विकासन्युज

दोर्दी खोला जलविद्युत आयोजनाद्धारा पाइपलाइन विस्तार, स्थानीयवासी आन्दोलनमा

लमजुङ । २७ मेगावाटको हिमालयन पावर पार्टनर लिमिटेडद्धारा संचालित दोर्दी खोला जलविद्युत आयोजनाले आफूहरुलाई मुआब्जा नै नदिई पाइपलाइन विस्तार गरेको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका छन् । बेसीशहर नगरपालिका ११ चितिका स्थानीयले स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी (एफ्पिक) तथा अधिकार मञ्च सघर्ष समिति गठन गरेर आइतबार नारा जुलुशसहित दोर्दी खोला जलविद्युत आयोजनाको कार्यालय घेराउ गरे । उनीहरुले मुआब्जाको विषयलाई लिएर आफ्नो जग्गामा पर्ने बाटो नै बन्द गरिदिएका छन् । समस्या समाधान नभएसम्म उनीहरुले बाटो नखोल्ने बताएका छन् । उनीहरुले पीडितलाई सत्प्रतिशत क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, ईआईए रिपोर्ट नेपाली भाषामा हुनुपर्ने, पानी मुहानको पहिचान गरेर प्रभावित स्थानीयलाई खानेपानी र सिंचाईको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । १५ मिटर जग्गा प्रयोग गर्ने भनी स्थानीयसँग सम्झौता गरेपनि आयोजनाले ३०-४० मिटर जग्गा अतिक्रमण गरको छ । पहिरोले गर्दा कतिपय घरहरु उच्च जोखिम परेका छन् । जलविद्युत आयोजनालाई धेरै पटक मुआब्जाको विषयमा जानकारी गराउँदा पनि कुनै चासो नदिएकोे स्थानीयहरुको गुनासो छ । आफ्नै घर छेउँमा धमाधम निर्माण भइरहेका आयोजनाहरुले आफूहरुको मुहार उज्यालो बनाउनु भन्दा थप पीडा दिएको स्थानीयले बताएका छन् । जलविद्युत आयोजनाले भने अतिक्रण भएको ठाउँमा स्थानीय र आयोजनाबीच समन्वय गरेर मुआब्जा दिने बताउँदै आएको छ ।

कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

बिदुर । नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्रयाक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक उपकरण पुर्याउने विदुर नगरपालिकाको योजनाअनुसार ट्र्याक्टर वितरण गरेको भन्दै आगामी दिनमा कृषकलाई प्रविधिमैत्री बनाएर व्यावसायिक उत्पादनलाई बढवा दिने बताए । प्रमुख पण्डितले हिजोको दिनमा भनसुनको आधारमा केही व्यक्तिले कृषि औजार पाउने गरेको भन्दै अबका दिनमा मापदण्डको आधारमा वितरण गरिने बताए । फाइल तश्वीर, पोखरा कार्यक्रममा विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईंले कृषकलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको बताए । हाते ट्रयाक्टर पाएपछि कृषकले खुशी व्यक्त गरेका छन् । हाम्रो सहकारी संस्था लिमिटेडका प्रतिनिधि बद्री रिजालले गाउँमा खेती गर्न गोरु पाउन छाडेकाले नयाँ हाते ट्रयाक्टर पाएकोमा खुशी व्यक्त गरे । उनले नगरपालिकाले कृषकलाई ५० प्रतिशतमा दिएको अनुदान अझै कम भएको बताए । नगरपालिकाले वितरण गरेको २२ वटा हाते ट्रयाक्टर विभिन्न १३ कृषक सहकारी, कृषि समूहलाई वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जनाएको छ । यसअघि पनि गत पुस महीनामा नगरपालिकाले किसानलाई २६ हाते ट्रयाक्टर वितरण गरेको थियो । रासस

