आइफा अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । भारतीय निजी कम्पनी बिजक्राप्ट इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालमा आइफा पुरस्कार कार्यक्रम गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने रहेको समितिले ठहर गरेको छ । सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो भई नेपालको आर्थिक अवस्थाको दृष्टिकोणबाट उचित नदेखिएको समितिको निष्कर्ष रहेको छ । बैठकले सरकारसँग कार्यक्रमको समग्र र विस्तृत जानकारी माग गर्ने निर्णय गरेको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए । रासस
इञ्जिनियर अख्तर ४ लाख घुस लिएको अभियोगमा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इञ्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरिएको हो । आरोपी मोहम्मदको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै दुई वटा भारतीय मोटरसाइलकलाई छुटाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीलाई रु १० हजार घुस दिन खोज्ने मर्चवारी गाँउपालिका–१ बस्ने रामराज यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले भारतीय अनुसनधानमा रहेको भारतीय मोटरसाइलक छुटाइदिने बहानामा प्रहरीलाई घुस दिन खोजेका थिए । आरोपी यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको भए पनि आयोगले आज जानकारी दिएको हो । यस्तै आयोगले राष्ट्रिय माध्यामिक विद्यालय लकडमणि कैलालीका पूर्व प्रधानाध्यापक लालकुमार झासमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०६६÷६७ देखि २०७०÷७१ मा प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले प्रधानाध्यापक लालकुमार झाविरुद्ध रु दुई लाख ५९ हजार ४८२, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहुप्रसाद डगौराले रु दुई लाख १० हजार २५२ र सोही विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पवनकुमार महत्तोले रु ६३ हजार २३० बराबरको भ्रष्टाचार गरेको अध्ययनबाट फेला परेको आयोगले जनाएको छ । रासस
मर्जरको तयारीः ‘प्रभु बैंकले अरु बैंकलाई गाभ्न सक्छ, गाभिन सक्दैन’
काठमाडौं । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरूलाई किनेर सवल बैंक बनेको प्रभु बैंक अन्य बैंकसँग नगाभिने भएको छ । बैंकले अन्य बैंकलाई गाभेर अझ सवल र सफल बैंक बन्ने तयारी थालेको छ । राष्ट्र बैंकले असार २७ अघिनै पार्टनर खोज्न दिएको निर्देशन पालना गर्न प्रभु बैंकले बिहीबार संचालक समितिको बैठक बोलाएको छ । राष्ट्र बैंकले मर्जरमा जान बैंकलाई तयारी हुन निर्देशन दिएपछि अर्थात पार्टनर खोज्न भनेपछि बैंकले यस विषयमा छलफल गर्न बैठक बोलाएको प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । ‘बैठकमा मर्जरमा के कसरी जाने भनी छलफल हुनेछ,’ उनले भने- ‘हामी अरुलाई गाभ्ने हो, गाभिने पक्षमा छैनौ ।’ हामीले यसअघि नै बिग मर्जर गरिसकेका छौं,’ उनले थपे ‘ अहिले यसलाई नयाँ हुने गरी चर्चामा ल्याइएको हो ।’ हामी आठ वटा बैंक तथा वित्तीय संस्था मिलेर बलियो प्रभु बैंक बनेका हौं ।’ प्रभुको साधारणसभाको एजेन्डामा कुनै बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्न सक्ने तर अन्य बैंक तथा वित्तीय संस्थामा आफू गाभिन नसक्ने गरी प्रस्ताव पारित समेत गरेको छ । जुन अन्य बैंकको छैन । अन्य बैंकले मर्जर सम्बन्धि एजेन्डा उठाएकै छैनन् । अन्य बैंकले कि गाभ्ने वा गाभिने दुबै बाटो खुला गरेका छन् । समस्या ग्रस्त भइ खारेजीको प्रक्रियामा गएको नेपाल विकास बैंक, कार्यकारी प्रमुख लगायत उच्च तहका कर्मचारीहरू समेत बैकिङ कसुरको सजाय पाएपछि समस्यामा परेको किष्ट बैंक तथा अर्को समस्यामा परेको ग्राण्ड बैंक लगायत आठ वटा बैंक तथा वित्तीय संस्था मिलेर प्रभु बैंक सवल बनेको भट्टचनले बताए । जेनिथ फाइनान्स, गौरीशंकर विकास बैंक, वैभव फाइनान्स, समवृद्धि विकास बैंकपनि प्रभु बैंकमा गाभिएका छन् ।
रुपन्देहीको मणिग्राममा सनराइज बैंकको शाखा बिस्तार
काठमाडौँ । सनराइज बैंकले रुपन्देही स्थित मणिग्राममा १११ औँ शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रममा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १११ वटा पुगेको छ ।
एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७% छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा-सुविधाहरुमा ७% छुट पाउन सक्नेछन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् ।
जथाभावी खर्च रोक्नुपर्छ, काम नगर्नेलाई दण्डित गर्नुपर्छः अर्थविद्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दीपक खड्काले तत्काल प्रधानमन्त्री वा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन गर्ने हल्ला छ, मन्त्रीहरु पनि परिवर्तन गर्ने हल्ला छ । अहिले मन्त्रीहरु परिवर्तन गर्न आवश्यक छैन । यसले अस्थिरता निम्त्याउँछ ।’ मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने धारणा राखे । पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । कोइरालाले भने,‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे विकासको कुरा गर्दा पहिले अस्थायी सरकार भन्ने बनिबनाउ कारण थियो, अब स्थायी सरकार आएको छ । दुई तिहाईको सरकार बनेपछि पूरानो रोग कम हुने आधार थियो । उनले आयोजना कार्यान्वयनको क्षमतापनि बढाउनुपर्ने बताए । त्यस्तै, कार्यान्वयन निकायले पनि आफ्नो जिम्मेवारीपन देखाउनुपर्ने कोइरालाको सुझाव छ । उनले भने,‘कार्यान्वयनको सन्दर्भमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड गर्नुपर्छ ।’ अर्थविद् डा. डिल्लीराज खनालले असारे विकासको बारेमा टिप्पणी गर्दा विगतमा विसंगति र विकृति रहेको सुनाए । उनले भने,‘४० देखि ५० प्रतिशत खर्च असारमा हुँदा गुणस्तर कम हुन्छ ।’ बजेट विनियोजन, जवाफदेहिता र पारदर्शिता प्रणाली नहुँदा समस्या भएको उनको भनाई छ । खनालले हिजोसम्मको पुँजीगत खर्च ५३ प्रतिशत पुगेको सुनाउँदै जथाभावी हुने खर्च रोक्नुपर्ने सुझाव दिए । उनले भने,‘बेठीक ढंगले हुने खर्चलाई प्रोत्साहन गर्नु हुँदैन ।’
नेपाल इटाली उवा संघको अध्यक्षमा नवराज ढकाल निर्वाचित
काठमाडौँ । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा मंगलबार सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका छन् । संघका पदाधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएका छन् । नेपाल तथा इटाली वीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि नेपाल इटाली उद्योग वाणिज्य संघको स्थापना भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवराज ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने कुरा बताए । इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए । कार्य समिति सदस्यमा अनिलदास श्रेष्ठ, कमलराज विष्ट, किसान सुनार, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तमाङ्ग, विना प्याकुरेल, युगेश वादेश्रेष्ठ, सुमितकुमार वंशल, शम्भुकुमार लामा, शुसिल जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।
परिसंघ प्रतिनिधिद्वारा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदका उच्च पदाधिकारीहरुसँग भेट
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वमा चीनमा गएको प्रतिनिधि मण्डलले चीनको डालियान आयोजित विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सक्रिय सहभागिता जनाएको छ । प्रतिनिधि मण्डलले डालियानमा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् डालियानका अध्यक्ष सिउति सहित त्यसका पदाधिकारीहरुसँग भेटघाट गरेको छ । भेटमा संस्थागत सहकार्य सुदृढ गर्दै द्विपक्षीयव्यापार विस्तार लगायतकाविषयमा छलफल भएको छ । साथै, आगामी सेप्टेम्बरमा हुने नेपाल पूर्वाधार शिखर सम्मेलनमा सक्रिय सहभागिताका लागि पनि चीनबाट उच्चस्तरीय प्रतिनिधि मण्डललाई निमन्त्रणा गरेको छ । चीनको अन्तराष्ट्रियव्यापार प्रवद्र्धन परिषदसँग परिसंघको संस्थागत सम्बन्ध विस्तार भइरहेकोले चिनियाँ लगानी विस्तारमा यो भेटको उच्च महत्व रहेको छ । त्यस्तै, मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउनु भएका ऊर्जा राज्यमन्त्री नसरुल हमिदसँगपनि भेटघाट गरेको छ । सो भेटमा नेपाल र बंगलादेश बीचऊर्जा सम्झौता भएको सन्र्दभमा नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानीको वातावरण बनाउने सम्बन्धमा छलफल भएको छ । विश्व आर्थिक मञ्चको डालियान सम्मेलनमा भाग लिन परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल त्यसतर्फ गएका थिए ।