विकासन्युज

भारतको निर्वाचन मतगणनामा हिंसाको संकेत, कार्यकर्तालाई राहुलकाे ट्वीट- ‘अबकाे २४ घण्टा सतर्क बन्नू’

काठमाडौं । आगामी ५ बर्षको लागि देशको नयाँ नेतृत्व छान्ने भारतको लोकसभा निर्वाचनका लागि बिहीबार हुने मतगणनामा हिंसाको संकेत देखिएको छ । इलेक्ट्रोनिक मेसिनबाट भएको भोटिङमा सत्तारुढ दलले धाँधली गरेको आरोपसहित विपक्षीहरुले आफूहरुको सहमतिविना मतगणना नगर्न चेतावनी दिँदै त्यसो भए सडकमा रगतको खोलो बग्नसक्ने चेतावनी दिएका छन् । पूर्वमन्त्री समेत रहेका राष्ट्रिय लोकसमता पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र कुशहवाले त्यस्तो चेतावनी दिएका हुन् । त्यस्तै तृणमूल काँग्रेसकी अध्यक्ष ममता बनर्जीले समेत मोदीले मेसिनमा गडबडी गरेर चुनावी नतिजा फरक पार्नसक्ने आरोप लगाएकी छिन् । काँग्रेस आईले यसका सम्बन्धमा औपचारिक रुपमा केही बोलेको छैन, तर सो पार्टीका दोस्रा तहका नेताले पनि त्यस्तै धाँधलीको आशंका गरेका छन् । भारतमा सन् २००४ देखि नै त्यस्तै मेसिनबाट भोटिङ हुँदै आएको छ तर यसपटक भने धाँधलीको आरोप लगाइएको छ । यद्यपि भारतीय निर्वाचन आयोगले बिहीबार ८ बजेदेखि गणना सुरु गर्ने जनाएको छ । भारतको ५४३ सिटमध्ये ५४२ सिटका लागि निर्वाचन सम्पन्न भएको छ । इलेक्ट्रोनिक मेसिनमा भोटिङ भएका कारण सम्पूर्ण निर्वाचन क्षेत्रका नतिजाहरु बिहीबारनै सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ । भारत सरकारले भने मतगणनाकाे क्रममा हुनसक्ने सम्भावित हिंसाकाे लागि उच्च सुरक्षा सतर्कता अपनाएकाे जनाएकाे छ। यसैबीच राहुल गान्धीले आगामी २४ घण्टा महत्वपूर्ण भन्दै कार्यकर्ताहरुलाई सतर्क रहन आह्वान गरेका छन् । उनले एक्जिट पाेलकाे दुस्प्रचारकाे पछि नलागि संयमित हुन आग्रह गर्दै भनेका छन्, ‘विश्वास राख्नुस्, हाम्राे मिहिनेत खेर जाने छैन ।’  

वैदेशिक रोजगारीबाट फर्केका १८ हजार युवा सूचीकृत, ‘उद्यमी बन्न चाहन्छन्’

