विकासन्युज

एनसीसी बैंकद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण

काठमाडौँ । रौतहट जिल्लाको यमुनामाई गाउँ पालिका स्थित एनसीसी बैंकको शाखा कार्यालयद्वारा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ । यमुनामाई-४ का बाढी पीडितलाई विहीबार बैंकले राहत वितरण गरेको हो । स्थानीय ३० परिवारलाई १५ दिनसम्म पुग्ने दाल, चामल, नून, आलु लगायतका सामाग्री बितरण गरेको शाखा प्रबन्धक उज्वल रिजालले जानकारी दिए । असार महिनाको अन्तिम साता वर्षासँगै आएको बाढीबाट पीडित भएका परिवारलाई खाद्यान्य सहयोग गरेकोमा वडा नम्बर ४ का अध्यक्ष चेतन राय यादवले खुशी व्यक्त गरे ।

लक्ष्मी बैंकको १११औँ शाखा भैसेपाटीमा

काठमाडौँ । लक्ष्मी बैंकले १११औँ शाखा भैसेपाटीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । नयाँशाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको बैंकले जनाएको छ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा फारम भर्ने अन्तिम मिति भदौ ५ गते, कसले दिन पाउँछन् परीक्षा ?

काठमाडौं। कक्षा १२ का ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले भदौ ५ गते सम्म फारम बुझाई सक्नुपर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सुचना प्रकाशित गर्दै ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ २ गते सम्म रकम र ५ गते सम्म फारम बुझाई सक्नुपर्ने बताएको हो। बोर्डका अनुसार कक्षा १२ को ग्रेड्वृद्धि परीक्षामा विद्यार्थीहरुले बढीमा दुई बिषयमा मात्र  सामिल हुन पाउने छन्। बोर्डले परीक्षामा सहभागी हुन पाउने विद्यार्थीको आधारहरु पनि सार्वजनिक गरेको छ। ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू : १. अन्य सबै विषयमा c+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा मात्र c वा d+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्। २. अन्य सबै विषयमा d+वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा मात्र d वा c प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन्। ३. परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्। ४. शैक्षिक योग्यताका प्रमाणपत्र  लिई सकेका परीक्षार्थीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्। यदि सहभागी भएको पाइएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । ५. ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६०० (छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ भदौ २ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ भदौ ५ गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००।– (एक हजार दुईसय) बुझाई सोही दिन कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ । ६. परीक्षा आवेदन फाराम साथ कक्षा १२ को ग्रेड सिटको प्रतिलिपि वा धभदकष्तभ बाट डाउनलोड गरेको कक्षा १२ को ग्रेडसिट/लेजर संलग्न गर्नुपर्नेछ । फाराम बुझाउने सम्बन्धित कार्यालयहरू : १. ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ । २. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा । ३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा । ४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर । ५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं । ६. गोरखा, लमजुङ, तनहु“, कास्की, स्याङ्ग्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की । ७. गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखा“ची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही । ८. प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ । ९. बाँके र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाँके । १०. दैलेख, जाजरकोट, सुर्खेत, मुगु, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत । ११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली । १२. बाजुरा, बझा·, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धुरा ।

पाेखराकाे कोटभैरव मन्दिर भुकम्प गएको चार वर्षपछि नयाँ स्वरुपमा बन्दै

पोखरा । विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडा शैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको मन्दिरको ऐतिहासिक एवं यहाँको सांस्कृतिक महत्वसमेतलाई उजागर गर्ने गरी रु ३५ लाख लागतमा प्राचीन कलायुक्त मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिएका छन् । उनका अनुसार २४ फिट उचाइको प्यागोडाशैलीको मन्दिरमा भक्तपुरका कलात्मक इँटाको प्रयोगका साथै झ्याल, ढोका कुँदेर राखिनेछ । तामाको पाताको छानाका साथै काठका कलात्मक झल्लरीबाट मन्दिरलाई सजाइने छ । मन्दिरको निर्माणका लागि पोखरा महानगरपालिका–३३ बाट रु १० लाख २० हजार सहयोग प्राप्त भएको र अन्य थप रकम भने चन्दा सहयोग आदिबाट सङ्कलन गरिने समितिको लक्ष्य छ । नेपालका बाइसे–चौबीसे राजाका पालादेखि नै पूजाआजा हुँदै आएको मन्दिरमा जग खन्ने क्रममा प्राचीन माटोको इँटा पाइएको समितिका सचिव कमलप्रसाद पौडेलले जानकारी दिए । “जग खन्ने क्रममा ठूलाठूला ढुङ्गाका बीचमा इँटा राखेर त्यहाँ कालो माटोले टालेको पायौँ”, उनले भने, “मल्लकालीन समयमा काठमाडौँबाटै इँटा ल्याउने प्रचलन रहेका कारण यहाँ पाइएका इँटा उहीँबाट ल्याइएका हुन् कि भन्ने हामीलाई लागेको छ ।” यसरी, तत्कालीन समयदेखि नै मन्दिरको नियमित पूजाआजाका लागि गुठी जग्गा व्यवस्था गरिए पनि पछिल्ला समयमा बढ्दै गएको कृषिप्रतिको अनिच्छाका कारण ती जग्गा बाँझै छन् । मन्दिरमा विभिन्न जातजातिका लागि गुठी जग्गा छुट्याइएको थियो । गुठी जग्गामा खेती नगरिएका कारण समितिका लागि नियमित पूजाआजा खर्चिलो बन्दै गएको अध्यक्ष महतले बताए । मन्दिरमा मगर पुजारीका साथै ब्रह्माणले पूजा गर्ने गर्दछन् । विशेष गरी कोटभैरव मन्दिरमा साउने सङ्क्रान्तिमा सामूहिक रुपमा लुतो फालिन्छ भने आश्विन शुक्ल पक्ष (बडादशैँ) र चैत्र शुक्ल पक्ष (चैते दशैँ) मा विशेष पूजा गरिन्छ । देशका अन्य शक्तिपीठमा जस्तै बडादशैँमा विधिवत् घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी कालरात्रि, महानवमीको विशेष पूजा गरी विजया दशमीका दिन सामूहिक टीका, प्रसाद लगाउने गरिन्छ । कोटभैरव मन्दिरको नाममा झण्डै १०० भन्दा बढी रोपनी गुठी जग्गा रहेको र त्यसको यकिन तथ्याङ्क निकाल्न समितिले पहल थालेको सचिव पौडेलको भनाइ छ । कोटभैरव मन्दिर धार्मिक तीर्थस्थलका साथै पर्यटकीयस्थल पनि हो । अत्यन्त रमणीय यस ठाउँबाट माछापुच्छ्रे«े हिमालका साथै कास्की, तनहुँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्ला एकैसाथ अवलोकन गर्न सकिन्छ । यहाँ नजिकै रहेको हुडिकोटबाट त पोखराको फेवातालसहित सात तालको शहर उपमा पाएको लेखनाथलाई सजिलै हेर्न सकिन्छ । दर्शन गरेमा चिताएको पुग्ने जनविश्वाससमेतले पोखरासहित आसपासका जिल्लाबाट कोटभैरव पुगेका दर्शनार्थीले यहाँबाट देखिने मनोरम दृश्यको अनुपम स्वादमा रमाउने गर्दछन् । समुद्री सतहबाट एक हजार १६५ मिटरको उचाइमा रहेको यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला तथा सेती नदी, लेखनाथका सात ताल, पोखराको फेवातालसहितका दृश्य एकसाथ नियाल्न सकिन्छ । पर्यटकीय आकर्षणको प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेपछि स्थानीय बरेली युवा क्लबको आयोजनामा २०६९ सालमा यस क्षेत्रको प्रवद्र्धन गर्न प्रथम हुँडिकोट महोत्सव गरिएको थियो । विगतमा यातायातको असुविधाका कारण यहाँ पुग्न कठिनाइ हुने गरेकामा अहिले पोखराको विरौटा र गगनगौँडा हुँदै छुट्टाछुट्टै सार्वजनिक बस सञ्चालन भएकाले पर्यटकलाई सजिलो भएको छ । पोखराबाट लगभग १७ किलोमिटर टाढा पर्ने यो ठाउँसम्म नै अहिले कालोपत्रे सडक भएकाले निजी सवारीसाधन हुनेका लागि त बरदान नै सावित भएको समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले बताए । चौबीसै घण्टा शीतल हावा लागिरहने यो ठाउँ बर्खा होस् वा हिउँद जुनसुकै समयमा वरपरका क्षेत्रमा हुस्सु, कुइरो लाग्दासमेत सधैँ खुलेको हुन्छ । निर्माणाधीन मन्दिरले पूर्णता पाएसँगै यसले कोटभैरवको ऐतिहासिक एवं धार्मिक महत्वलाई अझै बढाउने र यो धार्मिक पर्यटनको आकर्षकस्थल बन्ने विश्वास लिइएको छ । रासस

