विकासन्युज

शर्मिलाको सफलताः ‘किर्तिपुरबाट शुरु भएको व्यवसायिक यात्रा भोजपुरसम्म’

काठमाडौं । किर्तिपुर स्थित रामलक्ष्मण अर्गानिक एग्रीकल्चर फर्ममा पुग्दा शर्मिला अधिकारी तरकारी गोडमेलमा व्यस्त भेटिन्छिन् । त्यसो त उनी उक्त फर्मको सञ्चालिका हुन् । फर्म सञ्चालिका भएपनि उनी मिहिनेतमा विश्वास गर्छिन् । त्यही मिहिनेत र परिश्रमले उनलाई अहिले करोडपति बनाएको छ । ४ वर्ष अघि करिब १५ लाख लगानी गरेर उनले उक्त फर्म सञ्चालन गरेकी हुन् । ६ रोपनी क्षेत्रफल जग्गामा ४ वर्षअघि अर्गानिक तरकारी खेती शुरु गरेकी थिइन्, यो अवधिमा उनको फर्मबाट एक करोड २० लाख आम्दानी भएको बताउँछिन् । २०७२ साल मंसिर महिनाबाट शुरु भएको उक्त राम लक्ष्मण अर्गानिक एग्रीकल्चर फर्ममा दैनिक पाँच जनाले रोजगार पाइरहेका छन् । शर्मिला एक महिला हुन्, हाम्रो समाजले महिलालाई कमजोर सोच्छ, तर उनले आफ्नो व्यवसाय सफलताका साथ अघि बढाएकी छिन् । किर्तिपुरको सफतलापछि भोजपुरमा व्यवसाय बिस्तार त्यही फर्ममा काम गर्दैगर्दा आफ्नो गाँउ भोजपुरमा एक सय ५० रोपनीमा करिब एक करोड लगानी गरी श्रीमान् निरबहादुर राउतको सहयोगले ‘राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन प्रालि मार्फत कृषि र पशुपालनको काम अघि बढाएकी छिन् । भोजपुर, बालङ्खा गाउँपालिका ४, आमचोकमा ५० रोपनी जमिनमा अलैँची, ३० रोपनीमा किवी तथा अन्य जमिनमा कागती, टिमुरको नर्सरी, कफिको नर्सरी, अवकडो सिताकी च्याउ(३ सय मुडामा) खेति भइरहेको छ । २५ वटा बाख्रा, १० भैंसी १० सो फर्ममा पालिएको छ । त्यहाँ दैनिक १५ जनाले काम पाइरहेका छन् । यता, सिन्धुलीका यकबहादुर सिङ्तानसँगको सहकार्यमा सर्मिला अधिकारी र उनका श्रीमान् निरबहादुरको सहकार्यमा नार्गजुन नगरपालिकाको रामकोटमा मैत्री मङ्गलम अर्गानिक कृषि फर्म सञ्चालन गरेको बताउँछिन् । १ सय २८ रोपनी क्षेत्रमा फैलिएको उक्त अर्गानिक कृषि फर्मबाट मासिक १५ लाखदेखि २० लाखसम्म आम्दानी हुने गरेको छ । उक्त फर्ममा ४० जनाले रोजगारी पाएका छन्, सो कृषि फर्म डेढ करोड रुपैयाँमा शुरु गरिएको हो । कामप्रति सन्तुष्ट शर्मिला गोरखाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी उनले विसं.