विकासन्युज

इमाडोलमा श्री इन्भेष्टमेन्टको १२ औँ शाखा बिस्तार

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।

भरतपुर मिलनचोकमा गरिमाको शाखा बिस्तार

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मिलनचोकमा शाखा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको चितवनमा बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न उत्प्रेरित भैरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेकोे जानकारी दिए ।

कामना सेवा विकास बैंकले एकैदिन बिस्तार गर्यो २ शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा सञ्चालन गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा आफ्नो ८५औं र ८६औ शाखा कार्यालय स्थापना गरेको हो । उक्त कार्यक्रम बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उद्घाटन भएको छ । यसैगरी, बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।  

रिलायन्सले ६३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर(आइपीओ) निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । रु.१००/– दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमालाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ओपोद्वारा नयाँ ब्राण्ड पहिचान ‘आइ रेनो’ प्रस्तुत

काठमाडौं । ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधिक पहिचान प्रस्तुत गरेको छ । ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यूयोर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासँग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशीलताका लागि पर्याप्त स्थान दिइएको छ । ईमेजरीमा नयाँ रंग प्रणाली(कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यहीभिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र सञ्चार मोडलका साथमा‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’ म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशीलताको शक्ति दर्शाउने प्रयास गरेको जनाएको छ ।

निर्धारित ड्रेशमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक, ‘भानुको बिर्खे टोपी अनिवार्य’

तनहुँ । तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उनले भने, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको छ ।’’ नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भएपनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताए । कार्यक्षेत्रमा रहेका प्राविधिक र परियोजनामा कार्यरत कर्मचारीको हकमा भने यो नियम हालको लागि लागू नगरिएको नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् । कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले बताउनुभयो । शुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ अहिले नगरपालिकामा यस अभियान थालिएपनि आगामी दिनमा नगरपालिका मातहतका सबै कार्यालयमा लैजाने लक्ष्य रहेको छ–उनले बताए । सबै कार्यालयमा विद्युतीय हाजिर भानुनगरपालिकाभित्र रहेका सबै कार्यालयमा विद्युतीय हाजिरको व्यवस्था गरेको छ । भानु नगरपालिकामा रहेको १३ वटै वडा, स्वास्थ्य एकाइ कार्यालय, माध्यमिक विद्यालय २० वटा र चार प्राविधिक क्याम्पसमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नगरपालिकाले भानुका १३ वटै वडा कार्यालयमा इन्टरनेटको सुविधा मिलाएको छ । रासस

‘ओपन हार्ट सर्जरी सेवा’ धेरै अस्पतालले शुरु गरे, थोरैले मात्र टिकाएः डा. प्रेमराज बैद्य

मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले चिकित्सा क्षेत्रमा ४० बर्ष बिताइसक्नु भएको छ । क्यान्सरको सर्जन बन्छु भनेर पढ्न जाने क्रममा उहाँको छोरीलाई जन्मिएको केही समय नै मुटुमा समस्या आयो र ओपन हार्ट सर्जरी गर्नु परेको थियो । आफ्नै छोरीको ओपन हार्ड सर्जरी गर्नु परेको घटनाले उहाँको सोच बदलियो र सोही विषय पढ्नु भयो । त्यतिबेला ओपन हार्ट सर्जरीको पढाई नेपालमा थिएन, उहाँले भारतमा पढ्नु भयो । ओपन हार्ट सर्जरी र समग्र स्वास्थ्य क्षेत्रका बारेमा मुटुरोग विशेषज्ञ डा. बैद्यसँग विकासन्युजको लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी: के हो ओपन हार्ट सर्जरी ? कस्तो अवस्थामा यो उपचार विधि अपनाउनु पर्छ ? शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘ओपेन हार्ट सर्जरी’ भनिन्छ। एन्जियोप्लास्टीको प्रक्रियाबाट धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा यो शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस प्रक्रियाअन्तर्गत बिना कुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ, जसको लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ । यो सर्जरी गर्नको लागि अब्बल जनशिक्ती सहितको अप्रेसन थिएटर चाहिन्छ । जन्मजात हुने ९९ प्रतिशत मुटुरोगमा ओपन हार्ट सर्जरी गर्नु पर्ने हुन्छ । मुटुको प्वाल यदी सजिलो ठाउँमा छ भने ओपन हार्ट सर्जरी गर्नुपर्दैन । यो मुटुको सबैभन्दा सजिलो सर्जरी हो, तर समयमा नगरे सबैभन्दा गार्हो भएर जान्छ। यसको सुरुवात विश्वमा कहिले शुरु भयो र नेपालमा कहिले ? ओपन हार्ट सर्जरी सबैभन्दा पहिला अमेरिकामा सन् १९५२ मा भएको थियो । दुर्घटनाका कारण एक बिरामीको मुटुमा प्वाल परेको र उनको मुटु खोलेर अप्रेसन गरिएको थियो । त्यसपछी दोस्रो पटक रसियामा १९५४ मानिसलाई बेहोस् नगरी पहिलो अप्रेसन गरिएको थियो । नेपालमा पहिलो पटक यो सर्जरी अष्ट्रेलियन समुहले वीर अस्पतालमा १९९८ मा शुरु गरेको हुन् । त्यस समयमा नेपालको पहिलो मुटुको शल्य चिकित्सक कार्डियो सर्जन दामोदर पोख्रेल हुनुहुन्थ्यो । त्यसपछि बल्ल टिचिङ अस्पतालमा १९९९ मा भगवान् कोइराला शुरु गर्नु भयो । त्यसपछी गंगालालमा पनि अप्रेसन शुरु भएको हो । नेपालमा ओपन हार्ट सर्जरीको अध्ययन गर्नुभएको डाक्टरहरु कति हुनुहुन्छ ? हाल नेपालमा ओपन हार्ट सर्जरीका डाक्टरहरु संख्या औंलामै गर्न हुनुहुन्छ । सर्जरीमा पुरै टिमको आवश्यक हुने भएकोले अझै पनि धेरै ठाउँहरुमा यो सेवा उपलब्ध रहेको छैन । संख्याको कुरा गर्नु पर्दा हाल नेपालमा यसबारे अध्ययन गरेका प्रोफेसनल डाक्टर मात्र २० जना छन् । त्यस्तै १०–१२ जना डाक्टरहरु नेपाल बाहिर काम गरिरहनु भएको छ । सरकारी अस्पतालको कुरा गर्नु पर्दा गंगलाल अस्पताल, टिचिङ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यो सर्जरी हुन्छ । प्राइभेटको कुरा गर्नुपर्दा धेरै ठाउँमा यो सेवा शुरु भएर बन्द भएको छ । कुन कुन अस्पतालमा ओपन हार्ट सर्जरी हुन्छ ? ओपन हार्ट सर्जरी यस्तो सर्जरी हो जसमा एउटा प्रोफेसनल टिमको आवश्यक हुन्छ । एकको अनुपस्थितिमा सर्जरी गर्न मुस्किल हुन्छ । धेरै अस्पतालमा सेवा शुरु भएपनि लामो समयसम्म टिकाउन सकेनन् । सरकारी अस्पतालको कुरा गर्नु पर्दा गंगलाल अस्पताल, टिचिङ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यो सर्जरी हुन्छ । प्राइभेटको कुरा गर्नुपर्दा धेरै ठाउँमा यो सेवा शुरु भएर बन्द भएको छ । अहिले आएर मेडिसिटी अस्पतालमा थोरै मात्रामा अप्रेसन हुने गरेको छ। नेपालको पहिलो ओपन हार्ट सर्जरी हुने ठाउँ वीर अस्पतालमा भने अहिले डाक्टर र टिम नभएका कारण मेसिनहरु त्यसै थन्किएर बसेका छन् । मुटुको अप्रेसन गर्ने मेसिन नेपालमा १५ वटा छन्, जसमा ५ वटा मात्र प्रयोगमा छन् । कुन उमेर समूहले यो सर्जरी गर्न सक्छन् ? रोग जन्मजात भएको खण्डमा सानैमा नै यो सर्जरी गर्नुपर्ने हुन्छ किनभने ठूलो हुँदै जाँदा यसले झनै समस्या निम्त्याउन सक्छ र अप्रेसन नै गर्न नमिल्ने सम्म हुनसक्छ । अन्य मानिसहरुमा मुटुमा प्वाल भएको अवस्थामा अप्रेशन गर्नुपर्ने हुन्छ । मुटुको ४ वटा भल्ब हुन्छ र यदी यी ४ मा कुनै एउटा बिग्रिए सामान्य औषधी प्रयोग गरेर पनि कम गर्न सकिन्छ। मुटुको धमनीमा अवरोध भएको खण्डमा हार्ट अट्याक हुने गर्दछ । रगतको धमनी बन्द छ अथवा छैन भनेर एन्जियोग्राफी गरेर मात्र पत्ता लगाउन सकिन्छ ।  