विकासन्युज

सिसी क्यामेरा जडान गर्न काठमाडौँ महानगरले प्रहरीलाई दियो ६ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बनाउन सिसी क्यामेरा जडान गर्न थप रु दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो । सुरक्षालाई मध्यनजर गर्दै कामपाले गत फागुन १५ गते रु तीन करोड उपलब्ध गराइसकेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो । महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । सिसी क्यामेरा जडानसँगै अपराध नियन्त्रण, वैज्ञानिक रुपमा प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास कामपाको रहेको छ । शहरी योजना आयोगमा बस्नेत काठमाडौँ महानगरपालिकाको ३३औँ नगर कार्यपालिका बैठकले शहरी योजना आयोगमा सरोज बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको छ । गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगरसभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उनलाई उपाध्यक्ष नियुक्त गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए । बस्नेत यसअघि आयोगको सदस्यसचिव थिए । ऐनअनुसार आयोगको अध्यक्षमा कामपाको प्रमुख रहने व्यवस्था रहेको छ । त्यसैगरी उक्त बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ । बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका योजना कार्यान्वयन गर्दा महानगरसँग समन्वय गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगरसभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउन पनि शाक्यले आग्रह गरे । रासस

असार ६ देखि १२ गतेसम्म देवः विकास बैंकको बुक क्लोज हुने

काठमाडौँ । असार ६ गतेदेखि १२ गतेसम्म देवः विकास बैंक लिमिटेडको शेयरधनी दर्ता किताबमा दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ साधारण सभा गर्ने तथा बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमा असार ५ गतेसम्म शेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधि भित्र बैंकको शेयर रजिष्ट्रार एनआईबीएल एस क्पापिटल लिमा शेयर धनी किताब दाखिल खारेज नामसारी भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने र बोनश शेयर प्राप्त गर्न योग्य हुने कम्पनी सचिव सागर ताम्राकारले जनाएका छन् ।

कोरिया सरकारद्वारा नेपाली युवा श्रमिक सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा कार्यरत एक नेपाली श्रमिक कोरियाको छनान नगरपालिकाबाट सम्मानित भएका छन् । सामाजिक तथा परोपकारी कार्यमा उदाहरणीय कार्य गरेको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगर पालिकाले यम श्रेष्ठलाई सम्मान गरेको हो । इपिएस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ करिब एक दशकदेखि दक्षिण कोरियामा कार्यरत छन् । धुलिखेल नपा शंखुका श्रेष्ठ कोरियामा रहेका बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहनुका साथै साँस्कृतिक परोपकारी कार्यहरुमा कोरिया प्रवेश गरे देखिनै सकृय रूपमा लाग्दै आएका छन् । उनको संयोजकत्वमा २०७२ सालको महाभुकम्प, बाढी पहिरो, आगलागी तथा हावाहुरी जस्ता प्रकोपहरुमा आर्थिक सहयोग संकलन गरी पीडितलाई राहत उपलब्ध गराउने कार्य सम्पन्न भएका छन् । घातक रोगबाट पिडित गरीब असहायहरुलाई सहयोग उपलब्ध गराउने कार्यमा समेत उनको सक्रिय भूमिका रहेको छ । पछिल्लो पटक कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक हस्पिटल निर्माणको लागि कोरियाबाट करिब ४४ लाख रुपैयाँ सहयोग संकलन गरेर हस्तान्तरण समेत गरेका थिए । वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिखका दिन कोरियाको छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रवासी बहुसाँस्कृतिक मेला तथा नवौँ छनान वैदेशिक महोत्सव २०१९ मा उनी सम्मानित भएका हुन् ।

विराटनगर र धरानमा एनआईसी एशियाको नयाँ शाखा बिस्तार

काठमाडौँ । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नयाँ शाखा कार्यालय सोमबार उद्घाटन गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले एक समारोहका बीच उद्घाटन गरे । यसैगरी, सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गरेका हुन् ।

चीन र जापानको प्रतिष्ठाले अड्कियो नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङ मार्ग