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका अधिकांश युवा सहुलियत कर्जा लिएर उद्यमी बन्न आकाङ्क्षी देखिएका छन् । सहुलियत कर्जा लिन वैदेशिक रोजगार बोर्डमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी युवाले उद्योग/व्यवसाय गरी स्वरोजगार हुन चाहेका छन् । बोर्डले सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवालाई सूचीकृत गरेको छ । आवेदन दिएकामध्ये चार हजार ७४७ युवाले कुनै न कुनै प्रकारको उद्योगधन्दा स्थापना गरी स्वरोजगार बन्ने र रोजगारीका अवसर सिर्जना गर्ने प्रस्ताव पेश गरेका थिए । उनीहरुले उद्योग/व्यवसायअन्तर्गत मोटरसाइकल/गाडी मर्मत वर्कशप, फेन्सी/ किराना/ इलेक्ट्रिक/हार्डवेयर/ फलफूल/मदिरा/ प्लाष्टिक पसल, जुत्ता/ चप्पल कारखाना, आल्मुनियम÷ग्रील कारखाना, प्रेस सञ्चालन, होटल व्यवसाय, हेल्थ केयर सेन्टर, दुग्धजन्य उत्पादनको व्यापार, राईस मिल स्थापना गरी स्वरोजगार बन्ने आकाङ्क्षा देखाएका छन् । बोतल तथा जार उत्पादन, हस्तकला व्यवसाय, निर्माण व्यवसाय, सेनेटरी प्याड उत्पादन, इँटाभट्टा सञ्चालन, ब्लक उद्योग, पशु क्लिनिक, फोहर व्यवस्थापन, अगरबत्ती उत्पादन, मिडिया हाउस, गलैँचा उत्पादनमा पनि युवाको आकर्षण देखिएको छ । त्यसैगरी तीन हजार ७११ जनाले यातायात व्यवसायमार्फत स्वरोजगार हुन चाहेको प्रस्तावित व्यावसायिक योजनामा उल्लेख गरेका छन् । यसअन्तर्गत ट्याक्सी, ट्रिपर, बस, जीप, अटो र पर्यटक बस सञ्चालन आदि जस्ता योजना प्रस्ताव गरेका छन् । पशुपालन तथा कृषिजन्य उत्पादनका लागि पनि युवाको आकर्षण देखिएको छ । दुई हजार ६३७ युवाले कुखुरा, माछा, गाई, चौरी, भैँसी, बाख्रा, बङ्गुर, सङ्गुर, मौरी, टर्की कुखुरा, बट्टाइँ चरा, हाँस आदि जस्ता पशुपालन गर्न सहुलियत कर्जा माग गरेको छन् । चिया, कफी, स्याउ, सुन्तला, अलँैची, किबी, कागती, गोलभेँडा, च्याउ, स्ट्राबेरी, तरकारी, ऊखु, केरा आदि जस्ता कृषि व्यवसायमा लागेर स्वरोजगार हुन चाहने युवाको सङ्ख्या दुई हजार २९ रहेको छ । सतसठ्ठी प्रतिशतले १० लाखभन्दा बढी कर्जा मागे सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेको ज्ञान र सीपको प्रयोग गरी स्वरोजगार हुन चाहने युवालाई परियोजनामा आधारित रहेर रु १० लाखसम्म सहुलियत कर्जा दिने बताए पनि ६७ प्रतिशत आवेदकले व्यवसाय सञ्चालन गर्नका लागि रु १० लाखभन्दा बढी कर्जा माग गरेका छन् । व्यवसायिक योजनाका आधारमा उद्यम वा स्वरोजगार हुनका लागि कूल सूचीकृत सङ्ख्यामध्ये १२ हजार ६६५ ले दश लाखभन्दा बढी रकम प्रस्ताव गरेका छन् । पाँच हजार ८०० युवाले रु १० लाख र बाँकी ३०२ जनाले दश लाखभन्दा कम रकमको प्रस्ताव गरेका बोर्डले जनाएको छ । तोकिएको ढाँचामा फारामभरी निवेदन दिनेमध्ये व्यावसायिक योजना विस्तृत रुपमा उल्लेख गरी रकम माग गर्ने सङ्ख्या अत्यन्त न्यून रहेको छ । अधिकांश निवेदनमा आफूले गर्न चाहेको व्यवसायको खर्चको सारांश मात्र उल्लेख गरेका पाइएको छ । सहुलियत कर्जा माग गर्ने महिलाको सङ्ख्या भने निकै कम देखिएको छ । कूल सूचीकृत सङ्ख्यामा महिला सङ्ख्या ८९३ र पुरुष सङ्ख्या १७ हजार ८७४ रहेको छ । यसैगरी सबैभन्दा बढी निवेदन प्रदेश नं ३ बाट परेको छ । प्रदेश नं ३ का १३ वटा जिल्लाबाट कूल १३ हजार ५६६ जना सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ९ जिल्लाबाट २९४ जना सूचीकृत भएका छन् । सबैभन्दा बढी मलेसियाबाट फर्केका कामदारले सहुलियत कर्जा माग गरेका छन् । मलेसियाबाट फर्केका छ हजार ४१७, साउदी अरबबाट फर्केका चार ३९९, कतारबाट फर्केका तीन हजार ६१६ र युएइबाट फर्केका दुई ६२० युवाले कर्जा लिन चाहेका छन् । त्यसैगरी आकर्षक गन्तव्य रहेको जापानबाट फर्केका युवाले पनि स्वदेशमै उद्यम गर्नका लागि कर्जा माग गरको छन् । जापानबाट फर्केर व्यवसाय गर्न चाहने युवाको सङ्ख्या ३९ रहेको छ । कर्जा प्रवाह गर्न सिफारिश बोर्डले सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत् वैदेशिक रोजगारबाट फर्केका कामदारलाई स्वरोजगार बन्नका लागि सिफारिश गरेको छ । सूचीकृत भएका युवालाई सहुलियतको कर्जा प्रवाह गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सरकारसँग सिफारिश गरेको हो । नेपाल राष्ट्र बैंकले परियोजनामा आधारित सहुलियत कर्जा प्रवाह गर्न सम्पूर्ण वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बोर्डले सूचीकृत युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मङ्गलबार एक सूचना जारी गर्दै बोर्डले सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायकपर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । सूचीकृत युवाले रु १० लाख ब्याज अनुदानमा प्राप्त गर्नेछन् । उनीहरुले पाँच वर्षभित्र सावा तथा ब्याज भुक्तानी गरिसक्नुपर्ने छ । रासस

जेठ ७ देखि ११ गतेसम्म ‘टिभीएस एक्सचेञ्ज जात्रा’, नयाँ मोटरसाईकल रोज्ने यस्ता छन् विकल्प

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक्सचेञ्ज योजना अघि सारेको छ । विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा उपलब्ध मोटरसाईकल तथा स्कूटरहरु अब ग्राहकहरुले पुरानो तान्न छाडेर नयाँ हाँक्न पाउने गरी एक्स्चेञ्ज अफर ‘टिभीएस एक्सचेञ्ज जात्रा’ सञ्चालन गरेको छ । एक्सचेञ्ज जात्रा जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा सञ्चालन भैरहेको र कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य रु.२५ हजार प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्क्य्राच कुपनबाट कम्तीमा रु.१० हजारदेखि बढीमा रु.१ लाख रुपैयाँसम्मको पक्का नगद छुट प््राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सिभिल बैंक र लिडरशिप एकेडेमीबीच सम्झौता, कर्मचारीको दक्षता अभिबृद्धि गरिने