लोकसेवाको स्थानीय तहको विवाद ‘हेर्दाहेर्दै’ मा, आज सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आइतबार बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा सूचीमा सोमबारका लागि राखिएको हो । यसअघि यही असार ११ गते सो इजलासले सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका कारण आइतबारसम्मका लागि स्थगित गरिएको हो । उक्त आयोगविरुद्ध स्थानीय तहको विज्ञापनसम्बन्धी चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ शुरु गरिएकामा न्यायाधीशद्वय कार्की र डा खतिवडाको संयुक्त इजलासले बहस नसकिएकाले आइतबाका लागि ‘हेर्दाहेर्दै’को सूचीमा राखेको थियो । यसअघि न्यायाधीशद्वयको सोही इजलासले यही असार ४ गते दायर भएका सबै विवादलाई एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै ती रिट निवेदन दायर गरिएका थिए । ती पदहरुमा ४ लाख बढीले आवेदन दिएका छन् ।

मर्मत भयो धावनमार्ग, आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

काठमाडौँ । तोकिएको समयमै काम सम्पन्न नहुने रोग नयाँ होइन । जतिसुकै ठूला परियोजना पनि विभिन्न बहानामा पर सार्ने, समय लगाउने र लागत बढाउने प्रवृत्तिले विकास निर्माणका लागि बाधक बन्दै आएको छ । गर्नुपर्ने निकायले काम नगर्ने र सरकारले कामै गरेन भन्ने आलोचना सहनुपर्ने बाध्यता उत्तिकै व्याप्त छ । जिम्मेवार निकायले इमान्दार भएर प्रयास गर्यो भने कठिनभन्दा कठिन काम पनि तोकिएको समयमा पूरा हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्यले । सरकारको सार्थक प्रयास तथा प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसहित विशेष चासो तथा राष्ट्रिय आवश्यकताले विमानस्थल मर्मतको काम सकिएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपनासमेत पूरा भएको छ । सरकारी निकायले ध्यान नदिँदा ठूला आयोजनामा रुग्ण बनिरहेका छन् । निर्माण व्यवसायीले पनि समय बढाउन पाए अनेक फाइदा हुन्छ भन्ने लालसा राख्ने गरेका छन् । निर्माणाधीन ठूला आयोजनाको हविगतले यही भन्छ र तथा तथ्य तथ्याङ्कले पनि त्यही देखाउँछ तर विमानस्थल मर्मतको काममा भने निराशाका कुरा सुन्नु परेन । एकाध दिन निर्माण सामग्रीको आयातमा समस्या देखिए पनि दृढ इच्छाशक्ति, नेपाल नागरिक उड्डयन प्राधिकरणको सचेत पहल तथा निर्माण व्यवसायीको मिहिनेतले काम तोकिएको समय अर्थात् ९० दिनमा नै पूरा भयो । नेपालको परिचय अन्तर्राष्ट्रियजगत्मा स्थापित गर्ने एक मात्र विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ । मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै थियो । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने लक्ष्य निर्धारण गरिए पनि जटिल काम आफैँमा थियो नै । त्योभन्दा बढी काम शुरु भएपछि लगातार भइरहेको वर्षाका कारण पनि जटिलता उत्पन्न होला भन्ने चिन्ता व्याप्त थियो । काठमाडौँ क्रमशः निन्द्रामा मस्त निदाइरहेको बेला धावनमार्ग भने धमाधम भत्काइन्थ्यो । तीन सय नेपाली र चिनियाँ कामदार रातभर खट्थे, भत्काएको धावनमार्गमा निर्माण सामग्री हालिन्थो र कालोपत्र गरेर जस्ताको तस्तै बनाइन्थ्यो । बिहान ८ बजे विमानस्थल खुल्थ्यो, जहाजको उडान र अवतरण शुरु हुन्थ्यो । रातभर कहाँ काम गरियो भन्ने आम मानिसले खासै हेक्का पाउँदैनथे तर जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आइतबार राति पूर्णरुपमा सम्पन्न भएको जानकारी दिए । