विकासन्युज

एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’, गेन एडभान्टेज फाईदाहरु रहने

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विषेश समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । समारोहमा पाहुनाहरुलाई लाइभ ज्याज व्याण्डको सुमधुर संगीतले स्वागत गरिएको थियो । प्रमुख वक्ताका रुपमा रहेका साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा आफनो प्रस्तुती राख्दै समारोहको शुरुवात गरेका थिए । प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताए । “केहि समय अगाडी सम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टा छुट्टै संचालनमा रहन्थे । अहिले हामी यस्तो समयमा छांै जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भुमिका निर्वाह गर्दछ । आफ्नो ग्राहकको सहि मुल्य र पहिचानले व्यवसायहरुलाई फाइदा पुगेको छ ।” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजीटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधैँ सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए । “हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छाैं ।”

नेशनल माइक्रोफाइनान्सद्वारा छैठौँ वर्ष प्रवेशको अवसरमा फलफूल वितरण

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड छैठौँ बर्ष प्रबेश गरेकोमा शाखा कार्यालय सुडा कञ्चनपुरले बेदकोट व ७ रौटेला स्थित बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिई बसेका २३ जना महिला/पुरुषलाई फलफुल तथा खानेकुराहरु वितरण गरेको छ । सो अवसरमा शाखा प्रमुख उन्नती बांस्तोलाले संस्थाले वित्तीय कारोवारमात्र नभई विभिन्न किसिमका सामाजिक कार्यक्रम पनि संचालन गर्दै आएको जानकारी गराए ।

आर्थिक नीतिबारे चेम्बरको सुझाव, सचिवद्वयले भने-निजी क्षेत्रको राय समेट्छौँ

काठमाडौँ । विद्यमान आर्थिक क्षेत्रमा देखिएका समस्या तथा निजी क्षेत्रसँग सम्बन्धित विषयहरुमा नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रालयका सचिवद्धय तथा विभिन्न सरकारी निकायका प्रमुख तथा उपप्रमुखहरुसँग छलफल सम्पन्न गरेको छ । उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा आएका कर नीति सम्बन्धि व्यवसायहरुका गुनासाहरुलाई राखेका थिए । नेपालमा डब्लूटीओको सिद्धान्त बाहिर गएर व्यापार नीति अपनाउन नहुने उनले बताए । उनले सम्पत्ति शुद्धिकरणका विषयमा सरकारको निति उद्योगी व्यवसायी तर्साउने खालको भएको भन्दै भ्रष्टाचार तथा अनियमितालाई मात्रै समावेश गर्ने खालको निति अपनाउनु पर्ने बताए । छलफलमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले ढुवानीमा भ्याट लगाउने भन्दापनि सेवा कर लगाउदा उत्तम हुने जानकारी गराए । त्यसैगरी उनले प्यान नम्बर लिनुपर्ने सम्बन्धमा सबै कामदारलाई सम्भव नभएको जानकारी दिंदै चेम्बर अफ कमर्श सकारात्मक रहँदारहँदै पनि भारतबाट मजदुर आउने तथा सबै नेपालीको पनि नागरिताको समस्या रहेको उल्लेख गरे । छलफलमा चेम्बरका अन्य सदस्यहरुले आ-आफ्नो समस्या उठान गरेका थिए । उक्त छलफलमा अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले राजस्व परामर्श समितिको सुझाब प्रभावकारी नदेखिएकोले यसलाई छुट्टै बोर्ड बनाएर काम गर्ने सरकारले निति अपनाईसकेको जानकारी गराए । यसले निजी क्षेत्रको राय समेत आगामी दिनमा समेट्ने उनले दाबी गरे । त्यसैगरी किताबमा १० प्रतिशत भन्सार कर लगाईएको सम्बनधमा उनले यो प्रयोग विदेशमा समेत रहेको र नेपालले न्यूनतम कर मात्रै लगाएको दाबी गरे । यो कर लगाउँदा नेपाली मुद्रण उद्योगलाई समेत केही टेवा पुग्ने देखेर यो कर लगाईएको बताए । विश्वविद्यालयमा पढाई हुने पाठ्य पुस्तकमा भने यो शुल्कमा हेरफेर हुन सक्ने संकेत उनले गरे । प्यानको सम्बन्धमा सबै नेपालीको बैंकखाता खोल्ने अभियान सरकारले संचालन गरेको र स्थानिय निकायमा समेत बैंकको पहुँच पुगेकोले केहि सहजकता हुने तथा मजदुरलाई प्यान नम्बर दिने अभियान सरकार आफैले सचालन गर्ने समेत बताए । अर्थसचिव डा. राजन खनालले चीनसँगको नाकामा बैंकिङ मार्फत व्यापार गराउने नीति सरकारले अगाडि बढाएको जानकारी गराए । उनले तरकारी फलफूल भन्सारमा रोकिएको सम्बन्धमा सरकारी निकायहरुबीच कम्युनिकेश ग्याब हुँदा केही समस्या भएको र आज बिहिबारसम्ममा यो बिषय सल्टाउने पक्षमा छलफल भएको समेत जानकारी गराए । उनले यसै सन्र्दभमा भन्सारमा रोकिएका नेपाली व्यवसायीका समानहरुमा समेत परिणाम दिने गरी सरकारले छलफल गरिरहेको र छिट्टै व्यवसायीले सुखद खबर सुन्न पाउने आश्वासन दिए ।

