम गरेको ४२ वर्ष भयो । उमेरले ६ दशक छोएको छ तर उनको जोश र जाँगरमा कमी छैन । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्–‘महासंघको काममा पनि त्यत्तिकै दौडधुप हुन्छ । पहिला जस्तो धेरै काम गर्न सकिदैन । तर, हामीले युवा पुस्तालाई जिम्मेवारी दिईसकेका छौं । जो दैनिक १२/१४ घण्टा खटेर काम गर्छन् । दे वर्क भेरी हार्ड ।’ उमेशलाल श्रेष्ठ क्वेष्टमा हाल करिव ६०० जना कर्मचारी छन् । २० वर्षको इतिहास बोकेको यस कम्पनीमा कर्मचारीले कहिल्यै हड्ताल गरेका छैनन् । ‘हामी प्रोफेशनली काम गर्छौ । कर्पोरेट कल्चर छ । युवाहरुले नयाँ नयाँ आईडिया ल्याउँछन् । हामी त्यसलाई रिफाइन गरेर कार्यान्वयनमा लैजान्छौं’ कम्पनीको कार्यशैलीबारे उनले संक्षेपमा बताए । ‘हामीले म्यानेजम्याट युथलाई ह्याडओभर गरिसक्यौँ । स्वामित्व त त्यसै पनि हस्तान्तरण भईहाल्छ’ उनले भने–हामी ५ वर्ष भित्रमा पब्लिकमा जान्छौ ।’ प्रिमियम मूल्यका सेयर निष्काशन गरिने ‘कम्पनीको ड्यूडेलिजेन्स अडिट गर्ने तयारी भईरहेको र डीडीए रिर्पोटको आधारमा प्रिमियम मूल्य तय गरि साधारण सेयर सार्वजनिक निष्काशन गर्छौ’ श्रेष्ठले भने–‘मलाई यस कम्पनीको नेटवर्थ थाहा छ । तर यसको ब्राण्ड भ्यालु मूल्यङ्कन गर्न कठिन छ । यसको लामो विधि हुन्छ । हुनसक्छ यसको ब्राण्ड भ्यालु ५ सय करोड वा १ हजार करोड वा २ हजार करोड रुपैयाँ बराबर आउँला ।’ कम्पनीको हालको पुँजी, नाफासहितको ब्यालेन्ससिटबारे उनी खुलेनन् । तर प्रष्ट वक्ताको स्वभाव उनले देखाईहाले । ‘क्वेष्टको ब्यालेन्ससिट २/३ वटा छैन । कर कार्यालयबाट लिनुहोस् । मैले कति कर तिरेको छु, त्यो पनि हेर्न सक्नुहुन्छ, मेरो कम्पनीहरुले कति कर तिर्छ, त्यो पनि हेर्न सक्नुहुन्छ । गर्नुपर्ने ठाउँमा मैले रिपोर्टिङ गरेको छु । जहाँ जरुरी छैन त्यहाँ किन भन्ने ? पब्लिक भएपछि तपाईले नमागे पनि हामी सार्वजनिक गर्छौै ।’ कम्पनीको व्यापार वृद्धि हरेक वर्ष २५ प्रतिशतभन्दा माथि रहेको उनले बताए । ‘सुरुसुरुमा हाम्रो ग्रोथ १५०/२०० प्रतिशत पनि थियो । पछिल्लो वर्षमा हाम्रो प्रतिवर्ष २५ प्रतिशतले वृद्धि भहिरहेको छ’ उनले भने–‘चालु आर्थिक वर्षमा करिव २०० करोड रुपैयाँ बराबरको कारोबार हुनसक्छ । सन् २०२६ सम्ममा वार्षिक कारोबार १३ सय करोड पुर्याउने कम्पनीको लक्ष्य छ ।’ हाल नेपालको औषधि बजार करिब ४ हजार ५ सय करोडको छ । नेपाली औषधि उत्पादकहरुले बजारको ५० प्रतिशत हिस्सा लिएका छन् । केही उद्योगहरुले औषधि निर्यात पनि थालेका छन् । ‘हामी अहिले नै निर्यात गर्छौ भनेर भन्दैनौं । तर हामीले बनाउँदै गरेका नयाँ फ्याक्ट्रीहरु लरतरो छैन, कुनै पनि बेला निर्यात गर्न सक्ने क्षमताका उद्योग हुनेछ’ उनले आफ्नो चाहाना र क्षमता दुबै व्यक्त गरे । क्वेष्टले तत्कालका लागि कम्पनीले निर्यातभन्दा पनि देश भित्रकै बजार हिस्सा बढाउने योजना बनाएको छ । जुन जुन औषधिमा नेपाल ओभर डिपेन्डेन्ट छ त्यहि त्यहि औषधि उत्पादनलाई कम्पनीले प्राथमिकतामा राखेको छ । उद्योग विस्तारपछि किन पुँजीबजारमा ? सामान्यतय कुनै पनि कम्पनीले क्षमता विस्तार तथा बजार विस्तारको लागि सेयर निष्काशन गर्छ र बजारबाट पुँजी संकलन गर्छ । तर क्वेष्टले उद्योगको क्षमता विस्तारपछि सेयर निष्काशनको तयारी गरेको छ । किन ? हामीले प्रश्न गर्यौं । ‘बैंक, बीमा कम्पनीको आईपीओमा जस्तो उद्योगको आईपीओमा सर्वसाधारण लगानीकर्ताको भीड हुन्न । त्यसैले हामी राम्रो उद्योग चलाएर, पब्लिकको पूर्ण विश्वास जितेर सेयर निष्काशन गर्छौं’ उनले भने–‘केही उद्योगहरुले सर्वसाधारणलाई सेयर बेचेर भागे । त्यसका नकारात्मक असर नयाँ उद्योगलाई परिरहेको छ ।’ आफू समेत प्रमोटर भएको फ्ल्योर हिमालयन कम्पनी लिमिटेडको सेयर निष्काशन गर्दा ८० प्रतिशत मात्र बिक्री भएको तितो अनुभव पनि उनले सुनाए । ‘१०० को सेयर ९००मा बेच्न सकियो भने १०० करोडको सेयर निष्काशन गर्दा ९० करोड पैसा आउँछ । यस्तो पुँजीले उद्योगलाई वित्तीय रुपमा बलियो बनाउँछ’ पुँजी बजारमा जान चाहानुको अर्को उदेश्यबारे उनले प्रष्ट पारे । पुँजी थपिएपछि फेरी उद्योगको क्षमता विस्तार गर्न सकिने उनको भनाई छ । गत वर्षको बजेटमा १०० करोडभन्दा धेरै पुँजी भएका प्राइभेट कम्पनीहरुलाई पब्लिकमा जान प्रेरित गर्ने सरकारी नीति आयो । हालका प्राइभेट कम्पनी पब्लिक भएमा त्यस्तो कम्पनीलाई आयकरमा १० प्रतिशत फिर्ता दिने सरकारको नीति छ । सरकारले नयाँ नीति ल्याउनुपूर्व नै कम्पनीको बोर्डमा पब्लिक कम्पनी बन्ने विषयमा छलफल भएको उनले बताए । ‘सरकारले ट्याक्समा १० प्रतिशत रिबेट दिने भनेपछि लोभले हामी पब्लिक बन्न खोजेको होइनौं । हामी मोर ट्रास्परेन्ट हुन चाहान्छौं । बिजनेसलाई मोर प्रोफेसनल बनाउँदैछौ । नेपाली औषधि उद्योगलाई अन्तराष्ट्रिय स्तरको उद्योग बनाउन चाहान्छौं’ उनले भने । विदेशीसँगको साझेदारीको प्रयास कम्पनीले विदेशी साझेदारीमा एन्टी क्यान्सर तथा अंकोलोजी प्रडक्ट तयार गर्न चाहेको छ । ‘नेपाल जस्तो सानो बजार भएको देशमा वित्तीय साझेदारी भित्र्याउन सजिलो छैन । हामी टेक्निकल पार्टनरसीप खोजिरहेका छौं । रोयल्टी तिरेर ५/१० वर्ष उत्पादन गर्ने, त्यसपछि आफैले नयाँ ब्राण्ड बनाउने विधि पनि हुनसक्छ’ उनले आफ्नो सोच सुुनाए । ‘हामी जनरल प्रडक्टहरु कम बनाउँछौ । मैले जति सक्दो विश्वमा आएको नयाँ प्रडक्टहरु ल्याउने प्रयास गरिरहेको छु । मैले पुराना प्रडक्टहरुलाई थोरैमात्र राख्ने गरेको छु । विषेश गरी डाइबेटिजका, बल्डप्रेसर, कोलेस्टरल