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या पर्दै आएको थियो । विशेषगरी वर्षायाममा बढी समस्या देखिन्थ्यो । मालिन्दो र टर्किस एयरलाइन्स दुर्घटनामा पर्दा लामो समयसम्म विमानस्थल बन्द भएको नमीठो उदाहरण सबैको दिमागमा परेकै थियो । चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पोखरेललाई पनि काम नसकिएका कि भन्ने उस्तै चिन्ता थियो । बीचमै केही गडबढी भइहाल्यो भने त मुलुकको प्रतिष्ठामा नै समस्या आउँछ । त्यसको जवाफ कसरी दिने भन्ने छटपटीले पोखरेललाई सताएको थियो । काम कसरी समयमै सम्पन्न गर्नुभयो त भन्ने जिज्ञासामा पोखरेल भन्छन्, “हामीले आवश्यकता र बाध्यतालाई केन्द्रमा राख्यौँ । निर्माण व्यवसायीलाई सोहीअनुसार आग्रह गर्यौँ । निर्माण सामग्रीको जोहो पनि त्यसरी नै गर्यौँ । त्यसले हामीलाई जटिल काम समयमै सक्ने वातावरण बनायो ।” धावनमार्गमा आवश्यकताअनुसार नयाँ कालोपत्र राखिएको छ । आयोजनाका निर्देशक भन्छन्, “तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।” निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेशन कोरियाले जिम्मा लिएको थियो । धावनमार्ग मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टू’देखि शुरु गरिएको हो । प्राधिकरणका अनुसार एक हजार ६०० मिटरसम्म धावनमार्गमा अत्यन्तै बिग्रिएको थियो । विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेशिन’ प्रयोग भएको निर्देशक पोखरेल बताउँछन् । काम समयमै सकिँदा असाध्यै खुशी देखिनुभएका पोखरेलले भने, “ठूलो काम सम्पन्न भएको छ । बाँकी रहेका केही काम भने क्रमशः अगाडि बढाइनेछ ।” सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । काठमाडौँ निदाइरहेको बेला हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो । राति भत्काइएको धावनमार्ग बिहान ८ बजे उडान तथा अवतरणका लागि जस्ताको तस्तै बनाइयो । गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव पूर्ण अवस्था पनि व्यहोर्यो । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न थालिएको थियो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् । ‘गोरखा भूकम्प’ले अन्य स्थानमा ठूलो क्षति पुर्याएपनि विमानस्थलमा खासै प्रभाव पारेन तर विमानस्थलका जानकार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय परामर्शदाताले धावनमार्ग र ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर नयाँ प्रविधि प्रयोग गरी नयाँ कालोपत्र राखी मर्मत गर्न सुझाएका थिए । गत चैत १८ गतेदेखि शुरु गरिएको धावनमार्ग मर्मत आइतबार राति सम्पन्न भएको हो । विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । जुन नगन्य जस्तै हो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो । यसले नेपालमा समयमा काम हुँदैन भन्ने आम सोचाइमा समेत परिवर्तन ल्याइदिएको छ । जुन नेपालका अन्य ठूला भौतिक पूर्वाधार निर्माणमा यही उदाहरण अनुकरण गर्ने हो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ । रासस

