शर्मिलाको सफलताः ‘किर्तिपुरबाट शुरु भएको व्यवसायिक यात्रा भोजपुरसम्म’

<p>काठमाडौं । किर्तिपुर स्थित रामलक्ष्मण अर्गानिक एग्रीकल्चर फर्ममा पुग्दा शर्मिला अधिकारी तरकारी गोडमेलमा व्यस्त भेटिन्छिन् । त्यसो त उनी उक्त फर्मको सञ्चालिका हुन् । फर्म सञ्चालिका भएपनि उनी मिहिनेतमा विश्वास गर्छिन् । त्यही मिहिनेत र परिश्रमले उनलाई अहिले करोडपति बनाएको छ । ४ वर्ष अघि करिब १५ लाख लगानी गरेर उनले उक्त फर्म सञ्चालन गरेकी [&hellip;]</p>


काठमाडौं । किर्तिपुर स्थित रामलक्ष्मण अर्गानिक एग्रीकल्चर फर्ममा पुग्दा शर्मिला अधिकारी तरकारी गोडमेलमा व्यस्त भेटिन्छिन् । त्यसो त उनी उक्त फर्मको सञ्चालिका हुन् । फर्म सञ्चालिका भएपनि उनी मिहिनेतमा विश्वास गर्छिन् । त्यही मिहिनेत र परिश्रमले उनलाई अहिले करोडपति बनाएको छ ।

४ वर्ष अघि करिब १५ लाख लगानी गरेर उनले उक्त फर्म सञ्चालन गरेकी हुन् । ६ रोपनी क्षेत्रफल जग्गामा ४ वर्षअघि अर्गानिक तरकारी खेती शुरु गरेकी थिइन्, यो अवधिमा उनको फर्मबाट एक करोड २० लाख आम्दानी भएको बताउँछिन् ।

२०७२ साल मंसिर महिनाबाट शुरु भएको उक्त राम लक्ष्मण अर्गानिक एग्रीकल्चर फर्ममा दैनिक पाँच जनाले रोजगार पाइरहेका छन् । शर्मिला एक महिला हुन्, हाम्रो समाजले महिलालाई कमजोर सोच्छ, तर उनले आफ्नो व्यवसाय सफलताका साथ अघि बढाएकी छिन् ।

किर्तिपुरको सफतलापछि भोजपुरमा व्यवसाय बिस्तार
त्यही फर्ममा काम गर्दैगर्दा आफ्नो गाँउ भोजपुरमा एक सय ५० रोपनीमा करिब एक करोड लगानी गरी श्रीमान् निरबहादुर राउतको सहयोगले ‘राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि तथा पशुपालन प्रालि मार्फत कृषि र पशुपालनको काम अघि बढाएकी छिन् ।

भोजपुर, बालङ्खा गाउँपालिका ४, आमचोकमा ५० रोपनी जमिनमा अलैँची, ३० रोपनीमा किवी तथा अन्य जमिनमा कागती, टिमुरको नर्सरी, कफिको नर्सरी, अवकडो सिताकी च्याउ(३ सय मुडामा) खेति भइरहेको छ । २५ वटा बाख्रा, १० भैंसी १० सो फर्ममा पालिएको छ । त्यहाँ दैनिक १५ जनाले काम पाइरहेका छन् ।

यता, सिन्धुलीका यकबहादुर सिङ्तानसँगको सहकार्यमा सर्मिला अधिकारी र उनका श्रीमान् निरबहादुरको सहकार्यमा नार्गजुन नगरपालिकाको रामकोटमा मैत्री मङ्गलम अर्गानिक कृषि फर्म सञ्चालन गरेको बताउँछिन् ।

१ सय २८ रोपनी क्षेत्रमा फैलिएको उक्त अर्गानिक कृषि फर्मबाट मासिक १५ लाखदेखि २० लाखसम्म आम्दानी हुने गरेको छ । उक्त फर्ममा ४० जनाले रोजगारी पाएका छन्, सो कृषि फर्म डेढ करोड रुपैयाँमा शुरु गरिएको हो ।

कामप्रति सन्तुष्ट शर्मिला
गोरखाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी उनले विसं.२०३८ सालमा एसएलसी पास गरेकी हुन् । त्यसपछि अध्ययनका लागि काठमाडौं आइन्, आईए पढ्दै गर्दा उनको विवाह भयो र पढाई रोकियो । उनका श्रीमान बैदेशिक रोजगारी शिलशिलामा यूएई गए, केही समयपछि उनीपनि यूएई गइन् र ४ वर्षपछि स्वदेश मै केही गर्नु पर्छ भनेर व्यवसाय शुरु गरेको बताउँछिन् ।

केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट वैदेशिक रोजगारबाट फर्किएर व्यवसायमा आवद्ध भएकी उनले उद्यमी सम्मान पाएकी थिइन्, सम्मान पाएको क्षण सम्झदै उनी भन्छिन्–‘यस सम्मानले आफ्नो दायित्व झन् बढाएको छ, कामप्रतिको चाहाना एवम् उत्साह दिनप्रति दिन बढ्दै गएको छ ।’

आगामी योजना
रामलक्ष्मण अर्गानिक एग्रीकल्चर फर्मलाई निरन्तर सञ्चालन गर्दै जाने र उक्त फर्म भएको स्थानमा होलसेल तरकारी बजार सञ्चालन गर्ने उनको विचार छ । उनले अहिले आफूहरुको ध्यान भोजपुरमा केन्द्रित भएको, त्यहाँको फर्मलाई व्यवस्थित बनाउने र अगामी दिनमा एग्रो सेन्टर बनाउने तयारी रहेको योजना सुनाइन् । वैदेशिक रोजगारमा नजानु भन्नु भन्दा त्यहाँबाट केहि सिकेर आफ्नो देशमा कार्य गर्नु पर्ने बताइन् ।

विदेशमा बगाउने पसिना नेपालमा बगाउन सकियो भने सामान्य जीवन बिताउनका लागि घरपरिवारबाट टाढा भई बस्नु पर्दैन । उनी भन्छिन्–‘आफ्नो देशको भौगोलिक अवस्था अनुसार सरकारीस्तरबाट कृषि क्षेत्रमा बजेट तथा तालिम प्रदान गरी कुन ठाउँमा के उत्पादन गर्दा उत्तम हुन्छ भन्ने कुरा कृषि विज्ञबाट तालिम प्रदान गर्ने हो भने न कुनै बाँझो जमिन न त बेरोजगारीको अवस्था सिर्जना हुन्छ ।’

बजारको चुनौती
कृषकले गरेका उत्पादनले बजार भाउ राम्रो नपाउँदा तोकिएको मूल्यमा कृषि उत्पादन बिक्री गर्न गाह्रो हुँदै आएको र विचैलियाले कृषकलाई ठगी गरिरहेको बताइन् ।

किसानले उत्पादन गरेको तरकारीको मूल्य सरकारले नै सुनिश्चित गरी दिने व्यवस्था गर्नु पर्ने उनको भनाई छ । ‘सरकारले विऊ, मल, सिचाईँको व्यवस्था गर्ने र उत्पादन गरेका वस्तुको बिक्रीका लागि निर्धारित बजार हुने हो भने कुनैपनि युवा जनशक्ति रोजगारीका लागि विदेशिनु पर्दैन’-उनले भनिन् ।

Share News