विकासन्युज

कृषिमा दश प्रतिशत लगानी पुर्याउन राष्ट्र बैंकको निर्देशन, वाणिज्य बैंकहरुले गरे बेवास्ता

नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य बैंकहरूले कृषिमा गत आवको जेठ मसान्तसम्ममा जम्मा ८.६ प्रतिशत मात्र कर्जा लगानी गरेको उल्लेख छ । साना किसान राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गए पनि वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्ने, झण्झटिलो प्रक्रिया बनाइदिने र ढिलासुस्ती गरिदिनाले कृषि कर्जा सर्वसुलभ नभएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति साउन ८ गते सार्वजनिक गरेको थियो । सामान्यतया बजेट पेश भएको एक महिनापछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ । यसअघि जारी भएको मौद्रिक नीतिलाई निरन्तरता दिँदै राष्ट्र बैंकले कूल पूँजीको पुनःअनिवार्य १० प्रतिशत लगानी कृषि क्षेत्रमा पुर्याउन वाणिज्य बैंकहरूलाई मौद्रिक नीतिमार्फत निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०५९/०६० देखि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिले सहुलियतपूर्ण कृषि कर्जा लिने ऋणीको सङ्ख्यामा भने उल्लेखनीय वृद्धि भएको जनाएको छ । असार मासन्तसम्म सो प्रकारको ऋण लिने किसानको सङ्ख्या १५ हजार ९१६ छ भने उनीहरुसँग रु २९ अर्ब ३६ करोड कर्जा बक्यौता छ । नेपाल सरकारले कृषि कर्जामा पाँच प्रतिशत ब्याजमा अनुदान दिने व्यवस्था गरेको छ । यस वर्ष सहुलियतपूर्ण कर्जाका लागि सरकारले कूल रु एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको हाे । कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ । रु १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशत मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समयअगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिले गरेको छ । साथै, बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था छ । रासस

उपत्यकामा माेटरसाइकल दुर्घटनाबाट ज्यान गुमाउने धेरै

काठमाडौं । उपत्यकामा हुने सवारी दुर्घटनामा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परी धेरै यात्रुको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका २५४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा मात्र ११५ यात्रुले ज्यान गुमाएका छन् । मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाहेक सबैभन्दा धेरै ९३ पैदलयात्रुले उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । यसैगरी कार दुर्घटनामा १६, बस दुर्घटनामा १२, ट्रक दुर्घटनामा १२, साइकल दुर्घटनामा पाँच र माइक्रो दुर्घटनामा एक यात्रुले ज्यान गुमाएका छन् । आव २०७४/७५ मा उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका १९४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर चालक १११ जना रहेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त ठूलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारी दुर्घटना बढेको बताउँछन् महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारी साधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायतका काम गर्दै आएको छ । आव २०७५/७६ मा उपत्यकामा आठ हजार ५११ सवारी साधन दुर्घटना भएको थियो । सो मध्ये ३१७ व्यक्ति गम्भीर घाइते तथा पाँच हजार ८९० व्यक्ति सामान्य घाइते भएको महाशाखाले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले साँघुरो बाटो र तीव्र गतिका कारण नै बढी दुर्घटना हुने गरेको बताए । आव २०७५/७६ मा देशभर १३ हजार ३६६ सवारी साधन दुर्घटना हुँदा दुई हजार ७८९ जनाको मृत्यु भएको हो । यो सङ्ख्या आव २०७४/७५ को भन्दा बढी हो । आव २०७४/७५ मा सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाले ज्यान गुमाएका थिए । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेल उपत्यकामा हुने सवारी दुर्घटनामध्ये ८८.४६ प्रतिशत दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको बताए । “तीव्र गतिका कारण ६.१६, मादक पदार्थ सेवनबाट ३.३२ र ओभरटेकबाट ०.८७ प्रतिशत सवारी दुर्घटना हुने गरेको छ”, उनले भने। कोटेश्वर–कलङ्की सडक खण्डमा पछिल्लो समय बढी दुर्घटना हुने गरेको उनको भनाइ छ । ट्राफिक प्रहरीले उपत्यकाको बढी दुर्घटना हुने स्थानको पहिचान गरी टाइम कार्डसमेत लागू गरेको छ । “सडक सुरक्षा र दुर्घटनालाई कम गर्न विद्यालयको पाठ्यक्रममा सडक सुरक्षासम्बन्धी जानकारीमूलक सामग्री राखेर अध्ययन गर्नुपर्छ”, प्रवक्ता पौडेलले भने । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अगाडि सारेका छन् । उक्त साझेदारीको मुख्य उद्देश्य नै देशभर बढ्दै गएको सवारी दुर्घटनालाई कम गर्नु हो । महानिरीक्षक खनाल सडक सुरक्षित भए मात्र सवारी दुर्घटना कम हुने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाख हाराहारीमा सानाठूला सवारी साधन सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले उपयोग गरे २२ अर्ब ३९ करोड पुनर्कर्जा, ८३ प्रतिशतले बढ्यो

