विकासन्युज

नव आदर्श माविमा लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

काठमाडौँ । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ । सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो । न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको समेत शिकार हुन पुगेको कुरालाई मध्यनजर राख्दै बैंकले सो सहयोग प्रदान गरेको हो । साथै बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट रु पचास हजार आर्थिक सहयोग पनि प्रदान गरियो । बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित रु दस हजार रकम र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको छ । विहीबार आयोजित एक कार्यक्रममा आर्थिक सहयोगको रकम र पोशाकहरु विद्यालय तथा विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।

मोबाइल चलाउँदा एक किशोरको मृत्यु

विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

चोरीको मोटरसाइकलसहित तीन गिरोह परे प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र काठमाडौँ चन्द्रागिरि नगरपालिका–९ का १८ वर्षीय सन्दीप तामाङ रहेका छन् । चोरी गरी ल्याउँदै गरेको बा३६प ८६९३ र बा७२प ९६७० नंको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । रासस

प्रधानमन्त्री रोजगार कार्यक्रमः २२ लाख ६२ हजार दिनको ठोस उपलब्धी खोई ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ल्याएका नयाँ कार्यक्रम मध्ये सर्वाधिक आलोचित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को गत वर्षको प्रगति विवरण सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री गोकर्ण विष्टको उपस्थितिमा विहीबार उपसचिव लोकनाथ भुसालले प्रगति विवरण प्रस्तुत गरेका हुन् । ७ सय ५३ तह मै यो कार्यक्रम सञ्चालन भएपनि विहिबार आयोजित कार्यक्रममा ५९९ तहको मात्रै विवरण प्रस्तुत गरियो । प्रधामन्त्री रोजगार कार्यक्रम अन्तरगत ५९९ स्थानीय तहले ६ हजार ८ सय ६४ वटा विभिन्न सामुदायिक योजनामा १ लाख ७५ हजार ९ सय ९ जनालाई २२ लाख ६२ हजार २ सय ६९ दिनको रोजगारी उपलब्ध गराइएको सचिव भुसालले बताए । औसतमा १ जनाले १३ दिनको रोजगारी पाएका छन् । सबै स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार प्राप्त भएको थियो । बजेट हस्तान्तरण गर्दा एउटा स्थानीय तहमा न्यूनतम ५ लाख भन्दा कम नहुने गरी र अधिकतम १ करोड भन्दा नबढ्ने गरी बजेट बाँडफाँड गरिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि १७ लाख बेरोजगारले आवेदन दिएको भएपनि गत आवमा १ लाख ७५ हजार ९ सय ९ जनालाई मात्र सामेल गराउन सकिएको सचिव भुसालले बताए । संबिधान प्रदत्त रोजगारीको हक सुनिश्चित गर्न बनेको रोजगारीको हक सम्बन्धी ऐन २०७५ तथा रोजगारीको हक सम्बन्धी नियमावली २०७५ बमोजिम प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो । यो कार्यक्रमले स्थानीय तहबाट पहिचान गरी रोजगार सेवालाई केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी एवम् स्वरोजगारीका उपलब्ध अवसरहरुमा पहिचान गरी रोजगारी गराउने प्रावधान छ । स्वरोजगार हुन नसकेको बेरोजगारहरुलाई कामका लागि पारिश्रमिकको ढाँचामा स्थानीय सार्वजनिक निर्माण एवम् अन्य सार्वजनिक निर्माण एवम् आर्वजनिक आयोजनामा न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए । रोजगारीको हक सम्बन्धी ऐन २०७५ ले एक आर्थिक वर्षमा १०० दिनको रोजगारी प्राप्त गर्न नसक्ने सूचीकृत बेरोजगार व्यक्तिको तोकिएको मापदण्ड भित्र पर्ने परिवारलाई १०० दिन मध्ये रोजगार नपाएकाको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबर रकम निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । काममा संलग्न नगराई निर्वाह भत्ता उपलब्ध गराउँदा व्यक्तिमा राज्यप्रतिको निर्भरता बढ्ने र सीमित सार्वजनिक श्रोतको अनुत्पादक प्रयोग हुने जोखिम रहने हुँदा सरकारले स्थानीय पूर्वाधार निर्माण गरी न्यूनतम रोजरा िसमेत सुनिश्चित गर्ने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि सबै स्थानीय तहलाई बजेट हस्तान्तरण गरेको थियो । तर, कार्यान्वयनको तहमा भने यो कार्यक्रमको प्रभावकारिता ज्यादै कमजोर देखिएको थियो । कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा आफ्ना कार्यकर्तालाई पैसा मात्रै बाँडेको तर ठोस उपलब्धी भने देखिएको छैन । कार्यक्रमको उद्देश्य राम्रो भएपनि कार्यान्वयनमा जाँदा सरकारले धेरै आलोचना खेपेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १ गते तामझामका साथ यो कार्यक्रम कार्यान्वयन भएको घोषणा गरेका थिए । कसले पाउँछ वेरोजगारी भत्ता ? के हो प्रधानमन्त्री रोजगार कार्यक्रम ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता अर्थविद् रामेश्वर खनालको टिप्पणी-प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा बाटो बडार्ने काममा खर्च गर्न पाइन्छ ?  

