इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गर्दै सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ “ एक्सप्रेस बैंकिङ” नामक इन्टरनेट बैकिङ्ग सेवा शुभारम्भ गरेको हो । यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिन्छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन् । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । यस बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको हो । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं-ओशाका ३७ हजारमै यात्रा, एग्रेसिभ मार्केटिङ गर्दै नेपाल वायु सेवा निगम
काठमाडौं । नेपाल वायु सेवा निगमले आगामी भदौ १२ गतेदेखि काठमाडौंबाट ओशाका उडान गर्ने पक्का भएको छ । निगमले अगष्ट २९ तारिखदेखि सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्न लागेको हो । राती २.३० बजे हुने उक्त उडानमा अहिलेसम्म करिब २० सीटजति बुकिङ भइसकेको नेपाल वायु सेवा निगमका सह प्रवक्ता नवराज कोइरालाले बताए । ‘यो उडान केही महिना अगाडी नै हुने थियो,’ उनले भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका कारण सेप्टेम्बर १ देखि उडान क्षमता घटाउँदा ढिला काठमाडौंबाट जापान उडान ढिला भएको हो ।’ अहिले स्तरोन्नतिले असर नगर्ने भएपछि हामीले उडानको नियमित तालिका बनाएका हौं,’ उनले थपे २७४ सिटे एयर बस ए–३३० ले नियमति उडान भर्न थाल्नेछ ।’ एयरबसको दुईतर्फी टिकटको भाडा भने ७३ हजार रुपैयाँ लाग्ने छ । निगमले सोमबारदेखि प्रवद्र्धनात्मक हिसावले मार्केटिङ गर्न थालेको छ । ‘एयर बसलाई सातामा दुई पटक चाटण्र्ड गर्ने भनेर पनि अवसर आइरहेको छ,’ उनले भने ‘हामीले एयर बसको राम्रो प्रतिक्रिया पाएका छौं ।’
सोमबार शिवालयहरुमा भक्तजनको घुईँचो, सेल्फि मोह(फोटो फिचर)
काठमाडौ । साउन महिनाको दोस्रो सोमबार पशुपतिमा भगवान शिवको पूजाआजा गर्ने देखी सेल्फी खिच्ने भक्तजनहरुको बाक्लो उपस्थिति देखियो । हरिया, पहेला कपडामा सजिएका महिला भक्तजन तथा दाह्री पालेका पुरुष भक्तजन सोमबार शिवालयमा पूजा गर्न मात्र नभई सेल्फि खिच्न धाउने गर्छन् । हिन्दुधर्म अनुसार सोमबार भगवान शिवको बार रहेको मानिन्छ । सोही कारण सोमबार शिवजीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास समेत रहँदै आएको छ । सोमबार बिहानै देखी पशुपति मन्दिरमा भक्तजनहरुको चहलपहल देखियो । पशुपति मात्र नभई अन्य मन्दिरमा समेत साउनको सोमबार भक्तजनको घुईँचो लाग्यो । पछिल्लो समय सबैको हातहातमा स्मार्ट मोबाइल फोन हुनुले सेल्फी हान्नेहरु समेत प्रशस्तै देखिन्छन् । अन्य बेलामा कार्यालय र गृहस्थी जीवनमा समय बिताउँदै आएका भक्तजनहरु सोमबार बिहानैदेखी शिवालयमा पुग्छन्, पूजा गर्छन अनि एक सेल्फि लिइहाल्छन् । यसरी मन्दिरमा दर्शन गर्नेहरु मात्र नभएर सेल्फि प्रतिको मोह समेत भक्तजनहरुले झल्काएका छन् । केही भक्तजनहरु ब्रत बसी मन्दिर छिर्ने लाईनमा नै सेल्फि हानेको भेटियो । यस्तै, कोही पूजा गर्दै गर्दा, कसैले पूजा सक्किएपछि, कसैले सामूहिक तथा कसैले एकल सेल्फि हाल्ने गरेका छन् । मन्दिरमा दर्शन गर्ने भक्तजनहरुमा मात्र नभएर घुमघाम गर्न जाने भक्तजनहरुले समेत सेल्फि मात्र हानेर भएपनि फर्किने गरेका छन् ।