ईसीजीबाट पनि हार्टअट्याक कहिले काहीँ पत्ता लगाउन सकिन्छ । ७० प्रतिसत भन्दा माथि ब्लक भएको खण्डमा मात्र हामीले धमनी बन्द भएको थाहा पाउँछौ, जसकारण मुटुलाई खोल्नु पर्ने हुन्छ । मुटुको सर्जरी किन महँगो छ ? सरकारले यस उपचारको लागि के कस्तो सुविधा दिँदै आएको छ ? मुटुको अप्रेसन महँगो हुनुको कारण हर्टलङ्स जोड्नको लागि एकपटक मात्र प्रयोग गर्ने सामानको मात्रै २५–३० हजार पर्छ जुन एकपटक प्रयोग गरिसकेपछी प्रयोग हुँदैन । अहिले ओपन हार्ट सर्जरी गर्न करिब २ लाखको हाराहारिमा खर्च हुने गर्दछ । सरकारले विपन्न नागरिकको लागि १ लाखसम्म अनुदान दिईरहेको छ, बिरामीले थप १ लाख रुपैंया जुटाउनु पर्ने हुन्छ ।७५ बर्ष पूरा भएका ज्येष्ठ नागरिकको उपचार निःशुल्क हुन्छ भने १५ बर्ष भन्दा मुनिका बालबालिकालाई पनि सबै निःशुल्क छ । त्यस्तै, हार्ट फाउन्डेसन र जयन्ती मेमोरियल ट्रस्टले प्रतिबिरामी १०-१० हजार सहयोग उपलब्ध गराउने गरेको छ । सर्जरी पछि निको हुन कति समय लाग्छ ? अप्रेशन गरेको १ हप्ता देखि १० दिन जति आरामा गर्नु पर्छ । यो अप्रेसनको पहिलो ३ महिना पछि बिरामीले मज्जाले कुनै पनि अवरोध बिना काम गर्न सक्छन् । कुन अवस्थामा के कारण सर्जरी गरिएको हो, त्यो कारणले के कस्तो सावधानी अपनाउनु पर्ने हो भन्ने तय गर्छ । यदी मुटुको प्वालको बन्द गराइएको हो भने त्यसको लागि कुनैपनि सावधानी अप्नाउनु पर्दैन तर मुटुको भल्ब फेरेको मान्छेले मुटुको भल्ब फेरिसकेपछी जिन्दगीभर रगत पातलो गर्ने औषधी खानुपर्छ र त्यस्तै रगत पनि जाँच गराइराख्नु पर्छ । रगत पातलो भएको अवस्थामा औषधी घटाउनु पर्ने हुन्छ। ती बिरामीले सामान्य मानिसले जस्तो काम गर्न सक्दैनन् । बल गरेर ज्यादा काम गरेको अवस्थामा उसको भल्ब फेरी बिग्रन सक्छ । मुटुको धमनीको बाईपासको अप्रेसन गरेको मानिसले पनि सावधानी अपआउनु जरुरी छ । बाइपास गरेको नशा फेरी बन्द हुन सक्छ, त्यसैले कोलेस्ट्रोल, सुगर र ब्लड प्रेसर ब्यालेन्समा राख्नुपर्ने हुन्छ । साथै उसले नियमित व्याम गर्ने, मानसिक तनाब नलिने र जिन्दगीभर औषधी खानुपर्छ । औषधी छोडेको अवस्थामा बिरामीको फेरी पनि मुटुको धमनी बन्द हुने सम्भावना हुन्छ । मुटुको धड्कन गडवड भइरहेमा एउटा पेशमेकर नामको मेसिन जोड्न सकिन्छ । यसले मुटुको धड्कनलाई कन्ट्रोल गर्छ । ओपन हार्ट सर्जरी गर्न करिब २ लाखको हाराहारिमा खर्च हुने गर्दछ । सरकारले विपन्न नागरिकको लागि १ लाखसम्म अनुदान दिईरहेको छ, बिरामीले थप १ लाख रुपैंया जुटाउनु पर्ने हुन्छ । नेपालमा मुटु रोगीको अवस्था के कस्तो छ ? नेपालमा जनचेतनाको कमी छ । देशको राजधानीमै रहेका मानिसहरु पनि अझै मुटुरोगबारे अनभिज्ञ छन् । हामीले भर्खरै पाटनमा हेल्थ क्याम्प सञ्चालन गर्दा एकजना युवकलाई भेट्टाएका थियौँ । उनको मुटुको भल्ब बिग्रिसकेको थियो, तर अहिलेसम्म उनी अस्पताल पुगेका छैनन् । नेपाल हार्ट फाउन्डेसनले जाजरकोटमा हेल्थ क्याम्प गर्दा त्यहाँ धेरै मुटुका बिरामी भेट्यौँ । नेपालमा मुटुरोगका बिरामी कति छन् ? नेपालमा कति जना मुटुरोगी छन् भन्ने तथ्याङ्क अहिलेसम्म छैन, त्यसैले तथ्यांक संकलन काम हुँदैछ । विश्वको तथ्याङ्क हेर्ने हो भने ८० प्रतिशत विकासउन्मुख राष्ट्रका मानिसको मृत्‍युको मुख्य कारण मुटुरोग बनेको छ । नेपालमा कति जना मुटुरोगी छन् भन्न नसकिए पनि शहिद गंगालाल र मनमोहन अस्पतालको रिपोर्ट अनुसार मुटुको भल्ब बिग्रिने रोगीको संख्या  सबैभन्दा बढी छ। गंगालाल अस्पतालमा मात्र मुटुरोगको हरेक दिन २–४ वटा अप्रेसन हुने गर्दछ । मुटुको धमनीको रोगीहरु नेपालमा धेरै छन् र समयमै अस्पताल नपुग्ने कारण मानिसहरुको सानो उमेरमै मृत्‍यु हुने गरेको छ । मुटुरोग लाग्नुको कारण के के हुन ? मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ? मुटुरोग लाग्नुको कारणहरु धेरै छन्, हाम्रो जीवनशैली पनि एउटा कारण हो । अस्वस्थ खानेकुरा खाँदा, शारीरिक व्यायामको कमीले मुटुको धमनीको रोग लाग्ने गर्दछ । यस बाहेक वंशानुगत कारणले पनि मुटुरोग लाग्ने गर्दछ । मुटुलाई स्वस्थ राख्न हामीहरुले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ । धुम्रपान, सुर्तीजन्य पदार्थबाट टाढा बस्ने, नियमित व्यायाम गर्ने, हरियो सागसब्जी खाने, भुटेको–तारेको खानेकुरा नखाने, समय समयमा आफ्नो मुटु चेक गराएर मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

