हवाई मार्ग प्रयोग गर्ने घटे, राजश्वमा पनि गिरावट
चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको सङ्ख्यामा कमी आएको हो । आव २०७४/७५ मा भरतपुर विमानस्थलबाट दुई लाख ७० हजार ६२६ जनाले यात्रा गरेकामा गत आवमा सो सङ्ख्या घटेर एक लाख ८७ हजार ८३८ जनाले मात्र हवाई यात्रा गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा ८२ हजार ७८८ यात्रु घटेका हुन् । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार यात्रुको सङ्ख्यामा कमी आए पनि विदेशी पर्यटकहरुको सङ्ख्या भने बढेको छ । अघिल्लो आवमा १० हजार ३८५ विदेशी पर्यटकले हवाई मार्ग प्रयोग गरेकामा गत आवमा २१ हजार ३२० विदेशीले हवाई मार्ग प्रयोग गरेका थिए । यात्रु घटेसँगै राजश्वमा पनि गिरावट आएको छ । अघिल्लो आवमा रु तीन करोड छ लाख ५४ हजार राजश्व सङ्कलन गरेको विमानस्थलले गत आवमा भने रु दुई करोड २७ लाख ६९ हजार मात्रै राजश्व सङ्कलन गरेको थियो । सेवा शुल्क भने गत आवमा रु एक करोड ६९ लाख ५४ हजार मात्र सङ्कलन भएकामा अघिल्लो आवमा सोही शीर्षकमा रु दुई करोड ४५ लाख ४० हजार १६ लाख ६२ हजार सङ्कलन भएको थियो । सडक राम्रो भएसँगै हवाई मार्गको प्रयोग गर्ने यात्रुहरु सडकमार्फत यात्रा गर्न थालेकाले विमानस्थलमा यात्रुको चाप घटेको हो । कार्यालयका प्रमुख गौतमका अनुसार आव २०७४/७५ मा दैनिक २४ वटा सम्म जहाज उडान र अवतरण भएकामा गत वर्ष भने दैनिक सातदेखि आठ वटामा झरेको थियो । बुद्ध एयर र यती एयरलाइन्सले भरतपुर–काठमाडौँ उडान गर्दै आएका छन् । बुद्ध एयरले भरतपुर–पोखरा पनि उडान भर्दै आएको छ । रासस
सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा बुझाए विरोध पत्र, आन्दोलनमा उत्रने चेतावनी
काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंलगबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बिरोध पत्र बुझाएका हुन् । लगानीकर्ताहरूलाई सेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चे सहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागु भएको सूचना जारी सम्पूर्ण लगानीकर्ताहरूलाई आक्रोसित र उत्तेजित बनाउने काम भएकोमा यस्ता काम कारवाहीप्रति लगानीकर्ताहरुले सामुहिक रुपमा आपत्ति जनाएका हुन् । साउन ८ गते भएको सर्वपक्षीय सहमतिको सीघ्र कार्यान्वयन र ल्याप्चे आतंकको अन्त्य गर्न माग गर्दै सम्पूर्ण लगानीकर्ताहरूलाई ल्याप्चे नलगाउन र आवश्यक परेमा आन्दोलनमा सहभागिता र समर्थन गर्नु हुन अनुरोध गर्न वाध्य हुने विरोध पत्रमा उल्लेख छ ।
अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान, साउन १८ गते स्वदेश फर्कने
काठमाडौं । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उाकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस
कर्मचारीको स्वास्थ्य र दुर्घटना बीमामा कम्पनीले भ्याट छुट पाउने कि नपाउने ? यस्ताे छ विवाद
काठमाडौं । कुनै पनि कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमा गर्दा बीमा शुल्कमा अभिवृद्धि कर (भ्याट) छुट हुने वा नहुनेमा अन्यौलता छाएको छ । यसअघि १०० रुपैयाँ बीमा शुल्क लाग्थ्यो भने सरकारले दिएको भ्याट छुट सुविधा प्रयोग गर्दा ८८ रुपैयाँ ४८ पैसा मात्र तिरे पुग्छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य बीमा, दुर्घटना बीमा र पुर्नबीमा शुल्कमा भ्याट छुट दिने जनाएको छ । यो व्यवस्था यहि साउन १ गतेदेखि बीमा कम्पनीहरुलाई लागू भएको छ । स्वास्थ्य बीमा र दुर्घटना बीमा शुल्कमा भ्याट लाग्ने व्यवस्था व्यक्तिको हकमा मात्र लागू हुने हो कि कम्पनीको हदमा पनि लागू हुने भन्ने द्विविधा भएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तले बताए । सरकारले दिएको भ्याट छुट सुविधा व्यक्तिलाई मात्र हुन सक्ने, कम्पनीलाई नहुन सक्ने पन्तको बुझाइछ । तर, बीमा कम्पनीहरुले व्यक्तिलाई मात्र नभई संस्थालाई पनि भ्याट छुट दिएर बीमा लेख तथा बिल जारी गरिरहेको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बीमक संघका महासचिव चंकी कुँवर क्षेत्रीले बताए । ‘संस्थाको नाममा जारी हुने स्वास्थ्य तथा दुर्घटना बीमा पोलिसीमा भ्याट छुट नहुने भनेर सरकारको नीतिमा प्रष्ट छैन । तर, कम्पनीहरुले कर्मचारीको सामूहिक बीमा गराउँदा पनि भ्याट छुट दिएर पोलिसी जारी गरेका छन्’ उनले भने–‘पछि कर कार्यालयले समाउँछ कि, कम्पनीको नाममा जारी गरेको पोलिसीमा भ्याट लाग्छ भन्ने हो कि भन्ने चिन्ता बीमा कम्पनीहरुलाई छ ।’ यस विषयमा कर कार्यालयका अधिकारीहरु पनि प्रष्ट देखिएनन् । आन्तरिक राजश्व विभागका उपमहानर्देशक यज्ञप्रसाद ढुंगेलले यस विषयमा आन्तरिक छलफल गरेपछि प्रष्ट पारिने बताए । ‘स्वास्थ्य बीमा र दुर्घटना बीमामा भ्याट छुट व्यक्तिलाई मात्र कि कम्पनीलाई पनि भन्ने तपाईको प्रश्नको ठ्याक्कै जवाफ दिन मिलेन । आर्थिक ऐनमा जे लेखिएको छ त्यहि लागू हुन्छ । त्यसको कार्यान्वयनको क्रममा केही द्विविधा देखिए भने हामी आन्तरिक रुपमा पनि छलफल गर्छौ । सरोकारवालासँग पनि छलफल गर्छौ र त्यसको व्याख्या गछौं ।’ बीमा कम्पनीहरुलाई परेको द्विविधाबारे आफू पूर्ण जानकार नभएको उनले बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले कम्पनीले सामूहिक रुपमा स्वास्थ्य र दुर्घटना बीमा गराउँदा पनि भ्याट लागू नहुने बताए । ‘यस्तो बीमा विगतमा जीवन बीमा कम्पनीमा गर्नेले भ्याट तिर्नु पर्दैन थियो । अब निर्जीवन बीमा कम्पनीबाट गराउँदा पनि भ्याट छुट पाइन्छ’ उनले भने । यस्तो हुन्छ हिसाव कर्मचारीको बीमा गराउँदा लाग्ने बीमा शुल्क सम्बन्धित कम्पनीले तिर्ने गर्छ । बीमा कम्पनीले पनि कम्पनीको नाममा बीमा लेख जारी गर्छ र कम्पनीकै नाममा विल जारी गर्छ । कर्मचारीलाई स्वास्थ्य बीमा र दुर्घटना बीमा सुविधा दिने कम्पनीहरु प्रया भ्याटमा दर्ता हुने गरेका छन् । यस्ता कम्पनीहरुले खरिद गर्दा तिरेको भ्याट रकम बिक्री गर्दा उठाएको भ्याट रकममा कट्टा गरी कर कार्यालयमा भुक्तानी गर्छन । त्यसैले कर्मचारीको बीमा गराउने कम्पनीको लागि भ्याट छुट हुनु र नहुनुमा कुनै लाभ वा हानी हुन्न । मात्र, सरकारीले राजश्व गुमाउने जानकारहरु बताउँछन् ।
माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण
काठमाडौँ । माछापुच्छ्रे बैंक लि.ले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका र घैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा महानगरपालिकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढी विरुवाहरु रोपिएको थियो । त्यसैगरी, बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामामा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
मानव अधिकारवादी संस्था हिमराइट्सद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौँ । हिमालयन मानव अधिकारकर्मी समूह(हिमराइट्स)को आयोजना कोर इन्टरनेशनल क्यानडाको सहयोग तथा मकवानपुरको मनहरी गाउँ पालिकासंगको सहकार्यमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । मनहरी वडा नं ३ सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालय र गाउँ पालिकाका वडा नं ६ स्थित सगरमाथा आधारभूत विद्यालयमा सिमान्तकृत समुदायकको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयमा साउन ६ गते २७ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हो । त्यसैगरी साउन १३ गते सगरमाथा आधारभूत विद्यालय रुपाचुरी वडा नं ६ का २१ जना बालबालिकाहरुलाई सामाग्री वितरण गरिएको हो । प्रजा आधारभूत विद्यालय सिद्धकालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद खनालको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी सगरमाथा आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका सदस्य राममाया चेपाङको सभाध्यक्षता तथा मनहरी गाउँ पालिकावडा नं ६ का वडाअध्यक्ष गोपीलाल मोक्तानको प्रमुख आतिथ्यता र प्रधानाध्यापक खड्कबहादुर मोक्तानको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न हो । कक्षा १ देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई वर्ष भरि आवश्यक पर्ने कपी दुई दर्जन, कलम, पेन्सिल, सापनर, जोमेट्रीवक्स, साना बालबालिकाहरुलाई कलर पेन्सिल, पेन्सिल र विद्यालयका पोशाक वितरण गरिएको हो । यस वर्ष मात्र सहयोग गरिएका बालबालिकाहरुलाई पानी पिउने बोतल, टिफिन वक्स, व्याग जस्ता सामाग्री पनि वितरण गरिएको हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी वाइबाले बताइन् ।
विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’