क्यान्सर विजेता बालबालिकाको र्याम्प शो हुँदै, संकलित रकम उपचारमा खर्च गरिने

काठमाडौं। सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक शनिबार हुने भएको छ। नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र अन्य केही सहयोगी संस्थाहरुको सहकार्यमा नेपाल क्यान्सर सहयोग समूहले र्याम्प वाक गर्न लागेको हो। ललितपुरको सानेपा स्थित हेरिटेज स्थित गार्डनमा श्रावण १८ गते शनिबार हुन लागेको हो। नेपाल क्यान्सर सहयोग समुह, नेपाल क्यान्सर अस्पतालको सहयात्रीको रुपमा अघी बढेको एउटा गैर नाफामुलक गैर सरकारी संस्था हो। क्यान्सर बिरामी तथा उनका परिवारलाई सहयोग र उचित एवं विविध सेवा उपल्ब्ध गराउने संस्थाको रुपमा ११ बर्ष अगाडि स्थापना भएको हो। विभिन्न क्यान्सर रोगी समूहको मनोबल उच्च राख्न मनोसामाजिक परमार्श उपलब्ध गराई विरामीलाई र परिवारलाई तनावमुक्त राख्न नेपाल क्यान्सर सहयोग समूहले कल्याणी, आरोग्य, निरामय, सुदिप्त जस्ता क्यान्सर विजेता र मनोसामाजिक परामर्श दाताको समूह गठन गरेर क्यान्सर विरामी र परिवारका सदस्यहरुलाई निशुल्क सेवाउपलब्ध गराउर्दै आएको छ । नेपालको दुर्गम क्षेत्र मानिने मुस्ताङ्ग, गोरखाको बोरलाङ, बागलुङ्ग, काभे्रको तामाघाट,ललितपूरको विकट गाविसहरु, काठमाण्डौं बाहिरका गाविसहरु लगायत पूर्वी र पश्चिम तराईका विभिन्न जिल्लाहरुमा झण्डै ७० वटा जति निःशुल्क क्यान्सर संचेतना कार्यक्रम र क्यान्सर परीक्षण शिविर संचालन गर्दै आईरहेको छ। संस्थाले आयोजना गर्न लागेको क्यान्सर विजेता र क्यान्सर उपाचारमा रहेका बालबालिकाको को मुख्य उद्देश्य ती बालबालिकाहरुमा उच्च मनोबल कायम गर्नु र उनीहरुले दीर्घरोगीको रुपमा केही हद सम्म गुमाएका बालअधिकारलाई पुनः अघिकार सम्पन्न बनाउनु रहेको कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले बताईन्। समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मन्रोरनजनको लागि पनि र्याप शो गर्न लागेको नेपाल क्यान्सर समुहले बताएको छ। कार्यक्रमको माध्यमबाट संकलन गरिने धनराशी क्यान्सर विरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिवद्धता नेपाल क्यान्सर समुहले व्यक्त गरेको छ।

सिंहदरबारको सम्पत्ति कति ? जवाफ दिन सक्दैन सरकार

काठमाडौँ । सार्वजनिक सम्पत्ति अबैध ढंगले व्यक्तिका नाममा दर्ता गराउने क्रम बढेपछि अर्थ समितिको बैठकमा सिंहदरबारको सम्पत्तिबारे कुरा उठेको छ । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ को दफावार छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् । सांसदहरुले सिंहदरबारको सम्पत्ति कति छ ? भन्ने कुरा उठाएपछि जवाफमा अर्थ सचिव डा. राजन खनालले सरकारसँग यसको तथ्याङ्क नभएको बताए । उनले भने–‘सम्पूर्ण सम्पत्तिको ठेली तयार हुँदैछ, अहिले नै सिंहदरबारको सम्पत्ति कति भन्न सकिदैन ।’ सिंहदरबारको सम्पत्तिको लगत महालेखा नियन्त्रण कार्यालयले राख्ने र त्यसको परीक्षण अर्को निकायले गर्ने व्यवस्था हुनु पर्नेमा अर्थसचिव खनालले जोड दिए । छलफलमा उपस्थित अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्पष्ट जवाफ दिन सकेनन् । उनले भने-‘तथ्याङ्क संकलन हुँदैछ, छिट्टै सिंहदरबारको सम्पत्ति यत्ति हो भन्ने बारे राज्यले सार्वजनिक गर्छ ।’ पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्री भएको बेला नै महालेखालाई पत्र पठाएर सिंहदरबारको सम्पत्तिका बारेमा सरकारले चासो देखाएको बताए । मन्त्री परिषद्बाट नै निर्णय गराएर महालेखालाई पत्र पठाइएको छ-पूर्व अर्थमन्त्री पाण्डेले भने । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ मा नै देशभरका सार्वजनिक सम्पत्तिको लेखाजोखा बारे समेट्न सकिन्छ कि भन्ने बारेमा सांसदहरुले कुरा उठाएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो । घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । रासस

सगरमाथा राष्ट्रिय निकुञ्जले उठायो १६ करोड राजश्व, बढी विदेशी पर्यटकबाट

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ लाख २३ हजार २२१ र आन्तरिक पर्यटकबाट रु ७२ हजार २३० राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिएका छन् । त्यस्तै, गाइडबाट रु ३१ लाख ८१ हजार ८४९, हेलिकप्टर अवतरण गरेबापत रु एक करोड १३ लाख ७१ हजार ६४४, विदेशी टोलीको क्याम्पियनबाट रु आठ लाख ८२ हजार ७४१ सङ्कलन भएको सूचना अधिकारी चौधरीको भनाइ छ । सहासिक पर्यटकीय गतिविधिबाट रु दुई लाख ८५ हजार ८७४ सङ्कलन भएको छ । यस्तै कार्यालयले रु छ लाख ६० हजार बेरुजु असुल गरेको छ भने निकुञ्जको नियमविपरीत कार्य गरेबापत दण्ड जरिवानाबाट रु १ लाख ७१ हजार ६९४, काठ निकासी गरेबापत रु एक लाख ९८ हजार ६७५ राजस्व सङ्कलन गरेको उनले जानकारी दिएका हुन् । यसरी, निकुञ्जले विदेशीबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु १ हजार ५० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेबापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ । रासस