विकासन्युज

बीमा समितिका कर्मचारी नै बीमाको पहुँच बाहिर

काठमाडौ । ‘बीमा समितिमा रहेका कर्मचारीले नै बीमा गर्दैनन्, हामीले बीमा चेतनाको कुरा गरेर मात्र बीमा बजार बिस्तार हुँदैन’–यो भनाई हाल बीमा समितिमा एक जिम्मेवार अधिकारीको हो । उनले बीमाको आफ्नै महत्व भएपनि जानकारहरुले नै उक्त विषयलाई हेलचेक्राई गर्दै आएका बताए । बीमा समितिका ती कर्मचारीका अनुसार कर्मचारीहरु पढे लेखेका छन्, उनीहरुसँग बीमा गर्नु पर्छ भन्ने ज्ञान छ, बीमा गर्न लाग्ने खर्चपनि छ, तैपनि उनीहरुले नै बीमा गर्दैनन् । यस्तै, राष्ट्रिय बीमा संस्थानमा भेटएका अभिकर्ता गोपाल उपाध्यायले भने– अहिलेसम्म नेपालमा बीमा किन्ने भन्दा बीमा बेच्ने कार्य भईरहेको बताए । उनले बीमा बेच्ने भन्दा भिडाउने नै काम हो भन्ने जानकारी दिए । सोही क्रममा विदेशी राष्ट्रहरुमा बीमा सेवा बेचिने गरेको पाईयो । बीमा बेचिनुको कारण भनेको बिमितमा भएको बीमा चेतना नै प्रमुख हो भन्ने अभिकर्ता उपाध्यायको तर्क छ । बीमा गराउने कम्पनी संख्या ४० अहिले नेपालमा बीमा क्षेत्रमा संलग्न ४० कम्पनीहरु रहेका छन् । हाल नेपालमा जीवन बीमा गराउने १९ वटा कम्पनीहरु छन् । यस्तै, निर्जीवन बीमा गराउने कम्पनी २० वटा छन् । यस्तै, पूनर्बीमा गराउने एक मात्र कम्पनी नेपाल पूनर्बीमा कम्पनी (नेपाल रि) छ । नेपालमा रहेका ४० वटै बीमा व्यवसाय गर्ने कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति हो । बीमा समितिले सो कम्पनीहरुमा सुपरीवेक्षण, निरीक्षणको काम गर्दै आएको छ । तर, केही दिनअघि मात्रै बीमा समितिमा कार्यरत एक कर्मचारीले बीमामा त्यति धेरै संलग्नता नभएको बताए । उनले आफ्नो मात्र संलग्नता नभएकोमा अचम्म नमान्न भन्दै बीमा समितिमा काम गर्ने अधिकांश कर्मचारीहरु बीमाको पहुँचबाट बाहिर रहेको जानकारी दिए । बीमा समिति भन्छ–बीमाको पहुँच बढ्दैछ बीमा समितिले बीमाको पहुँच वृद्धीको क्रममा रहेको दाबी गर्दै आएको छ । बीमाको पहँुच हालसम्म १८ प्रतिशतमा पुगेको र चालु आर्थिक बर्षको अन्त्यसम्ममा पहुँच २० प्रतिशत पुग्ने बताएको छ ।

तीन महिनासम्म पनि नेपाल बैंकले सीईओ पाएन, छनोट कमिटी गठन गर्दै

काठमाडौं । मुलुककै जेठो बैंक, नेपाल बैंकले ३ महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएपछि छनोट कमिटी बनाएर नियुक्त गर्ने भएको छ । ३ महिनाभन्दा बढी समयदेखि प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पद खाली रह्दा पनि कसैले चासो नदेखाएपछि सीईओ छनोट कमिटी गठन गरेर प्रक्रिया अघि बढाउन लागिएको बैंकका अध्यक्ष वासुदेव अधिकारीले बताए । अब हामी छिट्टै सीईओका लागि कल गर्छौँ,’ उनले भने । ‘सीईओ छनोट गर्न गाह्रो रहेछ,’ उनले भने-‘अब हामी कल गरेर नियुक्त गछौं ।’ सीईओ खाली भएको यो अवधिसम्म कसैले चासो नदेखाएपछि हामीले यो निर्णय गरेका हौं,’ उनले थपे । सनराइज बैंकबाट कार्यावधि सकिएका सीईओ रत्नराज बज्राचार्यले नेपाल बैंकको सीईओ बन्ने इच्छा जाहेर गरेका थिए, तर राष्ट्र बैंकले व्यवस्था गरेको कुलिन पिरेड र उमेर हद उनका लागि बाधक बनेको हो । राष्ट्र बैंकले एउटा बैंकमा व्यस्थापकीय जिम्मेवारी बोकेको मान्छे ६ महिनासम्म अर्को बैंकमा गएर सोही जिम्मेवार सम्हाल्न नपाउने व्यवस्था गरेको छ भने ६५ वर्ष उमेर हद ताकेको छ । उक्त बैंकमा गत चैत १२ देखि सीईओ पद खाली छ । २०७५ चैत ११ मा सीईओ देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यावधि सकिएको हो । अन्य वाणिज्य बैंकको तुलनामा सरकारी स्वामित्व रहेका बैंकहरूमा सेवा सुविधा कम हुने भएकाले पनि यसमा आकर्षक कम भएको हो । अन्य निजी बैंकमा भने सीईओ खाली हुने वित्तीय सोका लागि दौडधूप शुरु हुन्छ । तर, नेपाल बैंकमा भने यस्तो हुन सकेन । नेपाल बैंकमात्रै होइन, सरकारी स्वामित्व रहेका सबै बैंकको हालत उस्तै हो । सरकारी स्वामित्वको बैंक भएकाले सरकारसँग बैंक डराउछ । २८ वटा वाणिज्य बैंकमध्ये अहिले दुई वटा वाणिज्य बैंकमा सीईओ पद खाली छ । लामो समयदेखि ग्लोबल आईएमईले पनि सीईओ नियुक्त गर्न सकेको छैन । सनराइज बैंकले भने असार २ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्ने गरी निरजकुमार श्रेष्ठलाई नियुक्त गरेपनि विवादका कारण हालसम्म कार्यभार सम्हालेका छैनन् ।

