विकासन्युज

नेप्सेले १५ दिनको अवधि दिएर ब्रोकर लाइसेन्स खुलायो, ५ बैंकले सहायक कम्पनी खोलिसके

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि आवदेन खुला गरेको छ । नेप्सेले बिहिबार कार्यविधि सार्वजनिक गरेर बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो । शुक्रबार बैकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि १५ दिनभित्र आवेदन दिन खुला गरेको हो । हालसम्म एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् । अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् । नेप्सेको बिहीबार सार्वजनिक गरेको कार्यविधि अनुसार ब्रोकरको काम गर्ने कम्पनी वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्नेछ । उक्त कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ हुनुपर्ने मापदण्ड तोकिएको छ । नेप्सेमा आवेदन दिनका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

डिप्रोक्स लघुवित्त मर्जरमा जाने, ४ सदस्यीय समिति गठन

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक यज्ञप्रसाद शर्मा संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा सञ्चालक भृगुऋषि दवारी र रमेशकुमार रघुबंशी रहेका छन् भने सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहेका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने÷गाभिने र प्राप्ती गर्ने नीतिलाई सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

पर्यटकीय नगरी सौराहाः होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै

चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताएका छन् । उनका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ लगाउनुपर्ने, भवनहरुमा नेपाली शैली झल्कनुपर्ने, होटल रिसोर्टका लागि जमिनको न्यूनतम क्षेत्रफल तोकिनेछ । सौराहामा मात्र ११० होटल र ८० रेष्टुराँ छन् । सो क्षेत्रमा मानव बस्तीसमेत छ । नीति बनाउनुअघि होटल र रेष्टुराँ व्यवसायीसँग नगरपालिकाले छलफल थालेको हो । वृहतरूपमा छलफल गरेर यसलाई अन्तिम रूप दिने वनको धारणा छ । नगरपालिका आफैंले मात्र नीति बनाउँदा कार्यान्वयनमा कठिनाइ हुने हुँदा निजी क्षेत्रको सहमतिमा नै काम गर्न लागिएको वनको भनाइ छ । सो क्षेत्रमा अग्ला भवन बनाउन अध्ययन गर्न आएकाहरुलाई आफूले अग्ला भवन बनाउन नपाउने मौखिक जानकारी दिन शुरु गरेको वनले बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव राममणि खनाल स्थानीय सरकारले नीति बनाएर काम अघि बढाउनुपर्ने बताउँछन् । प्रकृति सुहाउँदो रङ, वातावरणमा प्रभाव नहुने संरचना निर्माण गर्न सकेमा सौराहाको सुन्दरता अरु थपिने खनालको भनाइ छ । नगरपालिकाले बनाउने मापदण्डमा व्यवसायी सहमत हुने भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्ले चिनेको सौराहालाई जीवन्त राख्न यो महत्वपूर्ण काम हुने बताएका हुन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले आफूहरुले चार वर्षअघि नै यसम्बन्धी प्रस्ताव गरेको भन्दै नगरपालिकाले यथाशीघ्र नीति बनाएर अघि बढ्नुपर्ने बताए । सौराहामा पछिल्लो समय कङ्क्रिटका ठूला भवन बन्न थालेका छन् । यस्ता कङ्क्रिटका भवनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता लोप हुने चिन्ता व्यवसायीमा रहेको छ । क्षेत्रीय होटल सङ्घले सौराहाको वृहत गुरुयोजनासमेत निर्माण गरिरहेको छ । रासस

१७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला उज्यालो गर्न पुग्यो डिजेल प्लान्ट मेसिन

खलंगा । सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहँुदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिएका छन् । सदरमुकाम उज्यालोका लागि जुम्लामा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरिद गरिएको अध्यक्ष बुढाथापाले जानकारी दिए । निर्माणाधीन मेसिन साना जलविद्युत् उपभोक्ता समितिको विद्युत्गृहमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न बाँकी रहेको उनको भनाइ छ । मेसिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगञ्जबाट चार दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी (१६० किलोवाट) को मेसिन जुम्ला पुगेको हो । सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै रु ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको बताए । भारतीय दूतावासले सहयोग गरेको मेसिनको बिग्रिएको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुष्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बताएका छन् । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ती भने सहुलियत गरिने बताइएको छ । मेसिनको लागत, ढुवानी, तेल खर्चको विषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाइ गरिने कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताए । १८ दिनदेखि जुम्ला बत्तीविहीन भएपछि सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अँध्यारोमा छन् । रासस

बढ्दै बलात्कारका घटनाः एक हजार ८७३ मुद्दा दर्ता

काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताएका छन् । कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्ती रूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउँछन् । “हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ”, उनले भने । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट पनि यस्ता घटना बढेकोे उनको भनाइ छ । रासस

फ्रान्सेली विद्यार्थीको सहयोगमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना

कास्की । सोलिडारिटी फर फ्रान्स नेपालअन्तर्गत त्यहाँका विद्यार्थीको सहयोगमा कास्कीमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ । ज्येष्ठ नागरिकहरु भेला हुने र सुख–दुःखका अनुभूति साटासाट गर्न सहयोग पुर्याउने उद्देश्यले माछापुच्छे गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो । गत असार २१ गते नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी कलेजका छ युवा विद्यार्थीको समूहले स्थानीयवासीसँग सहकार्य गर्दै २५ दिन लगाएर सेवा केन्द्र भवन तयार गरेका थिए । आमा स्मृति प्रतिष्ठान नेपालको समन्वयमा उनीहरु निर्माण कार्यमा लागेका हुन् । प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीले स्वयंसेवक विद्यार्थीले रातको १ बजेसम्म पनि निरन्तर काम गरेर भवन, शौचालयलगायतका पूर्वाधार निर्माण गरेको बताए । विद्यार्थीले रु तीन लाख ८० हजार नगद र रु दुई लाख बराबरको श्रमदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दवाडीले गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासमेतको लगानीमा रु आठ लाख खर्च गरेर भवन निर्माण गरिएको बताएका छन् । स्वयंसेवकका रूपमा नेपाल आएका ३० विद्यार्थी पाँच समूहमा विभाजित भएर नेपालका विभिन्न गाउँहरुमा सामाजिक काममा लागेको र यहाँ सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको सो समूहका टोली नेता गास्पर्ड डारिगल बताउँछन् । आमा स्मृति प्रतिष्ठान, सोलिडारिटी फर फ्रान्स नेपाल तथा गाउँपालिकाको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको थियो । भवनमा ५० वृद्धवृद्धाका लागि टेलिभिजन, आराम तथा मनोरञ्जनका सामग्रीहरु राखिएको छ । स्थानीय ज्येष्ठ नागरिक तोयनाथ शर्मा लम्सालले विगतमा गाउँघरमा भएका चौतारीहरु अहिले मासिइसकेको बताउँदै दुःख–सुखका अनुभूति साटासाट गर्ने र दिन कटाउनका लागि सेवा केन्द्र निर्माण भएपछि आफूहरु खुशी भएको बताए । उनले भने, “हामी वृद्धवृद्धालाई शीतल ताप्ने र एक ठाउँमा बसेर मनको बह, गुनासा पोख्ने ठाउँ पनि छैन, अब भने जमघटको थलो पाएका छौँ ।” सेवा केन्द्र वडा कार्यायललाई विहीबार हस्तान्तरण गर्दैै गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति भएको चर्चा गर्दै उनीहरुका सीप, अनुभव र ज्ञानलाई राज्यले संरक्षण गर्नुपर्ने भनाइ राखेका छन् । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले सबै वडामा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गर्ने योजना रहेको सुनाए । रासस

सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षक परे जरिवानामा

परासी । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरुलाई प्रतिशिक्षक रु पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह गरेको छ । नयाँ आव शुरु भएको ६० दिनभित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख डोलराज पाण्डेले भन्नुभयो, “सम्पत्ति विवरण बुझाउन अटेरी गरेका शिक्षकको सूची मन्त्रालयबाट प्राप्त भएको छ, त्यो सूचीमा केही अवकाश पाएका, सरुवा भएर गएका, दोहोरिएका र सम्पत्ति विवरण बुझाइसकेका समेत नाम भेटिएको छ”, उनले थपे, “त्यो सूची छानबिन गरी नबुझाएका शिक्षकलाई अविलम्ब विवरण फारम भर्न र जरिवाना बुझाउन निर्देशन दिएका छौँ ।” यसरी, सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुले विद्यालय किताबखानामा र अस्थायी शिक्षकहरुले सम्बन्धित स्थानीय तहमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । रासस

सिसी क्यामेराको सहयोगले फरार अपराधी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ । बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । प्रवक्ता क्षेत्रीका अनुसार भे८प ८१६० नंको मोटरसाइकलमा सवार चालक गुरुङले तीनकुनेचोकबाट मङ्गलगढीतर्फ आउँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका ६५ वर्षीया वृद्धा काली नेपालीलाई ठक्कर दिई गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते नेपालीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बुधबार बेलुका मृत्यु भएको हो । घटनालगत्तै प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको थियो । प्रहरीले फरार युवकको मोटरसाइकलको नम्बर नखुल्दा १५० सिसीको निलो कलरको पल्सर मोटरसाइकल सिसी क्यामेरामा हेरेर पत्ता लगाएको थियो । त्यसका आधारमा फरार मोटरसाइकल चालक गुरुङ र उनको पछि बसेका वीरेन्द्रनगरपालिका–५ चिसापानी सुर्खेतका २२ वर्षीय मनबहादुर धामीलाई बिहीबार नियन्त्रणमा लिई कारवाहीका लागि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जनाएका छन् । रासस