विकासन्युज

खल्तीबाटै अब डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । शेयर कारोबार गर्ने व्यक्तिले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । सेवाको सुरुवात सँगै खल्तीले एप तथा वेबसाईटमा ’शेयर’ नाम दिइएको एउटा नयाँ आईकन ल्याएको छ जहाँबाट केहि क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिनेछ । खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । यस्तो डिजिटल भुक्तानी सुविधाबाट डिम्याट तथा मेरोशेयर खातावालहरु लाभान्वित हुने खल्तीले विश्वास लिएको छ । डिम्याट र मेरोशेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, “नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोशेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ । नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो । हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालको उक्त बोझ हटेर जानेछ । यस सेवाको सुरुवातसँगै हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एउटा अर्को पाइला अगाडी सारेको महसुस गरेका छौँ ।” तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालले यो सेवा प्रयोग गर्न सक्नेछन् । जसमा सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालमाझ यो सेवा विस्तार गर्नेछ ।  खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको छ । कसरी डाउनलोड गर्ने खल्ती एप ? खल्ती एप यो लिंकबाट डाउनलोड गर्न र डिम्याट तथा मेरोशेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिन्छ । के हो डिम्याट ? डिम्याट खाता कसरी खोल्न सकिन्छ ? भौतिक रुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । शेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टि्सिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको शेयरलाई विद्युतीयकरण गर्न सकिन्छ । साधारण शेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य हुन्छ । बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा शेयर जम्मा हुन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा ब्रोकर कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ । डिम्याट खाता खोलेका सबैले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक शुल्क असार ३१ गतेभित्र भुक्तानी गर्नुपर्नेछ ।

कृषि विकास बैंकले गर्याे कीर्तिपुरकाे सामुदायिक सेवा केन्द्रलाई सहयाेग

काठमाडौं । कीर्तिपुरको ट्याङ्गलाफाँटमा सामुदायिक सेवा केन्द्रलाई कृषि विकास बैंकले सहयोग गरेको छ । बैंक शाखा कार्यालय किर्तिपरबाट आयोजित कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको प्रमुख अतिथ्यमा सो सेवा केन्द्र ट्याङ्गलाफांटलाई एक लाख १० हजार रुपैयाँ बराबरको सामग्री सेवा केन्द्रका अध्यक्ष बाबुराम सुवेदीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सवै प्रकृतिका लोक कल्याणकारी कार्यमा सवै क्षेत्रबाट सहयोग हुन सकेमा त्यसले देश विकासमा महत्वपूर्ण टेवा पु¥याउने जानकारी दिए । देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गर्नुका साथै बैंक पूर्ण रुपमा आधनिक बैंकिङ्ग भै बैंकले हाल एटिएम, एस एम एस, मोवाईल बैकिङ्ग लगायतका सेवा सुविधाहरु ल्याएको बैंकले जनाएको छ । सामुदायिक सेवा केन्द्र ट्याङ्गलाफांटका अध्यक्ष बाबुराम सुवेदी, केन्द्रका उपाध्याक्ष सुरेन्द्र उप्रेती, डि.एस.पी छेदीलाल कामतले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंकले पुराएको सहयोगको सराहना व्यक्त गरेका छन् । सो कार्यक्रममा बैंक का.मु.उप–महाप्रबन्धक तथा कार्यक्रमका विशिष्ट अतिथि प्रताप सुवेदीले बैंक नाफामुलक व्यवसायमा मात्र संलग्न नभै सामाजिक कार्यमा पनि त्यतिकै सरिक हुंदै आएको छ । उक्त कार्यक्रममा का.मु. विभागीय प्रमुख शंकर अर्याल, बैंकका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रिय कार्यालय काठमाडौका का.मु.निर्देशक करुणचन्द्र घिमिरे, का.मु. निर्देशक अनिल यादव, शाखा प्रमुख राजेन्द्र रानाभाट ,का.स. झगेन्द्र आचार्य र प्रबन्धक मिना लेखक, नारायणलाल श्रेष्ठ ,बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, बैंकका पूर्व कर्मचारीहरु वि.प्र. गणेश पाण्डे, भरत बस्नेत लगायतका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

ज्योति लाईफको बीमालेख नविकरण शुल्क अब इसेवाबाट भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स्को बीमालेख नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न मिल्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स्का ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवा प्रदान गर्ने व्यवस्था ल्याएको हो । काम तथा सेवालाई प्रविधि मैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको हो । जसबाट ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाबाट शुरु गरेको छ । कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ज्योति लाईफ इन्स्योरेन्स्ले जानकारी दिएको छ ।

सानिमा लाइफले ६० करोड रकम बराबरको आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि.ले साधारण सेयर(आईपीओ) निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रधान कार्यलय, कमलादीमा असार २५ गते आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोलाप्रसाद पाठकले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाईँ प्रमुख वित्त अधिकृत आर्यकरञ्जन बराल तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने रु ६० करोड रकम बराबरको सेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पूर्ण कार्य बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रहेकोमा सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी नियमनकारी निकाय बीमा समितिले तोके बमोजिम रु २ अर्ब पुग्ने छ ।

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स, कति पर्यटक नेपाल भित्रिए ?

सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै एक नम्बरमा स्थान जमाएको हो । आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महीनादेखि बन्द रहेको छ । बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रोमा जेट एयरवेज, तेस्रोमा कतार, चौथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन् । सन् २०१७ मा जेट एयरवेज प्रथम, नेपाल एयरलाइन्स दोस्रो, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौथो र फ्लाई दुबई पाँचौँ स्थानमा रहेको थियो । निगमको वार्षिक प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ । निगमले भारतका तीन गन्तव्यसहित छ देशका आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमले हाल दुई वाइडबडी ए–३३०, दुई न्यारोबडी ए–३२० जहाजले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । निगमको एक मात्र बोइङ ७५७ बिक्रीका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । यस्तै सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्ला वर्षजस्तै नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन् । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र सन् २०१७ मा एक लाख ६० हजार १३२ पर्यटक नेपाल आएका थिए । सोही अवधिमा क्रमशः चीनबाट एक लाख ५३ हजार ६३३ र एक लाख चार हजार ६६४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ भने श्रीलङ्का चौथो र संयुक्त अधिराज्य बेलायत पाँचौँ स्थानमा रहेका छन् । सन् २०१७ मा पनि बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । अमेरिका तेस्रो र श्रीलङ्का चौथो, बेलायत पाँचौ स्थानमा रहेको थियो । सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए । सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । यो सङ्ख्यामध्ये पुरुष छ लाख २४ हजार ९२८ र महिला पाँच लाख ४८ हजार १४४ रहेका थिए । अघिल्लो वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो हवाई र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो । पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको देखिएको छ । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ । अघिल्लो वर्ष १२.६ रहेको थियो । नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएका थिए । सन् २०१७ मा छ लाख ५८ हजार १५३ बिदा र मनोरञ्जन र एक लाख ४१ हजार ३३ धार्मिक उद्देश्यका लागि नेपाल आएका थिए । रासस