अधिकृत र सुब्बा सापको यो कस्तो धन्दा, अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन् । निजको सार्वजनिक सेवामा प्रवेशदेखि हालसम्मको आयव्यय विश्लेषण गरी हेर्दा जम्मा रु दुई करोड २८ लाख ६४ हजार २०८ आर्जन गरेको देखिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । तर सो अवधिमा निजले आफू र परिवारको नाममा आर्जन गरेको सम्पत्ति, छोराछोरीको शिक्षामा गरेको लगानी र मौज्दात रु तीन करोड ८५ लाख ४३ हजार २३४ देखिएको आयोगले जनाएको छ । निजको वैध आय बाहेक रु एक करोड ५६ लाख ७९ हजार २६ बराबरको स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो एवम् अस्वाभाविक देखिएको र कसुर गरेको पुष्टि हुन आएकाले आयोगले झा उपर बिगो रु एक करोड ५६ लाख ७९ हजार २६ कायम गरी निजकी श्रीमती सुचितादेवी झा समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्यकारी अधिकृत रेग्मीविरुद्ध आरोपपत्र आयोगले आजै सङ्खुवासभाको चैनपुर नगरपालिकाका कार्यकारी अधिकृत उत्तम रेग्मीविरुद्ध पनि आरोप पत्र दायर गरेको छ । रेग्मीले नगरपालिकाको विकास बजेटबाट सो कार्यालयमा कार्यरत कर्मचारीको नाममा अनियमित रूपमा रु सात लाख छ हजार ९०९ झिकी हिनामिना गरेको अभियोग छ । आयोगले रेग्मीसहित मतियारको कार्य गर्न संलग्न रहेका हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजी कम्पनीका सञ्चालक यज्ञप्रसाद ढकाल, इन्स्टिच्युट अफ रिसर्च एण्ड डेभलपमेन्टका सञ्चालक दुर्गाप्रसाद दाहाल तथा एभरेष्ट टेक्नोलिङस प्रालिका सञ्चालक अञ्जिता गौतमले समेत भ्रष्टाचार कसुर गरेको देखिएकोले कानूनबमोजिम सजाय माग दाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । त्यस्तै आयोगले सुर्खेतको लेकवेँशी नगरपालिका–७ स्थित श्री आदर्श माध्यामिक विद्यालयको रु दुई लाख अठतीस हजार ५३० रकम नक्कली कागजातका आधारमा झिकी हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध पनि आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानाध्यापकको प्रशासनिक जिम्मेवारी समेत सम्हालेका भीमबहादुर ज्ञामी, तत्कालीन खातावाला तथा लेखा शिक्षक भक्तबहादुर ज्ञामी तत्कालीन स्रोत व्यक्ति दलबहादुर सिंहको मिलेमतोमा सो रकम हिनामिना गरिएको आयोगले जनाएको छ । आजै पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा करार निमावि शिक्षकका रुपमा कार्यरत कासिम अन्सारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यापन गरिरहेको देखिएकाले अन्सारी विरुद्ध पनि सजाय माग दाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । रासस

बिकेन हरियो चियापत्ति, विरोधस्वरुप किसानले सडकमै फाले

इलाम । उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती फालेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया फालेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया फालेर विरोध जनाए । यसअघि किसान र उद्योगीले सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ लागू गरेर हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ग्राम रु ४० कायम गरेको थियो । उद्योगीले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १२ गतेदेखि उद्योग बन्द गरेका थिए । उद्योगीको सङ्गठन सूर्योदय टि प्रोड्युर्सस एशोसिएशनमा आबद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य सङ्घका प्रतिनिधिबीच उद्योग सञ्चालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि तत्काल गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरीद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको थियो । उद्योग सञ्चालनमा आएको १२ घण्टा नबित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फर्काएपछि किसानले अर्को आन्दोलन थालेका हुन् । रासस

