काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि उद्योग विभागमा चहलपहल बढेको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका हुन् ।
जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । सेवा केन्द्रमा चहलपहल बढेसँगै उद्योग दर्ताको संख्यामा वृद्धि भएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो ।
उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी असार २३ गते) सम्म ८१ अर्ब २० करोड ४० लाख पूँजी भएका ४६ वटा उद्योग दर्ता भएका छन् । गतवर्ष (२०७५ जेठ १ गतेदेखी असार २३ गते) सम्म ६० अर्ब ८४ करोड ५० लाख पूँजी भएका १२२ वटा उद्योग दर्ता भएका थिए ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष २० अर्ब ३५ करोड ९० लाख लगानी वृद्धि भएको छ । लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष १२२ उद्योग दर्ता भएको थियो भने यो वर्ष ४६ वटा मात्रै दर्ता भएको छ । उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । कृषिजन्य, निर्माण, ऊर्जामूलक, सूचना प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवामूलक तथा पर्यटन उद्योगमा बढी आकर्षण देखिन्छ ।
२०७६ जेठ १ गतेदेखी असार २३ गतेसम्मको तथ्यांकनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ४६ उद्योगमध्ये ऊर्जा क्षेत्रका १४ वटा छन् । उत्पादनमूलक उद्योग ९ वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ६ वटा र कृषिजन्यमा ४ वटा उद्योग दर्ता भएका छन् ।
उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले भएको कारण उद्योग दर्ता र लगानीमा वृद्धि भएकोे बताए । उनले भने-‘डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको छ ।’
केन्द्रमा ८ वटा इकाईहरु सञ्चालनमा छन् । सेवा केन्द्रमा रहेका भन्सार तथा राजश्व, पूर्वाधार (उर्जा तथा सञ्चार समेत), जग्गा सहजीकरण, भिसा सहजीकरण, उद्योग दर्ता, वातावरण, विदेशी विनिमय सहजीकरण र प्रशासन तथा कानून इकाईबाट काम भइरहेको छ । एकल विन्दु सेवा केन्द्रमा ४१ जना कर्मचारीको दरबन्दी रहेको छ ।
गत जेठ १ गते उद्योगमन्त्री मातृका यादवले एक समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए । २०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो ।