विकासन्युज

आय गर्ने सबैलाई अब स्थायी लेखा नम्बरः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आयआर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर (प्यान)को दायरामा ल्याउने नीति सरकारले लिइएको बताएका छन् । आर्थिक विधेयक, २०७६ माथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको आज जवाफ दिनुहुँदै उहाँले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अप्रत्यक्ष राजश्व प्रणालीलाई प्रत्यक्षमा लैजाने गरी कर नीति निर्धारण गर्ने बताए । समान आम्दानी हुनेले समान कर तिर्नुपर्छ भन्ने प्रगतिशील कर नीति भएको उल्लेख गर्दै उनले कुनै वर्ग विशेषलाई करमा छुट दिनेभन्दा समानरुपमा कर उठाई विपन्न वर्गलाई अनुदान दिने बाटो सरकारले लिएको जानकारी दिए । मूल्य अभिवृद्धि करमा नक्कली बिलविजक पेश गर्नेलाई कारवाहीको दायरामा ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता थियो । ऋण लिएर सबै कुरामा निःशुल्क गर्न नसकिने भएकाले अहिले गर्ने उपभोग अहिले नै करबाट उठाउने नीति लिएको उनले प्रष्ट पारे । “प्रदूषण कर नलगाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिइएको छ, क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएकाले बन्द गर्नु पर्दैन, पर्यटन प्रवद्र्धनका लागि पनि क्यासिनो आवश्यक छ”, उनले भने । व्यक्तिगतरुपमा ढुवानी सेवा दिनेलाई करको दायरामा नल्याउँदा समान व्यवहार नभएकाले व्यवस्थितरुपमा कम्पनीमा आई दर्ता गरेर अनौपचारिकरुपमा चलेकालाई औपचारिकतामा व्यवस्थित गर्न लागिएको मन्त्री खतिवडाले बताए । सामुदायिक शिक्षण संस्थाले मात्र सवारी खरीद गर्दा अन्तःशुल्क छुट पाउने व्यवस्था गरिएको उनले सुनाए । व्यावसायिकरुपमा चल्ने संस्थालाई केही छुट दिन लागिएकाले पनि अहिलेको कर नीति प्रगतिशील भएको मन्त्री खतिवडाको भनाइ छ । विधेयकमा मूल्य अभिवृद्धि करभन्दा आयकर वृद्धि गर्ने नीति लिइएको, सरकारले उठाउने कर कुनै सुविधा नदिइ उठाउने प्रतिबद्धता पनि उनको थियो । कुनै पुस्तक पसलमा किताब किन्न जाँदा मुनाफाबाटै छुट दिने गरिएकाले ज्ञानमा नभई पुस्तक पसलको कर उठाउने नीति लिएको मन्त्री खतिवडाले प्रष्ट पारे । ज्ञानका सामग्रीमा मुनाफा हुँदा कर तिर्ने व्यवस्था गर्न लागिएकाले १० प्रतिशतभन्दा बढी नलाग्ने उहाँले स्पष्ट पार्नुभयो । छिमेकी देशमा पनि पुस्तकमा १० प्रतिशत कर लाग्ने गरेको छ । खर्बौं लगानी गरेका नेपालका ७०० छापाखानालाई प्रोत्साहित गर्न पनि पुस्तकमा कर लगाउन लागिएको मन्त्री खतिवडाले प्रष्ट पारे । खेलौना र खेलकूदका सामानमा न्यूनतम् करको दर रहेको उनले बताए । रासस

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई ४ वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे पदावधि गत जेठ १४ गते सकिएपछि सो पद रिक्त थियो । २०४७ सालमा प्राविधिक अधिकृतका रुपमा तत्कालीन हवाई विभागमा प्रवेश गरेका पोखरेल पछि बनेको प्राधिकरणमा कार्यरत रहे । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

