महिला उद्यमीलाई राष्ट्रिय वाणिज्य बैंकले १.३८ प्रतिशतमै कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले महिला उद्यमीलाई १.३८ प्रतिशतमा सहुलियत कर्जा प्रदान गर्ने भएको छ । महिला उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउन आज राष्ट्रिय वाणिज्य बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महासंघका तर्फबाट अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको आधार दर (वेस रेट) ५.३८ प्रतिशत छ । यसमा दुई प्रतिशत प्रिमियम थपेर ७.३८ प्रतिशतमा कर्जा प्रवाह गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । बैंकको ब्याज ७.३८ प्रतिशत पुग्दा महिला उद्यमीले १.३८ प्रतिशतमै सहुलियत कर्जा पाउने हुनुभएको छ,’ उनले भने ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिअनुसार सरकारले महिला उद्यमीलाई ६ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।’ सरकारले ६ प्रतिशत ब्याज अनुदान प्रदान गर्ने भएपछि महिला उद्यमीले १.३८ प्रतिशतमै कर्जा पाउनु हुनेछ ।’ पुरुष उद्यमीले भने २.३८ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउनु हुनेछ । पुरुष उद्यमीका लागि सरकारले ५ प्रतिशतमात्रै ब्याज अनुदान दिने व्यवस्था गरेको छ । ब्याज अनुदान कार्यविधि लागू भएयता विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ सय ३५ उद्यमी महिलाले ३७ करोड २३ लाख ३५ हजार रुपैयाँ कर्जा स्वीकृत गराएका राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । सो स्वीकृत कर्जामध्ये ४ करोड ७४ लाख २४ हजार भने उपयोग गरिसकेका छन् । कुल स्वीकृत कर्जामध्ये ५ सय २९ महिला उद्यमीले विभिन्न वाणिज्य बैंकबाट ३६ करोड ८३ लाख कर्जा स्वीकृत गराएका छन् । विकास बैंकबाट ५ जना महिला उद्यमीले २९ लाख ८० हजार कर्जा स्वीकृत गराएका छन् भने एक महिला उद्यमीले फाइनान्स कम्पनीबाट पाँच लाख ३५ हजार कर्जा स्वीकृत गराएकी छिन् । बैंकको उद्देश्यनै सरकारको नीति अनुरुप समृद्ध राष्ट्र निर्माण लगानी गर्ने भएकोले बैंकको प्राथमिकता सहुलियत कर्जा प्रवाहमा भएको सीईओ श्रेष्ठले बताए । ‘वाणिज्य बैंकको ७७ जिल्लामा दुई सय २१ वटा शाखा कार्यालय, एक सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंयाँ कर्जा लगानी गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा बर्दियाकोे बांसगढीमा शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आफ्ना नयाँ शाखा विस्तारका क्रममा बर्दियाको बांसगढी नगरपालिका वडा न.५ मा बांसगढी शाखाको स्थापनासँगै कारोबार शुरु गरेको छ । उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन् । बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।
कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा, कूल बजेट करिब साढे दुई अर्ब
सुर्खेत । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड दिएको छ । मन्त्री नन्दसिंह बुढाले आर्थिक वर्ष २०७६/७७ मा महत्वपूर्ण ३८ गन्तव्यमात्र पूर्वाधार विकासमा बजेट विनियोजन गरेको जानकारी दिएका छन् । “प्रदेश पर्यटन बोर्डको गठनपश्चात् नयाँ पर्यटकीय गन्तव्यको गुरुयोजना बनाएर बजेट परिचालन गर्नेछौँ”, मन्त्री बुढाले भने, “सीमित बजेटका कारण सबै गन्तव्य क्षेत्रमा बजेट विनियोजन गर्न सकिएन, आगामी वर्षहरुमा क्रमशः बजेट विनियोजन गरिनेछ ।” मन्त्रालयले चालू आर्थिक वर्षमा सञ्चालन गरेको हुम्ला, मुुगु र डोल्पाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई हवाई टिकटमा सहुलियत अनुदान दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ भने आव २०७६/७७ मा मन्त्रालयको कूल बजेट रु दुई अर्ब ४५ करोड छ लाख ७८ हजार रहेको छ । रासस
विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल अब धरानमा
धरान । विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिएका छन् । असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने उनले बताएका हुन् । प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका लागि रु एक करोड प्रदेश सरकार र रु ३३ लाख अखिल नेपाल फुटबल सङ्घ एन्फाले उपलब्ध गराएको छ । आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ । रासस
नेपाली चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भद्रपुर । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता निकिता निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन् । भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताएका छन् । निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् । रासस