काठमाडौँ । सिभिल बैंकले कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले लिडरशिप एकेडेमी नेपालसंग सहकार्य गरेको छ । सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लिडरशिप एकेडेमी नेपालको तर्पmबाट अरुण जोशीले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । यसैबीच सिभिल बैंकले केही महिना अघि ल्याएको “सम्मान बचत खाता” खातामा आकर्षक ब्याजका साथै औषधोपचार खर्चमा रु एक लाखसम्म र दुर्घटना मृत्युमा रु सातलाख सम्मको बीमा सुबिधा प्रदान छ । बैंकले सम्मान बचत खाता खोलेका ग्राहकहरुको औषोधपचार खर्चबापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । औषधोपचार खर्चको बीमा दाबी रकम बैंकद्वारा काठमाडौँका रिकेश शाक्य, बिराटनगरका रायचन्द बोथारा र मनोज पोखरेल तथा लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरिएको बैंकले जनाएको छ ।

दैलेखमा एनसीसी बैंकको नयाँ शाखा बिस्तार

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । एनसीसी बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बेलायती मन्त्रीसँग अर्थमन्त्री खतिवडाले भने-‘सहायता निरन्तर रहोस्’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको हो । भेटमा अर्थमन्त्री खतिवडाले मुलुकमा राजनीतिक स्थिरतासँगै वर्तमान सरकार आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताए । उनले हालै सम्पन्न लगानी सम्मेलनमा बेलायती सरकारको तर्फबाट सदासयता देखाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए । बेलायती सरकार द्विपक्ष्ािय दातृ निकायहरु मध्ये सबैभन्दा ठूलो दातृ निकाय भएकोमा धन्यबाद दिंदै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउनेतर्फ सरकार सजग रहेको स्पष्ट पारे । भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको स्पष्ट पारे । भेटमा बेलायती मन्त्रीले दोहोरो कर प्रणाली मुक्ति सम्बन्धी सम्झौता निर्माणको चरणमा रहेको अवगत गराए । उनले नेपाल संघीयता कार्यान्वयनको चराणमा रहेको भन्दै बेलायती सरकार सहकार्य र सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरे । नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार सहयोगका लागि सदैव तत्पर रहेको धारणा राखे । उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास व्यक्त गरे । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा संघीयता कार्यान्वयनको चरणलाई खुलेरै प्रशंशा गरे ।

जेनेभामा स्वास्थ्यमन्त्री यादवले भने-‘नेपालमा दुईवर्ष अघिनै रुवेला रोग नियन्त्रण’

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेनेभामा भइरहेको “स्वास्थ्यमा सर्वव्यापी पहुँच, सेवाबाट कोही पनि वञ्चित नहुने ” भन्ने मूल नारा रहेको ७२ औं स्वास्थ्य सम्मेलनलाई मंगलबार सम्बोधन गरेका छन् । सोमबारदेखि जेनेभामा शुरु भएको विश्व स्वास्थ्य सम्मेलनमा विश्वका १९४ राष्ट्रका उच्च पदाधिकारी ,नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । सो सम्मेलनलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री यादवले नेपालले खस्रे रोग निवारणमा उपलब्धी हासिल गरेको साथै विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्ष अगावै रुवेला रोग नियन्त्रणमा ल्याइएको जानकारी दिए । नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको पनि उपप्रधानमन्त्री यादवले बैठकमा उल्लेख गरे । यसैगरी, चीनका राष्ट्रिय स्वास्थ्य आयोगका मन्त्री म. छिवई र उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवबीच स्वास्थ्यको क्षेत्रमा द्वीपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्नेबारे छलफल भयो । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्व व्यापी कार्ययोजनाको बारेमा धारणा राखेकी थिइन् ।

७.४९ अंकले बढ्यो नेप्से, ९६ करोडको कारोबार

काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ७.४९ अंकले बढेको छ । ०.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १३१९.६३ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १७१ कम्पनीले सेयर कारोबार गरेका छन् । ३४ लाख ३६ हजार ९ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेका २ सूचक मात्र राता देखिए भने बाँकीमा हरियाली छायो । बैंक समूह २.५९, होटल समूह ५२.२३, विकास बैंक समूह ६.०३, जलविद्युत समूह ६८.६३, वित्त ४.०३, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, माईक्रोफाइनान्स ७.२१ र जीवन बीमा समूह ४३.५९ अंकले बढेका छन् । बजार बढेको दिन उत्पादनमूलक समूह ८४.५३ अंकले र म्यूचुअल फण्ड ०.२ घटेका छन् । बुधबार अरुण भ्याली हाईड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने घलेम्दी हाईड्रोका लगानीकर्ताले ९.४८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।