विकासन्युज

त्रिभुवन विमानस्थलमा ‘बम थ्रेट’ सम्बन्धी अभ्यास, ३ः१० देखि ३ः४० बजेसम्म सेवा बन्द हुने

काठमाडौं । ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी  दिएका छन् । उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान/अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द हुनेछन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ । बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट-५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ । यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ । रासस

मल संस्थाको कालोबजारीले रासायनिक मलको अभाव, धान रोपाइँमा समस्या

काठमाडौं । मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन्। जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ । बाइसहजार ५०० मेट्रिक टन युरिया मल आउनुपर्नेमा बिहीबारसम्म १६ हजार मेट्रिक टन मात्र युरिया आएको र उक्त मल अन्य जिल्लामा पठाउनका लागि राखिएकाले हाल यहाँ युरिया मल अभाव हुन गएको सो कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा रहेको मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन समितिले जिल्लामा धान तथा अन्नबालीका लागि चाहिने मल अभाव हुन नदिन युरिया मल छ हजार ४०० मेट्रिक टन, डिएपी तीन हजार ७५ मेट्रिक टन तथा पोटस एक हजार ६५० मेट्रिक टन आवश्यक पर्ने भएकामा कृषि सामग्री संस्थानसँग डिएपी ४०० मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेशनसँग २५० मेट्रिक टन गरी ६५० मेट्रिक टन मल रहेकाले आवश्यक मल आपूर्तिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताए । आइबारदेखि मनसुन सक्रिय भइ खेतमा पानी जम्न थालेकाले केही किसानले धमाधम रोपाइँ शुरु गरेपनि मलको अभावमा सबैलाई रोपाइँ गर्न गाह्रो भएको किसान शेषमन पण्डितले बताएका छन् । लिमिटेडले चालु आर्थिक वर्षमा युरिया छ हजार मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास १५० मेट्रिक टन बिक्री गर्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म डिएपी पाँच हजार ४८९ मेट्रिक टन, युरिया ११ हजार २१३ मेट्रिक टन र पोटास १३८ मेट्रिक टन बिक्री गरिएको जनाएको छ । छिमेकी मुलुक चीन र ओमानबाट पानी जहाजमार्फत भारतको कोलकत्ता तथा हल्दीया बन्दरगाह हुँदै रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म मलआईपुग्न समय लाग्ने भएकाले ढिलो हुने देखिएको सो कार्यालयले जनाएको छ । संस्थानले माग गरेअनुसारको मल देशको विभिन्न ठाउँमा आपूर्ति गर्दै आएको छ । २२ हजार ५०० मेट्रिक टन युरिया आउनुपर्नेमा हाल १६ हजार मेट्रिक टन मात्र आएको सो मल बाहिर पठाउँदा यस जिल्लाका लागि अपुग भए पनि साउनको पहिलो सातासम्म आइपुग्ने बताइएको छ । संस्थानले जिल्लाका ९५ सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आए पनि सो मल संस्थाले कालो बजारीमा अन्यत्र बिक्री गर्ने गरेकाले मलको अभाव सिर्जना भएको सम्बद्ध किसानको गुनासो थियो । स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँडने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको जनाइएको छ । कृषि सामग्रीले समानुपातिक हिसाबले सहकारी संस्थालाई मल दिने गरेको जिकिर गर्दै आएको छ । यसरी, रासायनिक मल बिना नै किसानले रोपाइँ गरेको वीरगञ्ज महानगरपालिका–१८ का किसान उमाशङ्करप्रसाद कलवाले बताए । शुरुमा अत्याधिक गर्मीले लगाएको बेर्ना सुाक्यो भने अब पानी पर्दा मलखादको अभाव भए पनि धान रोपाइँ शुरु गरेका छन् जिल्लामा ४६ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । रासस

११ महिनामा झण्डै २ लाखले लिए श्रम स्वीकृति, कतारको लागि सबैभन्दा बढी

काठमाडौं । वैदेशिक रोजगार विभागबाट पछिल्लो ११ महिनामा १ लाख ८९ हजार ३०२ नेपालीले श्रम स्वीकृति पाएका छन् । विभागका अनुसार २०७५ साल साउनदेखि २०७६ जेठसम्म १ लाख ७३ हजार ६४२ जना पुरुष र १५ हजार ६६० महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । विभागको तथ्याङ्क अनुसार रोजगारीका लागि कतार, युएई र साउदी अरेबिया जाने युवाको संख्या उच्च छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा सबैभन्दा बढी ६६ हजार ३७ जनाले कतार, ४८ हजार ८२६ यूएई, ४० हजार ६४३ जनाले साउदी अरवियाको लागि श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि १ लाख ८२ हजार ७३२ ले श्रम स्वीकृति लिएका थिए । जम्मा महिला संख्या १३ हजार ६५६ र पुरुषको संख्या २ लाख ७५ हजार १५३ थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा २ लाख ८८ हजार ८०९ले श्रम स्वीकृति पाएका थिए । कुन महिना कतिले पाए श्रम स्वीकृति ?