२०३८ सालमा एसएलसी पास गरेकी हुन् । त्यसपछि अध्ययनका लागि काठमाडौं आइन्, आईए पढ्दै गर्दा उनको विवाह भयो र पढाई रोकियो । उनका श्रीमान बैदेशिक रोजगारी शिलशिलामा यूएई गए, केही समयपछि उनीपनि यूएई गइन् र ४ वर्षपछि स्वदेश मै केही गर्नु पर्छ भनेर व्यवसाय शुरु गरेको बताउँछिन् । केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट वैदेशिक रोजगारबाट फर्किएर व्यवसायमा आवद्ध भएकी उनले उद्यमी सम्मान पाएकी थिइन्, सम्मान पाएको क्षण सम्झदै उनी भन्छिन्–‘यस सम्मानले आफ्नो दायित्व झन् बढाएको छ, कामप्रतिको चाहाना एवम् उत्साह दिनप्रति दिन बढ्दै गएको छ ।’ आगामी योजना रामलक्ष्मण अर्गानिक एग्रीकल्चर फर्मलाई निरन्तर सञ्चालन गर्दै जाने र उक्त फर्म भएको स्थानमा होलसेल तरकारी बजार सञ्चालन गर्ने उनको विचार छ । उनले अहिले आफूहरुको ध्यान भोजपुरमा केन्द्रित भएको, त्यहाँको फर्मलाई व्यवस्थित बनाउने र अगामी दिनमा एग्रो सेन्टर बनाउने तयारी रहेको योजना सुनाइन् । वैदेशिक रोजगारमा नजानु भन्नु भन्दा त्यहाँबाट केहि सिकेर आफ्नो देशमा कार्य गर्नु पर्ने बताइन् । विदेशमा बगाउने पसिना नेपालमा बगाउन सकियो भने सामान्य जीवन बिताउनका लागि घरपरिवारबाट टाढा भई बस्नु पर्दैन । उनी भन्छिन्–‘आफ्नो देशको भौगोलिक अवस्था अनुसार सरकारीस्तरबाट कृषि क्षेत्रमा बजेट तथा तालिम प्रदान गरी कुन ठाउँमा के उत्पादन गर्दा उत्तम हुन्छ भन्ने कुरा कृषि विज्ञबाट तालिम प्रदान गर्ने हो भने न कुनै बाँझो जमिन न त बेरोजगारीको अवस्था सिर्जना हुन्छ ।’ बजारको चुनौती कृषकले गरेका उत्पादनले बजार भाउ राम्रो नपाउँदा तोकिएको मूल्यमा कृषि उत्पादन बिक्री गर्न गाह्रो हुँदै आएको र विचैलियाले कृषकलाई ठगी गरिरहेको बताइन् । किसानले उत्पादन गरेको तरकारीको मूल्य सरकारले नै सुनिश्चित गरी दिने व्यवस्था गर्नु पर्ने उनको भनाई छ । ‘सरकारले विऊ, मल, सिचाईँको व्यवस्था गर्ने र उत्पादन गरेका वस्तुको बिक्रीका लागि निर्धारित बजार हुने हो भने कुनैपनि युवा जनशक्ति रोजगारीका लागि विदेशिनु पर्दैन’-उनले भनिन् ।