२ करोड ३२ लाख राजश्व छल्ने ३ जना झापाली विरुद्ध ४ करोड ६४ लाखको मुद्धा

काठमाडौं । २ करोड ३२ लाख २१ हजार भन्दा बढी राजश्व छलेका आरोपमा झापाका लिला बहादुर घिमिरे, गंगा बहादुर घिमिरे र राजेन्द्रराज पाण्डे विरुद्ध मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध विगोको दोब्बर हुने गरि ४ करोड ६४ लाख ४२ हजार रुपैंयाँ जरिवाना र ३ वर्षसम्म कैद माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमाा मुद्धा दायर गरेको हो । उनीहरुले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालबस्तुहरुलाई सामान्य व्राण्डका र अर्कै मालवस्तु भनि पैठारी आयात गरेर महंगो मूल्य बेच्दै सो मात्रामा राजश्व छलेको निष्कर्ष विभागले निकालेको छ । उनीहरुले इन्डोनेशिया, भियतनाम लगायतका मुलुकमा बनेका जुत्ता र सोलहरुलाई चीनमा बनेको भन्दै आयात गरेका थिए । ख्यातिप्राप्त ब्रान्ड रिबुक, एडिडास, फिला, नर्थफेस, नाईकी, पुमा लगायतका ब्राण्डका जुत्ता चप्पललाई चिनियाँ बजारबाट ल्याएको भन्ने प्रमाण पेश गरेका नक्कली मालवस्तु उत्पादन गरेको भन्दै लिला बहादुर घिमिरे र गंगा बहादुर घिमिरे र दिपेन्द्रराज पाण्डे विरुद्ध पनि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम २ करोड ३२ लाख २१ हजार ५ सय ८९ रुपैंयाँ ६० पैसाको बिगो दाबी सहित मुद्दा दायर भएको हो ।

ग्लोबल आइएमइ बैंकले आइएफसीसँग २ अर्ब ऋण लिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएपनि बैंकले आज जानकारी दिएको हो । बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गरेका हुन् । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आइएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैँकको योजना रहेको छ । रासस

सिसडोलबासी फेरी आन्दोलनमा, भदौं १ गतेदेखि निर्माण कार्य रोक्ने घोषणा

काठमाडौं । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सिसडोल व्यवस्थापन अस्तव्यस्त सधैंका लागि बन्द गर्नुपर्ने र सिसडोल डम्पिङबाट सिर्जित समस्याहरुको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने मुख्य माग अघि सारेको छ । आफूहरुको जायज माग समयमै सम्बोधन नभए जस्तोसुकै कदम चाल्पनि बाध्य हुने समितिको गम्भिर चेतावनी छ । उक्त समस्यालाई लिएर काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरुसँग धेरै पटक वार्ता गर्दापनि समस्याको समाधान नगरेको समितिको आरोप छ । आफूहरुको समस्यालाई बेवास्ता गरिएको भन्दै हिजैदेखि समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न नदिने र सधैंको लागि बन्द गर्ने पनि घोषणा गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष चक्रमान बलामीले आफूहरुले अघि सारेका माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘फोहोर फाल्ने सरकारी जग्गा फोहोरले पूरा ओगटिसकेको छ । अब फोहोर व्यवस्थापन गर्ने जग्गा नै छैन ।’ सरकारले सिसडोलको विकल्प खोज्नुपर्ने उनको भनाई छ । कार्यक्रममा समितिका बरिष्ठ सल्लाहकार ज्ञानेन्द्र प्रकाश गजुरेलले संघर्ष समिति कुनैपनि पार्टीसँग आवद्ध नभई विशुद्ध पीडितहरु आवद्ध भएको बताए । उनले राज्यले पीडितहरुको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले आफूहरु कडा आन्दोलनमा उत्रिने तयारीमा रहेकोले अब समस्या समाधान नभएसम्म संघर्षबाट पछि नहट्ने चेतावनी दिए । उनले हिजोदेखि आफूहरुले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरु ठप्प पारेको पनि जानकारी दिए । समितिका समर्थक प्रत्यक्ष प्रभावित राजन न्यौपानेले फोहोरकै कारण स्थानीय ११/१२ जनाले अनाहकमा ज्यान गुमाउुनु परेको सुनाए । सरकारले प्रहरी प्रशासनको सामू मात्रै वार्ता गर्न चाहेको उनको भनाई छ । उनले भने,‘डर, त्रास देखाएर वार्ता हुँदैन, हामीमाथि सरकार र काठमाडौं महानगरले ज्यादती गर्यो ।’ आफूहरुले विगतदेखि नै राख्दै आएको न्यूनतम मागहरु पूरा गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘मान्छेको विमा, पशु विमा र बालीनालीको पनि विमा गर्नुपर्छ ।’ सरकारले आफूहरुको मानवअधिकार नै उल्लंघन गरेको पनि उनले आरोप लगाए । अर्का स्थानीयवासी तथा प्रत्यक्ष प्रभावित श्रीराम ढुंगानाले आफू विगत २० वर्षदेखि यो समस्या समाधानको लागि लागिपरेको भएपनि अहिलेसम्म समाधान नभएकोमा गुनासो पोखे । वर्तमान सरकार बलियो सरकार भएपनि कामभन्दा कुरा बढि गरेको उनको आरोप छ । फोहोरकै कारण आफूहरुको सम्पत्ति र सन्ततिको असुरक्षा बढेको पनि उनले चिन्ता व्यक्त गरे । उनले माग पूरा नभएसम्म अब फोहोर व्यवस्थापन गर्नै नदिने चेतावनी दिए । उनले भने,‘म बरु मर्न तयार छु । झ्यालखाना जान तयार छ ु। अब अति नै भयो । माग पूरा गर्नुपर्छ ।’ उनले संघर्ष समितिले अघि सारेका मागहरुप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको जनाए । आगामी भदौ १ गतेसम्म माग पूरा नगरे व्यवस्थापनसम्बन्धी भैरहेको कुनैपनि निर्माण काम गर्न नदिनेपनि उनले चेतावनी दिए । उनले भने,‘तत्काल सरकारले क्याविनेटबाट निर्णय गरेर हाम्रो माग पूरा गर्नुपर्छ । त्यसो नगरे हामी निर्माण काम गर्नै दिँदैनौं ।’ सिसडोलको समस्याको दिर्घकालिन समाधान खोज्नुपर्ने भन्दै सरकार त्यतातर्फ गम्भिर बन्नुपर्ने उनको जोड थियो ।

सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव

काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनश सेयर दिने भएको छ । शुक्रबार सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट बोनश सेयर दिने प्रस्ताव पारित भएको हो । उक्त ईन्स्योरेन्स कम्पनीले ८० भन्दा बढी शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले फायर इन्स्योरेन्स, मोटर इन्स्योरेन्स, म्यारिन इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, माईक्रो इन्स्योरेन्स, ईन्जिनियरिङ इन्स्योरेन्स, मनी इन्स्योरेन्स शीर्षकमा बीमा गराउँदै आएको छ । यस्तै, लायबलिटी इन्स्योरेन्स, एक्सीडेन्टल इन्स्योरेन्स, मिस्चीलिनिअस इन्स्योरेन्स, बैंकर्स ब्लाङ्केट इन्स्योरेन्स, हाउस होल्ड पोलिसी, थेप्फट बल्गरी इन्स्योरेन्स र ट्राभल मेडिकल इन्स्योरेन्स शीर्षकमापनि कम्पनीले बीमा सेवा दिँदै आएको छ । कम्पनीको १ करोड १२ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छ । बिहीबार बजार बन्द हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रति कित्ता ६ सय १३ रुपैयाँ छ । कम्पनीका संचालक समिति अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको वार्षिक सधारण सभामासोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायत सञ्चालकहरुको उपस्थिति थियो ।

उद्योग क्षेत्रमा विदेशी लगानी ६८ प्रतिशतले घट्यो, किन आकर्षित भएनन् लगानीकर्ता ?

