उद्योग वाणिज्य सङ्घका अध्यक्षसहित ३ जना पक्राउ
धनगढी । कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई बुधधबार प्रहरीले पक्राउ गरेको छ ।केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पुर्याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र व्यापारी दिनेश विष्ट पनि छन् । नगरसभामा अवरोध गरेको आरोपमा नगरपालिकाको कार्यालयले अध्यक्ष देवकोटासहित सचिव शङ्कर खड्का, सदस्य साउद, रवीन्द्र खनाल, व्यापारीहरु राजेन्द्र बोगटी, केशव न्यौन्याल, विष्ट र मोहन पाठकविरुद्ध मुद्दा दर्ता गरेको थियो । गोदावरी नगरपालिकाको नगरसभामा व्यापारीले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए । रासस
नेपाल-चीन पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता
काठमाडौँ । नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो । नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त सम्बन्धलाई उच्चस्तरीय भ्रमण आदानप्रदानका माध्यमबाट पारस्परिक लाभका खतिर थप प्रगाढ तुल्याउन दुवै राष्ट्रका परराष्ट्रमन्त्री सहमत हुनुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । नेपाल र चीनका अधिकारीबीच आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आजै मन्त्री ज्ञवालीले बेइजिङमा रहेका नेपाली विद्वत्वर्ग, प्राज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूसँग उक्त दूतावासमा विदेशमा रहेका नेपालीको सीप र ज्ञान मातृभूमिको विकासका निम्ति उपयोग गर्ने तथा उनीहरूलाई त्यसमा आबद्ध गराउने सरकारको नीतिबारे जानकारी गराए । उनले परराष्ट्र मन्त्रालयमा बौद्धिक ज्ञान केन्द्र स्थापना गरिएको जानकारी दिँदै राष्ट्र निर्माणको महान् अभियानमा सहभागी हुन चीनमा रहेका नेपालीलाई आग्रहपनि गरे । आजै साँझ मन्त्री ज्ञवाली आफ्नो सम्मानमा नेपाली दूतावासले आयोजित स्वागत समारोहमा सहभागी भए । समारोहमा चीन सरकारका उच्च अधिरी, विद्वत्वर्ग र नेपाली नागरिकको उपस्थिति थियो । रासस
त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्मासहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा आयोगको परिक्षाको परिणाम फेरवदल गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्तहरुलाई जागिर खुवाएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोईराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री सहित १० जना विरुद्ध मुद्धा दायर गरेको हो । उनीहरुले थोरै नम्बर ल्याउने परिक्षार्थीहरुलाई नम्बर थपिदिएर सेवा आयोगको परिक्षा उतिर्ण गराई जागिर खुवाएका थिए । अख्तियारले गरेको लामो अध्ययनपछि उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो ।
बैंकिङ् कसुर मुद्दामा कृषि विकास बैंकका कर्मचारीसहित तीन पक्राउ
काठमाडौँ । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ । कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पुर्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो । पक्राउ पर्नेमा बैंकका कर्मचारी भक्तपुर बालकोटका छविलाल ढकाल, ठेकेदार कम्पनी एमएस एमके र वाइपीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिका-७ बस्ने रणधिर तुम्बा, र बाजुरा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने देवजङ्ग शाही रहेको ब्यूरोले जनाएको छ । हाल निलम्बनमा रहेका तत्कालीन बैंकका शाखा अधिकृत ढकालले उनीहरुसँग मिलेर बैंकलाई नोक्सानी पुर्याउने उद्देश्यले तीन वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ । उनीहरुको विषयमा अहिले पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनीहरुले २०७३ साल असारमा साविक भोजपुर प्राविधिक कार्यालय र ठेकेदार कम्पनी एमएस एमके र वाइपीका बबरमहल काठमाण्डौँबीच भोजपुर-टक्सारकोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि रु बाह्र करोड ५५ लाख ९७ हजारमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको खुल्न आएको छ । सो क्रममा बैंकका कर्मचारी ढकालले बैंकबाट ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार पारी उनीहरुलाई उपलब्ध गराएको पाइएको छ । उनीहरुले सविक प्राविधिक कार्यालय भोजपुरबाट दुई किस्तामा रु एक करोड १० लाख झुक्तानी लिई सकेकोसमेत खुल्न आएको प्रहरी उपरीक्षक रेगमीले जानकारी दिनुभयो । हाल उक्त सडकको ठेक्का स्थगित भएको जनाइएको छ ।
सन् २०२० मा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट आयोजना हुने