शेर्पा हाेटल बन्द गरेपछि मात्र कराेडौं फाइदा भयो, बैंकको सेयरमा सधैं बोनस आउँछ- प्रकाश श्रेष्ठ

प्रकाश श्रेष्ठ, अध्यक्ष-बैंक अफ काठमाण्डू लिमिटेड वित्तीय अवस्था राम्रो भएको, संस्थापक सेयरधनीको क्रसहोल्डिङ पनि नभएको, मर्जमा जान वाह्य दवाव पनि नपरेको बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच मर्ज निकै राम्रो मानिएको थियो । तर, मर्जपछि यो बैंकको विकास र विस्तार सुस्त छ । फेरि अर्थ मन्त्रालय र राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान चर्को दवाव दिइरहेका छन् । यस अवस्थामा यो बैंकले के गर्ला ? प्रस्तुत छः पर्यटन व्यवसायी, होटल एशोशिएशन अफ नेपालका पूर्व अध्यक्ष तथा बैंक अफ काठमाण्डूको अध्यक्ष प्रकाश श्रेष्ठसँग गरिएको विकास वहस । व्यवसायिक यात्रा कस्तो छ ? पर्यटन व्यवसायमा मैले लामो समय बिताए । भलै सोचे जस्तो सफलता हासिल गर्न सकिएको छैन । मैले मात्र होइन, नेपालले नै पर्यटन क्षेत्रमा राम्रो प्रगति गर्न सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको मचान वाईल्ड लाइफ रिसोर्ट बन्द भएपछि अहिले नवलपरासीमा मचान कन्ट्रि भिला चलाइरहेको छौं । मुग्लिन–नारायणगढ खण्डको सडक निर्माण अवधि लामो हुँदा र त्यस अवधिमा यात्रा निकै कठिन भएपछि चितवन र आसपास क्षेत्रको पर्यटन व्यवसाय धरापमा परेको छ । त्यसैले नवलपरासीको होटल पनि सोचे जस्तो राम्रो हुन सकेको छैन । त्यस्तै, बैंक अफ काठमाण्डूको अध्यक्ष छु । बैकिङ मेरो कोर विजनेश होइन तर पनि बैंकका सेयरधनीहरुको सुझाव र सहयोगमा हामी अगाडि बढिरहेका छौं । कस्तो हुँदै छ बैंक अफ काठमाण्डूको विजनेश ? सबैलाई थाहा छ कि नेपालमा उद्योग व्यवसाय फस्टाउन सकेको छैन । नेपालका उद्योगहरूले चीन र भारतसँग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । उद्योग व्यवसाय विस्तार राम्रो भएको अवस्थामा मात्र बैंकहरूले राम्रो गर्न सक्छन् । त्यस्तै बैंकहरूबीचको विजनेश पनि निकै प्रतिस्पर्धात्मक छ । त्यति हुँदा हुँदै पनि बैंक अफ काठमाण्डूले राम्रो गरिरहेको छ । आजको दिनमा बैंक चलाउन कति गाह्रो छ ? पहिलाको तुलनामा अहिले स्थिति अनुकूल बनेको छ । आम नागरिकमा बैकिङ बानीको विकास हुँदै गएको छ । बैंकिङ कारोबार पनि सजिलो बन्दै गएको छ । कार्ड पेमेन्ट, डिजिटल पेमेन्टले बैकिङ कारोबार सहज भएको छ । बैकिङ क्षेत्रको ग्रोथ पनि राम्रो देखिन्छ । मैले पहिला पनि भने जब अरु व्यवसाय फस्टाउँछ तब बैंक पनिसँगै अगाडि जान्छ । उद्योग, जलविद्युत, पर्यटन, व्यापार, अन्य सेवाको क्षेत्र राम्रोसँग चल्यो भने बैंक पनि राम्रो हुन्छ । ८/१० वर्ष पहिले बैंक अफ काठमाण्डू नेपालका राम्रा ५/७ वटा बैंकभित्र पर्दथ्यो । बैंक अफ काठमाण्डू र एभरेष्ट बैंक उस्तै हैसियतमा थिए । इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले बैंक अफ काठमाण्डूलाई प्रतिस्पर्धी ठानेका थिए । दुई स्वस्थ्य अवस्थामा रहेका लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि यो बैंकले फड्को मार्ने अपेक्षा गरिएको थियो । तर, अहिले यो बैंक निकै पछाडि परेको देखिन्छ, किन ? तपाईले जे भन्नुभयो अरु धेरैबाट मैले यो कुरा सुन्छु । यस बैंकप्रति सकारात्मक रुपमा सोच्नेहरुले हामीलाई घच्घच्याई रहनुभएको छ । निश्चित रुपमा मैले पनि महसुश गरेको छु कि रेसमा हामी पछाडि परेका छौं । इतिहासका बारेमा म धेरै बोल्न चाहान्न । लुम्बिनी र बैंक अफ काठमाण्डू मर्जपछि म अध्यक्ष भएँ । त्यसपछि बैंक बलियो बन्दै गएको छ । बैंकले दिने सेवा राम्रो भएको छ । बैंकको वित्तीय अवस्था पनि बलियो छ । सेयरधनीले पनि राम्रो प्रतिफल पाएका छन् । गत आर्थिक वर्षमा हामीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएका थियौ । यो वर्ष पनि कम्तिमा १६÷१७ प्रतिशत लाभांश दिन सकिन्छ जस्तो लाग्छ । शाखा विस्तारमा, विजनेश विस्तारमा हामी केही सुस्त छौं तर बैंक बिग्रेको छैन । झन् राम्रो र बलियो बन्दै गएको छ । केही वाणिज्य बैंकको वासलात २५० अर्ब नजिक पुगेको छ । तर बैंक अफ काठमाण्डूको वासलातको आकार १ सय अर्बभन्दा पनि कम छ । धेरै पछाडि परियो भन्ने लाग्दैन ? हो, विजनेश एक्सपान्सनमा हामी एग्रेसिभ भएनौ । त्यसको रिस्क फ्याक्टरहरू पनि हामीले विश्लेषण गरेका छौं । हामीले धेरै जोखिम लिएनौ, हामी सुरक्षित यात्रालाई जोड दियौं । अब हामी एग्रेसिभ हुन्छौं । बैंक अफ काडमाण्डूको सुस्त ग्रोथको कारण बजार प्रतिकूल हुनु हो कि बैंक भित्रको आन्तरिक समस्या हुन् ? आन्तरिक समस्या केही पनि छैन । व्यवस्थापन र बोर्डबीच अत्यन्तै राम्रो सम्बन्ध छ । हामी शाखा विस्तार गर्न, ब्राण्डिङ गर्न, विजनेश विस्तार गर्न एग्रेसिभ देखिएनौ । अहिले पनि बोर्ड र व्यवस्थापनबीचको सम्बन्धमा बारेमा समाचारहरु आइरहेका छन् । सीईओ शोभनदेव पन्तको राजीनामा तपाईको खल्तीमा छ समेत भनिन्छ नि ? मलाई पनि धेरैले यस्तो प्रश्न सोधिरहेका छन् । तर, त्यस्तो केही समस्या छैन । शोभनदेवजीको चाहना कुनै बेला छोड्ने पनि थियो होला । तर अहिले उहाँले छोड्ने वा हामीले अर्को सीईओ ल्याउने विषयमा कुनै कुरा भएको छैन । त्यो सबै गलत हल्ला हो । बैंकलाई कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल वहस हुन्छ । राजीनामा गरेको भन्ने हल्ला कहाँ बाट आयो ? म आफै छक्क परेको छु । बाणिज्य बैंकबीच आपसमा मर्जपछि एनआईसी एशिया, ग्लोबल आईएमई, प्रभुमा सिनर्जी इफेक्ट देखियो तर बैंक अफ काठमाण्डूमा देखिएन, किन ? दुई बैंकबीच मर्ज भएपछि कल्चर मर्ज हुन समय लाग्दो रहेछ । पहिलो १÷२ वर्ष त कल्चर मिक्स गर्न नै लाग्यो । जब हामी कल्चर, वर्किङ स्टाईल मर्ज गर्यौं र सहज अवस्थामा आईपुग्यौ तब बजारमा प्रतिकूल अवस्था पनि देखियो । तरलताको अभाव पनि देखियो । निक्षेप वृद्धि कठिन भयो । त्यसले पनि हाम्रो ग्रोथ अलि कमदरमा भयो । अर्थमन्त्री, गभर्नरले फेरी पनि मर्ज हुनुपर्छ भन्नुभएको छ । बैंक अफ काठमाण्डू के गर्छ ? पहिला पनि सरकारले बैंकहरूको संख्या घटाउन चाह्यो । अहिलेको अर्थमन्त्री गभर्नर हुनुहुन्थ्यो । उहाँले त्यतिबेला पनि बैंकहरूबीच मर्जरमा जोड दिनुभएको थियो । हामीले सरकारको नीतिमा सहयोग गर्दै मर्ज गर्यौं । मलाई के लाग्छ भने बैंकहरूको संख्या घटाउनु नै राम्रो हुन्छ । बैंक अफ काठमाण्डू फेरि पनि मर्जमा जान सक्छ । यो मेरो बैंक हो भनेर हामी समातेर बस्दैनौ । हामी राम्रो बैंकसँग मर्ज गरेर जानसक्छौं । अबको मर्ज के का लागि ? अझ राम्रो गर्नको लागि । अझ बलियो बैंक बन्नुपर्छ । हामी लुम्बिनी बैंक हुँदा हाम्रो क्षमता जति थियो अहिले धेरै बढेको छ । अब मर्ज भयौ भने हामी झन् बलियो हुनेछौं । मर्ज विना नै नविल, एसवीआई, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायत बैंकहरु पनि बलिया भएका छन् । मर्ज नै अनिवार्य हो र ? तपाईले नाम लिएका बैंकहरू, इन्भेष्टमेन्ट, हिमालयन लगायत बैंकहरू पहिला देखि नै ठूला र बलिया थिए । नयाँ र कमजोर बैंकहरू बलियो बन्नको लागि मर्ज एउटा उपयुक्त विधि हो । आजको दिनमा बैंक अफ काठमाण्डूको सेयरमा गरिएको लगानी कति सुरक्षित छ ? कति फाइदाजनक छ ? मलाई लाग्छ सुरक्षित छ र फाइदा पनि छ । आज होटलमा नै गरिएको लगानीले पनि कति नाफा दिन्छ र ? कम से कम बैंकमा गरिएको लगानी सुरक्षित छ । हुनसक्छ सेयर मूल्य नबढ्ला तर लाभांश आइरहेको हुन्छ नि । यतिबेला होटलमा लगानी निकै बढेको देखिन्छ । तपाईसँग होटल र बैकिङ दुबै क्षेत्रको अनुभव छ । कुन क्षेत्रमा गरिएको लगानी लाभदायक हुन्छ ? म एउटा उदाहरण दिन्छु, दरवार मार्गको शेर्पा होटल बन्द भयो । सञ्चालनमा रह्दा त्यो होटल कहिल्यै पनि नाफामा गएन । तर रियलस्टेटको मूल्य निकै बढ्यो र बेच्दा करोडौ फाइदा भयो । अरु देशमा जस्तो नेपालले पर्यटन क्षेत्रमा फड्को मारेन । नेपालको होटलमा म्यारिएट् आयो, शेराटन आउँदैछ । निजी क्षेत्रको लगानी जति भएको छ सरकारी तहबाट पूर्वाधार विकासमा त्यति लगानी भएन । पोखरा विमानस्थल बनेपछि, लुम्बिनी एयरपोर्ट बनेपछि हुनसक्छ, होटलहरुले पनि राम्रो नाफा गर्न सक्छन् । मेलम्चीमा फसेको पैसा आउँछ कि आउँदैन ? यस विषयमा धेरै पोजेटिभ डेभलपमेन्ट भएको छ । अदालतको अन्तिम फैसला बैंकका पक्षमा आउँछ भन्नेमा हामी विश्वस्त छौं ।

काठमाडौँको कोरिडोर-अण्डरपासः जाम घटाउने उत्तम विकल्प

काठमाडौँ । केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे । सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु नौलो कुरा थिएन । बिदाको दिन बाहेक प्रायः बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेको बीचमा अत्यधिक जाम हुन्थ्यो । गाडीको लाइन मैतिदेवी चोकदेखि पुरानो बानेश्वरसम्मै पुग्थ्यो । यहाँको असर काठमाडौँको मुख्य सडकसम्म आइपुग्थ्यो तर केही महीना भयो, यहाँ यात्रुले यति ठूलो सास्ती खेप्नु परेको छैन । प्रायः उक्त सडक प्रयोग गर्नुहुने शेखरचन्द्र राईलाई सो सडकमा ठूलो जामको समस्याले पिरोलेको छैन । “अहिले धेरै सहज भएको छ, बाँकी कोरिडोर र अण्डरपास खोल्न सके उपत्यकाको जाम धेरै घट्छ”, राईले भन्नुभयो । यसरी जाम कम हुनुको मुख्य कारण हो कोरिडोर र अण्डरपास ९पुल मुनीको सडक० सञ्चालन । धाबीखोला कोरिडोरको मैतीदेवी क्षेत्रको पुलमुनीको सडक सञ्चालन भएपछि भने यहाँको जाम हटेको छ । बानेश्वर पट्टीको अण्डरपास अझै खुल्न नसक्दा केही जाम बाँकी नै छ । सोही खोलाको रातो पुल, कालोपुल र भत्केको पुलमुनीका सडकसमेत सञ्चालनमा आएपछि भने साना सवारी साधान उक्त कोरिडोर हुँदै सहज रुपमा जान थालेका छन् । सबै क्षेत्र खुलाएर अण्डरपास गर्न सके जाम कम गर्न महत्वपूर्ण विकल्प हुने छ कोरिडोर । उपत्यकाका विभिन्न क्षेत्रका कोरिडोर सञ्चालनमा आएपछि भित्री सडक मात्रै होइन काठमार्डौँका मुख्य मार्गमा समेत जामको समस्या कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज पन्तले बताए । महाशाखाकै अगुवाइमा अण्डरपास गर्ने