ग्लोबल आइएमईबाट सूर्या लाइफको बीमा सेवा पाइने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सूर्यलाइफ इन्सुरेन्स कम्पनीलि.बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्यलाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
नेपालले खस्रे रोग निवारणमा उपलब्धी हाँसिल गरेको छ : स्वास्थ्यमन्त्री
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जेनेभामा भइरहेको “स्वास्थ्यमा सर्वव्यापी पहुँच ,सेवाबाट कोही पनि वञ्चित नहुने ” भन्ने मूल नारा रहेको ७२ औं स्वास्थ्य सम्मेलनलाई मंगलबार संबोधन गरेका छन्। सोमबारदेखि जेनेभामा शुरु भएको विश्व स्वास्थ्य सम्मेलनमा विश्वका १९४ राष्ट्रका उच्च पदाधिकारी ,नीति निर्माता एवं स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । सो सम्मेलनलाई संवोधन गर्दै उपधानमन्त्री यादवले नेपालले खस्रे रोग निवारणमा उपलब्धी हासिल गरेको साथै विश्व स्वास्थ्य संघले तोकेको समयावधि भन्दा दुई वर्ष अगावै रुवेला रोग नियन्त्रणमा ल्याइएको जानकारी दिए। नेपालले स्वास्थ्य क्षेत्रमा दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्मा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको पनि उपप्रधानमन्त्री यादवले बैठकमा उल्लेख गरे। उनले नेपालको सन्दर्भमा स्वास्थ्य सँग सम्बन्धित लक्ष्य हासिल गर्न गरेका कार्यहरुले कसैलाई पनि सेवाबाट वञ्चित हुन दिंदैन भनेका छन्। उनले स्वास्थयको एजेन्डालाई मुलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण,औषधीको मूल्यमा नियन्त्रण, नसर्ने रोगहरुको भार कम गर्ने जस्ता कार्यहरु गरी गुणस्तरीय स्वास्थय सेवामा समतामूलक पहुँच बढाउने कुरामा जोड दिए।
अझै राज्य सहकारीमैत्री भएको छैन: अध्यक्ष उप्रेती
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीका कमजोरी हटाउन सबै लाग्नुपर्ने बताए । ‘राज्य सहकारीमैत्री छैन्,’उनले भने । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले नियतबश बहुउद्देश्यीय सहकारी बन्द गराउन खोजिएको बताए । ‘सहकारीलाई बचतमा जान वाध्य पारिएको छ’ उनले भने, ‘यसले सहकारीमार्फत आर्थिक संमृद्विमा समस्या पर्न सक्छ ।’ सहकारीकर्मीहरुले सहकारीलाई करमा विभेद गरेको गुनासो गरेका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको ‘सहकारी ऐन र विभेदकारी कर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बचत सहकारीलाई कर छुट दिई उत्पादनशील क्षेत्रमा लागेका सहकारीलाई कर छुट नदिएको गुनासो गरेका हुन् । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले सहकारी ऐन सहकारीमैत्री नभएको बताए । सहकारी ऐन संशोधन गरी सहकारीमैत्री बनाउन कार्यदलले काम गरिरहेको उनको भनाइ छ । सहकारीले वित्तीय अनुशासन पालना गर्न कन्जुस्याई गर्न नहुने बताए । सहकारी नियमावलीले धेरै कोषको परिकल्पना गरेकाले सदस्यलाई नाफा नआउने अवस्था आएको बताए । नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारीले बचत तथा ऋण मात्र कारोबार गरेर नहुने बताए । सहकारी क्षेत्रमा पुँजी भित्रिन नदिने चलखेल भएको उनको भनाइ छ । उनले सन्र्दभ ब्याजदर र स्प्रेडदर निर्धारणमा जटिलता भएको भन्दै नियमक निकायले अंकुश लगाउन खोजेको आरोप लगाए । काठमाडौं जिल्ला बचत संघका सचिव शालिकराम पुडासैनीले सहकारीमा विकराल स्थिति भएको भन्दै सुद्विकरण अभियान चलाउन आवश्यक भएको बताए । सहकारीले नियत खराब राखेर सदस्यको सम्पत्ति लिलाम गर्ने गरेको बताए । ‘विभागकै कर्मचारीले लिलामीको ढाँचा तयार गरिदिन्छन्’ उनले भने । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सरकारले सहकारीलाई विभेद गरेको आरोप लगाए । उत्पादन सहकारीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा सरकारले बहुउद्देश्यीयलाई बचतमा जान वाध्य पारेको उनको भनाइ छ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले कार्यपत्र प्रस्तुत गरेका थिए ।