लमही । दाङका ऋषि परियार दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए । त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् । तर, दाङ तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार यो रेकर्ड तोड्ने क्रममा छन् । विश्व रेकर्डका लागि उनले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उनले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेको हो । उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए । उनका अनुसार रेकर्ड भएको उक्त भिडियोसहित करिब रु एक लाख पठाउनुपर्ने र त्यसको नतिजा १०÷१५ दिनमा आइपुग्छ । “मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ”, उनले भने, “त्योसँगै करिब रु एक लाख पठाएपछि १०÷१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच÷सात महिना लाग्छ ।” तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा यस पटक गिनिजबुकमा नाम लेखाउने दौडमा छन् ऋषि । परियारले गिनिजबुकमा नाम लेखाएर उक्त खेल क्षेत्रमा नेपालको नाम विश्वमै चिनाउने योजना बनाएको बताए । यसमा उपमहानगरपालिकाले पनि सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उल्लेख गरेका छन् । उनका अनुसार अहिले ऋषिलाई गिनिजबुकमा नाम लेखाउन मद्दत गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले रु एक लाख १५ हजारसमेत सहयोग गरेको छ । तुलसीपुर निवासी परियारले गिनिजबुकमा नाम लेखाउन सफल भएमा खेल क्षेत्रमा तुलसीपुरको नाम अन्तर्राष्ट्रियस्तरमा पुग्नेसमेत पाण्डेले बताए । “हामीले तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’का रूपमा अगाडि बढाइरहेका छौँ”, उनले भने, “सोहीअनुसार हामीले यहाँका खेलाडीलाई प्रोत्साहन गरिरहेका छौँ, अहिले ऋषिले विश्व रेकर्ड तोड्न सफल भएमा उपमहानगरलाई थप मद्दत पुग्छ ।” साथै ऋषिलाई गिनिजबुकमा नाम लेखाउन आवश्यक पर्ने रकम जुटाउन उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगर युवा तथा खेलकूद संयोजक अमर नेपालीले बताए । हातले टेकेर तीन किलोमिटर हिँड्छन् ऋषि ऋषिको गिनिजबुकमा नाम लेखाउने सपना अहिलेको भने होइन । उनले अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन् । उनले चार महिनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका थिए । त्यसको नतिजाको पर्खाइमा छन् ऋषि । विगत चार÷पाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा हिँड्ेका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताए । तर, उनको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ । “अर्थाभावले मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले भने, “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु ।” सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने ऋषि जिम्न्यास्टिक, उफ्रने, दौडने, खेल खेल्ने गर्थे । यसमा उनको रुचि पनि बढी थियो । उनले केही वर्षअघि सोचे, ‘मानिस खुट्टाले त हिँड्छन्, तर हातले हिँडे कस्तो हुन्छ होला त’ उनले मनमा उक्त प्रश्न खेलाइरहेनन् , अनि आफै हातले हिँड्ने प्रयास गर्न थाले । प्रयास गर्दै जाँदा परियारले विस्तारै हातले उभिन सिके । अनि केही समयको प्रयासपछि विस्तारै–विस्तारै हिँड्न शुरु गरे । यसरी प्रयास गर्दै जाँदा अहिले उनी हातले हिँड्न थालेको १३ वर्ष पुग्यो । लामो सङ्घर्ष र प्रयासपछि अहिले उकालो, आरालोसमेत हिँड्नसक्ने भएका छन् । यही सीपलाई लिएर ऋषि विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन् । रासस
लाागुऔषधका मुद्दामा वार्षिक ११ प्रतिशतले वृद्धि, देशभर तीन हजार ३५७ मुद्दा दर्ता
काठमाडौं । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको र खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको बताउँछन् । लागुऔषध सेवनले व्यक्ति, घरपरिवार, समाजलाई मात्र नभएर सिङ्गो देशलाई नै असर गर्ने भएकाले नेपाल प्रहरीले बढ्दो लागुऔषध दुव्यर्सनी तथा ओसारपसालाई कम गर्न लागुऔषध नियन्त्रण ब्यूरोको स्थापना गरी काम गर्दै आइरहेको छ । विसं २०६९ मा स्थापना भएको ब्यूरोले हालसम्म ९६ विदेशीसहित दुई हजार ५१८ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको दर बढेको भन्दै यसलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गाँजा, अफिमलगायतका लागुऔषध नेपालको पहाडी र भित्री मधेसमा धेरै उत्पादन हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रहरी मात्र नभएर स्थानीयवासी नै सक्रिय रुपले लाग्नुपर्ने लागुऔषध ब्यूरोका प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीले हाल लागुऔषध ऐन, २०३३ अनुसार मुद्दा चलाउँदै आएको छ । रासस