विकासन्युज

प्रदेश १ ले ४५ अर्बको बजेट ल्याउने, भौतिक पूर्वाधार विकासमा केन्द्रित

काठमाडौँ । प्रदेश नं १ ले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । उक्त बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिइने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको छ भने सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन सिटौलाका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकास अन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । चालू आवका लागि सरकारले कूल रु ३५ अर्बको बजेट ल्याएको थियो । प्रदेश योजना आयोगले प्रदेशको विकासका लागि आगामी बजेटमा प्रदेश सरकारलाई कूल रु ५५ अर्बको बजेट ल्याउन सिफारिस गरेको छ । आगामी आवका लागि प्रदेश योजना आयोगले आवधिक योजना दिशानिर्देशमा महत्वपूर्ण विषयलाई समेटेर तयार पारेको खाकाअनुसार सो बजेटको सिफारिस गरिएको आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिए । उनले आयोगले मूलभूत रुपमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गर्न सकेमा प्रदेशमा समृद्धि आउने, उत्पादन बढ्ने, प्रशस्त रोजगारका अवसर सिर्जना हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशमा भित्र्याउन सकिने कुरामा जोड दिए । प्रदेश १ मा चौथो अधिवेशनअर्थात् बजेट अधिवेशन यही जेठ १३ गतेदेखि शुरु हुँदैछ । रासस

श्रोत नखुलेको ३१ लाख नगदसहित २ जना पक्राउ, कहाँबाट ल्याए ?

काठमाडौँ । महानगरीय प्रहरीवृत्त नयाँ वानेश्वरले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा बा१४च ८९५९ नंको सवारी जाँचका क्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

भारतमा भाजपालाई अत्याधिक बहुमत, राहुलले हार स्वीकार्दै मोदीलाई दिए बधाई

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार साँझ ६ः३० बजेसम्मको मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ । बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा बिजय हासिल गरिसकेको छ । भाजपा अन्य २८८ स्थानमा अग्रता कायम गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेसले दुई स्थानमा बिजय हासिल गरेको छ भने ५३ स्थानमा अग्रता कायम गरेको छ । भाजपा गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्स (एनडीए) ले ३४६ स्थानमा अग्रता कायम गरेको छ भने कङ्ग्रेस आई निकट यूनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीए) को ९४ स्थानमा अग्रता कायम रहेको छ । अन्य १०२ स्थानमा अन्य साना तथा क्षेत्रीय दलको अग्रता रहेको छ । भाजपाले बहुमत आउनेभएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनको गठबन्धनले अत्यधिक बहुमत स्थानमा अग्रता कायम गरेपछि उनलाई नेपालका प्रधानमन्त्री के पी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतले बधाई ज्ञापन गरेको समाचारहरू भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू, आफ्नो दल र आफू नेतृत्वको गठबन्धनलाई मतदान गरी विजयी गराउने भारतीय समर्थक, शुभचिन्तक, कार्यकर्ता तथा जीतका लागि अनवरत लाग्ने नेतृत्वलाई बधाई दिएका छन् । उनले निर्वाचनका लागि तय गरेको नारा सबको साथ, सबको विकास, सबको विश्वासको निष्कर्ष समग्र भारत र भारतीयहरूको विजय भन्ने वाक्यांश दोहोराउँदै भाजपाले आगामी दिनमा सवैलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । कङ्ग्रेस नेता राहुल गान्धीले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका छन् । निर्वाचन परिणाम कङ्ग्रेसका लागि अनपेक्षित रहेको भएपनि कङ्ग्रेसका शुभचिन्तकलाई नआत्तिन राहुल गान्धीले एक पत्रकार सम्मेलनमार्फत् आग्रह गरेका छन् । उनले यस पहिल (सन् २०१४) मा करिब एक लाख मतका साथ विजय हासिल गरेको अमेठी निर्वाचन क्षेत्रमा आफ्नो हार स्वीकार गरेका छन् । यधपी मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन । उक्त क्षेत्रमा प्रतिश्पर्धामा रहेकी विजेपी नेता स्मृति इरानीलाई मतगणनाको अन्तिम परिणाम आउनुपूर्व नै गान्धीले वधाई दिएका छन् । त्यसैगरी गान्धीले निर्वाचनमा कङ्ग्रेसको अपेक्षाकृत नतिजा नआएको भन्दै हारको जिम्मा पार्टीको अध्यक्षका हैसियतले आफूले लिने बताए । भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाको पश्चिम बंगालमा व्यापक सुधार देखिएको छ । पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ । लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ । रासस/एएनआई