काठमाडौं । उत्पादनशील क्षेत्रमा लगानी बढाएर निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान हुँदै आएको पुनर्कर्जा गत आर्थिक वर्षको असार मसान्तसम्म २२ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यो पुनर्कर्जा अघिल्लो असार २०७५ को भन्दा ८३ प्रतिशतले बढी हो । राष्ट्र बैंकले अघिल्लो असार मसान्तसम्म १२ अर्ब २३ करोड पुनर्कर्जा वितरण गरेको थियो । गत जेठसम्म भने यस्तो कर्जा २२ अर्ब ४० करोड थियो । कर्जा प्रवाह र भुक्तान भइरहने भएकोले कर्जा तलमाथि हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘राष्ट्र बैंकसँग ३५ अर्बसम्म पुनर्कर्जा दिन सक्ने क्षमता छ,’ उनले भने । २०७६ असार मसान्तसम्म राष्ट्र बैंकले प्रवाह गरेको पुर्नकर्जामध्ये करिब साढे १९ साधारण पुर्नकर्जा हो भने बाँकी अन्य निर्यात पुनर्कर्जा हो । विपन्न वर्गअन्तर्गत न्यून आयस्रोत भएका, सामाजिक रूपमा पिछडिएका जनजाति, महिला, शारीरिक अपांगता भएका र सीमान्तकृत समुदायलाई लक्षित गरी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले पुनर्कर्जामा लगानी बढाएका हुन् । राष्ट्र बैंकले आर्थिक वर्ष ०१९/२० सालदेखि नै सहुलियतपूर्ण कर्जा (पुनर्कर्जा) सुविधा कार्यान्वयनमा ल्याएको हो । हाल तोकिएका उत्पादनशील क्षेत्र, विपन्न वर्ग, निर्यातलगायत क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्दै आएको छ । राष्ट्र बैंकले साधारण, विशेष, निर्यात, भूकम्पपीडितलगायत क्षेत्रमा विभिन्न दरमा पुनर्कर्जा सुविधा दिँदै आएको छ । सोमध्ये साधारण पुर्नकर्जा राष्ट्र बैंकले तीन प्रतिशतमा उपलब्ध गराउँछ भने बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ७ प्रतिशतको सीमामा रहेर उक्त कर्जा उपलब्ध गराउनु पर्ने हुन्छ । विशेष र निर्यात पुनर्कर्जा १ प्रतिशतले राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको छ । भूकम्प पीडितले भने शुन्य ब्याजमा यस्तो कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले मिलाएको थियो । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत ३५ अर्बको पुर्नकर्जा कोष बनाउने घोषणा गरेको थियो ।

चितवन मेडिकल कलेजबाट चार लाखभन्दा बढीले पाए उपचार 

चितवन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा (ओपिडी) मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिएका छन् । आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ३६ प्रतिशत भने दुर्घटनाका बिरामी हुन् । सोही अवधिमा ४२ हजार ७०६ बिरामी भर्ना भएर सेवा लिएका छन् । त्यस्तै दुई हजार ९९३ ले निःशुल्क प्रसूति, सात हजार ८३० ले शल्यक्रिया, दुई हजार ५२८ ले मुख्य शल्यक्रिया सेवा लिएका छन् । गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटिस्क्यान, दुई हजार ९७९ को एमआरआई, ५१ हजार ८६९ को युएसजी (भिडियो एक्स–रे) गरिएको थियो । सो अवधिमा ७४ हजार ४६३ जनाले बीमामार्फत सेवा लिए । भर्ना हुने बिरामीमध्ये पाँच हजार ६८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रबन्धक पारस अधिकारीले जानकारी दिए । अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर छ हजार ५५१ जनालाई सेवा दिएको थियो । अस्पतालले ७०० श्ययाको अनुमति लिएको छ । शुरुआतका वर्षमा अस्पतालबाट थप उपचारका लागि काठमाडौँ जानेको सङ्ख्या ठूलो भए पनि हाल यो सङ्ख्या एक प्रतिशतभन्दा कम रहेको अधिकारीले दावी गरेका हुन् । यसैबीच, अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृति समेत पाइसकेको छ । विश्व हेपाटाइटिस डे (जुलाई २८) का अवसरमा आइतबारदेखि कलेजो प्रत्यारोपण सेवा शुरु गरेको हो । अस्पतालका निर्देशक डा. लम्सालका अनुसार चितवनमा नै पहिलोपटक हेपाटाइटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलबाट दैनिकरुपमा यो सेवा उपलब्ध हुँदै आएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भइसकेको जानकारी दिँदै अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार बहिरङ्ग सेवामा कलेजो दिने र लिने दुवैको स्वास्थ्य परीक्षण, परामर्श सेवा दिइनेछ । न्यौपानेका अनुसार चितवन मेडिकल कलेज निजीमा सबैभन्दा बढी सङ्कायको पढाइ हुने कलेज हो । प्रविणता प्रमाणपत्र तह देखि स्नातकोत्तरसम्मको स्वास्थ्यसँग सम्बन्धित विभिन्न २६ वटा सङ्कायको पढाइ हुँदै आएको छ । न्यौपानेले सघन उपचार तथा बाल सघन उपचार कक्षजस्ता अत्यावश्यक जटिल उपचारमा पनि अस्पतालले सेवा दिइरहेको बताएका छन् । गङ्गालालपछिको मुटु रोगको उपचारमा चितवन मेडिकल कलेजलाई लिइने गरेको न्यौपानेको दावी छ । रासस

शिवको महिना साउनः कुन सोमबार के चढाउँदा के फल पाइन्छ ?