बैतडीका बजारमा जडान भए सिसीटिभी क्यामरा

काठमाडौं । आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताएका छन् । करिब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध न्यूनीकरणमा टेवा पुग्ने र आपराधिक क्रियाकलाप गरेर भाग्ने समूहलाई सहज पहिचान गरेर कानूनको परिधिभित्र ल्याउन सहज हुने विश्वास गरिएको छ । सिसीटिभी क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । रासस

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

हनोई । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ । सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई थप व्यवस्थित गरिनेछ । भियतनाममा नक्कली लाइसेन्स र स्वास्थ्य परीक्षण प्रमाणपत्र अनलाइनबाटै बिक्री गर्नेक्रम बढेको छ । लाइसेन्स लिनेक्रममा हाल ४५० वटा प्रश्नको साटो ६०० वटा प्रश्न सोध्ने नयाँ नियम बनाइएपछि नक्कली लाइसेन्स लिनेक्रम ह्वात्तै बढेको अध्ययनले देखाएको छ । यसै वर्षको पहिलो पाँच महिनामा भियतनाममा ६ हजार ७७९ वटा सवारी दुर्घटना भएका छन्, जसका कारण तीन हजार १२८ जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

एक हजार दुईसय हजयात्री साउदी जाँदै,प्रतिहजयात्री रु दुई लाख ३० हजार

काठमाडौं । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । यसरी, हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक नभएको समितिले जनाएको छ । समितिले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासको अथक प्रयासका बाबजुत पनि कोटा बढाउन नसकिएको समितिका अध्यक्ष शमशेर मियाँले बताए । साउन २ देखि १० गतेभित्र हजयात्री साउदी पुग्नेछन् । दैनिक १५० का दरले एयर अरेबियाको जहाजबाट हजयात्री लगिनेछ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु स्वदेश फर्कने बताइएको छ । थप एक हजार कोटा माग गरिएकामा साउदी सरकारले ५०० थप्ने मौखिक आश्वासन दिएको भए पनि त्यो पूरा हुन नसकेको भन्दै अध्यक्ष मियाँले हजयात्रीको कोटा बढाउनका लागि पहल गरिदिन सरकारसमक्ष आग्रह गरे । समितिका अनुसार नेपालमा करिब १२ लाख मुस्लिम समुदाय रहेको पुरानो आँकडा रहे पनि अहिले त्यो सङ्ख्या अहिले झण्डै १५ लाखको हाराहारीमा रहेका छन् । प्रतिहजयात्री करिब रु दुई लाख ३० हजार खर्च लाग्ने बताइन्छ । यो रकम हजीले नै ब्यहोर्छन् । समितिले रु १० देखि १५ हजार हरेक हजीलाई फिर्ता गर्ने गरेको थियो यो वर्ष रकम बढेकाले फर्काउन समस्या हुने समितिको भनाइ छ । विगतभन्दा कम रकममा हज गराउन लक्ष्यका साथ काम गरिरहेको भए पनि साउदी सरकारले नै हजयात्रीको खर्च बढाएकाले समस्या भएको समितिका अध्यक्ष शमशेर मियाँले बताए । उनले हजयात्रीको सहज व्यवस्थापनका लागि अनुदान रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । समितिका अनुसार यस वर्ष साउदी रियल बढेकाले प्रतिहाजीको कूल खर्चमा झण्डै रु पाँच हजारले वृद्धि भएको छ । साउदी सरकारलाई प्रतिहाजी बुझाउनुपर्ने स्थानीय यातायात खर्च यसपटक रु १५ हजार १८० ले बुझाउनुपर्ने बाध्यता छ । अध्यक्ष मियाँले हज समितिको बारेमा केही व्यक्तिले अनर्गल प्रचारबाजी गरेकोमा आपत्ति जनाउँदै संस्थाभित्र त्यस्तो कुनै गतिविधि नभएको र हज समिति आफ्नो लक्ष्यमा कटिबद्ध भएर लागि पर्ने बताएका छन् । हजीको टिकटलगायत व्यवस्थापनमा समितिले आर्थिक अनियमितता गरेको भनी समाचार आएको थियो । रासस

