विकासन्युज

सिटिजन्स बैंकबाट प्राइम लाइफको बीमा सेवा पाइने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिनसक्ने छन् । उक्त सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

एनआईसी एशियाका ग्राहकलाई ग्रिनसिटी, स्टार र कान्तिपुर डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्राप्त गर्नेछन् । ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०%, कान्तिपुर डेन्टल हस्पिटलमा १०%, र स्टार हस्पिटलमा १५% सम्म छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका छन् । छुट्टाछुटटै सम्झौता पत्रहरुमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन् ।

मुस्ताङको छोसेरमा टेलिकमको टावर, पहिलो पटक फोन र नेट चलाउन पाउने

काठमाडौँ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पुर्याएको जनाइएको छ । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । अब सो क्षेत्रका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।

६ करोडको लागतमा सडक विस्तार शुरु, लम्बाई कति ?

भक्तपुर । सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हुँदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा पछाडि परेको भक्तपुरमा विकासको मूल फुटेको र सिङ्गो भक्तपुर मानसरोवर रहेको बताए । बस्नेतले भने, “भक्तपुरको विकासले मुहार फेर्न शुरु गरेको छ, अरनिको राजमार्गसँग जोड्ने १३ भित्री सडक विस्तार भइरहेको छ, काठमाडौँको बालकुमारीदेखि रानीकोट, साँगासम्मको भित्री सडक निर्माण हुँदैछ, बालकोटदेखि ललितपुरको लुभु सडक, ठिमीबाट दधिकोट बिरुवा जाने सडक विस्तार हुँदैछ, पछाडि परेको भक्तपुरले अब विकासको मुहार फेर्छ ।” उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको कार्यक्रम भक्तपुरमा शुरु हुनलागेको बताउँदै खानेपानीको अभावसमेत मेट्ने गरी विकासका लागि आफू लागिपरेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुरमा पनि विकासमा पछाडि परेको सूर्यविनायकमा जनप्रतिनिधि आएसँगै विकासको लहर आएको बताए ।

९३.६ किमी विद्युतीय रेलमार्ग निर्माण, एक हजार ५६ किमीको अध्ययन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर-कुर्था ३५ र कुर्था-बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो-नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना-सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ । चीन सरकारको सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ । भारत सरकारको सहयोगमा वीरगञ्ज-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची-महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।

अर्थ मन्त्रालयको तथ्याङ्कमै ‘त्रुटी’ : २ महिनामा २० अर्ब अनुदान गायब !

काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षामा पुस मसान्तमा आधारित तथ्याङ्कमा अर्थ मन्त्रालयले आर्थिक वर्षको पहिलो छ महिनासम्म बाह्य स्रोतमार्फत् कुल १ खर्ब ११ अर्ब ६३ करोड रुपैंया वैदेशिक सहायता प्राप्त भएको उल्लेख गरिएको थियो । यसमा अनुदानको हिस्सा ३३ अर्ब ८५ करोड तथा ऋणको हिस्सा ७७ अर्ब ७८ करोड ऋणको हिस्सा रहेको उल्लेख गरिएको थियो । तर, सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्भेक्षणमा भने सो आकार १ खर्ब ७ अर्ब १८ करोड रुपैंया रहेको देखाएको छ । सोमध्ये १३ अर्ब ४९ करोड रुपैंया अनुदान र ९३ अर्ब ६९ करोड ऋणस्वरुप प्राप्त भएको अर्थ तथ्याङ्क सार्वजनिक गरिएको छ । यसरी हेर्दा दुई महिनाको अवधिमा प्रतिवद्धता भएको कुल सहयाेगमा करिब ४ अर्ब तथा अनुदान सहयोगमा करिब २० अर्बले कमी आएको देखिन्छ । वैदेशिक ऋणतर्फ भने पुसको तुलनामा फागुनमा १५ अर्ब ९१ करोडको सहयोग प्रतिवद्धता बढेकाे उल्लेख भए पनि अनुदान रकममा भने साे परिमाणमा कमी आएको देखिएकाे हो । सामान्यतया विदेशी सहयोगको अन्तिम प्रतिवद्धता गरेको अनुदान नआउने भन्ने हुँदैन । पूर्वसचिव विमल वाग्ले अन्तिम प्रतिवद्धता आएको अनुदान प्राप्त नहुने सम्भावना नहुने भन्दै सशर्त रुपमा पूर्वप्रतिवद्धता गरिएको अनुदान मात्रै नआउने सम्भावना हुने बताउँछन् । ‘प्रतिवद्धताकाे लागि अँग्रेजीमा ‘लेटर अफ इन्टेन्ड’ र ‘लेटर अफ कमिटमेन्ट’ भन्ने दुईओटा शब्द हुन्छ तर नेपालीमा यसलाई प्रतिवद्धताकै रुपमा लेखिन्छ, सरकारी डकुमेन्टमा कसरी त्यस्तो भयो भन्ने थाहा भएन, तर त्यस्तो डकुमेन्टमा उल्लेख गरिने ‘प्रतिवद्धता’ले ‘लेटर अफ कमिटमेन्ट’लाई नै बुझाउँछ, जुन सामान्यतया प्राप्त नहुने भन्ने हुँदैन’ वाग्लेले भने । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने केही कोषहरुको रकमलाई उल्लेख नगरेकोले त्यस्तो अनुदान रकम घटेको देखिएको उल्लेख गरे । ‘मिलिनियम च्यालेन्ज फण्ड लगायतका कोषहरुको रकमलाई अर्धवार्षिक समीक्षामा राखिएको थियो, यो आर्थिक सर्भेक्षणमा राखिएन, त्यसैले घटेको देखिएको हो, प्रतिवद्धता गरिएको अनुदान नै प्राप्त नभएको होइन’ खत्रीले विकासन्यूजसँग भने । तर अर्थ मन्त्रालयले तथ्याङ्कमा एकरुपता नल्याउँदा आम रुपमा भने सरकारी तथ्याङ्कप्रतिको विश्वसनीयता गुम्दै  गएकाे छ । पूर्वसचिव वाग्ले पनि त्यसरी तथ्याङ्कमा प्रतिवद्धता रकम नै घटेको देखिँदा त्यसले जुनसुकै रुपमा पनि सरकारप्रतिकाे विश्वसनीयता घट्ने बताउँछन् । यदि त्यस्ताे तथ्याङ्क सही रहेछ भने यसले सरकारप्रति दातृ निकायको विश्वास गुमेको रुपमा बुझिने र ‘टाइप मिस्टेक’ वा अरु समायोजनको कारणले भएको रहेछ भनेपनि त्यसले तथ्याङ्कप्रतिको विश्वसनीयता गुमाउने उनकाे भनाई थियो । ‘त्यसैले सरकारले तथ्याङ्कमा एकरुपता कायम गर्नुपर्छ, त्यसरी समायोजन भएको रहेछ भने त्यसलाई खुलाउनुपर्छ’ वाग्लेले भने । त्यसाे त प्रकाशित नै नभएकाे तथ्याङ्क प्रधानमन्त्रीले संसदमा बाेलेपछि यसअघि देखि नै सरकारी तथ्याङ्कमा विश्वसनीयताकाे प्रश्न उठ्दै आएकाे छ । सरकारले आफ्नाे सफलता देखाउन तथ्याङ्क नै प्रभावित गर्ने गरेकाे आराेप लाग्दै आएकाे आएकाे छ ।

भारतमा नक्कली मदिरा, छ जनाको ज्यान गयो

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको जानकारी आएको बताए । स्थानीय मिडियाले भने मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिइएको जानकारी दिए । सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बंगालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंगाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले बर्सेनि धेरैको ज्यान जाने गरेको छ । रासस/सिन्ह्वा

भारतले ७३ वटा ट्याङ्कर रोक्यो, पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्रोल पम्पहरु बन्द भएका छन् । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । उनले मेचीका यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको बताए । सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ । कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताए । रासस