विकासन्युज

वर्षात् शुरु भएसँगै झाडावान्ताका बिरामी बढे

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात/आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा. अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् । दुषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्दछ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताएका छन् । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ । सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताको रहेको उनको भनाइ छ । बाहिरको पानी प्रदुषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु रहने उनको भनाइ छ । तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ । २४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदुषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उनले जानकारी दिए । दुषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् । रासस

वार्षिकोत्सवको अवसरमा अजोडले वितरण गर्यो शैक्षिक सामाग्री

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिकोत्सवका अवसरमा असार २३ गते श्री मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौँलाई शैक्षिक सामाग्री वितरण गरेको छ । अजोड इन्स्योरेन्स लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्णहरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक गोविन्दप्रसाद ढकाल र बरिष्ठ सहायक उषा बस्नेत समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

शिक्षकको कुटाइबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिएका छन् । “यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो”, प्रहरी निरीक्षक भट्टले भने, “त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।” प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राति नै नियन्त्रणमा लिएको जनाएको छ । “शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ”, भट्टले भने, “पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।” प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ । मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । रासस

विदेशी पर्यटकका ६०० उजुरी दर्ता, सञ्चालनमा ल्यायो ‘पर्यटक प्रहरी मोबाइल एप्स’

काठमाडौं । नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५, कात्तिकमा ८०, मङ्सिरमा ५४, पुसमा ५३, माघमा ३७, फागुनमा ३२, चैतमा ५८, वैशाखमा ८२ र जेठमा ५४ उजुरी परेका छन् । पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत पर्यटक प्रहरीमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै सामान हराएको विषयमा पर्ने गरेको बताउँछन् । “सामान हराएको मात्र ४५४ उजुरी पर्यटक प्रहरीमा परेको छ”, उनी भन्छन् । पर्यटक प्रहरीमा सामान हराएको बाहेक चोरी ९८, ठगी २४, लुटपाट तीन, पाकेटमार छ, दुव्र्यवहार चार, दुर्घटना एक, क्षति चार र अन्य छ उजुरी दर्ता भएका छन् । पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाभित्र १० र उपत्यका बाहिर १६ स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । प्रहरी प्रधान कार्यालयमा २२७ को दरबन्दी कायम गरिएको छ । चालू आवमा मात्र काठमाडौँको बौद्ध, चितवनको पटिहानी र तनहुँको बन्दीपुरमा कार्यालयले सेवा विस्तार गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटक प्रहरीको आवश्यकता र औचित्य बढ्दै गएको छ । पर्यटक प्रहरीले पर्यटकलाई आवश्यक पर्ने सेवा प्रदान गर्न रारा ताल, बाँके, कञ्चनपुर, इलाम, धनकुटालगायतका नौ प्रमुख पर्यटकीय गन्तव्यका लागि पर्यटक प्रहरी माग गरिएको पर्यटक प्रहरी प्रमुख बस्नेत बताउँछन् । पर्यटक प्रहरीले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि ‘पर्यटक प्रहरी मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ । एप्समा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने काम र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने बताइएको छ । विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल भित्रिने भएकाले उक्त पर्यटकलाई लक्षित गरेर ठमेलमा ‘महानगरीय पर्यटक सूचना केन्द्र’ समेत सञ्चालनमा ल्याएको छ । उक्त केन्द्र सञ्चालनमा ल्याएसँगै पर्यटक प्रहरीको प्रधान कार्यालय भृकुटीमण्डपबाट दिने सेवा सुविधा ठमेलबाट प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ । पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ । पर्यटक प्रहरी परिचालन निर्देशिका नहुनु, विभिन्न मुलुकको भाषाको ज्ञान नहुनु, पर्यटक प्रहरीलाई आवश्यक तालिम नहुनुलगायत पर्यटक प्रहरीभित्र समस्याका रुपमा रहेका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउँछन् । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उनी भन्छन् । नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताए । रासस

