
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेनेभामा भइरहेको “स्वास्थ्यमा सर्वव्यापी पहुँच, सेवाबाट कोही पनि वञ्चित नहुने ” भन्ने मूल नारा रहेको ७२ औं स्वास्थ्य सम्मेलनलाई मंगलबार सम्बोधन गरेका छन् ।
सोमबारदेखि जेनेभामा शुरु भएको विश्व स्वास्थ्य सम्मेलनमा विश्वका १९४ राष्ट्रका उच्च पदाधिकारी ,नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
सो सम्मेलनलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री यादवले नेपालले खस्रे रोग निवारणमा उपलब्धी हासिल गरेको साथै विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्ष अगावै रुवेला रोग नियन्त्रणमा ल्याइएको जानकारी दिए ।
नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्यमा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको पनि उपप्रधानमन्त्री यादवले बैठकमा उल्लेख गरे ।
यसैगरी, चीनका राष्ट्रिय स्वास्थ्य आयोगका मन्त्री म. छिवई र उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवबीच स्वास्थ्यको क्षेत्रमा द्वीपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्नेबारे छलफल भयो ।
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्व व्यापी कार्ययोजनाको बारेमा धारणा राखेकी थिइन् ।