प्रभु बैंकको एकैदिन दुई नयाँ शाखा डिमुवा र बिरेठाँटीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा सञ्जाल बढाउने क्रममा एकैदिन दुई शाखाको विस्तार गरेको छ । बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चापागाइँले छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बिच शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसरी, प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । आजदेखि सञ्चालनमा आएको बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
नेपाल भ्रमण वर्षको प्रचार गर्न अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन हुँदै
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तराष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल तामाङ बोम्बो संरक्षण समाजले पुस १४ र १५ गते सम्मेलन गर्ने जनाएको हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने राखेको लक्ष्यलाई सहयोग गर्न र नेपालको कला संस्कृतिलाई विश्वमा चिनाउन सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ । सम्मेलनमा करिब एक हजार बोम्बोहरुको सहभागिता गराउने बोम्बो संरक्षण समाजले लक्ष्य राखेको छ । सम्मेलनमा जर्मनी, इटाली, भुटान, भारत र चीनबाट पनि बोम्बोहरु आउने बताइएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजका महासचिव विष्णुबहादुर तामाङले राष्ट्रको कला, संस्कार, संस्कृति र साहित्यलाई विश्वमा चिनाउने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष महाराज भोम्जनले नेपालमा बोम्बो(झाँक्री) भनेपछि नकारात्मक र कुरिती कुसंस्कारमात्र सोच्ने भएका कारण त्यो मानसिकता आम मानिसहरुबाट हटाउन, संसारका बोम्बोहरुलाई एकता गर्न र लुकेर रहेका बोम्बोहरुलाई सक्रिय बनाउन सम्मेलन गर्न थालिएको बताए । उनले सम्मेलनका लागि ३५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले बताए । यस्तै, बोम्बो संरक्षण समितिले आयोजना गर्ने सम्मेलनमा ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)को पनि समन्वय हुने बताइएको छ । टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले सबै जिल्लाका बोम्बोहरुसँग समन्वय गरी कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताउँदै पर्यटक बढाउने काममा टानले सक्दो सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा बोम्बोहरु विभिन्न शैलीको पोशाकको भेषमा उपस्थित भएका थिए ।
‘अस्तव्यस्त यातायात क्षेत्रलाई परिवर्तन गर्न सक्छु, तर रिमोट मेरो हातमा छैन’-कुमार दाहाल
