अब प्रत्येक स्थानिय तहमा एक सुविधासम्पन्न एम्बुलेन्स
काठमाडौं। प्रत्येक स्थानीय तहमा न्युनतम एक सुविधासम्पन्न एम्बुलेन्सको व्यवस्था हुने भएको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य निती २०७६ प्रस्तुत गर्दै प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्सको व्यवस्था गर्ने बताएको हो। यसका साथै मन्त्रालयले हवाई उद्दारको लागि हवाई एम्बुलेन्सको पनि विकास गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए। मन्त्री यादवले यो नितीहरु छिट्टै नै लागु हुने बताएका छन्। सोमबार स्वास्थ्य निती २०७६ प्रस्तुत गर्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य उपचार कोशको पनि व्यवस्था गर्ने जनाएको छ।
अब दैनिक १० लाख रुपैयाँ अनलाइनबाट भुक्तानी गर्न सकिने, अनलाइन कारोबारी १४ प्रतिशत मात्र
काठमाडौं । सेयर कारोबारीहरुले अब दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर सेयर बजारमा अनलाईन प्रणालीबाट कारोबार गर्नेको संख्या १४ दशमलव ४६ प्रतिशत मात्र रहेको पाइएको छ । चालु आर्थिक वर्षका १० लाख ६ हजार ३८६ को संख्यामा सेयर कारोबार भएकोमा १ लाख २४ हजार ६१७ वटा कारोबार मात्र अनलाईन प्रणालीबाट भएको छ। सेयर बजारमा १५ लाख भन्दा बढी लगानीकर्ता रहेको अनुमान भएपनि दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ता जम्मा २ लाख ९४ हजार मात्र रहेको पाइएको छ । त्यसमा पनि ११ हजार २४६ जनाले मात्र आफ्नो विवरण ब्रोकर कम्पनीमा अपडेट गराएका छन् । चालु आर्थिक वर्षको हालसम्म ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा अनलाईनबाट १० अर्ब ६० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
२.८६ अंकले घट्यो नेप्से, कारोबार रकमपनि न्यून
काठमाडौँ । साताको दोश्रो दिनपनि नेप्से परिसूचक घटेको छ । सोमबार २.८६ अंकले घटेको हो । ०.२३ प्रतिशतले घट्दा परिसूचक १२४२.०३ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँको कारोबार भयो । आज विकास बैंक, जलविद्युत, उत्पादनमूलक र जीवन बीमा समूह बाहेक अरु बाँकी समूह राताम्मे भए । बैंकिङ समूह ३.५४, होटल समूह १९.३९, वित्त समूह १.८९, निर्जीवन बीमा समूह ३.०७, अन्य समूह ४.७२, लघुवित्त समूह ०.२६ र म्युचुअल फण्ड ०.०७ अंकले घटेका हुन् । त्यसैगरी विकास बैंक समूह २.७६, जलविद्युत समूह १.११, उत्पादनमूलक समूह ४.८९ र जीवन बीमा समूह ३.१५ अंकले बढेका छन् । आज धेरै कारोबार हुनेमा नेपाल बैंक लिमिटेड पहिलो, प्रभु बैंक दोश्रो, शिवम् सिमेन्ट तेश्रो, एनआइसी एसिया बैंक चौथो र हिमालयय डिस्टिलरी लिमिटेड पाँचौँ स्थानमा रहे । कारोबार रकम क्रमशः रु. २६२०७४९८, १९२९४३२९, १७९३२६१२, १७५४१८४८ र १२६०५९९० रह्यो । बजार घटेको दिन आज सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा बढी ४.८७ प्रतिशतले नाफा आर्जन गरेका छन् भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ४.९८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
साझाका २० बस थपिए, विद्युतीय बस सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारसँग सम्झौता
काठमाडौं । साझा यातायातले ल्याएका नयाँ २० वटा बसहरु आजदेखि सञ्चालन हुन थालेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र साझा यातायाताका अध्यक्ष कनकमणी दिक्षितले नयाँ बस सञ्चालनको उद्घाटन गरेका हुन् । आजदेखि सञ्चालनमा आएका युरो ४ का बसहरु उपत्यकाका विभिन्न रुटहरुमा सञ्चालन हुने छन् । साझाले आजबाट साझा कार्डपनि प्रयोगमा ल्याएको छ । जसबाट यात्रुले सेवा प्रयोग गरेका भाडा तिर्न सक्नेछन् । नयाँ २० वटा बस मध्ये ६ वटा बस नयाँ बसपार्क, बालाजुचोक, बनस्थिली, स्वयम्भु, कलंकी, त्रिपुरेश्वर, रत्नपार्क, नयाँबानेश्वर, कोटेश्वर, जडिबुटी पेप्सीकोला, पुरानो ठिमी, भक्तपुर व्यासी–कमलविनायक, च्यामासिङ, जगाती हुँदै सुर्यविनायक रुट हुँदै गुड्ने छन् । ती बाहेक ६ वटा बस नयाँ बसपार्कदेखि माथि उल्लेखित रुट हुँदै जडिबुटीबाट कौशलटार, राधेराधे, कटुङ्जे, चोक, सूर्यबिनायक, च्यामासिङ, कमलविनायक रुटमा सञ्चालन हुने छन् । ८ वटा बस नयाँ बसपार्क, बसुन्धारा, नारायणगोपाल चोक, चण्डोल, सुकेधारा, चाबहिल, गौशाला, एयरपोर्ट सिनामंगल, नयाँ बानेश्वर, थापाथली, कुपण्डोल, जावलाखेल, लगनखेलमा सञ्चालन हुने छन् । २० वटा नयाँ बस सहित अब साझाको बसको संख्या ७१ पुगेको छ । यसैबीच, आजै साझा सहकारीले निकट भविश्यमा सञ्चालन गर्ने विद्युतीय बसका लागि ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले शेयर हालेको छ । प्रदेश सरकारले ३० करोड, ललितपुर महानगरपालिकाले २ करोड ५० लाख चेक साझालाई हस्तान्तरण गरेको छ भने काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ साझामा लगानी गर्ने भएको हो । साझा सहकारीले पनि विद्युतिय बस सञ्चालन गर्न २ करोड ५० लगानी गर्ने भएको छ । आजै ३ नम्बर प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातबीच सझौता भएको छ । साझाले चाँडैनै विद्युतिय सब सञ्चालनमा ल्याउने जानकारी दिएको छ । कार्यक्रममा ३ नम्बर प्रदेश सरकार मुख्यमन्त्री डोरमणी पौडेलले साझा बसमा घाटा भएपनि जनताको सेवा र सुविधालाई मध्यनजर गर्दै प्रदेश सरकारले लगानी गरेको बताए । देशमा नै उत्पादित उर्जाबाट विद्युतीय बस सञ्चालन गर्दा देशको व्यापार घाटा पनि कम र प्रदुषण कम हुने बताए । कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले भने– ‘ जनप्रतिनिधिहरुले केही गरेनन् भन्ने जनगुनासो थियो । हामीले आजबाट राम्रो कामको सुरुवात गरेका छौं ।’
प्रधानमन्त्री ओलीले भने-‘निगमलाई अहिलेकै अवस्थामा पैसा दिन सकिन्न’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रको पहिचान र गौरवसँग जोडिएको ध्वजाबाहकको कुशल व्यवस्थापनका साथ अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको कार्यलाई तत्काल अघि बढाउन आग्रह गरे । निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । “निगमलाई काम गर्न पूर्ण अधिकार छ, जहाज बढाउनुस्, गन्तव्य बढाउनुस् तर बिनायोजना जहाज थुपारेर ‘ग्राउण्डेड’ भइरहने अवस्था आउनु राम्रो होइन । म व्यवस्थापनलाई आग्रह गर्छु, निगम सुधार्ने उचित उपाय ल्याउनुस् अनि कस्तो कदम चाल्नुपर्छ त्यो सरकारले निर्णय गर्छ, ऋण तिर्नेमात्र होइन कमाउने उपायसहितको योजना र गन्तव्यको खोजी गर्नुपर्छ”, प्रधानमन्त्रीले भने । सिङ्गो मुलुकको अर्थतन्त्रलाई सकारात्मक उत्थान गर्ने उपयुक्त माध्यमको रूपमा रहेको निगमको प्रभावकारी सञ्चालन र सेवा स्तरीकरणमा गम्भीर ध्यान पुर्याउन पनि प्रधानमन्त्री ओलीले व्यवस्थापनलाई आग्रह गरे , अहिलेकै अवस्थामा पैसा दिन सकिन्न आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने उल्लेख गरे । उनले भने, “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन ।” प्रधानमन्त्री ओलीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगम चाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भएपनि निगमको साख जोगाउने विश्वास दिलाए । आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पूँजी वृद्धिका लागि सरकारसँग रु २० अर्ब माग गरेको छ । निगमले अहिले रु ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी सङ्गठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार बिलकुल नभएको प्रष्ट पारे । “निगममा रु ३७ अर्ब घाटा के कारणले, कसरी हुनपुग्यो, गम्भीर समीक्षा हुन जरुरी