निरोधका औषधिहरु बनाउँछौं । जटिल प्रकारका रोग निरोधका औषधि उत्पादन गर्न ठूलो पुँजी र नयाँ प्रविधिको आवश्यक हुन्छ’ उनले भने । नेपालको औषधि उत्पादनमा चीन र भारतको तुलनामा २५देखि ३० प्रतिशत उत्पादन लागत बढी छ । ‘कच्चा पदार्थ, भाडा र नदेखिने खर्चहरु धेरै हुन्छन् । विदेशमा ३ दिनमा काम हुने फाइल नेपालमा ६ महिनासम्म अडकेर बस्छ । यो थाहा पाएपछि विदेशी भाग्छ’ विदेशी साझेदारी भित्र्याउन गरेको प्रयासबारे अनुभव सुनाए । भारतमा औषधि उत्पादकलाई ३५ शीर्षकमा अनुदान दिएको छ । नेपालमा यस्तो सुविधा छैन । तर नेपाल सरकारले औषधिका कच्चा पदार्थ र मेसिन लगायतका बस्तु आयातमा करिब २ प्रतिशत मात्र कर लगाएकोमा उनी खुशी छन् । ‘जे जे भएपनि नेपालमा बन्ने औषधिको गुणस्तर पनि राम्रो छ र मूल्य पनि सस्तो छ’ उनले भने ।

३२ ठेकेदार कम्पनीले बेरुजु रकम बुझाएनन् (नामावली सहित)

काठमाडौ । सडक डिभिजन कार्यालय सुर्खेतले विभिन्न ३२ ठेकेदार कम्पनीलाई बेरुजु रकम बुझाउन सूचना जारी गरेको छ । लेखा परीक्षण प्रतिबेदनमा उल्लेख भएका ठेक्काहरुमा संलग्न निर्माण व्यवसायीहरुको नाममा रहेको बेरुजु रकम बुझाउन पत्राचार गर्दा समेत नबुझाएको कार्यालयले जनाएको छ । ७ दिन भित्र रकम जम्मा गरेको प्रमाण पेश गर्न र सो अवधिमा पनि नगरे ती फर्महरुको नाममा कार्यालयमा रहेको धरौटी रकमबाट कट्टा गरी बेरुजु फछ्यौट गरिने र धरौटी रकम अपुग भएमा आर्थिक कार्यविधि नियमावली २०६४ को नियम १०३ बमोजिम केन्द्रीय तहसील कार्यालयमा लगत पठाइने जनाएको छ ।

क्याम्पस निर्माण गर्न नगरपालिकाले गर्न लाग्यो जग्गा अधिग्रहण, क–कस्को पर्यो ?

काठमाडौँ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाले गौशाला बहुमुखी क्याम्पस/इञ्जिनियरिङ क्याम्पस निर्माणका लागि स्थानीय १३ जनाको जग्गा अधिग्रहण गर्ने भएको छ । जग्गा प्राप्ती ऐन २०३४ को दफा ९ र १० प्रयोजनका लागि जेठ ६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । २०७५ असार २० गतेको दोश्रो नगरसभा बैठकको निर्णय अनुसार जग्गा प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको हो । बैठकको निर्णयका अनुसार स्थानशीय बालकुमारी खड्का, मञ्जरी निरौला, तारानाथ सुवेदी, मेनुका बराल घिमिरे, दलबहादुर भुजेल, नोजराज खनाल, जयसुन्दरदेवी साह, जितेन्द्र साह तेली, जमुनी देवी, बिमलादेवी सुवेदी, रामलोचन ठाकुर, बालिकादेवी भट्टराई र सीतादेवी महतोको नाममा रहेको जग्गा अधिग्रहण गर्न लागिएको हो । १३ जना भित्र नाम परेकाहरुले १५ दिन भित्र मुआब्जा दाबी गर्न आ-आफ्नो हकदैया भोगचलन सम्बन्धी निस्सा सहित नगरपालिकाको कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ ।