बैदेशिक रोजगारीको नयाँ गन्तव्यः जर्मनी, पोर्चुगल र बेलायतसँग अघि बढ्यो संवाद
काठमाडौँ । नेपाली युवा वैदेशिक रोजगारीमा जान थालेको झण्डै दुई दशकपछि रोजगारीका गन्तव्य विविधीकरण गर्ने पक्षमा सरकारले आफूलाई उभ्याउन थालेको छ । फलस्वरुप नयाँनयाँ, आकर्षक तथा नेपाली युवाले तुलानात्मक लाभ प्राप्त गर्ने र आर्थिक स्थिति बलियो देखिएका मुलुकसँग संवाद र द्विपक्षीय श्रम समझदारी गर्ने प्रक्रिया अगाडि बढेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउँदै पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्य लिएको वर्तमान सरकारले समझदारीमार्फत नेपाली कामदारले अधिकतम सेवा सुविधा प्राप्त गर्ने विषयलाई प्रत्याभूत गर्न लागिपरेको छ । वर्तमान सरकार गठन भएलगत्तै नेपाली युवाले तुलनात्मक रुपमा बढी लाभ प्राप्त गर्ने गुणस्तरीय श्रम गन्तव्यको खोजीमा सिङ्गो मुलुक जुटेको छ । गन्तव्य मुलुकको विविधीकरण गर्ने सन्दर्भमा जर्मनी, पोर्चुगल र बेलायतसँग पनि रोजगारीको सम्भावनाका बारेमा संवाद अघि बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री गोकर्ण विष्टले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्लेलगत्तै २०७५ साल वैशाख ३ गते साउदी अरेबियाका लागि पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा वैदेशिक रोजगारीका लागि सम्भाव्य गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र श्रमिकको सेवा शुल्कसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले पनि सरकारलाई तुलनात्मक रुपमा आर्थिक स्थिति बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको थियो । करीब चार महीना लगाएर गरिएको सो अध्ययन प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्विडेन, डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने उल्लेख गरिएको थियो । यस्तै सानो सङ्ख्यामा नेपाली कामदार कार्यरत जापान, फिजी र मरिससलगायत मुलुक पनि आकर्षक गन्तव्य हुनसक्ने सुझाव प्रतिवेदनले दिएको थियो । कार्यदलको सुझावअनुसार नै सरकारले जापान र मरिसससँग नेपाली श्रमिक पठाउनेसम्बन्धी सम्झौता गरिसकेको छ । यसबाहेक नयाँ गन्तव्य मुलुकका रुपमा विकास भइरहेका चीन, रुस, श्रीलङ्का र माल्दिभ्सले पनि नेपाली कामदारलाई पनि रोजगारीको अवसर प्रदान गर्नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो । श्रममन्त्री विष्टले केही दिनअघि प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा गुणस्तरीय बजारको खोजीमा सरकारले जर्मनी, पोर्चुगल र बेलायतसँग पनि रोजगारीको सम्भावनाका बारेमा संवाद अघि बढाएको बताएका थिए । श्रम समझदारी प्राथमिकतामा पछिल्लो समय सरकारले प्रमुख गन्तव्य मुलुकसँगको श्रम समझदारीलाई प्राथमिकतामा राखेको छ । नेपाली कामदारले बढीभन्दा बढी लाभ प्राप्त गर्ने विषयलाई समझदारीमार्फत प्रत्याभूत गरिएको छ । पछिल्ला एक वर्षको अवधिमा सरकारले चार गन्तव्य मुलुकसँग श्रम समझदारी गरेको छ । सो अवधिमा मलेसिया, जापान, मरिसस र संयुक्त अरब इमिरेट्स युएईसँग श्रम आप्रवासनका परिवर्तित मान्यतालाई सम्बोधन गर्नेगरी समझदारी भएको श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीको भनाइ छ । गन्तव्य मुलुकसँग स्पष्ट समझदारी नहुँदा नेपाली कामदारले विभिन्न झञ्झट व्यहोर्दै आउनु परेको थियो । विशेषगरी खाडीका मुलुकमा श्रमिकले उचित पारिश्रमिक तथा सेवासुविधा प्राप्त गर्न ठूलो समस्या देखिँदै आएको थियो । पछिल्लो पटक नेपाल सरकार र युएई सरकारबीच भएको श्रम समझदारीमा समेटिएका प्रावधानले अन्य अरब मुलुकसमक्ष नेपाली कामदारलाई पनि उचित पारिश्रमिक तथा सेवासुविधा उपलब्ध गराउन दबाब सिर्जना गरेको सरकारी अधिकारीको ठम्याइ छ । सरकारले कतार, साउदी अरब, ओमान, कुवेत, टर्कीलगायत मुलुकसँग द्विपक्षीय समझदारीका लागि संवाद जारी राखेको छ । खाडी र मलेसिया प्रमुख श्रम गन्तव्य खाडीका केही मुलुक र मलेसिया नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेका छन् । नेपालमा दुई दशकयता कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियालगायत मुलुकको श्रम बजारमा नेपाली युवा रोजगारीको खोजीमा जाने क्रम निरन्तर नै रहेको छ । यी मुख्य चार देशमा वार्षिक एक लाखभन्दा बढी युवा कामको खोजीमा जाने गरेका सरकारको तथ्याङ्क छ । आव २०७४÷७५ मा पनि तिनै मुलुकमा युवा जाने क्रम निरन्तर रहेको । सो आर्थिक वर्षमा कतारमा एक लाख ८३ हजार ५२४, मलेसियामा एक लाख ३७ हजार ३११, युएईमा एक लाख १४ हजार ९४१ र साउदी अरेबियामा एक लाख आठ हजार ४१४ युवा श्रम स्वीकृति लिएर गएका छन् । आर्थिक वर्ष २०५०/५१ मा जम्मा तीन हजार ६०० नेपाली भारतबाहेक अन्य मुलुकमा वैदेशिक रोजगारीमा गएको सरकारको आँकडा छ । अहिले ४० लाखभन्दा बढी नेपाली रोजगारीको सिलसिलामा मुलुक बाहिर पुगेको वैदेशिक रोजागर विभागको तथ्याङ्कले देखाएको छ । फलस्वरूप वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण आयमा सोहीअनुसार वृद्धि भई हाल विप्रेषण रकम नेपाली घरपरिवारको आम्दानीको एक प्रमुख स्रोतका रूपमा स्थापित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय विप्रेषण आयसमेत उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०५०/५१ मा विप्रेषण आय रु दुई अर्ब १५ करोड रहेकामा आर्थिक वर्ष २०७५/७६ को दश महीनाको अवधिमा रु सात खर्ब २५ अर्ब ३० करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६ प्रतिशतले वृद्धि भएको हो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६ प्रतिशतले घटेको थियो । सन् १९८० को दशकदेखि आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणको प्रभावले गर्दा विकासोन्मुख मुलुकबाट विकसित मुलुकहरूमा रोजगारीका लागि जाने श्रमशक्तिमा उच्च वृद्धि हुँदै गएको पाइन्छ । रासस
दुर्घटनामा ४ को मृत्यु, १७ घाइते, पाँचकोे अवस्था गम्भीर
ओखलढुङ्गा । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये पाँचकोे अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । अन्य घाइतेको उदयपुरको घुर्मीस्थित आस्था हस्पिटलमा उपचार भइरहेको छ । पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरीतर्फ आउँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यता, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । गए राति ना६ख ५२०७ नंको ट्रकमा लु२२प २८९९ नंको मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नं ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।
प्रभु टीभीले सुरु गर्यो ओटीटी सेवा, टीभी अब मोबाइलमै
काठमाडौं । प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा शुरु गरेको छ । टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको प्रभु ग्रुपले इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा शुरु गरेको जनाएको छ । प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाइने छ । प्रभु ग्रुपले मोबाइल एप्लिकेसनमार्फत् टीभी सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको जनाएको छ । मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिने छ । ग्राहकहरुले स्वदेशी तथा बिदेशी च्यानलको लाइभ प्रसारण हेर्न रअन डिमान्ड फिल्म पनि हेर्न पाउनेछन् । प्रभु टीभीले काठमाण्डौ उपत्यका, चितवन, कास्की, सुनसरी, झापा, रुपन्देही नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा यो सेवा शुरु गरिसकेको छ । छिट्टै जनकपुर र वीरगञ्जमा पनि सेवा शुरु गर्ने तयारी गरेको जनाएको छ ।
एनआईसी एशिया बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी
काठमाडौँ । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म माग गरेको हो । बैंकले हेड अफ इन्स्टिच्यूशन(डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड (ट्रेजरी) १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड (रेमिट्यान्स) १ जना, डेपुटी हेड (ब्राण्डिङ, कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर) १ जना, डेपुटी हेड (कम्प्लायन्स डिपार्टमेन्ट) १ जना माग गरेको हो । त्यसैगरी ब्राञ्च म्यानेजर केही, रिलेशनसीप म्यानेजर केही, सर्भिस म्याजेजर केही, क्रेडिट अफिसर केही, सेन्ट्रल सर्पोट अफिसर केही, इन्फरमेशन टेक्नोलोजी अफिसर केही, डिजिटल च्यानल सिनियर अफिसर केही, फाइनान्स अफिसर केही, जेनरल एडमिनिस्ट्रशन अफिसर केही, ट्रेजरी अफिसर केही, कम्प्लायन्स अफिसर केही र चार्टर्ड एकाउन्टेण्ट केही संख्यामा माग गरेको हो । बैंकले माग गरेको पदमा आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले साउन ८ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने
काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुलेको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुलेको हो । जसमध्ये ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सर्वसाधारणलाई, १ लाख ५३ हजार ४ सय ४४ कित्ता कम्पनीका कर्मचारीलाई र २५ हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । असार २५ गतेदेखि खुल्ने सेयर छिटोमा असार २९ गते र ढिलोमा साउन २४ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । यस कम्पनीको जलविद्युत उत्पादन केन्द्रहरु इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माइ नगरपालिका वडा नम्बर ९ मा रहेको छ ।
असार ३१ गते खण्डग्रास चन्द्रग्रहण, शास्त्रीय मान्यताअनुसार भोजन निषेध
काठमाडौँ । असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ः४६ बजेदेखि बालक, वृद्ध र बिरामीलाई बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ । रासस
काठमाडौँ फन भ्यालीद्वारा लाखौँ कर छली, राजश्वले मार्यो छापा
भक्तपुर । सूर्यविनायक नगरपालिका-१० पलाँसेमा सञ्चालित काठमाडौँ फन भ्याली कम्पनीले लाखौँ रुपैयाको कर छली गरेको पाइएको छ । कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको पाइएको हो । काठमाडौँ फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त कम्पनीले कर छली गर्न विद्यालयहरुलाई भने उक्त कम्पनीको बिल नदिई कर छली गर्दै ‘वाटर वल्र्ड ट्रेडर्स प्रालि’ को नाममा लाखौँ रुपैयाँको बिल काटेर कर छली गरेको बताइएको छ । दोहोरो बिल बनाएर व्यापक रुपमा कर छली गरेको पाइएपछि आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । फन भ्यालीले सयौँ विद्यालयका हजारौँ विद्यार्थीलाई दर्ताबिनाको नक्कली बिल दिएर लाखौँ रुपैयाँ कर छली गरेको उजुरी परेपछि राजश्व कार्यालयले उक्त कम्पनीमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको हो । आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले आज यसबारे जानकारी दिँदै कार्यालयमा उजुरी आएपछि काठमाडौँ फन भ्यालीका कागजपत्र नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको बताए । फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएको स्वीकार्दै कर छली नगरेको दाबी गरे । काठमाडौँ फन भ्यालीले प्रदूषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गासमेत मिचेर दुरुपयोग गरेपछि यसअघि सूर्यविनायक नपा–१०ले समेत कारवाहीका लागि पत्राचार गरेको थियो । वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूलाठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानवीय स्वास्थ्यसँग खेलबाड गरेको र रसायनयुक्त पानी पुनः सोही खोलमा फ्याक्ने गरेकाले पानीको स्रोतसमेत दूषित पारेको भन्दै कारबाहीको माग गरेका थिए । रासस
आफ्नै ठूलोबुवा र ससुराको चिर्पट प्रहार गरी हत्या
अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए । मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो । आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छन् । अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ । फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । पिरमकुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ । रासस