छ, कतै निगमकै कमजोरीका कारण यो अवस्था आएको हो कि ? अहिलेको सरकार चर्चापरिचर्चाबाट प्रेरित हुँदैन, जहाज किनेर त्यसै लडाउन ? मैदानभरि जहाज छन् तर आकासमा उड्दैनन् यस्तो अवस्था सधैँ रहिरहनु उचित हुन्न”, उनले भने । गम्भीर चुनौतीको सङ्घारमा रहेको निगमलाई सफल बनाउन सरकारको पनि दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले ‘निगमलाई सहयोग गर्ने मात्र नभई काँधै थाप्छ, यो आफ्नै वायु सेवा निगम हो, तर, उपयुक्त ढङ्गले सञ्चालन हुनुपर्छ’ भने । उनले वाइडबडी जहाज लामा गन्तव्यमा उड्न नसक्नु तथा गन्तव्य विस्तारको प्रभावकारी योजना अभावले निगम आर्थिक सङ्कटमा पर्न गएको उल्लेख गर्दै लामा गन्तव्यमा उडानका लागि पहल थाल्न आग्रह गरे । निगमलाई सुधार्नु निकै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले थपे– “निगमको ६१ वर्षको उपलव्धि ३७ अर्ब ऋण छ, यो क्षेत्र ‘दान, पुण्य, समाज सेवाको’ क्षेत्र मात्र होइन, यो त व्यापार व्यवसाय पनि हो, निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो वायु सेवा निगम होइन, यसले आफूलाई टिकाउन र भविष्यलाई सुदृढ तुल्याउन व्यापार बढाउन जरुरी छ ।” पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले भ्रमण वर्षको सन्दर्भमा निमगको सञ्चालन क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गन्तव्य विस्तार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ काम अघि बढाइने जानकारी दिए । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनेकन चुनौतीका बीच पनि निगमलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी वायु सेवा प्रदायक कम्पनीको रूपमा स्थापित गर्न सफल भएको बताए । निगमका जहाज पूर्णरूपमा सञ्चालन तथा लामा गन्तव्यमा उडान विस्तार गर्न नसकिएकै कारण अपेक्षित नाफा आर्जन गर्न नसकेको भन्दै उनले वाइडबडी जहाजबाट भदौ पहिलो साता जापानको ओसाका तथा क्रमशः चीनको ग्वोञ्जाओ र साउदी अरेबियाको रियाद गन्तव्यमा उडान विस्तारका लागि प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए । निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दले निगमको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा नयाँ गन्तव्य विस्तारका लागि धमाधम काम भइरहेको उल्लेख गरे । निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुवास डाँगी र निगम कर्मचारी सङ्घका अध्यक्ष तारिणिराज दाहालले निगम सुधारका लागि जहाजको सङ्ख्या वृद्धि र गन्तव्य विस्तारमा जोड दिए । निगमको सात अर्ब आम्दानी, यात्रु ६३ प्रतिशतले बढे निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा रु सात अर्ब ५४ करोड १० लाख ३८ हजार सञ्चालन नाफा कमाएको छ । निगमले गत आवको सोही अवधिमा रु तीन अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी गरेको थियो । यात्रु सङ्ख्याको आँकडा हेर्दा गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् । यस वर्ष सोही अवधिमा पाँच लाख ६९ हजार ३४ यात्रुले यात्रा गरका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३।५ प्रतिशतले बढी हो । सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवामा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७३ यात्रुलाई सेवा पुर्याई आफ्नो बजार हिस्सा ११।७ प्रतिशत पुर्याउन सफल भएको छ । निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ छ देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ । निगमले नेपाल आउने ३० विदेशी वायु सेवा प्रदायक कम्पनीलाई भूमिस्थ प्रबन्ध सेवा प्रदान गर्दै आएको छ । रासस
कृषि तथा पशुपन्छी बीमाको ५१ करोड ३० लाख अनुदान पाएनन्, किन ढिलाइ गर्दैछ सरकार ?
काठमाडौ । सरकारले बाली तथा पशुपन्छी बीमा गर्ने कृषक बिमितका लागि ७५ प्रतिशत हिस्सामा सघाउने भनेपनि रकम उपलब्ध गराएको छैन । सरकारले अनुदान रकम उपलब्ध नगराउँदा बाली पशुपन्छी बीमाको अुनदान बापत ५१ करोड ३० लाख रुपैयाँ बीमा कम्पनीहरुले पाउन सकेका छैनन् । साे अनुदान रकम कम्पनीहरुले माग गरेका छन् । कम्पनीहरुकाे बीमा शुल्क भने ६८ करोड ४० लाख रुपैयाँ रहेको छ भने ८२ हजार ५ सय बीमालेख रहेको छ । लुम्बिनी जनरल ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नुरप्रकाश प्रधानका अनुसार सरकारले बिमितलार्ई ७५ प्रतिशत अनुदानको रकम दिन ढिलाइ गर्नुभन्दा त्रैमासिक रुपमा उपलब्ध गराउनु पर्ने बताए । उनले भने– ‘यही असार, साउनमा अनुदानको रकम दिने कुरा त सुनिएको छ, तर यसरी सरकारले ढिलो गर्नु राम्रो कुरा होइन ।’ सरकारले राष्ट्रिय आवश्यकताको कुरामा ध्यान दिँदै कृषि मैत्री पूर्वाधारमा जोड दिनु पर्ने उनको बुझाइ छ । यता, प्रिमियर ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुधुम्न उपाध्यायले सरकारले कृषक बिमितलाई दिने अुनुदानको रकम अघिल्लो बर्षसम्म भुक्तान भई सकेको छ र यो बर्षकोपनि भुक्तान गर्ने प्रकृयामा गईसकेको बताए । सीइओ उपाध्यायले सरकारी तहबाट नै काम भई रहेकाले कृषी बीमा गराउने बिमितलाई आशावादी रहन उनको सुझाव रहेको छ । कुन महिनामा कति माग ? बीमा समितिका अनुसार चालु आवको साउन महिनामा बाली तथा पशुपन्छी बीमामा अनुदान बापत ५ करोड ६३ लाख रुपैयाँको माग भएको छ । यस्तै, भदौ महिनामा ४ करोड ९४ लाख, असोज महिनामा ५ करोड ६१ लाख, कात्तिक महिनामा ४ करोड १४ लाख, मंसिर महिनामा ५ करोड ४ लाख रुपैयाँ माग भएको छ । साथै, पुस महिनामा ५ करोड ९७ लाख, माघ महिनामा ५ करोड ३ लाख, फागुन महिनामा ५ करोड ८३ लाख, चैत्र महिनामा ६ करोड ६९ लाख र बैशाख महिनामा २ करोड ३६ लाख रुपैयाँ माग भएको छ ।
बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाको मोबाइल बीमा सेवा बिस्तार
काठमाडौँ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यकाबाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीनशहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखाबिस्तार गरी सेवा सुरु गरेकोे हो । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ । मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पुर्याउने विश्वास मेरो सुरक्षाले लिएको छ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा बीरगञ्ज र चितवनमा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यक्तालाई ध्यानमा राखेर सेवाबिस्तार गरिएको बताए । यस अघि नै चितवन र बीरगञ्जबाट सेवा सुरु गरिसकेको मेरो सुरक्षाले निकट भविष्यमा धरान, इटहरी र बिराटनगरबाट पनि सेवा सुरु गर्ने सुनवारले जानकारी दिए । सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइलप्रयोगकर्ता मेरो सुरक्षाको मोबाइलप्रोटेक्शनप्लानमा आवद्ध भईसकेका छन् । दैनिक दुई सयभन्दा बढी मोबाइल प्रयोगकर्ता प्रोटेक्सन प्लानमा सहभागि हुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवापनि निःशुल्क उपलब्ध गराउँदै आएको छ । जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँमोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँमोबाइल सेट उपलब्ध गराइनेछ । कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटा सहितमर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् । मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवामोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ । यो सेवापाउनकालागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथाएप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइलएप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल छन् ।
रिकन्डिसन व्यवसायी संघद्वारा ९२ हजार सहयोग
काठमाडौं । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ । ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई संघले सहयोग रकम हस्तान्तरण गरेको हो । संघका अध्यक्ष बीएन पाठकले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्धकुमार डंगोल र विशेष अथितिहरु यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायव उपरिक्षकद्वय राजेन्द्र पोखरेल र प्रदीपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानीय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए । संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीहरुले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बोल्दै संघका अध्यक्ष पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे । अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीहरुले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिका लगायत विविध विषयका बारेमा आ–आफ्नो जिज्ञाशा व्यक्त गरेका थिए । उनीहरुको जिज्ञासा जायज भएको र समाधानका लागि आफूहरुले सक्दो पहल थाल्ने कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिहरुले बताएका थिए । कार्यक्रमको अन्त्यमा दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।