विकासन्युज

२ नम्बर प्रदेशका बाढी, डुबान प्रभावितलाई अझै राहत पुगेको छैनः मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनर्स्थापना नभएको गुनासो पोखेका छन् । उनले भने,‘२ नम्बर प्रदेश बाढी र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने,‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुगेन भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन् । तर राहत धेरैलाई पुगेको छैन् ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढी तथा डुवानको समस्या आएको स्पष्ट पारे । उनले भने,‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन ।एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन र अहिले यो समस्या आएको हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको उनले सुनाए । उनले भने,‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिएको छ । हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु । उनले पनि नदी, तटबन्धन लगायतका विषयमा दीर्घकालीन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिएका छन् ।’ राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए । उनले भने,‘सिँगो प्रदेश लागिपर्दा पनि यो विपत्ति सामना गर्ने हामीसँग क्षमता छैन् । अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ । टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ ।’ मुख्यमन्त्री राउतले बाढी र डुवानबाट तराईमा धेरै ठूलो क्षति पुगेको सुनाए । उनले भने,‘क्षति सानो छैन् । हजारौं बिघा सिँचाईयोग्य जमिन बालुवाले पुरिएको छ । अहिले ती खेतीयोग्य छैनन् ।’ यस्तैगरी, चुरे दोहनका कारण अहिलेको समस्या आईपरेको उनको टिप्पणी छ । उनले भने,‘लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन भएको छ । त्यसका कारण पहिरो गएको छ । अब पनि दीर्र्घकालीन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ । बरु, चुरे दोहन रोक्ने प्रोजेक्लाई के नाम दिने हो त्यो बरु सोच्नुपर्छ ।’ तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाई छ । भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएको पनि उनले जानकारी गराए । अन्य जिल्लामा पनि खाद्यान्न वितरणको काम भैरहेको राउतले जनाए । उनले भने,‘अहिलेसम्म बाहिरको सहयोग आएको छैन् । प्रदेश र स्थानीय सरकारको आर्थिक अवस्थाले राहत तथा पूर्नस्थापनाको लागि भ्याउँदैन् । जति हामीले आशा गरेका थियौं, त्यति सहयोग भएको छैन् ।’ आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि तटबन्धनहरुको म्यापिङको लागि आग्रह गरेको सुनाए । त्यस्तै, उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंसा गरे । मुख्यमन्त्री राउतले अहिले २ नम्बर प्रदेशका अधिकांश पुल र रोडहरु समाप्त भएको सुनाए । उनले भने,‘अरवौंको क्षति भएको छ । अब पनि बाढी, पहिरो र डुबानका समस्यालाई दीर्घकालीन रुपमा हल गर्न सकेनौं भने हामीले लिएको समृद्धिको सपना पूरा हुँदैन् । प्रधानमन्त्रीले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा नारामात्रै सिमित हुन्छ ।’ उनले चुरे दोहनलाई रोक्नको लागि प्रदेश सरकारले कडाईका साथ कार्यक्रम ल्याउने पनि जनाए । उनले भने,‘हामी यो विषयमा गम्भिर भएका छौं । यसलाई सुधार गर्न सकिएन भने तराई, मधेशलगायतका ठाउँहरु मरुभुमिकरण हुने खतरा छ ।’ गर्मी, जाडो र वर्षाद जुनसुकै मौसममा पनि तराई, मधेश ठूलो मारमा पर्ने गरेको सुनाउँदै अब दीर्घकालीन समाधानको लागि सबैले पहल गर्नुपर्नेमा राउतले जोड दिए । उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘संघले नीति तथा नियम निर्माण गर्ने र निर्देशन दिने हो । सबै निकाय अब नयाँ प्रणालीअनुसार अघि बढ्नुपर्छ । हाम्रो प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि अहिलेपनि २, ३ मन्त्रालयमा सचिव अनुपस्थित छन्् ।’ फरक प्रसँगमा उनले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन । तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन ।’ अब सरकारले काम गर्ने शैली बदल्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं । अब अर्को वर्ष हामी राम्रो काम गर्छौं । हामी बडो ईमानदारिताका साथ काम गर्छौं ।’

यस वर्षकाे  शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित भए रौनियार

काठमाडौ । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७५ रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षा पत्रकारिता पुरस्कार २०७५ तथा लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ वितरण समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक दैनिकमा कार्यरत रौनियारलाई प्रदान गरेको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । सो अवसरमा मन्त्री पोखरेलले पत्रकारिता शिक्षाको सीप र ज्ञान दुवै भएकाले तल्लो तहसम्म लैजानुपर्ने बताए । उनले शिक्षालाई रुपान्तरण गर्नका लागि अक्षराङ्कन (ग्रेडिङ) प्रणाली अपनाइएको भन्दै परीक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । “शिक्षा घोकन्ते भएको छ । तीन घण्टा घोकेर परीक्षामा लेखेर पास हुने प्रणाली अहिले रहेको छ”, उनले भने, “त्यसलाई अन्त्य गरेर सिकाइ केन्द्रित प्रणालीलाई विकास गर्नुपर्दछ ।” मन्त्री पोखरेलले चाँडै नै शिक्षा नीति ल्याई विद्यालय र प्राविधिक शिक्षासम्बन्धी विधेयक तथा उच्च शिक्षासम्बन्धी विधयेकलाई यही महिनाभित्र ल्याउने बताए । उनले शिक्षा मुलुकको जनशक्ति उत्पादन गर्ने क्षेत्र भएकाले गुणस्तरीय शिक्षामा सरकारको जोड रहेको धारणा राखेका छन् । कार्यक्रममा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षामा पत्रकारलाई कलम चलाउन हौसला प्रदान गर्न पुरस्कृत गर्न थालिएको बताए भने महासङ्घका अध्यक्ष गोविन्द आचार्यले शिक्षाका क्षेत्रमा पत्रकारले अझ कलम चलाउनुपर्ने कुराको उल्लेख गरे । कार्यक्रममा मन्त्री पोखरेलले सात प्रदेश र उपत्यकालाई एक प्रदेश मानी आठ प्रदेशबाट एक÷एक जनालाई प्रदान गरिने रु २० हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिएको थियो । प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), प्रदेश नं २ बाट सन्तोष सिंह (जनकपुर), प्रदेश नं ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौँ) लाई प्रदान गरिएको थियो । यसैगरी, सात प्रदेश र उपत्यकालाई एक प्रदेश आठ प्रदेशबाट दुई÷दुई जनालाई प्रदान गरिने रु १५ हजार राशिको प्रादेशिक शिक्षा पत्रकारिता समेत प्रदान गरिएको थियो । प्रदेश नं १ बाट रोहित राई (सुनसरीं) र सुशीला पाठक (मोरङ), प्रदेश नं २ बाट बृजलालप्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं ३ बाट शरद अधिकारी (काठमाडौँ) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ), प्रदेश नं ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट) र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौँ)लाई पुरस्कृत गरिएको थियो । त्यसैगरी, संस्थागतको एफएमतर्फ रु २० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं १ बाट तमोर एफएम (ताप्लेजुङ), प्रदेश नं २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौँ)लाई प्रदान गरिएको थियो । संस्थागततर्फ छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई समेत रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको थियो । महासङ्घले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अवसरमा महासङ्घ र मदरल्याण्ड नेपालको सहकार्यमा प्रदान गर्दै आएको ‘लैङ्गिक समानता पत्रकारिता’ पुरस्कार सुजीतकुमार झा, जनकपुर (एभिन्युज टिभी), तिलसरा विक, हुम्ला (कर्णाली एफएम) र भवानी भट्ट महेन्द्रनगर (कान्तिपुर दैनिक) लाई प्रदान गरिएको थियो । रु ४० हजार राशि रहेको उक्त पुरस्कार लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार÷आलेख प्रकाशन÷प्रसारण गरेबापत प्रदान गरिएको थियो । रासस

पूर्व-पश्चिम विद्युतीय रेलमार्गः प्रभावित क्षेत्रको मुआब्जा प्रतिकठ्ठा ३ देखि ४० लाखसम्म

कााठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब्जा वितरण प्रक्रियालाई अगाडि बढाइएको हो । जिल्ला प्रशासन कार्यालयले जग्गाप्राप्ति ऐन, ३०३४ बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा निर्धारण गरी आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ । कूल ९४५ किलोमिटर लामो उक्त रेलमार्गमा पर्ने विभिन्न जिल्लामा यसअघि नै मुआब्जा निर्धारण भई वितरण भए पनि केही स्थानमा विवाद रहँदै आएको छ । सोही सन्दर्भमा मंगलबार जिल्ला प्रशासन कार्यालय रौतहटले बर्दिबास–निजगढ खण्डअन्तर्गत साविक संतपुर र रंगपुर गाविसमा रेलमार्गको रेखाङ्कनभित्र पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार विभिन्न ३२ प्रकारका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । त्यसमा अधिकतम प्रतिकठ्ठा रु ४० लाखदेखि न्यूनतम रु तीन लाखसम्म मुआब्जा निर्धारण गरिएको छ । यही साउन १२ गते आइतबार बसेको मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गरेको हो । पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम करीब करीब अन्तिम चरणमा पुगेको छ । यस्तै सर्लाहीमा यसअघि नै मुआब्जा निर्धारण भए पनि केही स्थानमा विवाद भएकाले वितरण प्रक्रियाले गति लिएको छैन । सरकारले निर्धारण गरेको रकम र स्थानीयवासीको मागका बीचमा तालमेल हुन नसक्दा मुआब्जा वितरण हुन सकेको छैन । पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म निर्माण हुने उक्त विद्युतीय रेलमार्ग निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विभागका अनुसार उक्त रेलमार्गको भालुवाङ, दाउन्ने र पथलैयामा सुरुङसमेत निर्माण हुने बताइएको छ । भालुवाङ खण्डमा १२ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ । उक्त रेलमार्गमा २०० किलोमिटर प्रतिघण्टा गतिको रेल गुडाउन सकिने अध्ययनमा देखिएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार विभिन्न आठ खण्डमा विभाजन गरेर रेलमार्गको प्राविधिक काम भइरहेको छ । उहाँले सरकारी तथा वन क्षेत्रको जग्गाबाहेक स्थानीय प्रभावितको धेरै स्थानमा मुआब्जा निर्धारण भइसकेको जानकारी आएको बताए । मुआब्जा निर्धारण गर्ने काम स्थानीय जिल्ला प्रशासन कार्यालयको भएकाले पनि सबै विवरण भने आफूहरुलाई प्राप्त भई नसकेको प्रवक्ता चित्रकारको भनाइ थियो । रासस

नेप्से परिसूचक उकालो लाग्दा कारोबार रकम भने निरन्तर ओरालो

काठमाडौँ । नेप्से परिसूचक सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ । साताको दोश्रो दिन सोमबार ३.१८ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार ३.३९ अंकले बढेको छ । ०.२७ प्रतिशतले बढ्दा परिसूचक आज १२५९.३७ बिन्दुमा पुगेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा केही बढेपनि कारोबार भनेर तेश्रो दिन २९ करोड ४३ लाख रुपैयाँको मात्रै भएको छ । सेयर बजारमा सोमबार भने ३५ करोड ८ लाख रुपैयाँ बराबरकोसेयर कारोबार भएको थियो । आइतबार भने ४९ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसरी हेर्दा कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार मंगलबार १७१ कम्पनीका १० लाख १३ हजार ७ सय ९४ कित्ता सेयर कारोबार भएको छ । आज ट्रेडिङ समूह, उत्पादनमूलक समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड घटेका छन् भने अरु सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २.८५, होटल समूह ५.९९, विकास बैंक समूह ७.३२, जलविद्युत समूह ३.१९, वित्त समूह ०.६५, निर्जीवन बीमा समूह २२.८२, अन्य समूह १.२४, र लघुवित्त समूह १४.७२ अंकले बढेका छन् । त्यसैगरी ट्रेडिङ समूह ३.२९, उत्पादन मूलक समूह १.४, जीवन बीमा समूह ७.२१ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका हुन् । आज युनाईटेड इस्योरेन्स कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ६.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

