विकासन्युज

१०१ भन्दा बढी सदस्य भएका १५० यातायात समिति कम्पनीमा दर्ता, ‘हट्यो सिण्डिकेट’

काठमाडौँ । शक्तिशाली भनिएका र यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समितिहरू कम्पनीमा रूपान्तरण भएका छन् । सरकारले कानुन संशोधन गरेर १८ जेठभित्र कम्पनीमा रूपान्तरण हुने म्याद तोकेको थियो । तोकिएको समयावधिभित्रै १ सय १ भन्दा बढी सदस्य भएका देशभरका सबै यातायात समितिले कम्पनीमा दर्ताका लागि विवरण बुझाएको कम्पनी रजिस्ट्रारको कार्यालयका प्रमुख रजिस्ट्रार भुवनहरि अर्यालले जानकारी दिए । ‘शनिबार मध्य–रातिसम्म दर्ताका लागि अनलाइन तथा उपस्थित भएर विवरण बुझाएका समितिलाई अध्ययन गरेर दर्ता गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यो काम आइतबार मध्य–रातिसम्ममा सम्पन्न हुन्छ ।’ १८ जेठमा सार्वजनिक बिदा (शनिबार) भएकाले काम आइतबार गरिएको हो । आइतबार बेलुकासम्ममा १ सय १ भन्दा बढी सदस्य भएका १ सय ५० वटा समितिलाई कम्पनीमा दर्ता गरिएको छ । दर्ताका लागि कागजपत्र बुझाएकाहरू थप भएकाले संख्या केही थपिनेछन् । तर, १ सय १ वा त्योभन्दा कम सदस्य संख्या रहेका समितिलाई भने कानुनी बन्देज नभएकाले अझै दर्ता हुन पाउनेछन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूअन्तर्गतका सबै यातायात समिति र व्यवसायीलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन ५ जेठमा सूचना जारी गरेको थियो । महासंघले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ अनुसार कम्पनीमा दर्ता गर्न सूचित गरेको थियो । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

काम नसकिएका १८ सय ठेक्का भंग हुँदै

काठमाडौँ । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । संशोधित नियमावली वैशाख ३० देखि लागू भइसकेको छ । अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बाँकी ठेक्काकाविषयमा अध्ययन भइरहेको उनले बताए । ‘सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी हुने गरी म्याद थप्न पाइँदैन,’ नियमावलीमा भनिएको छ । म्याद थप नहुने ठेक्का स्वतः खारेजीमा जानेछन् । ‘समयमै काम नसकिएका ठेक्का सम्झौता भंग गर्नुको विकल्प छैन,’ सचिव कार्कीले भने । निर्माण व्यवसायी भने नयाँ व्यवस्था सच्याउनुपर्ने मागसहित आन्दोलित भएका छन् । नियमावलीका धेरैजसो बुँदा राम्रा भए पनि ५० प्रतिशतभन्दा बढी समय नथप्नेलगायत केही बुँदाले अप्ठ्यारो पारेको उनीहरू बताउँछन् । ‘संशोधित अधिकांश बुँदा ठीक भए पनि ५र६ वटाले निर्माण अघि बढाउन सकिँदैन,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘नियमावलीमा निर्माण कम्पनीको अस्तित्व नै नरहनेसम्मका व्यवस्था छन् ।’ नियमावली लागू भएपछि धेरै निर्माण व्यवसायी कालोसूचीमा पर्ने उनको भनाइ छ । नयाँ ठेक्काका लागि मात्रै संशोधित नियमावली लागू गर्नुपर्ने उनको धारणा छ । ‘पुराना ठेक्कामापनि यो नियम लागू गर्दा व्यवसायी संकटमा पर्छन्,’ उनले भने । नियमावलीले पहिलाका केही ठेक्कालाई असर गरे पनि नयाँलाई समस्या नपर्ने कार्कीले बताए । ‘नयाँ काममा कुनै असर हुँदैन,’ उनले भने, ‘समस्या पुराना ठेक्कालाई मात्र हो ।’ सडक विभागअन्तर्गतका मात्रै करिब १ हजार निर्माण कार्यको समय कुल अवधिको ५० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ । ‘संशोधित नियमावलीले निर्माण व्यवसायीको क्षमतासमेत तोकिदिएको छ । एउटै व्यवसायीले ५र१० वटा ठेक्का लिन नपाउने व्यवस्था गरेको छ,’ सचिव कार्कीले भने, ‘यसअघि एउटै निर्माण व्यवसायीले थोरै निर्माण उपकरणभए पनि धेरैतिर ठेक्का पाउँथे । अब एउटैले चाररपाँचवटा ठेक्का लिनेप्रवृत्ति अन्त्य हुनेछ ।’ पहिले पूर्वतयारी नहुने, निर्माण क्षेत्र स्पष्ट नगर्ने, निर्माण व्यवसायीले ढिलाइ गर्ने जस्ता समस्या थिए । सार्वजनिक खरिद ऐन एवं नियमावलीले त्यस्ता ठेक्कालाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रस्ट्याएको थिएन । त्यसैले धेरै ठेक्का लामो समयदेखि अलपत्र परेको र त्यसले समग्र पुँजीगत खर्च हुन नसकेको सरकारको निष्कर्ष छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, गंगालालमा मुटु परीक्षण गरिंदै