र कोरिडोर खुलाउने काम भएको हो । सामान्य काम गर्दा पनि महत्वपूर्ण उपलब्धि हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले पेश गरेको छ । ठेक्कापट्टातर्फ लाग्दा प्रशासनिक झन्झटलगायतका कारणले कुनै काम शुरु गर्न नै दुई÷तीन महीना लाग्ने तितो यथार्थ छ । यसलाई चिर्दै प्रहरीले स्थानीय तह तथा निजी कम्पनीको सहयोग लिएर तीन महीनाको अवधिमा उक्त काम गरेको हो । कतिपय बोलपत्र नै गर्नुपर्ने जस्ता काम समेत प्रहरीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा भएको छ । इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्ने यो दरिलो प्रमाण हो । “रुख उखेल्नु पर्ने ठाउँमा पनि उखेल्यौँ, माटो, ढुङ्गा, गिटी हटाउने र थप्ने ठाउँमा पनि खटियौँ, महानगर, वडा कार्यालय, निजी कम्पनीको सहयोग लिग्यौँ, कतिले व्यक्तिगत रुपमा डोजरसमेत सहयोग गर्नुभयो, त्यसैले यो प्रगति हासिल भयो”, उक्त अभियानको अगुवाइ गर्नुहुने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले अनुभव सुनाए । उनका अनुसार तीन महिने अभियानमा धेरै क्षेत्रका अण्डरपास र कोरिडोर खोलिएका र आगामी दिनमा बाँकी कामलाई अगाडि बढाइने छ । “ठेक्का पट्टाले समस्या होला भनेर ट्राफिकको दृष्टिकोणले बढी दबाब देखेपछि ठेक्काबिनै काम गर्न सकिन्छ भनेर लागेका हौँ” उनले भने । कहाँ कहाँ खोलियो कोरिडोर ? ट्राफिक प्रहरीले २०७५ चैत २१ बाट सञ्चालन गरेको तीन महीने कार्ययोजनाको मुख्य लक्ष्य कोरिडोर सञ्चालन गर्ने थियो । उक्त अभियानमा दैनिक ३०० ट्राफिक प्रहरी खटिने गरेका महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म विष्णुमति कोरिडोरको बसपार्कदेखि भ्याली कोल्ड स्टोर्ससम्मको सडक सञ्चालन भएको छ । यहाँको अतिक्रमण समेत हटाएर बसपार्क पुलको अण्डरपाससमेत खोलिएको छ । धोबिखोला कोरिडोरको गोपिकृष्ण पुलदेखि अनामनगर सडकको सेतोपुलको पारी (पुरानो बानेश्वर पट्टि) बाहेक सबै अण्डरपास सञ्चालन भएका छन् । बालकुमारी कोरिडोरको नरेफाँट–शङ्खमुल सडकको केही क्षेत्र खोलिएको छ । आगामी योजना भने विष्णुमति कोरिडोरको भ्याली स्टोर्सदेखि बल्खुसम्म, बालकुमारीका अन्य बाँकी क्षेत्रमा काम गर्ने योजना प्रहरीको छ । अण्डरपासका कारण कतिपय ठाउँमा ट्राफिक बसेर सवारी पास गर्नुपर्ने र पालो गरेर जानुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । “अब हामीले त्यो क्षेत्रमा पिच गर्नका लागि सम्बन्धी कार्यालयलाई अनुरोध गरेका छौंँ, त्यसपछि अझै सहज हुने छ” उनले भने । उपत्यकामा झण्डै १२ लाख सवारी सञ्चालन हुन्छन् । अधिकांश निजी सवारी गुड्छन् । ट्राफिक जाम, धुलो, धुँवा प्रदूषण उपत्यकाको मुख्य समस्या हो । मापसे, तीव्र गति, चालकको लापरवाही, लेन मिच्ने, जथाभावी रोक्ने, हर्न बजाउने समस्या उपत्यकामा कायमै छ । पछिल्लो समय कारवाहीमा केही कडाइ गरेपनि पर्याप्त हुनसकेको छैन । लापरवाही बढ्दो छ । चिल्ला सडकमा हुने तीव्रगतिका कारण जीवन क्षति हुँदै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो कुरा हामी आफैँले आफैँलाई नियन्त्रण गर्नु जरुरी रहेकाले ढिलो हिंड्ने र छिटो पुग्नुपर्ने मानिसको बानीका कारण जामलाई जटिलता बनाएको बताए । उनले मानवीय रुपमा नभइ अब प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । रासस