राष्ट्र बैंकले आरएमडिसीको संस्थापक सेयर बिक्री गर्ने, न्यूनतम मूल्य रु. २६१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ३२ हजार कित्ता संस्थापक बिक्री गर्ने भएको छ । राष्ट्र बैकले शुक्रबार बोलपत्र आह्वान गरी बोलकबोल मार्फत सेयर बिक्री गर्ने जनाएको हो । आएमडिसी लघुवित्तको सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्युनतम २ सय ६१ रूपैयाँ अंकित गरी शिलबन्दी बोलपत्र आवेदन दर्ता गर्न सक्नेछन् । साउन १६ गते भित्र राष्ट्र बैंकको वित्त ब्यवस्थापन विभागमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । शिलबन्दी आवेदन साउन १९ गते खोलिने जनाइएको छ । होलसेल रुपमा कर्जा प्रवाह गर्ने आरएमडिसीको स्थापना राष्ट्र बैंकको समेत सेयर लगानीमा भएको हो ।

पाँच वर्षदेखि रोकिएको राहुघाट निर्माण शुरु, छुट्यायाे रु आठ अर्ब ५९ करोड

काठमाडौं । ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो । पाँच वर्षमा करिब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले कम्पनी मोडलमा बन्न लागेको राहुघाटको पिप्लेस्थित अडिट नं ३ मा सुरुङ निर्माणको काम यसै हप्तादेखि सञ्चालन भएको जानकारी दिए । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा सकिनुपर्ने थियो । विसं २०७२ मा पुरानो ठेक्का तोडेर कम्पनी मोडलबाट आयोजनालाई अघि बढाइएको थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्याइएको छ । यसरी, ठेकेदार कम्पनीले सबै तयारी सकेर सुरुङ निर्माण शुरु गरेको जानकारी दिँदै प्रबन्ध सञ्चालक केसीले कार्यतालिका बनाएर कामलाई तीव्रता दिने बताएका छन् । विसं २०७४ मङ्सिर ५ मा रु छ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जेपी एशोसिएट्सले २०७५ जेठ १० गते कार्यादेश पाएको थियो । त्यस्तैगरी, कम्पनीका सहायक निर्देशक गोपाल पाठकले पहुँचमार्ग, आवास, निर्माण सामग्री आपूर्तीलगायतका पूर्व तयारी गरेको बताए । घुमाउनेतालदेखि झिँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगेको जानकारी दिएका छन् । बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण शुरु भएको छ । निर्माण सामग्रीको आपूर्तिका लागि चमेरेमा क्रसर र पिप्लेमा बेचिङ प्लान्ट बनाएको छ । विद्युत् गृह निर्माण हुने तिल्नेनीको अडिट नं ४ बाट पनि छिट्टै सुरुङ खन्ने तयारी भएको ठेकेदार कम्पनीका इञ्जिनीयर आरके श्रीवास्तवले बताए । भौगोलिक विकटता, मौसमी प्रतिकूलता र पहिरोको समस्याले अँधेरीखोलाको २ नम्बर र बाँधको १ नम्बर अडिटको सुरुङ खन्ने काम भने बर्खापछि शुरु गरिने उनले बताएका हुन् । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्नेछ । पिप्ले, झिँ र दग्नाममा नौ वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको आयोजनाले वनसम्बन्धी सबै प्रक्रिया पूरा गरेको छ । त्यस्तै, इलेक्ट्री मेकानिकल ठेक्काका लागि परेका तीन प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि ऋण लगानीकर्ता एक्जिम बैंकलाई पठाइएको छ । वित्तीय प्रस्ताव खोलेर मूल्याङ्कनको क्रममा रहेको उपनिर्देशक पवन बस्नेतले बताए । इञ्जिनीयरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा निर्माण हुन लागेको आयोजनाले गत चैत १८ गते प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरेको थियो । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु आठ अर्ब ५९ करोड अनुमान गरिएको छ । अर्ध जलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । रघुगङ्गालगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् प्राधिकरणले खुर्कोट दाना प्रसारण लाइनका साथै राहुघाटमा सवस्टेशन बनाउन जग्गा अधिग्रहण गरिएको छ । रासस