राक्षसलाई धपाउने नेवार समुदायकाे माैलिक पर्व गठामुंगः धुमधामले मनाइँदै

भादगाउँ । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले आफ्नो घरगृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् । विशेषगरी किसानले वैशाख महिनामा पर्ने अक्षय तृतीयाका दिन रोपाइँलगायतका बढी बल प्रयोग हुने कामका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले तान्त्रिक विधिले आह्वान गरेर बोलाएका भूतप्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्वारा नै बिदा गर्ने पर्वको रूपमा समेत लिइन्छ । यस दिन शिवपुत्र भगवान् कुमार कार्तिकेयको पूजाअर्चना गरिन्छ । भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गरिन्छ । यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ । यस दिन नेवार समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबैले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ । घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुडासमेत धोएर चोखो बनाउनु पर्दछ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ । घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ । त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबाटोमा फाल्ने कार्य) सम्पन्न गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोबाटोमा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्यालढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौँ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ । घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक–चोकमा ठड्याएर राखिन्छ । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीकस्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगर बाहिर लगेर जलाइन्छ । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लील शब्दहरु प्रयोग गर्दै गीत गाउँदै जाने गरिन्छ । यस पर्वलाई किसानहरुको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँकार्य सम्पन्न भएको) र चाडपर्वको शुरुआत भएको सङ्केत पर्वको रूपमा पनि लिने गरिएको छ । नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गरिन्छ । नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि यो पर्व मनाउँदै आएको उनले बताए । यस पर्वलाई मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा. श्रेष्ठको भनाइ छ । प्रचलित किंवदन्तीअनुसार कानमा घण्ट झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकको रूपमा पनि लिइन्छ । परापूर्वकालमा देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन नपराउने बडेमानको शरीर भएका एक व्यक्ति थिए, जसले भगवान्को नाम सुन्न पर्ला भनेर कानमा ठूला–ठूला घण्ट झुण्ड्याएर हिँड्ने गर्दथे । घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो । कानमा घण्ट झुण्ड्याएको हुनाले त्यसलाई घण्टाकर्ण भन्न थालियो । उसलाई सुनभन्दा फलाम मन पथ्र्यो । विस्तारै उसले दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने, बाटामा हिँड्नेसँग जगात (कर) माग्ने, जनतालाई दुःखकष्ट दिने, महिला र बालिकामाथि व्यभिचार गर्ने गर्न थाल्यो । एक दिन उसलाई साह्रै भोक लागेको बेला आहाराको खोजीमा चौबाटोमा निस्कियो र उसको एउटा भ्यागुतोसँग भेट भयो । भ्यागुतोसँग उसले मानवबस्ती कहाँ छ भनेर सोध्यो । भ्यागुतोले घण्टाकर्णलाई धाप (भास भएको जमिन) तर्फ बाटो देखाउँदै त्यहीँ मानिसको बस्ती छ भनेर पठायो । घण्टाकर्ण त्यतै लागे तर ऊ धापमा फस्यो । जति निस्कन खोज्यो त्यति उनी भासिँदै गयो । साँझको समय भएकाले ऊ रातभर त्यही भासमा फँस्यो । भोलिपल्ट बिहान गाउँलेहरूले ढुङ्गाले हानेर उसलाई मारे । यसै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने परम्परागत देवीदेवताका नाचसहित व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि शुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि यसै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । रासस

मेलम्चीको बाँकी काम गर्न प्राप्त बोलपत्रको मूल्याङ्कन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको कार्य सम्पन्न गर्न प्राप्त बोलपत्र मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७५/०७६ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक समीक्षा बैठकमा आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले उक्त जानकारी गराएका हुन् । सुन्दरीजलस्थित भेन्टिलेसन साफ्टको ड्रिल गर्ने काम सकिएको उनले बताए । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिकाबारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए । समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आव २०७५/०७६ मा समग्र भौतिक प्रगति ८४ र वित्तीय प्रगति ८१ प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए । खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी सेवा नियमन तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८८ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ८९ दशमलब ५८ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ८९ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिए । आव २०७५/०७६ मा ३९ वटा क्रमागत सहलगानीका आयोजनाहरु मध्ये ९ वटा सम्पन्न भई १ लाख ४० हजार ८ सय ९५ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत १० वटा आयोजनाहरु सम्पन्न भई १ लाख ३ हजार २ सय २५ जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये १० वटा सम्पन्न भई करिब ६३ हजार जनसंख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव तेजराज भट्टले गराए । समीक्षा बैठकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९३ प्रतिशत रहेको महाप्रबन्धक डा. महेश भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको छ । बोर्डले गत आर्थिक वर्षमा ३५ स्थानमा बर्षातको पानी संकलन प्रविधि जडान सम्पन्न गरेको, उपत्यकाभित्र १२ स्थानमा खानेपानीको स्रोतको संरक्षण गरेको र उपत्यकाभित्रै १७ किलोमिटर पाइप लाइन विस्तार गर्ने भनिएकोमा २५ कि।मी। विस्तार भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिवविक्रम राणाले जानकारी दिए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ७८ प्रतिशत रहेको बताइएको छ । बैठकमा खानेपानी मन्त्री मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु द्रुत गतिमा अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिइन् । उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याइन् । मन्त्री मगरले भनिन्–‘मन्त्रालयको यो तेस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । सबै जनतालाई सुरक्षित खानेपानीको सर्व सुलभ पहुँच पुर्याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन ।’ पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत आगामी असोज मसान्तसम्म नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा लाग्न मन्त्री मगरले सबैलाई आग्रह गरिन् ।  बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी कामहरु अघि बढाउन र पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न आग्रह गरिन् ।

१३ लाख चोरी गरी १ लाखको मोबाइल, प्रहरी फन्दामा सुरज कामत

विराटनगर । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो । पक्राउ परेका कामतको साथबाट नगद रु तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको रु एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजले बताउनुभयो । कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए ।

घुससहित नायब सुब्बा र लेखनदास पक्राउ

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो । मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

एनआईसी एशियाले दियो जेष्ठ नागरिक मिलन केन्दलाई एलईडी टिभी

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

पूरा भएन २८७ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, चालु आवमा के होला ?