आन्तरिक राजश्वले बक्यौता कर नतिर्ने ६३ व्यवसायिक फर्मको कारोबार रोक्का गर्ने

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय जनकपुरले ६३ व्यवसायिक फर्मको कारोबार रोक्का गर्ने भएको छ । कार्यालयले विहीबार बक्यौता कर दाखिला गर्ने सम्बन्धी सूचना प्रकाशित गरी कारोबार रोक्का गर्ने चेतावनी दिएको हो । राजश्व कार्यालयका अनुसार यसरी बक्यौता कर नतिर्नेमा निर्माण कम्पनी, इञ्जिनियरिङ वर्कसप, ईँटा उद्योग, समिल÷फर्निचर उद्योग, सञ्चारमाध्यम, चिनि मिल लगायतका व्यवसायकि फर्म छन् । सर्लाही, धनुषा, सिन्धुली र महोत्तरी जिल्लाका करदाता कम्पनीहरुले लामो समयदेखि बक्यौता कर नतिरेको राजश्व कार्यालयले जनाएको छ । विभिन्न मितिमा बक्यौता तिर्न अनलाइन म्यासेज, पत्राचार तथा फोन सम्पर्क गरी जानकारी गराउँदा समेत हालसम्म नतिरेका हुन् । राजश्व कार्यालयले ७ दिन भित्र आ-आफ्नो नाममा कायम रहेको बक्यौता रकम दाखिला वा दाखिला गरिसकेको भए प्रमाण पेश गर्न भनेको छ । तोकिएको अवधिभित्र बक्यौता रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेश हुन नआएमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म र मूल्य अभिबृद्धी कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३ बमोजिम कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्कासम्म गरेर बक्यौता उठाइने जनाएको छ ।

दिपक मनाङगे भित्र्याउँदा योगेश भट्टराई असन्तुष्ठ

काठमाडौं । दिपक मनाङगे उर्फ राजिव गुरुङलाई नेकपा प्रवेश गराउने तयारी भैरहँदा स्थायी कमिटी सदस्य तथा युवा नेता योगेश भट्टराईले असन्तुष्ठि पोेखेका छन् । उनले समाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो असन्तुष्ठि जाहेर गराएका छन् । नेता भट्टराईले पार्टीलाई मान्छ चाहिन्छ, तर कस्ता मान्छे ? कस्तालाई ल्यायौं र परिणाम के भैरहेको छ ? अब कस्ता मान्छे ल्याउँदैछौं ? भनेर प्रश्न गरेका हुन् । दिपक मनाङगेलाई बिहिबार नेकपा भित्र्याउने तयारी भैरहेको छ । मनाङगेले मनाङबाट नेकपाको समर्थनमा प्रदेश सभा निर्वाचन जितेका थिए । ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा योगेश भट्टराईले समर्थन गरेका नेकपा निकट व्यवसायी अर्जुनलाल प्रधानका विरुद्ध मनाङगेले प्रकाशनरिसिंह राणालाई उम्मेदवार बनाएर जिताएका थिए ।

हेटौँडा औद्योगिक क्षेत्रमा जग्गा अभाव

हेटौँडा । जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भएपनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भएपनि नयाँ उद्योगका लागि जग्गाको माग बढेकाले जग्गा अभाव भएको हो । विगतमा तीन हजार ११९ रोपनी क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रमा २९० रोपनी जग्गा थप गरी विस्तारित औद्योगिक क्षेत्रका रूपमा नयाँ उद्योग थपिएको भएपनि जग्गाको माग राख्ने सबैलाई उपलब्ध गराउन नसकिएको कार्यालयका अधिकृत राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार थप जग्गामा १५ उद्योग निर्माण तथा सञ्चालन भइसकेका छन् । हाल औद्योगिक क्षेत्रमा तीन उद्योग मात्र बन्द छन् भने बाँकी सबै सञ्चालनमा छन् । प्रदेशको राजधानी हेटौँडा भएसँगै थप उद्योग सञ्चालनका लागि जग्गा माग भएको तर दिन नसकिएको अधिकृत श्रेष्ठले जानकारी दिए । कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका लागि जग्गा नहुँदा समस्या भएको छ । कार्यालयका अधिकृत श्रेष्ठका अनुसार जग्गाको अभाव पूर्ति गर्न औद्योगिक क्षेत्रको पूर्वपट्टि खाली रहेको जग्गाका लागि बोलपत्र आह्वान गरिएको छ । उनका अनुसार खाली जग्गामा पानी, विद्युत्को अभाव छ । अधिकृत श्रेष्ठले उक्त जग्गाका लागि बोलपत्र आह्वान गरिसकेको भएपनि अझै केही समय नयाँ उद्योगका लागि जग्गा उपलब्ध गराउन नसक्ने बताए । चालू आर्थिक वर्ष २०७५/७६ मा औद्योगिक क्षेत्रभित्र थप ३० नयाँ उद्योग सञ्चालनमा आउने भएका छन्  । आर्थिक वर्ष २०७३÷७४ मा जग्गा दर्ता गरे पनि उद्योगको भौतिक संरचना नबनाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले केही उद्योगमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएसँगै ती उद्योगहरुले भौतिक संरचना निर्माण शुरु गरेका हुन् । बन्द रहेको हेटौँडा कपडा उद्योगको २६० रोपनी जग्गामा पनि १५ उद्योग सञ्चालन भइसकेका छन् । उक्त जग्गामा सीई हाइड्रो मेकानिकल वक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेशनल स्ट्रक्चर इञ्जिनीयरिङ प्रालिले उद्योग सञ्चालन गर्न विसं २०७३ जेठअघि नै सम्झौता गरेका थिए । उद्योगको पूर्वाधार निर्माणकार्य सम्पन्न भएपनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए । उनले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अझ थप जग्गामा बत्ती र पानी जडान गरी थप उद्योगलाई दिनुपर्ने बताए । रासस