काठमाडौं । चीन र जापानले प्रतिष्ठाको बिषय बनाउँदा नागढुंगा–नौबिसे सुरुङ मार्गको काम रोकिएको छ । जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋणमा निर्माण हुन लागेको सुरुङ मार्ग निर्माणको जिम्मा आ आफ्ना देशका कम्पनीले पाउनुपर्ने भन्दै चीनियाँ र जापानी पक्षले दबाव दिईरहेका छन् ।  दुई देशका बीचमा जुँगाको लडाई सुरु भएपछि नेपालले ठेक्का आव्हान गरेको १० महिना बित्नै लाग्दा समेत निर्माण गर्ने कम्पनी छनौट गर्न नसकेको हो । ‘५ वटा चीनका र एउटा जापानको कम्पनीले आवेदन दिएका छन्, दुबै देशले आ आफ्ना कम्पनीका लागि दबाव दिईरहेका छन्’, भौतिक मन्त्रालय उच्च श्रोतले विकासन्युजसँग भन्यो । चिनियाँ कम्पनीले थोरै रकममा बनाउने प्रस्ताव गरेका छन् । जापानले भने आफु ऋण दाता भएकाले आफ्नै देशका कम्पनीले ठेक्का पाउनुपर्ने बताईरहेको छ । सडक विभागको आयोजना कार्यान्वयन महाशाखाले सुरुङ मार्ग निर्माणका लागि २०७५ साउन २४ गते ग्लोबल टेण्डर निकालेको थियो । तोकिएको ६० दिने अवधि अर्थात कात्तिक ८ गतेभित्र ६ वटा कम्पनीहरुले निर्माणको इच्छा जाहेर गरेर आवेदन दिए । उत्कृष्ठ प्राबिधिक प्रस्ताव र न्युनतम लागतमा नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको प्रस्ताव गर्ने कम्पनीले कामको जिम्मेवारी पाउने व्यवस्था छ । आयोजनाले सन २०१९ को जनवरीदेखि नै निर्माण कार्य आरम्भ गर्ने तयारी पनि गरेको थियो । निर्माण आरम्भ भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने योजना थियो तर अझै कसले जिम्मेवारी पाउने भन्ने नै एकिन भएको छैन । यस्तो हुनेछ सुरुङ मार्ग नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५/३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ । सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहण हुनेछ । सरकारले मुआब्जाको रकम आफ्नै श्रोतबाट उपलब्ध गराउनेछ भने सुरुङ निर्माणका लागि जाइकाको सहुलियत ऋण उपयोग गरिनेछ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने प्रारम्भिक सोँच तयार भएको छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि ऋण दिएको छ । जापानले १६ अर्ब २८ करोड रुपैंयाँ ऋण सहयोग उपलब्ध गराएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।

ब्राजिलका छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला

काठमाडौँ । उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन् । समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि यो घटनाबारे विवरण सार्वजनिक भएको हो । एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको हो । निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमवारको घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् । सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो । अधिकारीहरूका अनुसार कैदीहरूलाई तीखा ब्रशले घोचिएको थियो भने घाँटी थिचिएको थियो । कैदीका आफन्तहरूले समेत देखेको सप्ताहन्तमा भएका घटनाबारे छानबिन भइरहेको बताइएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक कैदीकी आमाले द रियो टाइम्सलाई भनिन्, ‘एकदम भद्रगोल थियो। सबैजना भाग्न थाले ।’ दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ । कोचाकोच ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा आउँछ। आधिकारिक तथ्याङ्क अनुसार यो वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो । जसका कारण कारागारहरू कोचाकोच हुन्छन् भने कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गर्छन् । –बीबीसीबाट

