विकासन्युज

टीकापुरका दुई युवा ‘टिस्यु कल्चर’बाट केराको बेर्ना उत्पादन गर्दै

काठमाडौं । कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन शुरु गरेका हुन् । बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि टीकापुर नगरपालिका–४ का युवा कृषक टेकेन्द्र धामी र देवीराम कोइरालाले केराको बेर्ना उत्पादन शुरु गरेको हो । केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै आइरहेको टीकापुरमा बेर्ना उत्पादन शुरु भएपछि अझ केरा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको छ । आठ वर्ष पहिले केराखेती शुरु गरेका कृषकद्वयले गतवर्षदेखि टिस्यु कल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन थालेका हुन् । भारतको गुजरात राज्यस्थित अहमदाबादको एबिसी बायो टेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर प्रविधिसम्बन्धी उनीहरुले तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेको कृषक धामीले बताए । “गुजरातको एबीसी कम्पनीमा गएर गत वर्ष तालिम लिएपछि केराको बेर्ना उत्पादन शुरु गरेका हौँ”, धामीले भने, ‘‘ग्रिनहाउस (हरितगृह) निर्माण, ‘हाइटेक’ नर्सरी निर्माण, बोटको उपचार पद्दतिका बारेमा हामीले तालिम लिएपछि सजिलो भएको छ ।” ललितपुरमा रहेको जी सेभन कम्पनीको प्राविधिक सहयोगमा १० कठ्ठा जमिनमा स्थापना गरिएको एग्रिनेट र हाइटेक नर्सरीमा नेट हाउस र तापक्रम व्यवस्थापन गर्ने फोगर निर्माणमा झण्डै २० लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ । नर्सरीबाट टिस्यु कल्चर प्रविधिमा जि नाइन र विलेयम जातका केराको बेर्ना, सुन कागती र अनारका बेर्ना पनि उत्पादन भइरहेका छन् । “ल्याबबाट तन्तु प्रजनन् गरेर बिरुवा निकाल्ने यो प्रविधिबाट उत्पादित तीन लाख केराका बेर्ना यस वर्ष बिक्री गरेका छौँ”, कृषक कोइरालाले भने, “अत्याधुनिक ल्याबबाट उपचारपछि उत्पादन गरिएका केराका बेर्नाहरुमा रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले कृषकको आकर्षण बढ्दै गइरहेको छ ।” कोइरालाले गत वर्ष ७० हजार बेर्ना बिक्री गरेको जानकारी दिए । कैलाली र कञ्चनपुरमा केरा खेती विस्तार भइरहेको छ । बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरुले टिस्यु कल्चर प्रविधिबाट बेर्ना उत्पादन थालेको कोइराला बताउँछन् । “टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहेँलो हुँदै जाने, गुभो कुहिने र बोट सुक्दै जाने जस्ता समस्या हुँदैनन्”, कोइराला भन्छन्, “रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो ।” नर्सरीले उत्पादन गरिरहेका विलयम र जि नाइन जातका केरा कम समय र कम लगानीमा धेरै उत्पादन हुने गरेको केरा कृषक विनोद साह बताउँछन् । “टिस्यु कल्चर विरुवाबाट कम समय र कम लगानीमा राम्रो उत्पादन भएको पाएका छौँ”, साहले भने, “सकर विरुवाबाट पनि नहुने होइन, तर कृषकहरु पछिल्लो समय टिस्यु कल्चरमा आकर्षित भइरहेका छन् ।” आधुनिक प्रविधिमैत्री नर्सरी सञ्चालनमा रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्र्तगतका कृषि एकाइले सहयोग गर्दै आएको छ । आयोजनाले कृषकहरुका लागि चाहिने बीउ, कृषि उपकरण आदिमा अनुदान दिन थालेपछि समेत कृषकहरु केराखेतीतर्फ आकर्षित हुँदै आएका छन । टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोषबाट हजारौँ बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनीयरहरुले बिरुवाहरु उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा रसायनहरुको प्रयोग गर्दै हुर्काउँदै सानासाना कोषहरुमा विभाजन गरेर हजारौँ बिरुवा उत्पादन गर्न सकिन्छ । बिरुवाको कोषलाई हुर्काउन ल्याबमै छ महिनासम्म समय लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै तीन महिनासम्म बिरुवालाई हुर्काइन्छ । तीन महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो त्यही ठाउँमा ग्रिनहाउस निर्माण गरेर राखिन्छ । झण्डै तीन महिना ग्रिनहाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ कुलप्रसाद तिवारी भन्छन्, “टिस्युकल्चर बिरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ, अत्याधुनिक बायोटेक ल्याबभित्र रसायनहरूको सहायताले हुर्किने हुनाले विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्षको समय लाग्छ ।” यसरी, नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर बिरुवा अन्यको तुलनामा रोग कम लाग्ने, बढी फल दिने, रोगसँग लड्ने क्षमता बढी हुने बताए । कृषि विज्ञ तिवारीका अनुसार नेपालमा टिस्यु कल्चर प्रविधिको ल्याब छैन । भारत लगायतका अन्य देशबाट टिस्यु कल्चर गरेर ल्याइएको बिरुवा केही महँगो पर्न जान्छ । नेपालमै यसको ल्याब र दक्ष जनशक्ति उत्पादन गर्न सके बिरुवाको बेर्ना उत्पादन गर्न सस्तो हुने उनले बताएका छन् । हाल नेपालमा टिस्यु कल्चर प्रविधिका बिरुवाहरु विशेषगरी भारतबाट आउने गरेका छन् । कैलाली जिल्लामा ७३० हेक्टर जमिनमा केरा खेती गरिएको छ र वार्षिक १० हजार ९५० टन केरा उत्पादन हुन्छ । रासस