प्रदेश ५ मा ११६ पोखरी निर्माण सम्पन्न, कुन जिल्लामा कति ?

रुपन्देही । ‘एक गाउँ एक पोखरी निर्माण’ अभियानअन्तर्गत प्रदेश ५ सरकारले ११६ वटा पोखरी निर्माण गरेको छ । पर्यावरण जोगाउने उद्देश्यले प्रदेशका १२ वटा जिल्लामा करिब पाँच हजार २०० घनमिटर क्षमताका पोखरी निर्माण सम्पन्न गरिएको हो । जसअनुसार रुपन्देही जिल्लामा १४ वटा, प्यूठानमा २० वटा, अर्घाखाँचीमा चार वटा, दाङमा १०, नवलपरासीमा सात, पाल्पामा १०, गुल्मीमा १३, रुकुममा तीन, बाँकेमा छ, कपिलवस्तुमा १०, बार्दियामा सात, रोल्पामा १० वटा पोखरी निर्माण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्त विजयराज सुवेदीले जानकारी दिएका छन् । सबै जिल्लामा डिभिजन वन कार्यालयमार्फत गत पोखरी निर्माणको काम गरिएको उनले बताए । वातावरणको संरक्षणका लागि गत आर्थिक वर्षदेखि पोखरी निर्माण अभियान चलाइएको थियो । पुराना पोखरी मासिँदै गएका कारण जमिन सुक्खा भएपछि सबै जिल्लामा पोखरी निर्माण गरिएको वन अधिकृत शिव केसीले जानकारी दिएका हुन् । पोखरी मासिँदै गएपछि जङ्गलका पशुपक्षी तथा जनावरले पिउने पानीको स्रोत बन्द भएको थियो । जसका कारण पशुपक्षी सङ्कटमा परेपछि प्रदेश सरकारले पोखरी निर्माणको अभियान चलाएको हो । एक गाउँ एक पोखरी निर्माण अभियानका साथै तालतलैया तथा सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले रु चार करोड ३६ लाख बजेट विनियोजन गरेको थियो । जलवायु परिवर्तनको असर तथा भएका पोखरी मासिँदै जान थालेपछि जमिन सुक्खा भई पानीका मुहान सुक्ने सम्भावना भएका कारण मन्त्रालयले वातावरण संरक्षणलाई ध्यानमा राखेर काम गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताएका छन् । पछिल्ला वर्षमा विकास निर्माणको काम तीव्र छ । ग्रामीण तथा शहरी क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ जसका कारण तालतलैया र पोखरी मासिएका छन् । बाढीपहिरो र भू–क्षयले गर्दा वन तथा वातावरणमा ह्रास हुँदै गएको छ । जसका कारण केही वर्षमै पानीका मूल सुक्ने भएकाले वन मन्त्रालयले वन तथा वातावरणका क्षेत्रमा लगानी गरेको मन्त्री गिरीले बताउँछन् । गत आर्थिक वर्षमा २४ वटा ताल तलैया र सिमसार क्षेत्रको संरक्षण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशको वातावरण संरक्षणका लागि १० वटा नगर वन निर्माण गरेको छ भने १६५ समूहलाई विपन्नमुखी कबुलियती वन सुधार कार्यक्रम सञ्चालन गरिएको र ६१ स्थानमा जडीबुटी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै, बाह्र हेक्टर अतिक्रमित वन संरक्षण, सात स्थानमा साझेदारी वन व्यवस्थापन, ७४ वटा सामुदायिक वन नवीकरण, ७२ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ । रासस

बाढीबाट १५ करोडभन्दा बढीको क्षति, कुन नदीले कति ….

गौशाला । जिल्लाको रातु, मरहा र औरही नदीमा आएको बाढीले ६ हजार ११२ मिटर तटबन्ध बगाएको छ । जनताको तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका अनुसार रातु नदीले चार हजार १७ मिटर, औरही नदीले दुई हजार ५० र मरहा नदीले ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाउनाका साथै क्षतिग्रस्त बनाएको छ । सोबाट रु १५ करोड २३ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको छ । मरहा नदीले बर्दिवास नगरपालिका–१० स्थित जुठेडाँडा, वडा नं ५ टुटेश्वर र खयरमारामा ४५ मिटर तटबन्ध तथा रिभेटमेन्ट बगाएका कारण १८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ । औरही नदीले भङ्गहा नगरपालिका–९ कञ्चनवनमा १५० , लोहारपट्टी नपा–३ तपनपुरमा १०० र वडा नं २ बगडामा ४०० मिटर तटबन्ध बगाएको छ । त्यस्तै धनुषाको क्षीरेश्वर नपा–५ महेन्द्रनगरमा ४५०, बटेश्वर गापा–५ धारटोलमा ६५०, बरदुवामा १५० र गदरिया पुल नजिकै १५० मिटर तटबन्ध बगाएका छन् । जसबाट रु एक करोड ४२ लाख ९० हजारको क्षति पुगेको हो । रातु नदीले बर्दिवास नगरपालिका–६ को ६ स्थानमा ९८० मिटर तटबन्ध र रिभेटमेन्ट क्षतिग्रस्त बनाएको छ भने बर्दिवास नपा–९ पशुपतिनगरको पाँच स्थानमा एक हजार १३०, भङ्गहा नपाको हतिसर्वा र सिङ्ग्याही–४ स्थानमा ३८० र बलवा नपा–११ भलनी भगवतीपुरको ६ स्थानमा ४५० मिटर तटबन्ध बगाएको हो । लोहारपट्टी नपाको डठौरा र लोहारपट्टीको चार स्थानमा ४३०, एकडारा गाउँपालिका–६ को कोल्हुवा, बगेया, दुधमुहान र पुनर्वासटोलको सात स्थानमा ४१२ मिटर तटबन्ध बगाएको छ । महोत्तरी गाउँपालिका–३ मलङ्गस्थान, दुधान लगायतको ६ स्थानमा ३८० मिटर तटबन्ध बगाएको हो । यसरी, रातो नदीको बाढीबाट ६ करोड नौ लाख ६२ हजार मूल्य बराबरको तटबन्ध क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणका लागि बजेटको अभाव भएको जनताका तटबन्ध फिल्ड कार्यालय २ महोत्तरीका प्रमुख भिलानन्द यादवले बताए । उनले तटबन्धको पुनर्निर्माणका लागि जिल्ला दैवी प्रकोप उद्धारमार्फत बजेट उपलब्ध गराउनका लागि विभागमा पत्राचार गरेको बताएका छन् । रासस

नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले) को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइमा पुर्याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइनेसमेत बताए । बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए । रासस

बालकको संलग्नतामा एकैरात नेपालगञ्जका नौ पसलमा चोरी

धम्बोझी । एकैरात नेपालगञ्जका नौ पसलमा दुई बालकले चोरी गरे । खजुरा, कोहलपुर, राँझा, बर्दियाको बाँसगढीसम्मका ती पसलमा हिजो राति कालु र दामु नामका बालकले चोरी गरेका थिए । बाँकेको नेपालगञ्ज र बर्दियाको बजारमा हुने स–साना चोरीमा बालकको संलग्नता देखिएको प्रहरीले जनाएको छ । नेपालगञ्जका नौ वटा पसल र आसपासमा शृङ्खलाबद्ध चोरीमा संलग्न नेपालगञ्ज–२०स्थित मदनापुरका १५ वर्षीय कालु विक र १६ वर्षीय दामु शाही पक्राउ परेपछि शृङ्खलाबद्ध चोरीमा संलग्न उनीहरू चोर्न सिकाउने गुरुसमेत रहेको रहस्य खुलेको छ । दामु पक्राउ परेको एक दिनपछि सोमबार राति कालु पनि पक्राउ परेका हुन् । चोरीका घटनामा प्रहरीको निगरानीमा रहेका कालु राति सुत्न आएका बेलामा पक्राउ परेका थिए । नौ वटा सटरमध्ये तीन वटाबाट रु एक लाख २० हजारका साथै रु तीन हजार ५०० बराबरको रिचार्ज कार्ड पनि उनीहरूबाट बरामत गरिएको थियो । कालु यसअघि छ पटक पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका इञ्चार्ज तथा प्रहरी निरीक्षक दीपक मल्लले बताउनुभयो । “चोरीमा बालक पक्राउ पर्छन् । कम उमेर भन्दै छोडिन्छ तर फेरि चोरी गर्न पुग्छन, मल्लले भन्नुभयो, “उमेर कम छ । प्रहरीले छोडिहाल्छ भन्दै धेरैले चोरीलाई नै अँगालेको पाइयो ।” कालुको साथबाट रु १६ हजार र चोरी गरिएका कपडा बरामद गरिएको थियो । दामुको साथबाट पनि रू १६ हजार १५५ फेला परेको थियो । “विभिन्न नाममा चोरी गर्ने समूह नै परिचालन भएकाले सबैलाई खोजेर बिस्तारै सबैलाई नियन्त्रणमा लिन्छाँै”, उहाँले भन्नुभयो । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर वलीले दामु व्यावसायिक चोर भएको र उनले धेरै ठाउँ चोरी गरिएको भेटिनाका साथै उनीहरूको समूहमा तालीमप्राप्त चोर रहेको प्रमाण प्राप्त भएको बताउनुभयो चोरीमा बालकको विभिन्न समूह रहेको र टोलीनेताको थरअनुसार समूहको नामकरण गर्ने गरिएको रहेछ । प्रहरीले सबै बालकलाई नियन्त्रणमा लिएर सुधारगृहमा पठाउने तयारी गरेको छ ।चोरीमा लागेका अधिकांश बालक बुबाआमा गुमाएका, बाबुआमा भएपनि विदेशमा रहेका र आमा अर्कैसँग विवाह गरी हिँडेको परिवारका छन् ।  रासस