फस्टाउँदै जुजु धौ व्यवसाय, भक्तपुरमा मात्रै पाँच दर्जन व्यवसायी
भादगाउँ । माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो । नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय पार्टी भोजलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको मागसमेत दिनानुदिन बढ्दो छ र व्यापार पनि फस्टाएको छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । जुजु धौको माग बढेपछि नगरका टोलटोलमा जुजु धौ पसल खोलिएका छन् । जुजु धौ उत्पादनका हिसाबले मात्र होइन, यसको बिक्रीवितरणका हिसाबले पनि यो व्यवसाय दिनदिनै फस्टाएको भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए । “ठूला विवाह ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले समेत अचेल जुजु धौ प्रयोग गर्दछन्”, सैंजुले भने, “यसले पनि जुजु धौको माग बढेको हो ।” एकपटक यसको स्वाद चाखेपछि यसैमा मन बस्ने भएकाले पनि काठमाडौँ उपत्यकामा मात्र नभई काभ्रेको बनेपा, पनौती र धुलिखेलसम्म जुजु धौको माग बढेको सैंजुले बताए । उनले भने, “भक्तपुरका जुजु धौ व्यवसायीलाई काठमाडौँ र काभ्रेका पसलमा जुजु धौ पुर्याउन भ्याइनभ्याइ नै हुन्छ । झन् विवाहको ‘सिजन’मा त माग धान्नै धौधौ हुने गर्दछ ।” जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्ने सैंजुले बताए । उनका अनुसार डेरीको दहीमा दूधको सबै ‘फ्याट’ निकालेर पाउडर मिसाई वाफले मात्र तताएर दही उत्पादन गरिन्छ, तर जुजु धौ त्यस्तो हुँदैन । “जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ”, उनले भने, “जुजु धौ बनाउन कम्तीमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ ।” जुजु धौ बनाउन दूधलाई बाक्लो हुनेगरी राम्रोसँग चलाउँदै कराइमा उमाल्नुुपर्दछ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्नुपर्दछ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ । जुजु धौ व्यवसायी माग धान्न मुस्किल भएपनि यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटारा हो । तर काँठक्षेत्रमा गाई–भैँसीपालन व्यवसाय हराउँदै जानु र कुमालेले पनि माटोको कटारो बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता सङ्कटमा पर्न थालेको व्यवसायी बताउँछन् । आधुनिक प्रविधिको नाममा दहीलाई ‘फ्रिज’मा राखेर जमाउने गर्नाले पनि यसको मौलिकतामा ह्रास आउन थालेको सैंजुले बताए । डेरीहरुले जुजु धौको लागि दूध सङ्कलनमा समेत समस्या आएको उनको भनाइ छ । “डेरीलाई कम फ्याट भए पनि हुन्छ तर जुजु धौका लागि बढी फ्याट भएको दूध चाहिने भएकाले किसानले पनि दूधमा पानी मिसाएर हामीलाई भन्दा डेरीलाई दूध बिक्री गर्न रुचाउँछन्”, उनले भने, “यसले गर्दा हामीले बाहिरी जिल्लाबाट महँगो मूल्यमा दूध सङ्कलन गर्नुपर्छ । काँठक्षेत्रबाट आउने दूध सबै डेरीले उठाएपछि हामीजस्ता व्यवसायीले समस्या बेहोर्नुपरेको हो । अहिले हामीले उच्च गुणस्तरको दूधका लागि चितवन, काभ्रेको पाँचखाल, इलाम, बुटवलबाट दूध ल्याउने गरेका छौँ ।” भक्तपुरको जुजु धौ दही मात्र होइन, भक्तपुरको पहिचान पनि बनिसकेको छ । जुजु धौ महिमा नेपालमा मात्र होइन, विदेशमा समेत परिचित छ । त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद नचाखी नजाने गरेको भक्तपुर दरबार स्क्वायरस्थित हाडापाउँ तथा आइसक्रिम भण्डारका दिनेशबाबु हाडा बताउँछन् । रासस
बनेपा र कुशादेवीमा देवः विकास बैंकको शाखा बिस्तार
काठमाडौँ । देवः विकास बैंक लि.ले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले एक दशक अगाडि बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरिएको बताए । यसैगरी, पनौति नगरपालिका, वढा नं ०२, कुशादेवीमा आयोजित अर्को समारोहमा कुशादेवी शाखा कार्यालयको देवः विकास बैंक लि., संचालक समितिका अध्यक्ष बज्र गुरुङले उद्घाटन गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्रामीण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहुँच पुर्याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए ।
आज १६ औं धान दिवस, बर्दियामा मनाउने सरकारको तयारी
काठमाडौं । सरकारले यस वर्ष १६ औं राष्ट्रिय धान दिवस बर्दियामा मनाउने भएको छ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाइन लागेको हो । सरकारले प्रत्येक असार १५ गते धान दिवस मनाउँदै आएको छ । यसवर्ष पहिलो पटक उपत्यका बाहिर धान दिवस मनाउने लागेको हो । १६ औं धान दिवसका रुपमा मानो रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोपिन्छ । विगत १५ वर्षदेखि यस दिनमा राष्ट्रिय धान दिवस मनाउने अभ्यास गरिएको छ । नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको छ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैयालगायतका धान खेती हुँदै आएको छ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरिन्छ । मनसुन १० ढिला हुँदा रोपाइ ढिला यस वर्ष १० दिन पछि मनसुन सुरुवात भएसँगै रोपाइँमा ढिलाइ भएको छ । गत वर्ष यति बेला करिब १७ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष हालसम्म १२ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईले जानकारी दिए । कतिपय स्थानमा रोपाईका लागि बर्षात कुर्नु पर्ने समस्या हुँदा रोपाइ ढिलाइ हुने उनको भनाइ छ । रोपाइँ हुनका लागि मनसुन सक्रिय हुनु पर्ने र ढिलो गरेको रोपाईमा धान पोटिलो नफल्ने मन्त्रालयले बताएको छ । । मनसुन ढिला सुरु हुँदा धानको बिऊमा असर पर्ने गर्छ । गत वर्ष मनसुन ठिक समयमा हुँदा उत्पादनसँगै उत्पादकत्व पनि बढेको सह प्रवक्ता भट्टराईले बताए । नेपालमा पछिल्लो समय नयाँ प्राविधिको विस्तारसँगै उत्पादनमा २ गुणाले वृद्धि भएको छ । मन्त्रालयका अनुसार नेपालले प्राविधिक उपकरण तथा नयाँ विउविजन भित्राए पनि जनशक्तिको अभावका कारण उत्पादनमा समस्या पैदा हुँदै आएको छ । कृषि क्षेत्रमा विशेष गरी विभिन्न समयमा हुने मलको अभावसँगै खरिद मूल्य बढ्ने समस्या पनि किसानले वर्षीनै भोग्नु परेको छ । सरकारले आगामी आर्थिक वर्षमा रासायिक मलका लागि ९ अर्ब रकम विनियोजन गरेकोे छ । सो रकम चालु वर्षको तुलनामा ५० प्रतिशत बढी हो । कृषि क्षेत्रको विकास एवम् विस्तारका लागि चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ४ अर्ब ७७ करोड छुट्याएको छ भने आगामी आर्थिक वर्षका लागि झन्डै दोब्बर ८ अर्ब १० करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजन गरेको छ ।
गतसाता सेयर बजारमा अढाइ अर्बको कारोबार, कस्तो रहला यो साता ?
काठमाडौँ । धितोपत्र बजारमा गतसाता पनि उतारचढावपूर्ण कारोबार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा पुगेर बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा रु ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोबार भए । कूल १७४ कम्पनीको शेयर साताभर कारोबार भए । गतसाताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको थियो । सो दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुग्यो । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत घट्यो । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए । यस्तै सोमबार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुग्यो । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुग्यो । सो दिन नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक ०.९६ विन्दुले बढेर एक हजार २६१।०७ अङ्कमा पुग्यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुग्यो । सामान्य अङ्कले बढेको बजारमा त्यस दिन कारोवार रकम भने सामान्य देखियो । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद-बिक्री भए । सोमबार र मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । त्यस दिन परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झ¥यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुग्यो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने वृद्धि भयो । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहिबार परिसूचक १.१४ अङ्कले घटेर एक हजार २५७.१५ बिन्दुमा पुग्यो । त्यस दिन नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भयो । कूल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता शेयर रु ६२ करोड ७९ लाख आठ हजार ८१२ मा खरीद बिक्री भए । गतसाता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा नेपाद दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे । गतसाता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख चार हजार ६५१ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भए । रासस
‘ल्याण्डफिल्ड साइड’ बन्द हुँदा राजधानीमा फोहोर थुप्रियो, सिसडोलवासीको आन्दोलन किन ?