नेपालाको यातायात क्षेत्रमा धेरै खाले समस्या छन् । समस्याका बारेमा यातायात व्यवस्था विभाग पनि जानकार छ । सुधारका पक्षमा व्यसायीहरुले पनि खुलेर तर्क गर्ने गरेका छन् । यातायात क्षेत्रमा बीमाको बुझाईमा नै कमी हुँदा जोखिम बढ्दो छ । यातायात क्षेत्रका समस्या र समाधानका उपायहरु बारे यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग विकासन्युजका लागि नबिन पोखरेल र सन्तोष रोकायाले गर्नु भएको कुराकानी । मोटर बीमा र दाबी भुक्तानीको विषयमा बीमा कम्पनीहरु र यातायात व्यवसायीबीच सधैँ विवाद हुने गरेको छ, किन यस्तो हुन्छ ? मोटर कम्पनीले गर्ने, व्यवसायीले गर्ने र सरकारले गर्ने गरी ३ खालका बीमा हुन्छन् । यी ३ वटै बीमाहरु फरक किसिमका बीमा हुन् । सोही कारण फरक फरक तरिकाले हेर्नु पर्ने हुन्छ । जस्तै, मोटर कम्पनीले मोटरको दाबी लिन्छ । यसको टुटफुुटको अवस्थामा पैसा दिन्छ । व्यवसायीले गर्ने बीमा भनेको चाही यात्रुहरुको हित र संरक्षणको लागि हो । सरकारले गर्ने बीमा चाही कल्याणकारी राज्यको योजना अनुसार हो । यो ३ वटैलाई बुझेर स्पष्ट नीति ल्याउन आवश्यक छ । जहाँसम्म बीमाको दाबी विवाद छ । बिमितको मृत्यु पश्चात दाबी भुक्तानीमा विवाद आउने सम्भावना हुन्छ । थर्ड पार्टीमा ५ लाख दिंदा २० लाख माग्छन् । सिडिओ कार्यालयले बीमाको दाबी हेर्दा समेत पैसा माग गर्ने गरेको पाइन्छ । साथै, बीमितले समेत तत्काल पैैसा माग्नुको कारण बीमा कम्पनीहरु प्रति अविश्वास पैदा भएर हो । बीमा समेत एउटा कर्मचारीतन्त्रको अवधारणामा चलेको छ । बीमाको नाममा स्वच्छ बीमा गर्नेहरुको कमी छ । मोटर चोरी भयो भनेर अनावश्यक बीमा दाबी गर्ने बीमित समेत हामी कहाँ छन् । पोलिसी कम भयो भन्ने कुरा व्यवसायी, कम्पनी र सर्वसाधारणबाट उठ्दै आएको कुुरा हो । तर, पोलिसी बढाउदा प्रिमियम पनि बढछ । यो कम्पनीमा भएको अविश्स्वासको कारणले हो । छिमेकी मुलुक भारत लगायत अन्य मुलुकमा बीमा धेरै विश्वसनीय रहेको देखिन्छ । घटना घटेको कागज दिएपछि थप केही झण्झट आइ पर्दैन । नेपालमा बीमा कम्पनीहरुप्रति नै विश्वास नभएको अवस्था छ । त्यसकारण पटक पटक विवाद भइरहेको पाइन्छ । यातायात व्यवसायीहरुको मुख्य माग बास्केट फण्ड हुनैपर्छ भन्ने हो कि बीमा कम्पनीहरुको काममा सुस्तता आउन भएन भन्ने हो ? बीमा कम्पनीको काममा सुस्तता आउनु हुँदैन । सरकारले कुनैपनि बीमा कम्पनीहरुलाई बास्केट फण्ड राख्न दिनु हुँदैन । यसले कम्पनीको उच्चता मात्र वृद्धी गर्ने हो । यातायात व्यवसायी समितिले फण्ड राख्न नपाउने भने जस्तै कम्पनीले पनि पाउनु हुदैन । अन्य कम्पनीहरुबाट पनि अनियन्त्रित रुपमा पैसा उठाउने सम्भावना रहेकाले बास्केट फण्ड राख्न हँुदैन । नत्र फेरी विवाद आउन सक्छ । बीमा पोलिसी छर्लङ्ग हुन आवश्यक छ । जस्तै, घटना घट्नेलाई ५ लाख रुपैयाँ, १५ लाख रुपैयाँ हेड इन्जुरी तथा स्पाइनल कर्ड इन्जुरीलाई र मृतकलाई १० लाख रुपैयाँ भनेर पोलिसीमा कुरा उठेको छ । छिमेकी मुलुक भारत लगायत अन्य मुलुकमा बीमा धेरै विश्वसनीय रहेको देखिन्छ । घटना घटेको कागज दिएपछि थप केही झण्झट आइ पर्दैन । तपाईँको विचारमा बीमा समितिहरुले कसरी काम गर्नु पर्छ ? प्रतिस्पर्धाले विश्वसनीयता बढ्ने हो । सेवा भावले काम गर्नु पर्छ । बीमा कम्पनीहरुले हाम्रो आज हाकिम हुनुहुन्न, म आज ग्राहक भेट्दिन भन्न मिल्दैन । त्यस्तो गरे भने बीमा पोलिसी किन्न कोही जाँदैनन् । बीमा सर्वसाधारणको इच्छामा हुनुपर्छ । नत्र बीमामा विश्वास हुँदैन । बीमा भनेको शरीरमा चल्ने रगत जस्तै हुनुपर्छ । यस्को मतलब हो