
काठमाडौ । सेलकम प्राईभेट लिमिटेडले विभिन्न किसिमका भुक्तानीहरुलाई सहज बनाउने उदेश्यले सेल पे सेवा भित्र्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएको हो ।
राजधानीमा आयोजिक एक विशेष समारोहमानेपाल राष्ट्र बैकका गर्भनर डा.चिरञ्जीवी नेपालले विश्व नै डिजिटल बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले भने–‘बैकिङ क्षेत्रमा डिजिटल रुपमा काम गर्ने समूह बढ्दो छन्, अब हामीले सबैलाई वित्तीय पहुँचमा ल्याउन आवश्यक छ ।’
गर्भनर नेपालले पैसा एक ठाउँमा रहँदा भन्दापनि जति चलायमान भयो, त्यती नै आर्थिक विकास हुने बताए । प्रविधिले कामको सहजता, तीब्रतादेखी व्यापार व्यवसायमा सफलता दिलाउने उनको तर्क छ । ‘विश्वका क्यापिटल मार्केटहरु मर्ज हुने क्रममा छन, अब सिङ्गापुर र अष्टेलियाका क्यापिटल मार्केटहरु मर्ज हुने क्रममा छन, यो आवश्यकतापनि हो’–गर्भनर डा. नेपालले भने ।
सेलकमका अध्यक्ष दीपक मल्होत्राले ग्राहकले बैँक खातामा रहेको पैसा सेलपे मार्फत सहजै भुक्तानी गर्न सक्ने बताए । उनले भने–‘हामीले बैंकमा एक नेपालीको एक बैंक खाता हुनु पर्ने कुरामा जोड दिंदै आएका छौँ । पहिले कागजी नोट चल्ती हुने गरेको, त्यसपछि प्लाष्टिकको पैसा र अहिले सेलपे जस्ता प्रविधिको युगमा प्रवेश गरेको उनले बताए । सेल पेको उद्देश्य भुक्तानी र बैकसँग रहने छ । ‘बैकमा खाता भएका ग्राहकहरुले अब सेल पेको फाइदा उठाउन सक्छन्’–मल्होत्राले भने ।
के हो त सेलपे सेवा ?
सेल पे सेवा मोवाइल तथा वेबहरु मार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने सेवा हो । सो सेवा मार्फत विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकास गरिएको छ ।
सेलपे वालेट सेवा होइन
सेलपे वालेट सेवा होइन । सेलपे सेवामा ग्राहकले वालेट बनाउनु पर्ने, वालेटमा रकम स्थान्तरण गर्नु पर्ने खालका केही झण्झट आउँदैनन् । यसलाई ‘डिजिटल डेविट कार्ड’को रुपमा लिन सकिन्छ । ग्राहकले एक वा सो भन्दा बढी बचत खाताहरुमा सेलपेमा जोड्न सक्ने छन् । साथै, मोवाइल फोन रिचार्ज, टेलिफोन, बिजुली, खानेपानी, ईन्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ई–कमर्स तथा अन्य भुक्तानीमा यो सहयोगी साबित हुनेछ ।
यसरी प्राप्त हुन्छ सेलपे सेवा
सेल पे सेवा प्राप्त गर्न गुगल प्लेस्टोर र एप्पल एप्पस्टोर अथवा सेलकमको वेवसाइटबाट आफ्नो स्मार्ट फोनमा डाउनलोड गर्नपर्छ । यसपश्चात एप्पमा भनिए अनुसार आफूलाई दर्ता गरी आवश्यक के वाई सी जानकारीहरु भर्नु पर्ने हुन्छ । के वाई सीका जानकारीहरु भरे पश्चात ग्राहकले आफ्नो भुक्तानी सुचारु गर्न सक्छन् ।
सेलपे सेवामा आवद्ध गर्न सकिने बैंक खाता संख्या
सेलपे सेवामा ग्राहकहरुले आफूले चाहे जति बैंक खाता राख्न सक्छन् । उक्त बैंकहरु सेलकम प्राईभेट लिमिटेडको साझेदार बैंक हुन आवश्यक छ ।
सेल पे सेवा जडित मोवाईल हराएमा आत्तिनु पर्दैन
सेल पे सेवा जडित मोवाईल एप हराएका ग्राहकले अरुले कारोबार गर्लान् कि भनेर चिन्ता मान्नु पर्दैन । किनभने सेल्पेमा कुनैपनि किसिमका जानकारी भण्डारण हुँदैन । मोवाइल हराएको अवस्थामा ग्राहकले सम्बन्धित बैँक अथवा सेलकम कम्पनी जहाँपनि सम्पर्क गर्न सक्ने छन् । यसरी सम्पर्क गरेर सो सेवा ब्लक गर्न मिल्ने सुविधा ल्याइएको छ ।
मोवाइल सेट परिवर्तन गर्दा के हुन्छ ?
एक पटकमा एउटा मोवाइलमा मात्र चल्ने किसिमले सेलपे सेवा जडान गरिएको हुन्छ । ग्राहकले मोवाईल सेट परिवर्तन गर्दा नयाँ मोवाईलमा लग इन गर्नु आवश्यक हुन्छ । सोही बेला एसएमएस मार्फत एक ओटीपी प्राप्त प्राप्त हुन्छ । सो ओटीपीलाई मोबाइल एप्पमा भनिएको ठाउँमा राखेमा सेवा सुचारु गर्न सकिन्छ ।
के हो त सेलपे लोयल्टी
सेल पे लोयल्टी एक ग्राहक योजना हो । उक्त योजनामा हरेक कारोबारमा एक निश्चित बोनस रकमको व्यवस्था गरिएको छ । त्यसमा दूर सञ्चार सेवा प्रदायकहरुको रिचार्ज गर्न सकिने सुविधा छ ।
यस्ता छन् सेल पे मा कारोबारका सीमा
सेल पे सेवामा नेपाल राष्ट्र बैंकद्वारा निर्धारित गरिएका सेवाहरु लागू हुन्छन् । सो सीमा कारोबारको प्रकारको आधारमा निर्धारित हुने पाईन्छ ।
सेल पे सेवामा रहेका कारोबार शुल्क तथा दस्तुर
सेल पे सेवामा रहेका कारोबार शुल्क रकम स्थान्तरणको आधारमा रहेको कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताहरुका लागि २ देखी २० रुपैयाँ सम्मका दस्तुरहरु निर्धारित गरिएका छन् । सेल पे को सन्दर्भमा अन्थ थप जानकारी लिन सेलकम प्राईभेट लिमिटेडमा सम्पर्क गर्न सकिन्छ । सेलकम प्राईभेट लिमिटेडको भने जेडिए कम्प्लेक्स सुन्धारामा रहेको छ ।