स्वरोजगारको विशेष साधारण सभा असार २४ मा, मर्जरमा जान बाटो खोल्ने

काठमाडौँ । बनेपा, काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय भएको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २४ गते हुने भएको छ । सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । विशेष साधारण सभा प्रयोजनका लागि असार २४ गते संस्थाको सेयर नामसारी दाखिल खारेज दर्ता बन्द(बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाम्ने/गाभिने वा प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव प्रस्तुत गरिने छ । साथै वित्तीय संस्थाको अधिकृत पूँजी र जारी पूँजी बृद्धी सम्बन्धमा पनि छलफल हुने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।

हिमालयन जनरल इन्स्योरेन्सको सिइओमा बज्राचार्य, दोश्रो कार्यकाल साउन १ बाट

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पुनः सुशील बज्राचार्य चयन भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बज्रचार्यलाई दोश्रो कार्यकालका लागि पदावधि थप गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जनाएका छन् । बज्राचार्यको दोश्रो कार्यकाल साउन १ गतेदेखि ४ वर्षको लागि हुनेछ ।

छोरीको योजनामा १२ लाख दिएर आमाको हत्या, चार पक्राउ

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताए । “आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ । रासस

गरिमा विकास बैंकका ग्राहकलाई चरक मेमोरियल अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौँ । चरक मेमोरियल अस्पताल प्रालि पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पताल प्रालिबीच सम्झौता सम्पन्न भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रालिको तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन ।

सरस्वतीको मूर्ति राख्न कृषि विकास बैंकद्वारा ३ लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंक लि. शाखा कार्यालय जितपुरले सिद्धार्थ बहुमुखी क्याम्पस जितपुर कपिलवस्तुको परिसरमा निमार्ण भएको सरस्वती मन्दिरमा मुर्ति स्थापनाका लागि कृषि विकास बैंक लि.ले रु.३ लाख सहयोग उपलव्ध गराएको छ । नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन ५ नं. प्रदेश सभासद विष्णु पन्थी र कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक सुदीपकुमार दहाले संयुक्त रुपमा गर्नु गरेका हुन् । मन्दिर उद्घाटन कार्यक्रमको सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभासद पन्थीले बैंकले सरस्वतिको मूर्ति स्थापना गरिदिएकोमा विशेष धन्वाद दिंदै कृषि विकास बैंकले आफ्नो स्थापनादेखि हालसम्म निरन्तर देशका कुनाकाप्चा पुगेर बैकिङ्ग सेवा पुर्याई गरिव किसानको जीवन उकास्नमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत गरे । कार्यक्रममा बैंकका क्षेत्रीय निर्देशक तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि दहालले मूर्ति स्थापनाका लागि रु.३ लाखको चेक क्याम्पसलाई हस्तान्तरण गर्दै यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे ।

विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सहभागिता, लगानीको वातावरणबारे छलफल हुने

काठमाडौँ । मित्र राष्ट्र चीनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जुलाई १ देखि ३ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेतृत्व गरेको उक्त प्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मी राणा तथा सदस्य मनोज गोयल रहेका छन् । उक्त प्रतिनिधि मण्डलले चीनमा रहँदा चीनको अन्तराष्ट्रि व्यापार प्रवद्र्धन परिषदका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नेछ । सो भेटघाटमा चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने कार्यक्रम छ । त्यस्तै मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमाभागलिन डालियानमा आउने मन्त्री लगायत उच्चपदस्थ अधिकारीहरुसंग समेत नेपालको लगानीको वातावरणका सम्बन्धमा छलफल हुने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधि मण्डलले डालियानमा रहँदा अन्य देशहरुका समकक्षीसंग समेत सहकार्यका लागि छलफल गर्ने जनाइएको छ ।