तीब्र गतिमा काम हुनु पर्छ । यात्रुको मृत्यु पश्चात दिइने बीमा रकम भन्दा घाइतेलाई दिइने बीमा रकम वृद्धी गरौँ भन्ने व्यवसायीहरुको माग छ । यसलाई कसरी हेर्नु हुुन्छ ? यो स्वभाविक हो । मृतकलाई एक पटक दिंदा हुन्छ । घाइतेलाई धेरै रकम दिनु पर्ने झण्झट हुन्छ । सोही कारण अनलिमिटेड बीमाको समेत कुरा उठिरहेका छन् । प्रिमियम बढ्छ अनलिमिटेड हुँदा । व्यवसायीहरुलाई यात्रु घाइते हुँदा केही अफ्ठ्यारो पारेको छ । सोही कारण एउटा लिमिटेसन तोक्न पाए राम्रो हुने थियो । अहिले ऐन कानुन भन्दा सामाजिका कुराले अप्ठ्यारो बनाउने गरेका छन् । बीमा कम्पनीलाई सवारीको भोलुम बताएर मात्र बीमा गर्न पाइने भन्ने व्यवसायीहरुको भनाई छ । के यो राम्रो हो ? बीमा कम्पनीहरुले यातायातको भोलुमका आधारमा विभिद गर्नु हुँदैन । आम सर्वसाधारणले घरमा भएको साईकलको समेत बीमा गर्न पाउनु पर्यो । यो वस्तुको बीमा भयो । अर्को सेवाको बीमा हुन्छ । सिट अनुसारको यात्रुको बीमा गर्नुपर्छ । अर्को भनेको थर्ड पार्टी इन्स्योरेन्स हो । यसमा वस्तु र सेवा भन्दा बाहेकको बीमा गर्न आवश्यक हुन्छ । हिड्दा अर्को व्यक्तिलाई ठक्कर दिंदा यो आवश्यक हुन्छ । मदिरा सेवन गर्ने भनेको कुरा बीमाले समेट्ने होइन । हाम्रो मापासे चेक हुन्छ । त्यसमा समेत कडाई गर्न आवश्यक छ । मदिरा सेवनले यातायातमा दुर्घटना निम्त्याउने गरेको कुरालाई कसरी न्यूनीकरण गर्ने, के सोच्नु भएको छ ? जीवन राम्रो बनाउन बैंक र बीमा नै आवश्यक छ । मदिरा सेवन गर्ने भनेको कुरा बीमाले समेट्ने होइन । हाम्रो मापासे चेक हुन्छ । त्यसमा समेत कडाई गर्न आवश्यक छ । तपाईँको विचारमा बीमा नीति तथा ऐनमा के कस्तो परिवर्तन गर्नु पर्ला ? परिवर्तन होइन परिमार्जन गर्न आवश्यक छ । बीमा निर्देशिका कानून नै निर्माण गर्नु आवश्यक छ । थर्ड पाटी २०६५/६६ बाट आएको हो । व्यवासयीको माग अनलिमिटेड बीमामा छ । अब त्यो गर्न सकिने/नसकिने आफ्नो ठाउँमा छ । यात्रा आफैँमा आवश्यकता, सिकाई, आनन्दको स्रोत विभिन्न कुरासँग जोडिएको हुन्छ । यदाकदा यात्रु वर्गले यातायात क्षेत्रसँग आफूलाई पूर्ण सुरक्षित मान्ने स्थिति कहिले सिर्जना होला ? बीमा गरेर मात्र हामी सुरक्षित हुने होइन । घटना घटेपछि मात्र बीमा रकम पाइने हो । बीमाले शोकलाई शक्तीमा बदल्ने हो । असुरक्षमा मापासेदेखी सडकको आकारको समेत कुरा हुन्छ । बीमाले सुरक्षा दिने मात्र हो । यातायात क्षेत्रमा धेरै कुराको सुधार जरुरी छ । मैले विभागको महानिर्देशकको रुपमा दैनिक फिलिम हेरेको छु । तर, रिमोट मेरो हातमा छैन । ६० सिट भएको सवारी साधनमा १ सय २० जना चढ्छन् । ६० जनाको मात्र बीमा हुन्छ । माईक्रोमा २० जनाको सिट हुन्छ । उनीहरुको माग बीमा हुन्छ, बाँकी कुकुर मरेजस्तै मर्ने हुन् । सवारी नम्बर प्लेटमा एकरुपता कसरी आउँछ ? सवारी दर्ताको आधारमा नम्बर प्लेट दिइन्छ । सोही कारण यसमा एकरुपता छ । यसलाई डिजिटलाईजेसन भने गर्न आवश्यक छ । सवारी चालक अनुमति पत्र प्राप्त गर्न भोग्नु परेका समस्यामा के–के प्रयास भएका छन् ? थुप्रै छन् । यसलाई समाधान गर्न आवश्यक छ । अम्ब्रेला पोलिसी ल्याएर काम गर्न सकिन्छ । नेपाल सरकारले यातायात व्यवसायी समिति खारेज गरी प्रालिमा जाने नीति ल्याएको थियो । त्यसको कार्यान्वनको पक्ष कहाँ सम्म पुग्यो ? हामीले सैद्धान्तिक र नीतिगत रुपमा भन्ने हो । सैद्धान्तिक र नीतिगत रुपमा अब नेपालमा सिण्डिकेट छैन । इन्धनका आधारमा भाडासमायोजन पनि गर्दै लैजानु पर्छ, यदि कर्पोरेट क्षेत्रलाई आकर्षक गर्ने हो भने । केही समय अघि ढुवानी व्यवसायीको आन्दोलन थियो । उनीहरुको आन्दोलन भ्याट र भेइकल कण्साइन्मेन्ट ट्रयाकिङ सिस्टमको विरुद्धमा थियो । त्यसको समाधान कसरी हुन्छ ? होइन त्यो भ्याट र भेइकल कण्साइन्मेन्ट ट्रयाकिङ सिस्टम हामीले भन्दा पनि राजस्व अनुसन्धान विभागले लगाएको हो । अब त्यो विषयमा धेरै कुरा होला । तर भेइकल ट्रयाकिङ सिस्टिममा विरोध गर्नु पर्ने कुनै कारण छैन । किनभने उहाँहरुले यो ठाउँबाट मैले सामान ढुवानी गरे र यो ठाउँमा लगेर सामान अनलोड गरे भनेर इन्फरमेसन सिस्टम एप्समा सूचना आउँदा के बिग्रन्छ र ? त्यो राम्रो कुरा हो । सवारी साधनको राजस्व नविकरणमा ढिलाई हुँदा शत प्रतिशत जरिवाना गर्ने प्रावधान आउँदैछ भन्ने सुनिन्छ । यो न्यायोचित छ त ? हामीले यस्तो गरेका छैन । तीन नम्बर प्रदेश सरकारले गरेको छ भन्ने सुनियो । मेरो विचारमा त्यो गर्नु हुदैन । त्यो गलत कुरा हो । नविकरण गर्दा राजस्व, जरिवाना शत प्रतिशत भन्ने कुरा चाहिँ हुदैन । नेपालको सवारी साधनमा धक्कामुक्का नखाइकन सुरक्षित यात्रा गर्ने दिन कहिले आउँछ ? त्यो दिन भोलिदेखि नै आउँछ । हाम्रा यातायातका साधन धेरै छन् । लगानीकर्ताहरु यो क्षेत्रमा लगानी गर्न पनि तयार छन् । मास ट्रान्सपोर्टेशन पनि बढेर गइरहेको छ । हामीले बजारमा गएर कार्यान्वन गर्न बाँकी छ । अरु सब्बै कुरो ठीक छ । यो कार्यान्वयन हुन नसक्नुको मुख्य कारण सबैको सबै माथि पहुँच हुनु हो । यसलाई हटाउनु पर्छ, तब मात्र त्यसको समाधान हुन्छ । नेपाल सरकारले बारम्वार २० वर्षे पुराना सवारी साधनहरु हटाउने निर्णय गरेको छ । तर, यसको पूर्ण रुपले कार्यान्वयन भने हुन सकेको छैन नी ? यसको पूर्ण रुपले कार्यान्वयन भएको छ । कोही कसैले गैरकानूनी धन्दा गरिरहेको छ भने ल्याउनुस् कारवाही गर्न तयार छु । त्यसलाई म अहिले नै गएर समात्छु । प्रत्येक वर्ष चाडवाडको समयमा यातायात व्यवसायीहरुको आन्दोलन, यात्रुको चापको कारण कालोबजारी हुने गरेको विषयमा सबै जानकार नै छन् । यो वर्षमा त्यस्तो हुन नदिन यातायात व्यवस्था विभागका के कस्ता योजनाहरु रहेका छन् ? त्यो कालोबजारी के के मा हुन्छ भने एउटा टिकेटमा हुन्छ । एउटा भाडामा हुन्छ । । अर्को कुरा यात्रुलाई ठग्ने काम हुन्छ । अब यो विषयमा चाहिं हामीले भाडाको दर पनि समयमा समायोजन गर्नु पर्ने हुन्छ । चाहे घटाउने हो, चाहे बढाउने हो त्यसलाई यकिन गर्न जरुरी छ । अहिले धेरै छ भने घटाई दिऔं । कम छ भने कति बढाउने त बढाई दिऔं । यसमा सबैको ध्यान जानै पर्छ । इन्धनका आधारमा भाडासमायोजन पनि गर्दै लैजानु पर्छ, यदि कर्पोरेट क्षेत्रलाई आकर्षक गर्ने हो भने । होइन भने उसले जसरी पनि लिन सक्छ । त्यसकारण यसलाई वैज्ञानिक बनाउनै पर्छ । लामो दुरीको यातायातमा