एकल विन्दु सेवा केन्द्र शुरु भएपछि उद्योगीहरु उत्साहित, ८ दिनमा २० नयाँ उद्योग दर्ता
काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि उद्योग विभागमा चहलपहल बढेको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सेवाकेन्द्रमा चहलपहल बढेसँगै उद्योग दर्ताको संख्यामा वृद्धि भएको छ । सेवाकेन्द्र सञ्चालनमा आएपछि उद्योग दर्ता १५० प्रतिशतले वृद्धि भएको छ भने दर्ता भएका उद्योगको पूँजीमा २३९३ गुणाले बढेको देखिन्छ । २०७६ बैशाख १ गतेदेखी ८ गतेसम्म १ अर्ब ७८ करोड ६० लाख पूँजी भएका उद्योग दर्ता भएका थिए भने एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गते देखी ८ सम्म) ४४ अर्ब ५३ करोड ४९ लाख १५ हजार ५ सय पूँजी भएका २० वटा नयाँ उद्योग दर्ता भएका छन् ।अघिल्लो महिनाको १ देखि ८ गतेसम्मका ८ वटा मात्रै नयाँ उद्योग दर्ता भएकोमा एकल विन्दु सेवा केन्द्र शुरु भएको ८ दिनमै २० वटा नयाँ उद्योग दर्ता भएको हो । एकल विन्दु सेवा केन्द्र सञ्चालन भएपछिको ८ दिनमा दर्ता भएका उद्योग मध्ये ६ वटा हाइड्रोपावर सम्बन्धी उद्योग छन् । पूँजीको हिसावले अघिल्लो महिनाको ८ दिनको तुलनामा पछिल्लो ८ दिनमा ४२ अर्ब ७४ करोड ९४ लाख ९१ हजार ६ सय रुपैयाँ बढी पूँजी भएका उद्योग दर्ता भएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्तामा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवाकेन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’ उद्योग विभागका प्रवक्ता जीवनराज सेढाईले उद्योग दर्ता गर्दा हुने विभिन्न झन्झट हटाई बैंक वित्तीय संस्थाको कामदेखि कम्पनी दर्तासम्मका सबै काम सेवाकेन्द्रबाट भइरहेको बताए । केन्द्रबाट कम्पनी, फर्म, उद्योग दर्ता, अनुमती, ईजाजत, स्थापना, नवीकरण, क्षमता वृद्धि र बहिगर्मन लगायतका कार्यहरु सहज ढंगले हुन थालेको उनको भनाई छ । फाइल फोटो एकल विन्दु सेवा केन्द्रको संगठन संरचनामा उद्योग विभागको महानिर्देशक कार्यकारी प्रमुखका रुपमा रहेका छन् । एकद्वार प्रणाली केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । सेवाकेन्द्रमा रहेका भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ । गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।
नवलपुरका हुरी पीडितलाई सांसद विनोद चौधरीद्वारा सय बण्डल जस्तापाता सहयोग
काठमाडौं । नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपालीकाँग्रेसका सांसद एवम् चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले हुरी र असिना पानीले क्षति पुर्याएको क्षेत्रमा सहयोग उपलब्ध गराएको हो । देवचुली क्षेत्रमा जेठ ७ र ८ गतेको हुरी तथा असिनापानीले दुई सयभन्दा धेरै घरको छानो उडाएर पुर्याएको छ । ‘नवलपुरमा आएको हुरी तथा असिनापानीले आमनागरिकमा पु¥याएको असरबाट मर्माहत भएको छु । नवलपुरका वासिन्दा र जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’ सांसद चौधरीले पठाएको सन्देशमा उल्लेख छ । विहिबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको हो । नगरपालिकाको अध्ययन टोलीले हुरीपीडितका लागि तत्काल सबैभन्दा आवश्यक जस्तापाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीकालागि जस्तापाताको व्यवस्था मिलाएका हुन् ।
बजेट भाषणअघि कार किन्दा रू.५ लाख छुट, सरकारले गाडीकाे भन्सार घटाउला ?