काठमाडौँ । काठमाडौँ उपत्यका हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ । फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन् । फाइल तश्वीर काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ सिसडोलवासीसँग शुक्रबारदेखि वार्ता जारी रहेकाले केही दिनमै समस्या समाधानतिर जाने बताउँछन् । ‘ल्याण्डफिल्ड साइड’ का लागि उपयोग भइरहेको जग्गा अधिग्रहण गरिनुपर्ने माग पनि पीडितको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार फोहर व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो । राजधानी दुर्गन्धित हुँदा पनि यहाँका स्थानीय सरकारले फोहर व्यवस्थापनमा ध्यान नदिएको पुतलीसडकवासी जीवन श्रेष्ठले गुनासो गरे । पुतलीसडकमा डेढ वर्षअघिदेखि बगिरहेको ढलको कुलो अझै काठमाडौँ महानगरपालिकाले बन्द नगर्दा यस क्षेत्रमा बस्न नसक्ने वातावरण बनेको उनको आक्रोश छ । केन्द्रीय सरकारका राज्य सञ्चालकहरु दैनिक हिँड्ने मार्गकै यस्तो अवस्था छ भने अन्यत्र के भइरहेको होला भनी सहजै अनुमान गर्न सकिने स्थानीयवासीको गुनासो छ । ‘ल्याण्डफिल्ड साइड’ मा पूर्वाधार निर्माणको जिम्मेवारी भने शहरी विकास मन्त्रालयलाई दिइएको छ । शहरी विकास तथा भवन निर्माण विभागले पूर्वाधार निर्माण गर्ने तयारी भइरहेको जनाइएको छ । सिसडोल नजिकैको बञ्चरेडाँडामा विभागले फोहर फाल्ने स्थानको पूर्वाधार निर्माण गरिरहेको छ । सिसडोलमा आन्दोलनः प्रहरी र स्थानीयवासीबीच झडप काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि शनिवार झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए । रासस
अण्डाको मूल्य बढ्यो, कति पुग्यो ?
काठमाडौँ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट रु २०० र मध्यम अण्डाको प्रति क्रेट रु ११५ पाउँदै आएका थिए । सङ्घका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए । जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो । अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरु लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए । कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य रु १० पर्न जान्छ तर कृषकले रु सातमा वितरकलाई बिक्री गर्दै आएका थिए । यो अण्डा बजारमा एउटाको रु १५ मा पाइन्छ । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा सङ्लग्न छन् । देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ । रासस
थाई एयर एशिया बैंकक-काठमाडौँ उडानको पहल गर्दै, प्राधिकरणमा दियो निवेदन
काठमाडौँ । एयर एशिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एशियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो । बैंकक–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा जनाउँदै थाई एयर एशियाले हालै निवेदन दिएको र सम्पूर्ण कागजातबारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । “थाई एयर एशियाले काठमाडौँ उडान गर्ने योजना अनुरुप प्राधिकरण समक्ष निवेदन दिएको छ । उसको एयर एशिया एक्ससँगको सम्बन्ध, अन्तर्राष्ट्रिय उडानका मापदण्ड पूरा गरेको छकी छैन यो सबै विस्तृत अध्ययन गरेपछि मात्र उडान अनुमति दिइन्छ । अहिले कम्पनीले पेश गरेको कागजातको अध्ययन प्रक्रियामा छ”, उनले भने । प्रारम्भिक काजजात बुझाएको छ । सबै प्रक्रिया पूरा गरेको भए दुई महीनाभित्र उडान अनुमति पाउने प्राधिकरणले जनाएको छ । थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंकक–काठमाडौँ गन्तव्यमा सातामा समान सात उडान गर्दै आएका छन् । नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ । अहिले नेपाल आउन चाहेको थाई एयर एशिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी रहेको छ । बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एशियासँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा रहेको छ । यसको एयर एशिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ । एयर एशियाले क्यानलाई करोडौँ बक्यौता नतिरी काठमाडौँ उडान केही महिना अगाडि बन्द गरेको थियो । प्राधिकरणको व्यवस्था बमोजिम नयाँ वायु सेवा प्रदायक कम्पनीले उडान अनुमतिका लागि बुझाउनुपर्ने सम्पूर्ण कागजात विस्तृत अध्ययन गरेपछि मात्र प्राधिकरणले उडान अनुमति दिन्छ । थाई एयर एशियाको मलेसियाको एयर एशिया एक्ससँगको सम्बन्ध भए नभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ । यदि उक्त कम्पनीसँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एशियालाई उडान अनुमति दिन सकिने क्यानले जनाएको छ । त्यतिमात्र नभई थाई एयर एशियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ । कम्पनीका कागजात नेपाली पाइलट र इञ्जिनियरले अध्ययन गरेर उडान योग्य भएको सिफारिस गरेपछि मात्र प्राधिकरणले अनुमति दिने बताइएको छ । नेपालमा उडान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पनि थाई एयर एशियाले प्राधिकरणलाई पत्र पठाएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार थाई एयर एशियाले विमानस्थलको सुरक्षा मूल्याङ्कनका लागि पत्र पठाएको छ । उक्त कम्पनीको टोलीले नेपालमा उडान गर्नुअघि विमानस्थलको सुरक्षा मूल्याङ्कन गर्न पाँच वटा पास पनि मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस
आज धान दिवस, असार १५ दही च्यूरा खाने पर्वका रुपमा पनि मनाइदै
काठमाडौँ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ । रासस