चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक,जेठ २४ गतेदेखि देशभर प्रदर्शन हुने
काठमाडौं । चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ । माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ । चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् । यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् । सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाल लगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।
गरिमा विकास बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।
एभरेष्ट इन्स्योरेन्सका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आरएस भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट कुनैपनि किसिमको बीमा लेख लिएका वीमितले काठमाडौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा १०% सम्म छुट पाउने छन् ।
आईएमई जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको हालै बसेको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्रामा बोनस दिने प्रस्ताव गरेको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ । इन्स्योरेन्सको उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी २१औँ साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको बोनस सेयर पाउने छन् । साथै, उक्त बोनसमा लाग्ने कर भने सेयरधनी आफैले व्यहोर्नु पर्ने छ ।
सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’, संस्थालाई सहयोग गरेको छ । २६ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्य पदार्थ सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको बैंकले जनाएको छ
परिसूचक र कारोबार दुबै घट्दा अपरको १५ करोडको सेयर किनबेच, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि
काठमाडौं । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । परिसूचक ५.०८ अंकले घटेर १३१४.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशत घटी हो । त्यस्तै, कूल १७० कम्पनीको ९३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । हाइड्रोको एकैदिन १५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टीलरीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र मल्टि प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९५ र ९.६३ प्रतिशत कमाएका छन् । उता दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । बिहीबार हिमालय उर्जा विकास कम्पनी र हिमालयन पावर पार्टनरको लगानीकर्ताले क्रमशः ९.७२ र ९.७० प्रतिशत गुमाएका हुन् । बजारमा सबैभन्दा बढी होटल समूह ३५.८३ अंकले बढेको छ भने हाइड्रोपावर समूह ६४.७८ अंकले घटेको छ ।
अन्तिम नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई
फाइल फोटो काठमाडौँ । भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने निश्चित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकोमा बधाई दिएका छन् । उनले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिएका हुन् । अबपनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गरे । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ । आजसाँझसम्म अन्तिम नतिजा आउने जनाइएको छ ।
मेगा बैंकका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशत छुट, १ सय ६० वटै देशमा लागू हुने
काठमाडौँ । कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच मेगा बैंकका ग्राहकहरुलाई कतार एयरवेजको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ । यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० वटै देशमा लागू हुने सम्झौतामा उल्लेख छ । कतार एयरवेजको काठमाडौँको हात्तीसारस्थित कर्पोरेट कार्यालयबाट ग्राहकहरुले मेगा बैंकको कार्ड प्रयोग गरेर टिकट लिन सक्नेछन् । यसका साथै मेगा स्मार्ट मोबाइल बैंकिङमार्फत पनि मेगा बैंकका ग्राहकहरुले टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । मेगा बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्तामार्फत पनि टिकट खरिद गर्न मिल्ने सुविधा मिलाइएको छ । मेगा बैंकले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौँ बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको जनाएको छ ।