चुक्ता पूँजी नपुर्याउने र सुशासनमा नबस्ने कम्पनीप्रति कठोर बन्दै बीमा समिति

काठमाडौ । तोकिएको न्यूनतम चुक्ता पुँजी नपुर्याउने, बीमा समितिले दिएको निर्देशनहरु बारम्बार उल्लघंन गर्ने, दुई भन्दा बढी बीमा कम्पनीमा एउटै प्रवद्र्धक भएका र व्यवसाय विस्तारपनि राम्रोसँग गर्न नसकेका बीमा कम्पनीहरुप्रति बीमा समिति कठोर बन्ने भएको छ । त्यसका लागि बीमा समितिले आन्तरिक गृहकार्य थालेको छ । सरकारले बजेटमार्फत बीमा कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहित गर्ने घोषणा गरेका, बीमा समितिले पनि मर्जमा जान बीमा कम्पनीहरुलाई केही सहुलियत घोषणा गरेको, बैंकिङ क्षेत्रमा मर्जरको विषयमा व्यापक छलफल भईरहेको समयमा बीमा समितिले कसिलो नीति लिन खोजेको हो । जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको समय तीन पटक थपेको समय यहि असार मसान्तमा सकिन लागेपछि बीमा समिति त्यसपछि लिने निर्णयको तयारीमा जुटेको हो । बीमा बजारमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धालाई कसरी रोक्ने भन्ने विषयमा पनि बीमा समिति चिन्तित देखिएको छ । साउन पहिलो साता नै बीमा समितिले नयाँ कदम चाल्न सक्ने स्रोतले बताएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिले आफूले तोकेको समयमा चुक्तापूँजी नपुर्याउने कम्पनीलाई कारबाही गर्ने जनाएको छ । समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई २ अर्ब तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई १ अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने निर्देशन दिंदै आएको थियो । कम्पनीले चुक्तापूँजी नपुर्याउने कम्पनीलाई विकल्पको रुपमा कारवाही गर्नु पर्ने जनाएको हो । यता, नियामक बीमा समितिले तोकेको म्याद नाघ्न लागेको अवस्थामा कतिपय कम्पनीहरु अझै समय थप गर्न पाए हुन्थ्यो भन्ने पक्षमा छन् । तर, नियामक बीमा समितिले भने अब समय थप गर्ने पक्षमा नरहेको बुझिन्छ । समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँ भन्छन्-‘ तोकेको पूँजी नपुर्याउने कम्पनीहरुलाई कारबाही गर्छौँ ।’ कारबाही कस्तो किसिमको हुन्छ भन्ने कुरा आगामी साउनपछि मात्र थाहा हुन्छ-उनले भने ।

एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका हुन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना हुने उक्त सम्मेलनमा १२५ भन्दा बढी कृषक, उद्यमी तथा कृषि व्यवसायीको उपस्थिति रहने आयोजक संस्था फोर एच नेपालका संयोजक लोकराज अवस्थीले जानकारी दिएका छन् । सम्मेलनमा नेपालका १० उत्कृष्ट कृषक तथा कृषि व्यवसायीलाई पुरस्कृत गरिनेछ । फरक–फरक छ विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै कृषि वस्तुको विश्वबजारीकरणमा एशिया, कृषिमा नयाँ प्रविधिको प्रयोग तथा कृषिको गुणस्तरीय उत्पादन र बजारीकरण तथा कृषिनीतिमा खुला छलफल गरिनेछ । साथै, कृषि योगा, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन समेत गरिने आयोजकले जनाएका छन् । रासस

ईक्यानको १३ औं शैक्षिक मेला आजबाट शुरू, ४ दिन सम्म चल्ने

काठमाडौं । ईक्यानको १३ औं शैक्षिक मेला आजबाट सुरु भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाडौंको भृकुटीमण्डपमा आउँदो ४ दिन सम्मको लागि मेला आयोजना गरेको हो । मेला असार २९ गते आईतबाटसम्म संचालन हुँदैछ । शैक्षिक मेलाको उद्घाटन पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए। मेलाको उद्घाटनमा बोल्दै भट्टराईले नेपाली युवायुवतीहरु अध्ययनको लागि जुनै पनि देश जानलाई स्वतन्त्र भएको बताए । ज्ञान र विज्ञान नै बिकासको मुलधारा भएकोले विदेश पढ्न गएपछी नेपालमा आएर आफ्नो ज्ञानको उपयोग गर्न आग्रह गरे । राज्यले गुणस्तरिय शिक्षा दिन नसकेकोले पनि आफुहरुले विद्यार्थीहरुलाई नरोक्ने भट्टराईले बताए। मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स,अमेरिका, बेलायत, न्युजील्यान्ड, अष्ट्रेलिया, नर्वे लगायतका देशका कलेज तथा विश्वविद्यालयका अधिकारिक प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना तथा अवसरहरु जस्ता बिषयमा पर्याप्त गरी स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रव्रिती, सुविधा एवंम गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीहरुलाई समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मेलाको प्रमुख उत्तरदायित्व रहेको ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए । यस्तै ईक्यानको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा रक्तदान कार्यक्रम गरिनुको साथै प्राथमिक उपचार तथा डेन्टल क्याम्पको पनि व्यवस्था पनि गरेको छ । यस्तै मेलाका अवलोकनलाई लक्षित गरेर मुख्य रुटहरुमा नि:शुल्क बससेवा व्यवस्थापन गरेको ईक्यानले जानकारी दिएको छ ।