गृहकार्यमा जुटे बैंक, सबलहरू कमजोरलाई गाभ्ने दाउमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरू सघन मर्जरको गृहकार्यमा जुटेको जानकारी दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बैंक र बैंक संचालकहरू मर्जरका विषयलाई लिएर सघन गृहकार्यमा जुटेको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘राष्ट्र बैंकलाई गराएको अनौपचारिक जानकारी अनुसार बैंकर्सहरू सघन मर्जर गृहकार्यमा जुटेका छन्,’ उनले भने ‘औपचारिक जानकारी भने आएको छैन ।’ यस अवधिमा केही बैंकले मर्जरका लागि पार्टनर खोज्न थालेका छन् भने केही बैंकको संचालक समिति बैठक बस्ने तयारीमा छ । ठूला भनिएका वा वित्तीय आधारमा सवल देखिएका बैंकहरू कमजोर बैंकले आफूमा गाभ्ने छलफल अघि बढाएका छन् भने कुनैले एक्विजिशन गर्ने रणनीति लिएका छन् । बिग मर्जरको पक्षमा रहेका तथा नेपाली अर्थतन्त्र अनुसार बैंकको संख्या धेरै भएको बताउदै आएका बैंकर्सहरूलाई अन्य वित्तीय व्यवस्थापन मिलाउन त्यति गाह्रो नभएपनि कर्मचारी व्यवस्थापन गर्न भने गाह्रो हुने देखिएको छ । यसअघि पनि मर्जरमा गएका बैंकहरूले यस्तै समस्या झेल्दै आएका छन् र कतिपय बैंकमा अझै यस्तो असर वाँकी नै छ । बलिया बैंक कम भएपनि पुग्ने बताउदै आएका बैंकहरूलाई मर्जरमा जान सबैभन्दा ठूलो समस्या कर्मचारी व्यवस्थापन भएको छ । ग्लोबल आईएममी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरका लागि तीन-चार वटा बैंकसँग कुरा अघि बढाएको बताए । ‘अहिले नै हामी निर्णय गर्ने अवस्थामा पुगिसकेका छैनौ,’ उनले भने ‘केही बैंकसँग यस विषयमा कुरा भएको छ ।’ राष्ट्र बैंकले दिएको निर्देशनात्मक सल्लाह कार्यान्वयनका लागि बैंकहरू आ–आफ्नोतर्फबाट छलफलमा जुटेका छन् । यसै विषयलाई लिएर प्रभु र सानिमा बैंक संचालक समितिको बैठक बिहीबार बस्दैछ । नेपाल कमर्श एण्ड क्रेडिटले मर्जर कमिटी बनाएर यसको गृहकार्य अघि बढाएको छ । सानिमा बैंकले पनि मर्जर कमिटी बनाउने भएको छ । मर्जरका विषयलाई लिएर मंगलबार बैंकर्स एशोसिएसनको बैठक बसेको थियो । राष्ट्र बैंकले दिएको समयावधिभित्र मर्जर प्रक्रिया अघि बढाउनका लागि बैंकहरू खोज्न गाह्रो भएको र कुन मोडालिटीमा मर्जरमा जाने व्यवस्था स्पष्ट नभएको बैठकको निश्कर्ष छ । बैंकहरूले मर्जरमा जानका लागि राष्ट्र बैंकले सहजिकरणका साथै सहुलियत दिनेमा बैंकहरूमा विश्वस्त छन् ।