काठमाडौँ । गत आव २०७५/७६ मा २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुन सकेन । २० वटा जलविद्युत आयोजनाहरुबाट २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारले सोचेअनुरुपको उपलब्धी हासिल गर्न नसकेको हो । गत आवमा १ सय ४३ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडेको छ । विद्युत विकास विभागकी सूचना अधिकारी निशा रिजालले व्यावसायिक विद्युत उत्पादन अन्तर्गत चार वटा जलविद्युत आयोजनाहरुबाट करिब ४० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको बताइन् । २२ मेगावाटको बाग्मती साना जलविद्युत आयोजना, ८.८ मेगावटको रुदी ए जलविद्युत आयोजना, ७.८ को सुपरमाई जलविद्युत आयोजना र ३.३३ मेगावाटको कापडी गाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रि प्रशारण लाइनमा जोडिएको छ ।  लक्ष्य अनुरुपको विद्युत उत्पादन हुन सकेन, सूचना अधिकारी रिजालले भनिन्-‘विद्युत कम हुनमा ट्रान्समिसन लाईन बनिसकेको छैन, ट्रान्समिसन लाईन नभएपछि हाइड्रोपावरको प्रोगेस पनि कम भयो, सोचे अनुरुपको लक्ष्य भेटाउन सकिएन ।’ नेपाल सरकारले चालु आवमा पनि ३३ वटा जलविद्युत आयोजनाहरु सञ्चालन गर्ने योजना बनाएको छ । जसबाट १ हजार ३६ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।  उर्जा, जलस्रोत तथा सिचार्इँ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले प्रोजेक्ट निर्माणमा गरेको पूर्वानुमान नमिलेर लक्ष्य अनुसारको विद्युत उत्पादन नभएको बताए । गत आवमा सम्पन्न भएका आयोजनाहरुमा २५ मेगावाटको शिवाखोला सानो जलविद्युत आयोजना, ३०.२ मेगावाटको तल्लो हंगुखोला साना जलविद्युत आयोजना, २१.४ मेगावाटको इन्खुखोला साना जलसविद्युत आयोजना, ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना, १५.२५ मेगावाटको जावाखोला जलविद्युत आयोजनाहरु रहेका छन् । यस्तै ४ सय ५६ मेगावाटको उपर तामाकोशी, ४० मेगावाटको खानीखोला, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, २३.५ मेगावाटको सोलु जलविद्युत आयोजना सहित ३३ वटा जलविद्युत आयोजनाहरु यस वर्षमा निर्माण गरी सक्ने सरकारको लक्ष्य रहेको छ । तर, गत आवमा लक्ष्य पूरा गर्न नसकेको अवस्थामा चालु आवमा पनि लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्न सकिन्छ । गत आव २०७५/०७६ मा सरकारले करिब १ अर्ब ४९ करोड ४१ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि (पलेर्मो प्रोटोकल)को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दवाउने र सजाय गर्ने परिपूरक उपलेख दुई  कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका बारेमा उक्त अन्तरक्रिया केन्द्रित रहेको थियो । हाल नेपाल पनि अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्तराष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले सदस्य राष्ट्र भएको र अब यस्ता संगठित अपराध रोकिने नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीले बताए । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । मानव अंग वेचविखनका साथै श्रम  शोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढेको भन्दै यसको निराकरणका निम्ति पलेर्मो प्रोटोकल उपयोग हुने धारणा महिला कानून र विकासमञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठले राखे । साथै उनले भने – ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ । नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ, पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्‍वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।’ यसैगरी यस सम्बन्धी कानूनी प्रावधानबारे अधिवक्ता रोसना प्रधानले प्रकाश पारिन् । उनले भनिन् – ‘न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।’ महिला कानून र विकास मञ्च, युएस उड, युके एड, विनरकले सो कार्यक्रमको संयुक्त रूपमा आयोजना गरेका थिए ।