कुलमान घिसिङ र सुगतरत्न कंसारकार नेपालका सपुत हुनः उपाध्याय

काठमाडौं । नेपालको वर्तमान ईतिहासमा सरकारी संस्थानको दुईजना ब्यवस्थापक सिइओले आआफ्ना डुबेका सरकारी संस्थानलाई उकासेर नाफामा पुर्याई कायापलट गरेको देखिन्छ। र ती दुबै ईन्जिनीयर हुन् नेपाल टेलिकमका तत्कालीन ईलेक्ट्रोनिक ईन्जिनियर सुगतरत्न कंसाकार र बिद्युत प्राधिकरणका ईलेक्ट्रीकल ईन्जिनियर कुलमान घिसिंग । कुलमान बिजुली म्यान बने, अध्यारो प्रेतहरूको सातो लिए, पहिलो पटक प्राधिरणलाई मुनाफामा पुर्याए । सुगतले नेपाल टेलिकमको मसिहा बनेर उद्धार गरी नाफामा ल्याए, नेपाललाई विश्व टेलिकम नक्सामा हैसियत दिलाए  । सुगतले देश डुबाउने लक्ष्यका साथ राष्ट्रीय ध्वजाबाहक वायुसेवा निगमलाई हात धोएर ध्वस्त गर्न लागेका र विगत २२ वर्ष देखि हल्ला मात्रै गरेर निगम लुट्न पल्केकाहरूका बिरूद्ध सतिसाल बनेर पहिलो ६।६ वर्ष बिलम्ब गराउने सारा तत्वसंग जुध्दै , एयरबसका बिरूद्ध बोईंगले हावा भरेका तत्वहरूको पर्दाफास गरे । अन्ततः पहिलो पटक २ वाईडबडी एयरबस जम्बो जहाज खरिद गराई छाडेर नेपाललाई पनि विश्वस्तरीय एयरलाईन्सको हैसियत दिलाई छाडेका छन् । बोईंग किनाउन दलाली गर्नेहरूको हार र अहिले बोईंग जहाज विश्वभरि ग्राउण्डेड भएको अवस्था हेर्दा बोईंग वाईडबडी जहाज किनिएको भए नेपाल कसरी डुब्थ्यो होला ? जे भयो भगवानको कृपाले बडो ठिक भएछ, एयरबस किनिएछ बा भनेर हंस उडेको हुनुपर्छ । यी दुई नेपाल आमाका सपुतप्रति नमन । यी दुईका यी दुई कामका लागि मात्र पनि नेपाली जनता सदा ऋणि हुनुपर्छ। आमाको भार चुक्ता गर्नु हरेक सन्तानको धर्म र कर्म हो । यी दुई सिइओघहरूले नेपाल आमाको भार तिर्ने काम ईमानदारीपूर्वक गरेका छन् । हल्लाखोर मनभ्रष्ट नेताहरू, तिनका पछि हावामा दगुर्ने मनुवाहरू र तिनका पनि पछि हावामा कुद्ने पत्रकारहरूले पनि यी दुई सिइओबाट केही सिकुन् । नेपाल आमालाई ठेस नपुर्याउन् , बरू आआफूलाई ठोस योगदान गर्न प्रेरित होउन् ।

वितरणमुखी बजेट ल्याउने तयारी, ‘कर्मचारीको आधारभूत तलब २५ हजार पुर्‍याइने’

काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा। युवराज खतिवडा यसपटक भने गलेका छन् । सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषय सम्बोधन नभएपछि उनको प्रतिपक्षले मात्रै होइन, सत्तारूढ दलकै सांसद र शीर्ष नेतृत्वले समेत आलोचना गरेका थिए । यसपटक भने पार्टीले भनेअनुसार यी सबै विषयलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिरहेका छन् । स्रोतले धानेसम्म राजनीतिक कार्यक्रमलाई स्थान दिने भनेर उनले सार्वजनिक रूपमा बोलेका मात्रै छैनन्, सत्तारूढ दलका अधिकांश सांसदलाई अर्थ मन्त्रालयमै बोलाई बजेटमा के–के गरौँ भनी रायसमेत मागेका छन् । हाल ७० वर्ष उमेर कटेका वृद्धवृद्धाले एक हजार भत्ता र एक हजार औषधोपचार खर्च गरी मासिक दुई हजार भत्ता पाउँदै आएका छन् । त्यसभन्दा कम उमेरका, तर भत्ता पाउने व्यक्तिहरूले सामान्यतः मासिक एक हजार भत्ता पाउँदै आएका छन् । आगामी आर्थिक वर्षको बजेटबाट ७० वर्ष उमेर कटेकालाई भत्ता र औषधोपचार खर्चमा पाँच–पाँच सय वृद्धि गरी एक हजार बढाउने तयारीमा अर्थमन्त्री छन् । यता, विगतमा निर्वाचन क्षेत्र विकास कार्यक्रम भन्ने गरिएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र पाँचदेखि ६ करोड रुपैयाँ विनियोजन गर्ने तयारीमा अर्थमन्त्री छन् । यसैबीच, यसपटकको बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउनैपर्ने कानुनी बाध्यतामा अर्थमन्त्री डा. खतिवडा छन् । निजामती सेवा ऐनको दफा २७ मा सरकारी कर्मचारीको तलब दुई वर्षमा समायोजन गर्नुपर्ने व्यवस्थाका कारण यसपटक कर्मचारीको तलब बढ्नेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।