चिलीलाई हराउँदै पेरु पुग्यो कोपा अमेरिका कपको फाइनलमा, ब्राजिलसँग भिड्ने

काठमाडौं । साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ । चिलीलाई ३ गोल अन्तरले पराजित गर्दै पेरुले फाइनाल यात्रा तय गरेको हो । अब पेरुले उपाधीका लागि ब्राजिलसँग प्रतिष्पर्धा गर्नेछ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न नसकेपछि उपाधी रक्षा गर्ने चिलीको अभियान भने चकनाचुर भएको छ । पेरुलाई फाइनलमा पुर्याउन इडिसन फ्लोरेसले २१, योसिमर युटिनले ३८ र पाओलो गुरेरोले ९१ मिनेटमा गोल गरेका थिए ।

पूर्वपश्चिम राजमार्ग पथलैया-कमला खण्ड चार लेनको बन्ने

काठमाडौँ । पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्मको खण्ड चार लेनमा विस्तार हुने भएको छ । बढ्दै गएको सवारी साधन र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ खण्ड साँघुरो बन्दै गएपछि सरकारले सडक विस्तार योजना अगाडि बढाएको हो । पूर्वपश्चिम राजमार्ग अहिले दुई लेनको मात्र छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मेचीदेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने सरकारको योजनाअन्तर्गत बाराको पथलैयादेखि सिरहाको कमलासम्मको राजमार्गको सो खण्ड विस्तार गर्न प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए । राजमार्गको त्यस खण्डको विस्तारका लागि अहिले अध्ययन कार्य अन्तिम चरणमा रहेको बताउँदै उनले नयाँ आर्थिक वर्षको साउनदेखि नै राजमार्गको उक्त खण्डको डिजाइनको काम सुरु गरिने जानकारी दिए । डिजाइनको काम सम्पन्न भइसकेपछि विस्तारका लागि ठेक्कापट्टाको प्रक्रिया अगाडि बढाइने उनले बताए । सडक विभागका अनुसार राजमार्गको सो खण्डको विस्तारको कुल अनुमानित लागत ४० अर्ब रुपियाँ छ । राजमार्ग विस्तारसँगै सो खण्डमा नयाँ पुल निर्माण, अहिले भएका पुलहरूको स्तरोन्नति तथा विस्तारसमेत गरिने छ । बाराको पथलैयादेखि सिरहाको कमलासम्मको कुल लम्बाइ १३० किलोमिटर छ । एक हजार २८ किलोमिटर कुल लम्बाइ रहेको सो राजमार्गको विस्तार दुई चरणमा गरिने बताउँदै सचिव कार्कीका अनुसार पहिलो चरणमा बुटवलदेखि पूर्वको खण्ड विस्तार कार्य सुरु भइसकेको छ । बुटवलदेखि पश्चिमको खण्डलाई दोस्रो चरणअन्तर्गत विस्तार गरिने छ । पहिलो चरणअन्तर्गत अहिले बुटवलदेखि नारायणगढसम्मको विस्तार कार्य सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैतमा सो राजमार्गको विस्तार कार्यको शिलान्यास गरेका थिए । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा राजमार्गको उक्त खण्डको विस्तार कार्य सुरु भएको हो । आगामी पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गको सम्पूर्ण खण्डको विस्तार कार्य सम्पन्न गर्ने लक्ष्य सरकारको छ । पहिलो चरणअन्तर्गत नै विस्तार भइरहेको सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको विस्तारका लागि डिजाइन तथा अध्ययन कार्य पूरा भई एक महिनाभित्र ठेक्का लाग्ने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।