काठमाडौँ ।सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्दैछ । अर्थमन्त्रीले संसदमा बजेट पढ्नुभन्दा अघि कार किन्नेले ५ लाख रूपैयाँ छुट पाउने भएकाे छन् । त्यति मात्र हाेइन, गाडी बुकिङ वा खरिद गर्दा निशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीकाे सुविधा पाउने छन् । तर याे सुविधा सबै गाडीमा पाउने हाेइन । रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफरमा यस्ताे सुविधा ल्याएकाे हाे । उक्त कम्पनीकाे अफर हेर्दा लाग्छ सरकारले बजेटमा गाडीकाे भन्सार तथा अन्तशुल्क लगाउन सक्छ । तर कम्पनीले आफ्ना गाडी बिकाउन यस्ताे अफर ल्याएकाे हाे । बजेटपछि गाडीकाे कर घट्ने वा मूल्य घट्ने सम्भावना छैन । वर्तमान सरकार, त्यसमा पनि अर्थमन्त्री युवराज खतिवडाले महँगाे गाडी प्रति अत्यान्तै नकारात्मक धारणा व्यक्त गर्दै आएकाले यस वर्ष पनि गाडीमा लाग्ने कर वृद्धि हुन सक्छ र बजेट पछि गाडीकाे मूल्य झन् बढ्न सक्छ । उपभाेक्ताले बुझेकाे यहि मनाेविज्ञानलाइ बुझेर कम्पनीले बजेटअघि बढी गाडी बेच्न यस्ताे याेजना ल्याएकाे विश्लेषण गरिएकाे छ । कम्पनीका अनुसार रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सीमित अवधिका लागि यो अफर उपलब्ध गराइने छ ।
नेपाल बङ्गलादेश बैंकले शुक्रबारदेखि दुई अर्बको ऋणपत्र बिक्री गर्दै
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालले उक्त ऋणपत्रलाई न्युन कर्जा जोखिम जनाउने “इक्रा एनपी ए एलबीबी प्लस” रेटिङ्ग प्रदान गरेको छ । बैंकले १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याज पाइने छ । साथै, यस ऋणपत्र नेप्सेमा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी रहेको छ । त्यस्तै, अधिकृत पुँजी १० अर्ब र जारी पुँजी ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
प्रधानमन्त्रीले भने-‘सामुदायिक विद्यालयसँग प्रतिष्पर्धा गर्न निजीलाई हम्मेहम्मे’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि सरकार लागिपरेको बताएका छन् । हिसान र कान्तिपुरले संयुक्त रुपमा आयोजना गरेको एड्युफेयरको विहीबार राजधानीमा उदद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘केही समयपछि सामुदायिक विद्यालयको गुणस्तर यति माथि पुग्नेछ कि निजी विद्यालयलाई प्रतिष्पर्धा गर्न हम्मेहम्मे पर्नेछ ।’ तर, यसो भन्दैमा निजी क्षेत्रलाई सरकारले घाँटी निमोठ्ने काम गर्दैन–उनले भने । कार्यक्रममा बोल्दै ओलीले निजी क्षेत्रले विकासको अगुवाई गरेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रको उन्नतीको लागि निजी र सार्वजनिक क्षेत्र संगसंगै हिड्नुपर्ने बताए । निजी क्षेत्रलाई प्रोत्साहन नमिल्दा विद्यार्थीहरु बाध्य भएर अध्ययनको लागि बाहिर जानु परेको पनि प्रधामन्त्री ओलीले उल्लेख गरे । नेपालमा गुणस्तरीय शिक्षा भन्ने मूल नाराको साथ विभिन्न विद्यालय तथा कलेजको सहभागितामा काठमाडौंको भृकुटी मण्डपमा कार्यक्रम आयोजना गरिएको हो । एड्युफेयरमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटिईभिटि)को सम्बन्धनमा संचालित १ सय ५० बढी शैक्षिक संस्थाहरुको सहभागिता रहेको आयोजकले बताएका छन् । एड्युफेयरमा ४ दिनसम्म सञ्चालन हुनेछ । विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासंग सरोकार राख्नेहरु गरी २ लाख भन्दा बढीले मेला अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।