अलैँचीका बिरुवा बिक्रीबाट किसानले कमाए लाखाैं रूपैयाँ

लमजुङ ।  लमजुङका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ । सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताएका छन् । उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट रु २० लाख आम्दानी भएको थियो । क्व्होलासोँथर गाउँपालिका–८ घाम्राङका कृषक ईश्वर गुरुङले छ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी अलैँचीका बिरुवा उत्पादन गर्दै आएकामा यस वर्ष एक लाख ५० हजार बिरुवा उत्पादन भएको थियो । उत्पादित बिरुवामध्ये हालसम्म ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र यसबाट रू तीन लाख ५० हजार प्राप्त भएको उनले बताए । त्यस्तै, बेंशीशहर नगरपालिका– १० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङको खाँचे अलैँची तथा जडीबुटी नर्सरी फार्ममा यस वर्ष एक लाख अलैँचीका बिरुवा उत्पादन भएकामा सो बिरुवामध्ये ४० हजार बिरुवा आफैँले रोपेर ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरिएको थियो । प्रतिबिरुवा पाँचदेखि छ रुपैयाँसम्म बिक्री गर्दा रू दुई लाख ५० हजार आम्दानी भएको उनले बताए । केही वर्षअघिदेखि जिल्लाका किसानले अलैँचीखेती व्यवसाय गरेको छोटो समयमै अलैँची खेतीलाई राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन् । उक्त शाखाका अनुसार यस वर्ष सात लाख ५० हजार वटा अलैँची बिरुवा उत्पादन भएकामा गत वर्ष २० लाख बिरुवा उत्पादन भएको थियो । यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ । यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा पाँचदेखि साँढे सात रुपैयाँका दरले विक्री गर्दा रू६५ लाखभन्दा बढी आम्दानी भएको उक्त कार्यालयले जनायो । असारदेखि भदौ महिनासम्म किसानले अलैँचीका बिरुवा रोप्ने गर्दछन् । जिल्लामा एक हजार ५६ हेक्टर जमिनमा अलैँची खेतीको राम्रो सम्भावना भए पनि ६५० हेक्टर क्षेत्रफल जमिनमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ । रासस

हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव

काठमाडौा । हाथवे फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा(एसजीएम)ले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको मंगलबार धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ । यसअघि नै ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स बीच मर्जर तथा प्राप्ती सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । यसैगरि मर्जर तथा प्राप्ती गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट कुनै संसोधन वा अन्य निर्देशन दिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।

पोखरामा प्रथम कराँते च्याम्पियनसीपः भदाै १२ गते ६४ खेलाडीबीच प्रतिस्पर्धा हुने

कास्की । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताएका छन् । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद रु एक लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बस्नेतले बताए । डोजो, सङ्घ, क्लब, खेलाडी तथा प्रशिक्षकको हकहित संरक्षण तथा राष्ट्रियस्तरका खेलाडी तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले विसं २०६१ मा महसङ्घको गठन भएको बताइन्छ । प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने पोखरा रङ्गशालामा आगामी भदौ १३ र १४ गते दोस्रो गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता गरिने भएको छ । नेपाल क्योकुसिन कान कराँते सङ्घ कास्कीको आयोजनामा हुने प्रतियोगितामा क्योकुसिन बुदोकाइ कराँते सङ्घमा आबद्ध महिला तथा पुरुष गरेर २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४० केजी, ४५ केजी मुनि तौल समूह र खुला तौल समूहमा प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले बताएका हुन् । स्थानीयस्तरबाट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने र प्रतियोगिता सञ्चालन गर्न रु पाँच लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको छ । रासस

दुई विकास बैंकको बोनस सेयर सूचीकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दुई विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार देवः विकास बैंक र पूर्णिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । देवः विकास बैंकको १३ लाख ९३ हजार ५ सय २४ कित्ता र पूर्णिमाको २ लाख ६२ हजार ५ सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।