धुलिखेलमा पहिलो स्वास्थ्य सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नगरपालिकाका स्वास्थ्य संयोजक सन्दीप केसीले बताएका छन् । उनका अनुसार पालिकाले नगरको समग्र स्वास्थ्य अवस्था केन्द्रबाट जानकारी लिनेछ भने स्वास्थ्य विधाका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकसमेतले धुलिखेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्नेछन् । नगरपालिकाले उक्त केन्द्र धुलिखेल अस्पतालको साझेदारीमा धुलिखेलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको हो । नेपालका स्थानीय तहमध्ये धुलिखेल नगरपालिकामा स्थापित स्वास्थ्य सूचना केन्द्र सम्भवतः पहिलो मानिएको छ । “धुलिखेललाई बालमैत्री र वातावरणमैत्री नगरसँगै स्वस्थ शहर बनाउने नीतिअनुसार स्वास्थ्य सूचना केन्द्र स्थापना गरेका हौँ”, नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भनेका हुन् । ब्याञ्जूका अनुसार नगरभित्रका निजी, सरकारी तथा गैरसरकारी विभिन्न स्वास्थ्य संस्थाको पनि स्वास्थ्यसँग सम्बन्धित सूचना उपलब्ध गराइनेछ । केन्द्रका लागि आवश्यक सामग्री नपा कार्यालयले उपलब्ध गराएको हो । केन्द्रबाट नगरको अद्यावधिक जनसङ्ख्या, नगरभित्रका विभिन्न प्रकारका रोगीको सङ्ख्या तथा अवस्था जानकारी लिन सकिनेछ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख नन्दराज अवस्थीले धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापनाले स्थानीयवासी र पर्यटकका लागि सुविधा पुग्ने बताए । धुलिखेलमा एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई प्रजनन केन्द्रसहित चार स्वास्थ्यचौकी, तीन नगर स्वास्थ्य केन्द्र र एक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । रासस

फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने, प्रदुषण हटाउने परियोजनामा खर्च

पेरिस । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर)सम्म कर लिने घोषणा गरेको छ । फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए । आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गरे । रासस/एएफपी

साउन २७ र २८ गते युवा उद्यशीलता सम्मेलन, राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गर्ने

काठमाडौँ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आगामी साउन २७ र २८ गते काठमाडौंमा नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ हुने भएको छ । सो सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । सोही अवसरमा सम्मेलन मुल आयोजक समितिका संयोजक समेत रहनु भएका बिशाल गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासंग छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरु बीच छलफलको वातावरण निमार्ण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी नीति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेे सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागिता रहने छ । समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र विभागीय प्रमुख सुनिता मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

एकल विन्दु सेवा केन्द्र शुरु भएपछिको उत्साहः ८१ अर्ब २० करोड पूँजी भएका ४६ उद्योग दर्ता

काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि उद्योग विभागमा चहलपहल बढेको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका हुन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सेवा केन्द्रमा चहलपहल बढेसँगै उद्योग दर्ताको संख्यामा वृद्धि भएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो । उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी असार २३ गते) सम्म ८१ अर्ब २० करोड ४० लाख पूँजी भएका ४६ वटा उद्योग दर्ता भएका छन् । गतवर्ष (२०७५ जेठ १ गतेदेखी असार २३ गते) सम्म ६० अर्ब ८४ करोड ५० लाख पूँजी भएका १२२ वटा उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष २० अर्ब ३५ करोड ९० लाख लगानी वृद्धि भएको छ । लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष १२२ उद्योग दर्ता भएको थियो भने यो वर्ष ४६ वटा मात्रै दर्ता भएको छ । उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ । २०७६ जेठ १ गतेदेखी असार २३ गतेसम्मको तथ्यांकनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ४६ उद्योगमध्ये ऊर्जा क्षेत्रका १४ वटा छन् । उत्पादनमूलक उद्योग ९ वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ६ वटा र कृषिजन्यमा ४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्ता र लगानीमा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’ केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । सेवा केन्द्रमा रहेका भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ । गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।