त सीट भन्दा बढी यात्रु चढ्नै दिनु भएन । रुटै खारेज गर्नु पर्छ भन्छु म त । सवारी साधनमा सीट संख्या र यात्रु बराबर हुनु पर्ने प्रावधान पनि छ । तर यातयात व्यावसायीहरुले सिट भन्दा दोब्बर यात्रुहरु सवारी साधनमा चढाईरहेका हुन्छन् । यातायात व्यवसायीहरु सरकार भन्दा हावी भएका हुन् ? लामो दुरीको यातायातमा त सीट भन्दा बढी यात्रु चढ्नै दिनु भएन । रुटै खारेज गर्नु पर्छ भन्छु म त । हिजो यातायात व्यवसायीहरु सरकार भन्दा हावी भएकै हो अब चाहिँ सरकारको उपस्थिति हुन चाहिँ जरुरी छ । अनुगमन गर्न जरुरी छ । आजसम्म अनुगमन नभएकै हा, अब चाहिँ यसलाई व्यवस्थित गर्नै पर्छ । यातायात क्षेत्र देश विकासको महत्वपूर्ण पूर्वाधार पनि हो । तपाईँको भर्खरै विभागबाट सरुवा भयो र अहिले फेरि पुनर्वहाली पनि भएको छ । अब यसलाई व्यवस्थित र बिस्तार गर्नको लागि तपाईँका आगामी योजनाहरु के-के छन् ? यसको रुट व्यवस्थापनदेखि लिएर क्षमता भन्दा बढी सवारीलाई चल्न नदिने, भाडादरलाई समायोजन गर्दै लैजाने, ड्राइभिङ लाइसेन्सलाई वैज्ञानिकरण गर्दै लैजानु पर्छ । ट्याक्सी र इलेक्ट्रीकल भेइकल्सहरुलाई बैज्ञानिक बनाउँदै लैजानु पर्छ ।
साढे १३ लाख चोरी गर्नै एक युवक पक्राउ
विराटनगर । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो । पक्राउ परेका कामतको साथबाट नगद रु तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको रु एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजले बताए । कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए । रासस
भेहिकल फिटनेस सेन्टर’ को क्षमता आवश्यकताभन्दा ज्यादै कम
काठमाडौं । उपकरणको प्रयोगबाट सवारी साधनको प्रदूषण परीक्षण गर्ने एकमात्रै कार्यालयका रुपमा रहेको ‘भेहिकल फिटनेस सेन्टर’ले अपेक्षाकृत रुपमा काम गर्न सकेको छैन । सवारी साधनको प्रदूषण जाँच गर्ने केन्द्रका रुपमा रहेको ‘भेहिकल फिटनेस सेन्टर’ को क्षमता आवश्यकताभन्दा कम रहँदा यसले सरकार र नागरिकले चाहेजसरी सेवा दिन नसकेको हो । देशभरमा लाखौँ सवारीसाधन रहेकामा यस केन्द्रमा दैनिक झण्डै ६० वटा मात्रै सवारीसाधन परीक्षण गर्न सक्ने क्षमता छ । केन्द्रले एक घण्टामा दैनिक पाँचदेखि छ वटासम्म र एक दिनमा सात घण्टा काम गर्ने हुनाले धेरै सवारीको परीक्षण हुन नसक्ने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताएका छन् । उनका अनुसार यस केन्द्रमा ट्याक्सी, टेम्पो र माइक्रो बसको सवारी परीक्षण उपकरण र मानिस दुवैले गर्दै आएका छन् । त्यस्तै विद्युतीय बसको सक्षमता र रात्रि बसको स्तर निर्धारणको काम केन्द्रले गर्दै आएको छ । पौडेलले भने, “देशका धेरै ठाउँमा यस्ता केन्द्र खोल्न आवश्यक छ, एउटा केन्द्र मात्रै पर्याप्त छैन ।” सीमित सवारी साधनको मात्रै सवारी जाँच हुने गरेकामा सबै प्रदेशमा केन्द्र स्थापना गरेर सबै सवारी साधनको नियमित परीक्षण हुनुपर्नेमा उनको जोड छ । अहिले काठमाडौँ उपत्यकामा चल्ने सानाको मात्रै प्रदूषण जाँच गरेकामा ठूला सार्वजनिक, निजी, सरकारी, संस्थान र कूटनीतिक नियोगका सवारी साधनको नियमित परीक्षण हुनुपर्ने उनले बताए । रासस