नेको इन्स्योरेन्सले सेयरधनीलाई १२ प्रतिशत बोनश सेयर दिने

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत बोनश सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको अर्थात १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको प्रस्ताव बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि बोनश सेयर वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् ।

एनआईसी एसियाले हावाहुरी पीडितलाई गर्यो २ लाख सहयोग

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले जेठ २३ गते आएको हावाहुरीका कारण धनगढी, कैलाली र कञ्चनपुरका व्यक्तिहरु पीडित भएकोमा दुःख व्यक्त गर्दै सहयोग गरेको छ । घटनाबाट पीडित परिवारको पुनस्र्थापनाको लागि बैंकले धनगढी उप-महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । उक्त रकमको चेक बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर ओडलाई हस्तान्तरण गरे ।

सिञ्जाका बन्द २२ विद्यालय खुले

काठमाडौं । आइतबारदेखि अनिश्चिितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय बुधबारदेखि खुलेका छन् । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताएका छन् । विद्यालयमा तालाबन्द गरी विद्यार्थीहरुको पढाइमा अवरोध नगर्न अध्यक्ष रावल र शिक्षा विभाग प्रमुख शर्माको आग्रहलाई शिक्षकहरुले स्वीकार गर्दै विद्यालयमा नियमित पढाइ सुरु गरेको उनको भनाइ छ । तलब नपाएको भन्दै २२ वटै विद्यालयका निजी शिक्षकहरुले तालाबन्दी गरेका थिए । यसरी, त्रिसठ्ठी शिक्षकले हालसम्म तलब नपाएको गुनासो गरेका छन् । शिक्षकहरुले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन यही असार ११ गते चार दिनको समयसीमा दिँदासमेत अटेर गरेपछि शिक्षकहरुले अनिश्चितकालीन तालाबन्दी गरेका थिए । रासस

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः रतनलाल केडिया चयन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको १४९ औं बैठकले अध्यक्षमा पुनः रतनलाल केडियालाई चयन गरेको छ । असार १३ गते सम्पन्न कम्पनीको १७औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु निर्वाचित गरेको थियो । साधारण सभाले रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको थियो ।

प्राविधिक शिक्षाः स्वरोजगारसहितको दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने आवश्यकता

काठमाडौं । मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालिमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । श्रम, रोजगारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी गराउँदै उनले लगानीअनुसारको प्रतिफल प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वडिन प्रा. डा. टङ्कनाथ शर्माले प्रविधि र व्यावसायिक शिक्षा तथा तालिमको सान्दर्भिकता, पहुँच र गुणस्तर विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारले प्राविधिक शिक्षा तथा तालिमका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उल्लेख गरेका छन् । मुलुकको कूल बजेटको १.५ प्रतिशत मात्र रकम प्राविधिक शिक्षा तथा तालिमका लागि विनियोजन हुने गरेको बताउँदै उनले उक्त विषयका लागि विभिन्न ११ मन्त्रालयअन्तर्गत रहेको रकमलाई बास्केटमा राखेर एकरुपता दिनुपर्ने आवश्यकता औँल्याए । यसैगरी, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले प्राविधिक तथा व्यावसायिक शिक्षा उत्पादनसँग जोडिनुपर्नेमा उनले जोड दिएकी छन् । अर्का सदस्य रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा उत्पादित दक्ष प्राविधिक जनशक्तिलाई विदेशमा नभई स्वदेशमै रोजगार दिने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । रासस