कामपाले सबै वडा कार्यालय एउटै नमुनामा निर्माण गर्ने, प्रतिभवन साढे दुई करोड बजेट

काठमाडौं । काठमाडौँ महानगरपालिका(कामपा)ले सबै वडा कार्यालय परम्परागत शैलीको एउटै नमुनामा निर्माण  गर्ने भएको छ । आफ्नै कार्यालय भवन नहुँदा धेरै वडाले भाडामा लिएर कामकाज गरिरहेकाले काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन पनि नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् । प्रत्येक वडा कार्यालय भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँलाग्ने अनुमान गरिएको छ ।चालू आर्थिक वर्षका लागि कामपाले १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा तीमध्ये भौतिक पूर्वाधार निर्माणका लागि चार अर्ब छ करोड रुपैयाँ विनियोजन समेतगरिएको छ । यसरी, काठमाडौँ महानगरपालिकाले विभिन्न सात स्थानबाट विना सूचना सेवा प्रवाह गर्दा नागरिक मर्कामा परेका छन् । वडा नं ३, ४, ८, ९, १४, १८ र २६ को कार्यालय निर्माण भइरहेको छ भने वडा नं ६, ७, १५, ३१ र ३२ का कार्यालय भवनमा तला थप्ने तयारी भइरहेको कामपाले जनाएको छ । हाल कामपामा १३ विभाग रहेका छन् । भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको कामपाले भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रिय सभागृहमा पनि छ । त्यस्तै, वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् । नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट सेवा दिँदै आएको छ। महानगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिरहेका छन् । महानगरको उपप्रमुख खड्गीका अनुसार भूकम्पअघि कामपाबाट उपलब्ध हुने सबै सेवा एकै स्थानबाट प्रदान गर्दै आएको भए पनि अहिले विभिन्न स्थानबाट सेवा प्रवाह भइरहेका छन् । केन्द्रीय कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल कामपालाई मासिक लाखौँ रुपैयाँ भाडाका लागि खर्चिनुपरेको छ । “नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ, त्यहीँ लिइएको हो । महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, कामपाका प्रवक्ता ईश्वर डङ्गोलले भने । रासस