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग क्षेत्रमा हुने लगानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानीको अवस्था निराशाजनक छ । उद्योग विभागको तथ्याङ अनुसार अघिल्लो वर्षको ११ महिनाको तुलनामा विदेशी लगानी पछिल्लो ११ महिनामा ३६ अर्बले लगानी घटेको छ । गत वर्षको तुलनामा यस वर्ष उद्योग क्षेत्रमा विदेशी लगानी झण्डै ६८ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/७५ को असारसम्ममा उद्योग क्षेत्रमा विदेशी लगानी ५२ अर्ब करोड ८७ लाग ८० लाख रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा यो लगानी घटेर २७ अर्ब ७९ करोड ३० लाख रुपैयाँमा झरेको छ । गत वर्षको तुलनामा यस वर्ष विदेशी लगानीका उद्योग दर्ताको संख्यापनि १४ दशमलव ६६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७४/७५ को असारसम्ममा ३४१ उद्योग दर्ता भएका थिए भने सोही अवधिमा चालू आर्थिक वर्षमा २९१ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागमा विदेशी लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । चालू आर्थिक वर्षको असार १३ गतेसम्मको तथ्यांकनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवामूलक छन् । विभागमा दर्ता विदेशी लगानीका २९१ उद्योगमध्ये पर्यटन उद्योगका ९९ वटा दर्ता छन् । सेवामूलक उद्योग भने ९४ वटा दर्ता भएका छन् । यसैगरी, उत्पादनमूलक उद्योग ५८ वटा, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २३ वटा, कृषिजन्यमा १५ वटा र खनिजमा २ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय उद्योग व्यवसायमा लगानी घटेको सम्बन्धमा उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने-‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) निर्माण हुन २ महिना लाग्यो र सो समयमा विदेशी लगानी स्विकृती नभएकाले पनि नेपालमा आउने लगानीमा कमी देखिएको हो ।’ अहिले १० करोड भन्दा तलको लगानी प्रदेश सरकारले र ६ अर्बभन्दा माथिको लगानी उद्योग विभागले नहेर्ने भएकाले पनि कमी देखिएको सिंहले बताए । यस सम्बन्धमा विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले भने- ‘हामीले अहिले १० करोडदेखि ६ अर्बसम्मको मात्रै लगानी स्विकृत गरिरहेका छौ ।’ फिटाले कृषिजन्य क्षेत्रमा लगानी रोकेकाले पनि विदेशी लगानीमा केही प्रभाव परेको बताए । विदेशी लगानीको नियमावली आउने क्रममा रहेको र यो आइसकेपछि लगानी वृद्धि हुने जानकारी दिए । उद्योगी उमेशलाल श्रेष्ठले भने पछिल्लो समयमा उद्योग क्षेत्रमा विदेशी लगानी घट्नु र नेपालको समग्र उद्योग क्षेत्रको लगानीमा कमी आउनुमा उपयुक्त नीति नहुनु कारक रहेको बताए । नेपालमा उद्योग सञ्चालन गर्दा मुनाफा कम भएरपनि विदेशी लगानीकर्ताको लगानीमा कमी आएको श्रेष्ठले बताए । समग्र लगानी ११ प्रतिशतले घट्यो गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योग क्षेत्रमा ११ प्रतिशतले लगानी घटेको छ । गत आवमा ३ खर्ब ५ अर्ब ६६ करोड १० लाख लगानी आएको थियो भने चालु आर्थिक वर्षमा २ खर्ब ११ अर्ब २४ करोड ४७ लाख मात्रै लगानी आएको छ ।

महिलामाथिको आक्रमण गर्ने गिरोह पक्राउ, सिरिञ्ज हैन काँटी !