धेरै पैसा कमाउन प्राविधिक शिक्षा पढ्ने हो ? यी हुन् नेपालमा पढाई हुने २९ विषय

काठमाडौँ । एसइईको नतिजापनि आयो, पढेर वेरोजगार धेरै छन् । पढेर राम्रो पैसा कमाई हुने र सजिलै जागिर पाउने विषय कुन हो भनेर सोचिरहनु भएको छ ? कुन विषय अध्ययन गर्ने भन्ने अन्यौलमा पर्नु भएको छ ? वा प्राविधिक विषय अध्ययन गर्न चाहानु हुन्छ ? यदी हो भने अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मार्फत आफूले प्राप्त गरेको ग्रेड अनुसार २९ वटा विषय अध्ययन गर्न सकिने छ । स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय अध्ययन गर्न पाइने छ । यी कार्यक्रमको अवधि १८ महिने र ३ वर्षे हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)का सूचना अधिकारी अनिलमुनी बज्राचार्यले जानकारी दिए । उनका अनुसार एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक कोर्स विभिन्न अवधिको हुने छन् । माथिल्लो तहको अध्ययनमा अघि बढ्न सकिने र मध्यमस्तरको जनशक्तिको मान्यता पाउने तीन वर्षे डिप्लोमा पनि पढ्न सकिन्छ । प्राविधिक शिक्षा दुई र तीन महिने, १० महिने, १८ महिने पनि हुन्छ । अरू तालिमबाट सीप मात्र सिकिन्छ । यी छोटा अवधिका तालिमले माथिल्लो तहको स्नातक पढ्न भने पाइन्न । तीनवर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसरपनि पाइन्छ । स्वास्थ्यसँग सम्बन्धित कुन कुन विषय पढ्न पाइन्छ ? स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा १० वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा प्रमाणपत्र तहको नर्सिङ, नेत्रविज्ञान, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर तथा डिप्लोमा इन फार्मेसी र डिप्लोमा इन फिजियोथेरापी पढ्न सकिन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्युनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको हुनुपर्ने छ । इञ्जिनियरिङतर्फ के के छन् विषय ? इञ्जिनियरिङ सम्बन्धित कार्यक्रममा १२ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ रहेका छन् । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्युनतम सि ग्रेड र अंग्रेजीमा न्युनतम डी प्लस ग्रेट हुनु पर्नेछ । कृषि तथा वनविज्ञानमा के के छ ? कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन् । डिप्लोमा तहका कृषि, फुस्डेरी टेक्नोलोजी र फरेष्ट्रिका लागि अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्युनतम सी र कुनै एक विषयमा न्युनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमा होटल म्यानेजमेन्ट विषयको पनि अध्ययन गर्न सकिनेछ । जसका लागि अंग्रेजी, विज्ञान र गणितमा न्युनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनर्शिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वर्क्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्युनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनु पर्ने हुन्छ । सिटिईभीटी मार्फत संचालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र नीजि स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने छन् । सबै गरेर ८७३ शैक्षिक संस्था सञ्चालनमा रहेका छन् । जसमा लामो तथा छोटो गरी लगभग ८० हजारको क्षमता भएको सूचना अधिकारी अनिलमुनी बज्राचार्यले जानकारी दिए । उनले भने-प्राविधिक विषय अध्ययन गर्न प्रवेश परीक्षामा नाम निकाल्नु पर्छ । प्राविधिक शिक्षा लिएपछि बेरोजगार बस्नु पर्दैन । सिटिभिटीले शुल्क निर्धारणका लागि समिति गठन गरेको प्रवक्ता बज्राचार्यले बताए ।