कल निक्षेपलाई २०७७ असारभित्र १०% मा झार्न राष्ट्र बैंकको निर्देशन, १४ बैंक ‘रेडजोन’मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिटको हिस्सा घटाउन निर्देशन दिएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै बैंकले वाणिज्य बैंकहरुलाई २०७७ असार मसान्तभित्र कुल निक्षेपको १० प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई कुल निक्षेपको १५ प्रतिशत भन्दा बढी कल निक्षेप नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले ल्याएको कल डिपोजिटको आकार घटाउने नीतिलाई नेपाल राष्ट्र बैंकको बिहीबारको परिपत्रले कार्यान्वयन गरेको हो । उक्त निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिटको हिस्सा घटाउनुपर्ने दबाब थपिएको छ । उक्त निर्देशनअनुसार २८ ओटा वाणिज्य बैंकमध्ये १४ ओटा बैंकहरु यो परिपत्रद्धारा प्रभावित हुनेछन् । बाँकी १४ ओटा बैंकको भने कल डिपोजिटको हिस्सा यसअघि नै १० प्रतिशतभन्दा कम छ । कल डिपोजिटको हिस्सा सबैभन्दा बढी भएको प्राइम कमर्शियल बैंकले चैत मसान्तसम्मको डिपोजिटमा कल डिपोजिटको हिस्सा २३.७९ प्रतिशत कायम गरेको छ । चैत मसान्तमा कुल ७७ अर्ब निक्षेपमध्ये १८ अर्ब निक्षेप कल डिपोजिटको रुपमा बैंकले उठाएको हो । त्यस्तै, एनसीसी बैंकको १७.८१, मेगा बैंकको १७.६१, कुमारी बैंकको १७.१३, सिद्धार्थ बैंकको १६.९२, सेञ्चुरीको १६.८८, सिभिलको १६.६९ तथा नबिल बैंकको १५.६६ प्रतिशत डिपोजिटको हिस्सा कल खाताको छ । त्यसबाहेक नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, एनआईशी एशिया बैंक, प्रभु बैंक र एनएमबि बैंकको भने १५ प्रतिशतभन्दा कममात्र हिस्सा कल डिपोजिटको छ यद्यपि यी बैंकहरु समेत राष्ट्र बैंकको उक्त नीतिको `रेडजोन´मा छन् । अर्थात् उनीहरुलाई उक्त निक्षेप साईजमा ल्याउनुपर्ने बाध्यता छ । बाँकी बैंकहरुको भने कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा तल नै छ । सबैभन्दा कम कृषि विकास बैंकको यो हिस्सा ०.९६ प्रतिशत रहेको देखिएको छ । कल एकाउन्टलाई चल्ती खाता र बचत खाताको ‘हाइब्रिड’ खाताको रुपमा लिइन्छ । चल्ती खातामा ब्याज दिन नमिल्ने र बचत खातामा कारोबारको सीमा निर्धारण हुने तथा संस्थागत रुपमा त्यस्तो खाता खोल्न नमिल्ने भएका कारण व्यापारी समाजहरु यस्तो खातामा पैसा राख्न रुचाउँछन् । तुलनात्मक रुपमा कम ब्याज आउने भएपनि चल्ती खातामा ब्याजै नआउने पैसालाई उनीहरुले यस्तो एकाउन्टमा राख्ने गरेका छन् । यद्यपि यस्तो एकाउन्टको कारोबार सीमा र संख्या तोकिएको हुँदैन । उच्च रुपमा नगद प्रवाह भइरहने भएकोले यो खातामा रहेको पैसालाई त्यति विश्वसनीय मानिँदैन । त्यसैले यस्तो खातामा रहेको निक्षेपको हिस्सा घटाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको हो । तर यसका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई १५ महिनाकाे समय दिएकाे छ ।

कामना सेवाका ग्राहकलाई भरतपुर सेन्ट्रल र नेशनल सिटी हस्पिटलमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंकले भरतपुर महानगरपालिका स्थित भरतपुर सेन्ट्रल हस्पिटल प्रालि र नेशनल सिटी हस्पिटल लि.सँग औषधी तथा उपचारमा विशेष छुट पाउने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले ती संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुखसुवास भट्टराई र भरतपुर सेन्ट्रल हस्पिटल प्रालिको तर्फबाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी हस्पिटल लिका तर्फबाट हस्पिटल प्रबन्धक बिक्रम अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकको ५६ लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत, कसको कति स्वामित्व ?

काठमाडौं । प्रभु बैंक लिमिटेडको ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । बिहीबार मात्रै बैंकको सो मात्राको सेयर साधारणमा परिणत भएको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले जनाएको छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

ओम डेभलपमेन्ट बैंक र सूर्या लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक लि.र सूर्या लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ । साथै बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै दाबी भुक्तानी सहजरुपमा लिन सक्ने बताइएको छ ।

एनआईसी एशियाका ग्राहकलाई भेनस हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका छन् ।