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाडौँ शहिद गंगालाल राष्ट्रिय हृदयरोग रोग निवारण केन्द्रमा आईतबारबाट भर्ना भएका हुन् । अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उनको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्नाभएसंगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ ।

दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न, धापासी डोजो र मनास्लु विद्यालय विजेता

काठमाडौं। दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको प्रतियोगितामा २८७ विद्यार्थीको सहभागिता थियो। प्रतियोगितामा कराँतेतर्फ धापासी डोजो पहिलो, गोंगबु डोजो दोस्रो, लुबु डोजोले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा १० वटा कराँते क्लबको सहभागीता रहेको थियो। यस्तै सोही प्रतियोगितामा विद्यालयको तर्फबाट पहिलो स्थानमा मनास्लु विद्यालय, दोस्रोमा सिईए हाई स्कुल र तेस्रोमा महालक्ष्मी स्कुलले उपाधी हांसिल गरेको छ। यस्तै ईमर्जिग टिमको उपाधी एनआईसी एकेडेमी, सानोभर्याङले हात पारेको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा तर्फ धापासी डोजोकी ग्याल्मु सोमिका लामाले प्रथम स्थान र उत्कृष्ट हुँदै एनआईसी एकेडेमीकी समिक्षा भट्टराई र धापासी डोजोकी पाल्साङ गुरुङले पदक हात पारेकी छिन् । त्यस्तै छात्र तर्फबाट गोंगबु डोजोका सनिस चौधरीले प्रथम स्थान र उत्कृष्ट हुँदै धापासी डोजो करण थापा र विजेन्द्र जिसीले पदक हात पारेका छन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा शिभपुरी यातयातका अध्यक्ष प्रलाद थापा र बिशिस्ट अतिथीको रुपमा नेपाल शितो कराँते डोको प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो।

असार १ बाट बिहान ८ देखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी काठमाडौँ उपत्यका प्रवेश गर्न नपाउने

काठमाडौँ । असार १ गतेदेखि काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि मालबाहक सवारी चलाउन नपाइने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिङरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाइने भएको निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । काठमाडौंको सवारी चाप, दुर्घटना लगायत विषयलाई ध्यानमा राखेर मालबाहक सवारी चलाउन रोक लगाउने निर्णय भएको हो हो–महानिर्देशक दाहालले भने । दाहालका अनुसार यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू हुने छैन । साथै अत्यावश्यक सेवामा प्रयोग भएका मालबाहक सवारीलाई भने यो नियम लागु हुने छैन । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारी बाहेका अन्य सबै मालबाहक सवारीलाई विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म तोकिएका स्थान बाहेक चलाउन रोक लगाइएको छ–विभागले निकालेको सूचनामा उल्लेख छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ । त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी चलाउन नपाइने जनाइएको छ । हाल काठमाडौंको रिङरोड भित्र ठूला मालबाहक सवारीलाई मात्र प्रवेश रोक लगाईदै आएको छ ।

यती एयरलाइन्सको कार्यकारी अध्यक्षमा लाक्पा, प्रबन्ध निर्देशकको जिम्मेवारी चन्दालाई

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन् ।एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको अर्बको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो । चन्दा यसअघि यति एडभेञ्चरकी प्रमुख थिइन् । कम्पनीले हालै चन्दा शेर्पालाई नयाँ जिम्मेवारी दिएको यति एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ । उनी स्व आङछिरिङका दाइ हुन् । कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ । यतीसँग हाल एटिआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन् । यतिकै भगिनी संस्था तारा एअरका दुई वटा डोर्नियर डिओ२२८ र चार वटा डिएचसी छ ट्विनअटर विमानबाट नेपालका विभिन्न दुर्गम स्थानमा सेवा प्रदान गर्दै आएको छ । अबका केही दिनमा यतिको पाँचौँ एटिआर विमान भित्र्याउने तयारी गरिएको यतीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

आइसीसी वल्र्डकपलाई लक्षित गर्दै सिजीले ल्यायो ‘बहानाको शुभआरम्भ’ योजना

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको आईसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभआरम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ । उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नेछन् । त्यसैगरी, फेसबुकमा संचालिक प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्ने छन् । यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ ।

काँग्रेस सांसद खड्काले भने–‘६ करोडले पुग्दैन, दश करोड चाहिन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा सांसद खतिवडाले यस्तो बताएका हुन् । उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’ अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे । उनले भने,‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन् ।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ । त्यस्तै सोही कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् । गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हुन् । उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनु हुन्छ । आलोपालोमा सहमति भैसकेको छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे । यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे । उनले भने,‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’ यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था असन्तुलित भएको टिप्पणी गरेका छन् । बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । उनले भने,‘अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ ।’ उनले भने,‘अहिलेको बजेटमा खर्च वृद्धि भएको छ । यो बजेटले खर्चलाई काबुमा राख्न सकेको छैन । बजेटमा आम्दानीको कुरा जो छ, त्यो बढेको छैन । लगानी वृद्धि हुन सकेको छैन् ।’ उनले वर्षभरिको राजश्वको आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उनको दाबी छ ।