ललितपुरकाे पुलचोकमा सामसङ्ग डिजिटल प्लाजा विस्तार
काठमाडौं । हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्स प्रा.लि.का निर्देशक सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिथ विद्यालय तथा आजाद विद्यालयाका छात्राहरुले शोरुमको उद्घाटन गरेका हुन् । १५ औं वार्षिक उत्सवको अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापिथ विद्यालय र श्री आजाद विद्यालयाका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम थियो । सामसङ्ग प्लाजाले चितवन माढीका ३० जना महिला समुहलाई युवा साक्षरता कक्षा संचालन गरेको छ । उक्त समारोहमा सीमा गोल्छाले पुलचोक ललितपुरमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याउन खुसी भएको र ललितपुरका ग्राहकहरु विभिन्न तरिकामा लाभान्वित हुने बताईन। उनले भनिन् ‘छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तिकरणका लागि एउटा सानो प्रयास गर्न पाउँनु ठूलो कुरा हो ।’ सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
राष्ट्रिय क्रिकेट विजेता टोली आज स्वदेश फर्कंदै
काठमाडौं । एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई छ विकेटले हराउँदै उपाधि हासिल गरेको थियो । यस प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात पारेको थियो । यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङ्कङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेत सहभागी हुनेछन् । रासस
राजस्व नतिर्ने हेटौँडाका २५ व्यवसायी कालोसूचीमा, जग्गा रोक्का
हेटौंडा । आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर/राजस्व नतिर्ने हेटौँडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो । पटकपटक ताकेता गर्दा पनि अटेर गरेकाले कालोसूचीमा परेकाको जग्गासमेत रोक्का राख्न मालपोत कार्यालयमा पत्राचारका लागि तयारी भइरहेको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताए । उक्त कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १६ जनाबाट राजश्व छली गरेको आरोपमा जरिवानासहित राजस्व असुल गर्नाका साथै अनुगमनलाई समेत तीव्रता दिइएको जनाइएको छ । प्राप्त विवरणअनुसार चालू आवको जेठ महिनासम्ममा उक्त कार्यालयबाट तीन हजार २०३ व्यवसायीले लेखा नम्बर, तीन हजार ६९९ ले स्थायी लेखा नम्बर, ४३७ ले मूल्य अभिवृद्धि कर(भ्याट) नम्बर, एक हजार ३५५ ले अन्तःशुल्क नम्बर लिएकोे बताइएको छ । कार्यालय प्रमुख ढकालका अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा तीन अर्ब ७१ करोड १३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको र सो रकम लक्ष्यभन्दा बढी छ । रासस
मदन पुरस्कारका लागि सात कृति छनोटमा, कुन कुन परे ?
काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् । पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ । रासस
राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथबीच ब्यवसाय आदान प्रदान गर्ने सम्झौता
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच असार २२ गते एक आपसका ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिने बताइएको छ । सम्झौतामा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।
अर्थ सचिव अमेरिका गएपछि मौद्रिक नीति आउन ढिलाई, अब कहिले ?
काठमाडौं । राष्ट्र बैंक संचालक समितिका सदस्य समेत रहेका अर्थ सचिव डा. राजन खनाल अमेरिका गएका कारण आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने समय केही पछि सर्ने भएको छ । सचिव खनाल मंगलबार राति अमेरिका गएका र उनी साउन २ गतेमात्रै नेपाल फर्कने कार्यक्रम रहेकोले यसअघि तय गरिएको असार २७ गते मौद्रिक नीति सार्वजनिकको मिति पछि सरेको हो । राष्ट्र बैंकले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग गरेको छलफल कार्यक्रममा असार २७ गते मौद्रिक नीति ल्याउने बताएको थियो । अर्थ सचिव बाहिर हुनुभएकोले साउन पहिलो सातामापनि मौद्रिक नीति आउन गाह्रो छ,’ राष्ट्र बैंक श्रोतले भन्यो-‘ सचिवज्यू आएपछि तीन/चार वटा त बैठक नै हुन्छ ।’ त्यसपछि मौद्रिक नीति आउने हो ।’
रोपाइँको रौनक फेरियाेः हलगोरुको ठाउँमा अब ट्याक्टर र मिनिटिलर
गलेश्वर । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ । कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नुपर्ने धेरै किसिमका झण्झटबाट पनि मुक्ति मिलेको कृषक बताउँछन् । “पहिला पहिला खेत जोत्नका लागि हली र गोरु खोज्नुपर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नुपर्ने, दिनभरि गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगायतका धेरै झण्झट हुने गर्थे”, मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले भने, “अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसञ्चो हुन्छ । मिनिटिलर वा ट्र्याक्टर लगायो धने एकैछिनमा मेलो सकिन्छ ।” “गोरुले जोत्दा छ÷सात दिन लाग्ने मेलो (खेत) मा मिनिटिलर वा ट्र्याक्टरबाट एकै दिनमा सकिन्छ”, उनले भने, “लागत र झण्झट पनि कम हुनेहुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्धतितर्फ आकर्षण बढेको हो ।” “रोपाहार र बाउँसेको व्यवस्था हुने हो भने हलोले छ÷सात दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ”, बेनी नगरपालिका–२ का कृषक भीमबहादुर रिजाल भन्छन् । वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदूर र जनशक्तिको अभाव हुन थालेका बेला मिनिटिलर र ट्र्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकले बताउँछन् । अहिले म्याग्दीका सबै गाउँमा मिनिटिलरले प्रयोग व्यापकरुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झण्झट पनि हटेको कृषकको भनाइ छ । यसरी, प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षौंदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मङ्गला गाउँपालिकाले कृषिमा यान्त्रिकीरण र व्यवसायीकरण गर्दै बाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालेको छ । “अब कृषि क्षेत्रमा पहिलाको जस्तो झण्झट छैन, प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी अग्र्यानिक खेतीमा जोड दिएका छौँ”, मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका बताउँछन् । म्याग्दीका छवटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलरदेखि लिएर विभिन्न किसिमका कृषि उपकरण कृषकलाई निःशुल्क वा अनुदानमा वितरण गरेका छन् । म्याग्दीको तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९७८ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिएका छन् । म्याग्दीमा गौरी, जर्नेली, गुडुरा, जेठोबूढो, मार्सी, ताकमारे, भट्टे पहेंलोलगायतका रैथाने र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण तीन, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गरेको छ । रासस