काठमाडौं । रातिको करिब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै थिइन् । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो । पछिल्लो केही महिनामा उस्तै प्रकृतिका छ घटना भए । चार घटना प्रहरीमा आइपुग्यो भने दुई घटना अनुसन्धान कै चरणमा छ । उक्त घटना कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सिरिञ्ज आक्रमण भनेर सार्वजनिक भयो । प्रहरीले सिरिञ्ज नभएको बताए पनि जनमानसमा फैलिसकेका कारण त्रास रोकिएको थिएन । घटनामा संलग्न रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की बा ४७ प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेपछि उक्त घटनामा सिरिञ्जको प्रयोग नभएको थप पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनले प्रयोग गरेको वस्तु फलामको काँटी भएको प्रहरीले पुष्टि गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका कार्की महाराजगञ्जमा फाष्टफुड पसल सञ्चालन गर्दै आएका व्यक्ति हुन् । “हामीले शुरुदेखि नै स्पष्ट पार्न खोज्यौँ, सिरिञ्ज होइन भनेर, चिकित्सकले सिरिञ्ज देखिएको छैन भनेकै थिए, मिडियाले किन भन्यो थाहा भएन, तर उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा फैलिएको त्रास हट्ने विश्वास छ”, सुवेदीले प्रष्ट्याए । “उनले एउटा घटना चिर्कटोजस्तो काठको सानो टुक्रा प्रयोग गरेको र अरुमा चाहिँ ढलानमा ठोक्ने किला प्रयोग गरेको हुँ, त्यो किला त्यहीँ फालेको छु भन्ने बयान दिएका छन्, हामीले त्यो ठाउँमा सर्च गर्दै छौँ”, सुवेदीले घटनाबारे थपे । प्रहरीसँग कार्कीले ‘किन–किन गरेँ, आफूलाई नियन्त्रण गर्न सकिन’ भन्ने बयान दिएका छन् । नियन्त्रणनै गर्न नसक्ने अवस्था किन सिर्जना भयो भन्नेतर्फ पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पीडित परिवारका सदस्य लक्ष्मण देउला यति सानो घाउ किलाले हानेको होलाजस्तो चाहिँ नलाग्ने जिकिर गर्नुहुन्छ । सार्वजनिक स्थानमा महिलाप्रति अभद्र व्यवहार गरेको भन्ने मुद्दा रहेको र अर्को समाजमा सङ्क्रमण फैलाउने प्रयास हो कि भन्ने आशङ्का भएकाले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जानकारी दिँदै प्रहरीले प्रमाण र घटनाक्रमले पुष्टि गरेको आधारमा मुद्दा चल्ने जनाएको छ । शृङ्खलाबद्ध घटना २०७६ साल लागेपछि शृङ्खलाबद्ध रुपमा घटना भएको छ । वैशाख १ मा पहिलो घटना भएको थियो । जेठको १८, २० र ३२ गते तीन घटना भयो । अहिलेसम्म चारवटा घटनाको उजुरी परिसरमा परेको छ । अन्य दुई घटनाको अनुसन्धान जारी छ । सबै घटनामा कार्की नै संलग्न रहेको घटनाको अनुसन्धान र खोजतलासमा लागेका परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । सबै घटना काठमाडौँको ठमेल, ढल्कु, पक्नाजोल, विष्णुमती कोरिडोरको स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा भएका छन् । राति ९ बजेपछि मात्रै घटना दोहोरिएको छ । हरेक घटनामा, कुनै व्यक्ति मोटरसाइकलमा आउने, छुँलाछुँलाजस्तो गरेर जाने र महिलालाई चसक्क भएर शरीरमा केही घोपेजस्तो हुने एउटै प्रकृतिका छन् । ती घटना सर्वसाधारणमा त्रास फैलने गरी आएकाले महानगरीय अपराध महाशाखा र परिसरले गम्भीर अनुसन्धान थालेको थियो । बनेपामा समेत यस्तै घटना भएको भन्ने विषयमा भने परिसरका प्रमुख सुवेदीले बनेपामा भएको घटनासँग यसको प्रकृति नमिल्ने बताएका छन् । प्रहरीका अनुसार यस्ता घटनामा संलग्न हुनेको मानसिक अवस्था ठीक नभएको, कुनै कुराले आघात भएको वा दुव्र्यसनको कारणले पनि हुनसक्ने भएकाले त्यतातर्फसमेत अनुसन्धान केन्द्रित गरिएको छ । सिसी क्यामराबाटै पहिचान उक्त घटना ढल्कुमा राखिएको सिसी क्यामरामा कैद भएको थियो । त्यसमा एक महिला कुकुर डुलाउँदै सडकमा हिँडिरहेको देखिन्छ । एक्कासि अगाडिबाट आएको मोटरसाइकल उनको नजिकै आइपुग्छ र एक हातले केही हानेजस्तो गरेको देखिन्छ । त्यसपछि ती महिला फनक्क फर्किएको देखिन्छ । त्यही सिसी क्यामराको आधारमा मोटरसाइकल पहिचान भएको हो । स्थानीयले चक्रपथमा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धान गर्दै जाँदा त्यही मोटरसाइकल भएको पुष्टि हुन पुग्यो । पीडित परिवारका एकजना सदस्य लक्ष्मण देउलाका अनुसार सिसी क्यामरामा देखिएको हुलियाको आधारमा उस्तै मोटरसाइकल सडकमा देखेपछि प्रहरीलाई खबर गरेर पक्राउ गर्न सफल भएको हो । रासस