दोहा, कतार । कतार एयरवेजले सिएपिए-उड्डयन केन्द्रसँगको सहकार्यमा ५-६ फेब्रुअरी २०२० मा दोहामा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्ने भएको छ । २०१९ को फेब्रुअरीमा आयोजित मध्यपूर्वी क्षेत्रकै पहिलो एरोपोलिटिकल सम्मेलन अत्यन्तै सफल रहेको थियो जहाँ ‘दोहा डेक्लेरेशन’ सम्झौता भएको थियो । उक्त घोषणापत्रले अन्तर्राष्ट्रिय हवाई यातायातका लागि लचिलो नियामक संरचना स्थापना गर्न उदारीकरणको सिद्धान्तमा सबैको राजनैतिक प्रतिबद्धताका लागि पहल गर्दछ । उक्त सम्मेलनले उड्डयन, कानुन तथा सरकारी क्षेत्रका ३५ भन्दा धेरै विशेषज्ञ वक्ताहरुबाट सुन्न ३०० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई जोड्न सफल रह्यो । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले भने–‘कतार एयरवेज २०२० मा सिएपिए कतार एभियेशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्न अत्यन्तै उत्साहित छ । भविष्यको रणनीतिक दिशा एवं हाम्रो यस उद्योगको चालु उदारीकरणको वादविवादलाई बढावा दिने छलफललाई निरन्तरता दिन यस उद्योगका अग्रणी तथा वरिष्ठ निर्णयकर्ताहरुलाई दोहामा स्वागत गर्न प्रतीक्षामा छौँ ।’
‘इजीट्याक्सीनेपाल’ एप्स, ५ मिनेटमै घरमा आउँछ ट्याक्सी
काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ ।उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको शुरुवात गरेको हो । प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपाल मार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो । इजीट्याक्सीनेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यका भरी संचालनमा आईसकेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोही एप्समार्फत सो अनुरोधलाई स्वLकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले-‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ । सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिट नेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’
नेपालको पहिलो स्मार्ट फिल्म सिटी लमजुङमा, ५ अर्ब ९० करोड लागतकाे अनुमान
काठमाडौं । लमजुङ जिल्लाकाे बेसीसहर नगरपालिकामा नेपालको पहिलो स्मार्ट फिल्म सिटी निर्माण हुने भएको छ । ५ हजार रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त फिल्म सिटी, स्काई इन्टरटेन्मेन्ट इन्भेस्कमेन्ट प्रा.लि र नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ (एसआरएल)इटाली कम्पनीबीच सो ‘वर्ल्ड स्काई सिनेभिलेज नेपाल’ निर्माणको लागि सम्झौता भएको छ । उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्टका सञ्चालक तथा नेपाल चलचित्र उत्पादन संघका अध्यक्ष आकाश अधिकारी र इटालियन नेपाल एण्ड वर्ल्ड एसिया होल्डिङ एसआरएल कम्पनीका प्रमुख फ्रानसिस्को सिग्रिरियल्लोले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले फिल्म सिटी निर्माणको समयमा हुने समस्यालाई सरकारले हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै फिल्म क्षेत्रमा धेरै विकास गर्ने मन हुँदाहुँदै पनि धन र प्रविधिको कारण पछि परेको बताए । उक्त सिनेसिटी करिब ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे मन्त्री बास्काेटाले भने । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा चलचित्र उत्पादन संघका अध्यक्ष तथा स्काई इन्टरटेन्मेन्टका सञ्चालक आकाश अधिकारीले करिब ५ अर्ब ९० करोड रुपैयाँबाट निर्माण कार्य सुरु गर्ने सो प्रोजेक्टका साथै सिनेमा अध्ययनका लागि विद्यालयको पनि स्थापना गर्ने बताए । उनले भने निर्माण हुने सो फिल्म सिटीमा जुनसुकै किसिमका सिनेमाहरुको छायाकंन गर्न सक्ने तथा अन्य देशमा छायाकंनका लागि निर्धारित मूल्यभन्दा कम मूल्यमा संचालन गर्ने याेजना रहेकाे छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली सिनेमा क्षेत्रका निर्देशक तथा कलाकार निर शाहले राष्ट्रिय चलचित्र उद्योगको विकासका लागि कसरी अगाडी बढ्नु पर्छ भन्ने कुरा मनन् गर्दै अगाडी बढ्नु पर्ने बताए । शाहले उक्त फिल्म सिटी निर्माणका विषयमा आगामी दिनमा नकारात्मक कुरा भन्दा नि सकारात्मक विषयको चर्चा परिचर्चा सुन्ने अवसर सिर्जना गराउन निर्माण समुहलाई सचेत गराए । बेसीसहर नगरपालिकाका अध्यक्ष गोमानसिंह अर्यालले भने ‘बेसीसहर नगरपालिका वडा ३, ४, ५, ९ मा हुने फिल्म सिटी निर्माणका विषयमा स्थानियस्तरको साथ र समर्थन निर्माण सुरुवातदेखि समापनसम्म हुने छ ।’ अध्यक्ष अर्यालले उक्त ठाँउबाट १४ वटा भन्दा बढी हिमालहरु नजिकबाट अवलोक गर्न सक्नुका साथै इतिहासिक तथा धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । नेपालमा पहिलो पटक निर्माण हुने उक्त स्र्माट फिल्म सिटी २ हजार ६० मिटरदेखि २८ सयससम्मको उचाईमा निर्माण भई विश्वकै उच्च स्थानको फिल्म सिटी हुने जानकारी दिएका छन् ।
सनराइज बैंकद्वारा नवलपुर कावासोतीमा शाखा बिस्तार
नवलपुर । सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा शाखा बिस्तार गरेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानिया थारु र संचालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गरेका हुन् । यो समेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।