काठमाडौँ । साउन महिनामा हरेक सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवम् बार मानिन्छ । यो दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यस वर्ष साउनमा ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलो सोमबार शिवालयमा एक मुठ्ठी चामल दान गरे दरिद्रता अन्त्य हुने विश्वास छ । दोस्रो सोमबार एक मुठ्ठी जौ, तेस्रो सोमबार एक मुठ्ठी मुगीको दाल र चौथो सोमबार एक मुठ्ठी सातु चढाउदा मनोकांक्षा पूरा हुने धार्मिक विश्सास छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । छोरी मान्छेले गरेको धर्म, छोरा मान्छेले गरेको कर्म र भगवानको मर्मले सफलता चुम्म सकिने नेपाली समाजको विश्वास छ । साउन महिनालाई हरियो महिना भनिन्छ । प्रकृतिमा पनि हरियाली छाएको हुन्छ । साउनमा महिलाहरु हरियो सारी, हरियो चुरा र हरियो धागोमा सजिएर हिड्न मन पराउँछन् । साउनबाटै हिन्दुहरुको चाडपर्वहरु नागपञ्चमी, हरितालिका, ऋषि पञ्चमी, जनैपूर्णिमा लगायत पर्वहरुको पनि शुरुवात हुन्छ ।

काठमाडौं र पोखरामा ग्लोबल रिचको एजुकेसन फेयर सम्पन्न, चितवन र बुटवलमा हुँदै

काठमाडौं। ग्लोबल रिच नेपालको गत शनिबार अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएकाे छ। फेयरमा नौसयभन्दा बढि विद्यार्थी सहभागी भएकाे ग्लोबल रिचले जानकारी दिएको छ। बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालित मेलामा अपेक्षाभन्दा राम्रो संख्यामा विद्यार्थीहरु सहभागी भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले बताए । मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं केलेजहरु सहभागी थिए । अष्ट्रेलियाका यति धेरै शैक्षिक संख्याहरु सहभागी गराई मेला गर्ने ग्लोबल रिच एक मात्रै संस्था हो । सन् २०१२ देखि नै यसरी मेला गर्दै आएको यस संस्थाले आइतबार पोखरामा सम्पन्न गराइ सोमबार चितवनमा र मंगलबार बुटवलमा पनि मेला गर्दैछ । चितवनको भरतपुर गार्डेन रिसोर्टमा र बुटवलस्थित ग्लोबल रिचको कार्यालय ९राजमार्ग चौराहा, प्रधान हाइट, पहिलो तल्ला०मा मेला आयोजना हुनेछ । मेलामा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिएको भन्दै बजाजले विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र कुरा बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहेका थिए । जो विद्यार्थीहरुले तयारीका साथ डकुमेन्ट लिएर अाएका थिए, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाएकाले पनि यस मेलाबाट विद्यार्थीले लाभ लिएको बजाजले बताए ।

गण्डकी प्रदेशले भित्र्यायाे तीन लाख विदेशी पर्यटक, धेरै भारतबाट

चिप्लेढुंगा । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर आएको हो । यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्याङ्क कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए । प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/ ७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिए । तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन् । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ । गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन् । गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या एक लाख २० हजार ९ सय ३८ रहेको सुचना अधिकृत परियारले जानकारी दिएका छन् । त्यसैगरी, एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ । स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क संकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन । रासस

ट्राफिक प्रहरीले उठायाे नाै हजार सवारीसाधन कारबाहीबाट ५७ लाख राजश्व

बागलुङ । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४/०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए । यसरी, नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, मोटरसाइकल दुई हजार ६५४ र अन्य ४० गरी नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका हुन् । कागजात नभएका, बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवनजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताएका छन् । उनका अनुसार पछिल्लो समय दुर्घटना हुने क्रम पनि बढ्दो छ । विशेष गरी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेका छन् । गएको आवमा २५ सवारी दुर्घटनामा परेको प्रहरीको आँकडाले देखाएको छ । दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएको र २९ जना घाइते भएका छन् । बढ्दो शहरीकरणसँगै सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसैबीच, प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आइतबार जिल्लाका सरोकार भएका पक्षबीच सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा अन्तरक्रिया गरेको छ । ट्राफिक नियम पालनामा सबै पक्षबाट सहयोग र समन्वयको प्रतिबद्धता आएको छ । रासस