तत्कालका लागि विषादी परीक्षण रोक्न कृषिमन्त्रीको आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी चेकजाँच जारी रहेको स्पष्ट पार्दै हालका लागि रोक्नु पर्ने बताए । अन्तर्राष्ट्रिय प्रचलनमा नाकामा परीक्षण नहुने भएकोले तत्काललाई विषादी परीक्षण रोक्नु उचित हुने रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भने । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्नेपनि उनले विश्वास दिलाए । उनले भने, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’ उपत्यका बाहिर अहिलेपनि ६–७ वटा ल्याबहरु रहेका मन्त्री खनालले सुनाए । ‘अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि नाकामा चेकजाँच हुँदैन । र, अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’ अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको र परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाई छ । भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए । सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’ विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको र खरिद प्रक्रिया पूरा गर्न अझै कम्तिमा पनि ६ महिना र बढिमा दश महिना लाग्छ । मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने बताए । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको र चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे ।
नेपाल इन्जिनियरिङ्ग कलेजमा टक कार्यक्रम सम्पन्न
काठमाडाैं । नेपाल इन्जिनियरिङ्ग कलेज, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग विभागमार्फत आयोजित टक कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायणमा अवस्थित एक दिने कार्यक्रम इन्जिनियरिङ्ग स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धानले समाजमा पार्ने सकरात्मक प्रभावको बारेमा धारणा राखेका थिए । विभागीय प्रमुख ई. रुपेशदहि श्रेष्ठको अध्यक्षतामा संचालित सो कार्यक्रममा फुटुङ्ग रिसर्च इन्स्टिच्युट, गोल्डुङ्गाका अनुसन्धानकर्ता डा. रिजन महर्जनले आफ्नो अनुसन्धान ‘ चिप् बेस्स ओसीटि मेजरमेन्ट सिस्टम’ नामक विषयमा प्रस्तुतिकरण दिए । डा. महर्जनले नेपालमा बढ्दै गैरहेको श्वास प्रश्वास सम्बन्धी बिरामीहरूको संख्या प्रति इङ्गित गर्दै ओप्ट्किल चिप् प्रयोग ल्याउन सकेको खण्डमा सुरुवाती रोगको पहिचान गर्नका पर्ने बताए । त्यस्तै इन्जिनियरिङ्गका अनुसन्धानकर्ता नरेन्द्र बज्राचार्यले यस क्षेत्रको विषयमा धारण राखेका थिए भने अनुसन्धानकर्ता दिपङ्कर शाक्यले टेलिमेट्री बेस्ड वाटर लेभल मोलयटोरिङ्ग सिस्टम लगायतका रिसर्च बारेमा जानकारी दिएको थियो । कार्यक्रममा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग बिभागका तेश्रो र चौथो बर्षका विद्यार्थीहरू तथा शिक्षकहरूको सहभागी थियो । कार्यक्रमको समापन गर्दै विभागीय प्रमुख ई. श्रेष्ठले नेपाल इन्जिनियरिङ्ग कलेजले स्थापना कालदेखि नै अनुसन्धान मूलक शिक्षामा जोड दिदै आएको र आफ्नो विभागले यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
आज विश्व जनसङ्ख्या दिवसः जनसङ्ख्याको व्यवस्थापनमा ध्यान दिन केपी ओलीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएको हो । हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ । प्रधानमन्त्री ओलीले जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् । सन्देशमा भनिएको छ, “नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसङ्ख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयुमा वृद्धि भएको छ र श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ । यस अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ ।” उनले सन्देशमा बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गरेका छन् । त्यस्तैगरी, ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको जनाएका हुन् । “कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ । बालविवाहजस्तो विकासको प्रतिफलको नकारात्मक सूचकमा परिवर्तन ल्याउन प्रयासहरु भइरहेका छन्, कुनै पनि प्रक्रियाबाट हुने गरेका बालविवाहको रोकथामका लागि वर्तमान सरकार कटिबद्ध छ ।” सन्देशमा भनिएको छ । यसरी, प्रधानमन्त्री ओलीले युवा जनशक्तिको बसाइँसराइका प्रवृत्तिलाई नियमन गर्दै कामको खोजीमा बाह्य मुलुक जान लालायित युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने र उनीहरुको क्षमता यहीँ परिचालन गर्ने सोचका साथ काम हुन थालेको सन्दर्भमा सरकार किशोरकिशारीको अपेक्षा र आकाङ्क्षालाई सम्बोधन गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय उमेर समूहका जनशक्तिले अधिकतम योगदान पुर्याउन सक्ने वातावरण बनाउन तल्लीन रहेको पनि स्पष्ट गरेका छन् । रासस