हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेसबीच साझेदारी, विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा
काठमाडौँ । नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयूमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेशियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो इनिशिएसन जुलाई १, २०१९ बाट प्रारम्भ हुनेछ । हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन गरेको हो । यसको शुरुवातसँगै ग्राहकहरु विभिन्न तरिकाले लाभान्वित हुनेछन् जस्तै उनीहरुले वारेन्टी दावी गर्न सक्नेछन्, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिम समेत परिपूत्र्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्वदेशहरुमा टिभी किन्दा लाग्ने रकममै विश्वकै नं. १ सामसङ्ग टिभी प्रदान गर्दछ । हिम इलेक्ट्रोनिक्सले विश्वस्तरीय, स्टेट-अफ-आर्ट, नवीनतम र गुणस्तरीय उत्पादनहरु शुलभ मूल्यमा प्रदान गर्दै आइरहेको छ । हिम इलेक्ट्रोनिक्स प्रालि वर्षाैदेखि उपभोक्तामाझ विश्वसनीय ब्राण्डको रुपमा स्थापना गर्दै निरन्तर रुपमा नेपालमा उत्पादकदेखि बिक्री पछिका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकले रोप्यो १०० बिरुवा, सिइओ पोखरेलपनि सहभागी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १४ गते राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण वर्ष २०७६ को अवसरमा वन तथा वातावरण मन्त्रालयको अगुवाईमा संचालन भएको वृक्षारोपण कार्यक्रममा उल्लासपूर्ण सहभागिता जनाएको छ । कोटेश्वर-कलंकी चक्रपथ सडक किनारमा सौन्दर्यमूलक रूखहरू रोप्ने कार्यक्रम सञ्चालन गरिएकोमा ग्वार्को शाखादेखि दक्षिणतर्फ ५०० मिटरसम्ममा १०० वटा कल्की फूलका बिरुवाहरू रोपिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्वार्कोमा कल्की फूलको बिरुवा रोपेर नेपाल सरकारले थालनी गरेको एक वर्षमा देशभर तीनदेखि पाँच करोड बिरुवा रोप्ने अभियानमा सहभागिता जनाए । बैंकका करिव १०० जना कर्मचारीहरूको अग्रसरतामा उक्त क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, सहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट,को को भए ?
काठमाडौं । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आइतबार १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् । त्यसैगरी, वैकल्पिकतर्फ कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख र जीतेन्द्र मुखिया छन् । आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको उक्त फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा हुँदैछ । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत गरी पाँच राष्ट्र सहभागी छन् । जसमा विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट आगामी अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुँदैछ । यस्तै विश्वकप छनोटको तयारीको लागि नेपाली टोली यही असार २४ गते मलेसिया प्रस्थान गर्नेछ । त्यहाँ नेपालले असार २८ र २९ गते मलेसियाविरुद्व दुईवटा टी –ट्वान्टी सिरिज खेल्नेछ । रासस
निजगढ विमानस्थलमा दुई केपी ओलीबीच घमासान
काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलमा दुई केपी ओलीबीचको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीले नेतृत्व गरिरहेको लगानी बोर्डले विमानस्थल निर्माणका लागि लगानी जुटाउने प्रयास गरिरहेको छ भने प्रधानमन्त्री ओलीले नै नेतृत्व गरिरहेको पर्यटन मन्त्रालय त्यसमा असन्तुष्ट देखिन्छ । नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना हेर्ने फाँटका प्रमुख प्रदीप अधिकारी भन्छन-‘निजगढमा निजी कम्पनी आउँदैनन्, ३० वर्षमा लगानी उठाउने आयोजनामा निजी कम्पनीको सम्भावना छैन्, तर अहिले लगानी बोर्ड मार्फत अघि बढाउने भनेर उतै लगिएको छ ।’ हाल मुआब्जा वितरण, पुनर्बास, रुख कटान लगायतका काम प्राधिकरणले गरिरहेको छ । लगानी बोर्डले भने लगानी सम्मेलनमा निजगढ विमानस्थलमा लगानी आव्हान गरेको थियो । त्यसमा ७ वटा विदेशी कम्पनीहरुले इच्छा देखाएका छन् । ती कम्पनीहरुसँग वार्ताका लागि सन २०२० फेब्रुअरीसम्मको समय तोकिएको छ । ‘सन २०२०को फेब्रुअरी महिनासम्म आवेदन दिएका कम्पनीहरुसँग छलफल र सहमतिको समय तोकिएको छ, सो अवधिसम्म कुन मोडलमा निजगढ विमानस्थल बनाउने भन्ने एकिन होला’, लगानी बोर्ड उच्च स्रोतले भन्यो । अधिकारीले भने कहिले आफैं बनाउने, कहिले जी टु जी भन्ने त कहिले निजी क्षेत्रलाई दिने भनेर सरकारले निजगढ विमानस्थललाई भकुण्डो बनाएको आरोप पनि लगाए । ‘२०७३ जेठमा केपी ओली सरकारले आफैं बनाउने निर्णय गरेको थियो, पछि जी टु जीमा जाने भनियो, फेरि निजी कम्पनी खोज्न लगानी बोर्डलाई दिइएको छ, आखिर सरकारले गर्न चाहेको के हो ? पहिले त्यो स्पष्ट हुनुपर्छ’, संसदको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा आक्रोश पोखे । २०७३ सालमा १ खर्ब २० अर्ब लागतमा पहिलो चरणको विमानस्थल निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको थियो । हाल यसको लागत १ खर्ब ५० अर्ब पुगेको पनि अधिकारीले जानकारी दिए । उनले रुख काट्ने निर्णय गरिनुपर्ने तथा निर्माण मोडलबारे सरकारले ठोस निर्णय गर्नुपर्ने बताए । ‘हामीले जे गर्नु पर्ने हो त्यो गरिरहेका छौं, कसरी बनाउने ? स्रोत कसरी जुटाउने त्यो सरकारले टुंगो लगाउने विषय हो,’ अधिकारीले भने । निजगढ विमानस्थलका लागि ४ हजार हेक्टरको ७ लाख रुख काटेर एउटा रनवे सहितको पूर्वाधार निर्माण गर्ने गरि डीपीआर तयार हुँदैछ । प्रधानमन्त्रीले नेतृत्व गरेको लगानी बोर्ड र पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण दुबै निजगढ विमानस्थलमा संलग्न छन् । प्राधिकरणका नव नियुक्त महानिर्देशक राजन शर्माले पनि लगानी बोर्ड मार्फत लगानीकर्ता खोज्ने काम अघि बढेकाले निर्माण मोडलबारे प्राधिकरणले कुनै काम अघि बढाउन नसकेको भन्दै असन्तुष्टी पोखे ।
लक्ष्मी पोखरी पुननिर्माणमा नेपाल बंगलादेश बैंकद्वारा ९ लाख सहयोग
काठमाडौँ । नेपाल बङ्गलादेशल बैंकले काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोल स्थित ऐतिहासिक लक्ष्मी पोखरीको रु नौ लाख बहत्तर हजार रकमको लागतमा पुननिर्माण गरेको छ । शनिबार नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक लक्ष्मी पोखरीको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैँकले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरी मान्दै आएको र बैंक सधै सामाजिक विकासप्रति सचेत र सजग रहेको बताए ।
सगरमाथा इन्स्योरेन्सको अध्यक्षमा पुनः रामकृष्ण मानन्धर चयन
काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.को शुक्रबार सम्पन्न २२ औं साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूह ग बाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेका छ । संस्थापक शेयरधनी समूह क बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थमणि राजभण्डारी निर्बिरोध निर्वाचित भएका हुन् भने सर्वसाधारण शेयरधनी समूह ग बाट कीर्तिकुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्बिरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । कम्पनीमा बैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसीबाट मनोनित १ जना र स्वतन्त्र संचालक १ जना सहित जम्मा ७ जनाको संचालक समिति रहनेछ । सोही दिन सांझ बसेको नवनिर्वाचित संचालकहरुकोे बैठकले संचालक समितिको अध्यक्षमा रामकृष्ण मानन्धरलाई सर्वसम्मत चयन गरेको जनाइएको छ । उक्त साधारण सभाले कम्पनीको नियमावलीमा शंसोधन गरी सञ्चालक समितिको संख्या ७ जना कायम गरेको हो । सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव
माउण्टेन हाइड्रोलाई प्राधिकरणकाे जरिवाना,कारण के थियाे ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेर जाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै गर्थे । सरकारी निकायको कामै छैन, उनीहरुले समयमै काम गर्दैनन् । यस्तै यस्तै आरोप पनि लाग्थ्यो । उनीहरु सरकारी निकायकै कारण आफूहरु समस्यामा परेको भन्दै सार्वजनिक खपतका लागि वक्तव्यबाजी समेत गर्थे । यो प्रवृत्ति आम जस्तै बनेको छ । यसरी, सरकारी निकायलाई दोष लगाएर आफूले गर्नुपर्ने काम समयमा सम्पन्न नगरेका कारण काबेली करिडोरमा निर्माणाधीन एक जलविद्युत् आयोजनाले पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने भएको छ । माउण्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले यही असार ६ गतेसम्म प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने शर्त थियो । कूल २१.६ मेगावाट क्षमताको सो आयोजनालाई काबेली करिडोर प्रसारण लाइन आयोजनाले गत वैशाख २५ गते नै प्रसारण लाइन सञ्चालनमा आएको जानकारी दिएको थियो । प्रसारण लाइन सञ्चालनमा आएको दुई महिना पुग्न लाग्दा समेत तल्लो हेवा खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिन अझै केही दिन लाग्ने देखिएको छ । तोकिएको समयमा विद्युत् उपलब्ध गराउन असफल भएपछि विद्युत् खरिद बिक्री सम्झौतामा उल्लेख भएअनुसार पाँच प्रतिशत जरिवाना लाग्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिएका छन् । तोकिएको समयमा प्राधिकरणलाई विद्युत् उपलब्ध नगराए सम्बन्धित प्रबर्धकले जरिवाना तिर्नुपर्छ । प्राधिकरणले पनि शर्तअनुसारको प्रसारण लाइनलगायत अन्य भौतिक संरचना नबनेका कारण विद्युत् खेर गए जरिवाना तिर्नुपर्छ । प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार प्रसारण लाइन निर्माण सम्पन्न भइसक्दा समेत तोकिएको समयमा विद्युत् दिन नसकेका कारण प्रबर्धकले नियमानुसार जरिवाना तिर्नैपर्छ । व्यावसायिक उत्पादन सुरु भएपछि एकमुष्ठ रुपमा नै के कति तिराउने भन्नेमा निर्णय हुने उनको भनाइ छ । आयोजनाले सोमबार आयोजनाको सुक्खा परीक्षण ‘ड्राइटेस्ट’ गर्ने जानकारी प्राधिकरणलाई गराएको छ । उक्त परीक्षण गरेपछि आयोजनामा जडित मेसिनमा पानी पठाएर विद्युत् उत्पादन नगरी परीक्षण गरिन्छ । त्यस्तो परीक्षण सम्पन्न भएपछि १५ दिन परीक्षण उत्पादन र प्रसारण गर्नुपर्ने व्यवस्था छ । यस आधारमा हेर्दा सो आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुन साउन नै लाग्ने देखिन्छ । तल्लो हेवा खोला आयोजनाका आयोजना प्रमुख गणेश सुब्बाले सुरुङमा पानी चुहिएका कारण यसअघिको परिक्षण असफल भएपछि मर्मत गरेर पुनः सोमबार परीक्षणका लागि प्राधिकरणको प्राविधिक टोलीलाई आमन्त्रण गरिएको जानकारी दिए । जरिवाना लाग्ने वा नलाग्ने विषयमा आफू जानकार नभएपनि अनौपचारिक रुपमा त्यस्तै कुरा सुनेको उनको भनाइ छ । “हामीले आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिरहेका छौ, सोमबारदेखि मेशिनको अवस्था तथा अन्य संरचनाको परीक्षण हुन्छ । सो परिक्षण सकिएपछि ‘वेट टेस्ट’ गरिन्छ” आयोजना प्रमुख सुब्बाले भने । माउण्टेन हाइड्रोका प्रमुख सीताराम तिमिल्सनाले २०७४ फागुनमा नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको स्थलगत निरीक्षणमा गएको टोलीलाई विद्युत् खेर जान लागेको गुनासो गरेका थिए । प्राधिकरणले प्रसारण लाइन नबनाएका कारण विद्युत् खेर जान लागेको भन्दै उनले स्थलगत निरीक्षणमा पुगेका सञ्चारकर्मीलाई समेत प्राधिकरणलाई दबाब दिन आग्रह गरे । त्यस अवसरमा कार्यकारी निर्देशक घिसिङले तिमिल्सिनालाई तपाइँको आयोजना सम्पन्न हुन अझै डेढ वर्ष जति लाग्ने जवाफ दिएका थिए । समयमा नै आयोजना त सकिएन भन्ने जिज्ञासामा तिमिल्सिना सम्पर्कमा आएनन् । तर, उनका सहयोगी विश्व पाण्डेले भने, “केही प्राविधिक समस्याका कारण आयोजना पर धकेलिएको हो । जरिवाना तिर्नुपर्ने व्यवस्था भए आफूहरु तिर्न तयार छौँ ।” सामान्यतया नयाँ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन तीन महिना समय लाग्छ । परीक्षणमा नै सामान्य समस्या देखिए व्यावसायिक उत्पादन प्रभावित हुन जान्छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख दिपेन्द्रराज द्विवेदीले आफूहरुले गत वैशाख २५ गते नै प्रसारण लाइन सञ्चालनमा आएको आयोजनालाई पत्र पठाएर जानकारी गराएको बताए। उनले प्राधिकरणले आफ्नो जिम्मेवारी समयमा पूरा गरेपनि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा नजोडिएको बताएका छन् । सो आयोजनाको तेस्रो खण्डको काम पनि यसै महिनाभित्र सम्पन्न हुनेछ । त्यस खण्डको १३.३३ किलोमिटर लाइन सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तेस्रो खण्डको दुई किलोमिटर मात्रै तार तान्न बाँकी रहेको आयोजना प्रमुख द्विवेदीले बताए । कूल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरेर निर्माण सुरु गरिएको थियो । उक्त प्रसारण लाइनमा २६१ टावर रहेका छन् । झापाको लखनपुरबाट सुरु भएको प्रसारण लाइन इलाम, फिदिम, तेह्रथुम हुँदै पाँचथरको अमरपुरसम्म जोडिनेछ । रासस
टेलिकमद्वारा ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध, यस्ता जानकारी निःशुल्क
काठमाडौँ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ । यो एक प्रकारको कल-इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ । नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिने नेपाल टेलिकमले जनाएको छ । सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने टेलिकमले जनाएको छ ।