भारतका एक्चुरीलाई वित्तीय विवरण पठाउँदा कति रहला गोपनियता ? बीमा कम्पनी भन्छन्-‘विश्वासमा चल्ने हो’
काठमाडौँ । बीमा कम्पनीहरुले भविश्यमा आइपर्ने जोखिम र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गरिने बीमाङ्कीय मूल्याङ्कनका लागि वित्तीय विवरणहरु भारतमा पठाउने गरेका छन् । नेपालमा बीमाङ्की(एक्चुरी) नभएकाले बीमा कम्पनीहरुका सबै विवरण भारतका एक्चुरीका कहाँ पठाउँदा कम्पनीहरुको गोपनियता भङ्ग हुने संभावना रहन्छ । यसरी एक्चुरीले वित्तीय विवरणहरु हेरिसकेपछि एक कम्पनीको पोलिसी अर्को कम्पनीमा पुग्ने सम्भावना हुन्छ । जसले बीमा कम्पनीहरुलाई धरासायी बनाउन सक्नेमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् । नेपालमा बीमा व्यवसाय संचालन गर्दै आएका बीमा कम्पनीहरुको एक्चुरी भ्यालुयसनको कारण गोपनियतामा पर्ने सक्ने असरलाई विश्वाससँग जोडेर हेर्ने गरेका छन् । यता, बीमकहरुले बीमा विश्वासमा चल्ने व्यवसाय भएकाले नै आफूहरु सुरक्षित रहेको जानकारी दिएका छन् । नेपालको एक्चुरी छैनन् । सोही कारण वित्तीय विवरण भारत लानु पर्ने बाध्यता छ । बीमा कम्पनीहरुले अनिवार्य रुपमा वार्षिक वित्तीय विवरण एक्चुरियल भ्यालुयसन गराउनु पर्छ । कम्पनीहरुले उक्त एक्चुरी गरेको विवरण बीमा समितिमा पनि पठाउँछन् । पुनः बीमा समितिले आफैँले नियुक्त गरेको एक्चुरी मार्फत वित्तीय विवरण स्विकृत गर्ने गर्छ । तर, बीमा समितिले समेत सो कुरा सही हो कि होइन भन्ने नेपालमा पत्ता लगाउन सक्दैन । नेपालमा पत्ता नलाग्ने भएको कारण छिमेकी राष्ट्र भारतको एक्चुरी मार्फत नै बीमा समितिले पनि काम गराउँदै आएको छ । कम्पनीले भारतमा वित्तीय विवरण मात्र पठाउँदैनन, आफूले हालसम्म सोच्दै आएका केही गोप्य कागजपत्र समेत पठाउँछन् । यस्तो अवस्थामा बीमा कम्पनीहरुले आफूले अन्य कम्पनीहरुसँग लुकाएका सूचनाहरु बाहिरिन सक्ने खतरा रहेकोमा स्वीकार गरेका छन् । बीमा कम्पनीहरुले सफ्ट कपी मात्र नभएर कतिपय सन्दर्भमा हार्ड ड्राईभको समेत प्रयोग गर्ने गरेका छन् । बीमा समितिले पनि आफ्नै एक्चुरी नभएका कारण एक्चुरी भ्यालुयसन टेष्ट भारतमै गराउनु पर्ने बाध्यता रहँदै आएको बताएको छ । साथै, सोही कारण बीमाका वित्तीय विरण तयार हुन पनि केही ढिलाई हुने गर्छ । बीमा समितिक एक अधिकारीले भने-‘एक्चुरीयल भ्यालुएसन टेष्टका लागि हामीले बीमा समितिमा एउटा ढाँचा तयार गरेका छौँ, सोही ढाँचा अनुसार काम गर्ने गर्छौ ।’ उनले कम्पनीहरुले इस्यू गरेका पोलिसी, ल्याप्स भएका पोलिसी, सरेण्डर भएका पोलिसी लगायत सम्पूर्ण विवरण पठाउने गरेको जानकारी दिए । साथै, विजेनश स्ट्राटीजी अनुसार काम गरिने भएकाले यस्ता सूचनाहरु नबाहिरिने उनले जानकारी दिए । एउटा कम्पनी र अर्को कम्पनी, एउटा एक्चुरी र अर्को एक्चुरीबाट सूचना बाहिरिने सम्भावना भएपनि त्यस्तो अनैतिक कार्य कसैले नगर्ने उनको तर्क छ । यस्तै, बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले भने-‘हामीले एक्चुरी भ्यालुएसनका लागि सम्पूर्ण वित्तीय विरण पठाउने गरेका छौँ, यो त सबै विश्वसले नै गर्दा हो, विश्वास टुटन गएमा हामीले नयाँ एक्चुरी छनोट गर्नुपर्ने हुन्छ ।’ ‘बीमा समितिले बीमा कम्पनी पिच्छे फरक फरक एक्चुरी नियुक्त गर्नु पर्ने व्यवस्था गरेकाले गोपनियता सुरक्षित हुन्छ’-उनले भने । सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत(सिईओ) राजकुमार अर्यालले बीमा कम्पनीको नियामक बीमा समिति भएकाले आफ्नो समस्यामा समितिले भूमिका निभाउने बताए । प्रमुख कार्यकारी अर्यालका अनुसार-‘बीमा कम्पनीको असहजतामा समितिले सहयोग गर्छ, बीमा भनेको विश्वासले चल्ने व्यवसाय हो, शंकाले शंकाले चल्दैन ।’ बोनस दरको डर छ बीमा कम्पनीहरुले दिएको जानकारीलाई आधार मान्ने हो बोनस दर बिमितलाई आफूले भन्नु भन्दा अगाडि नै सार्वजनिक हुने होकी भन्ने डर रहेको पाइन्छ । तर, बीमा कम्पनीहरुले सो विषयमा आफूहरुले बीमा समितिप्रति विश्वास गर्दै आएको मत जाहेर गरेका छन् । एक्चुरीले अनुशासन पालन नगर्दा मात्र बीमा कम्पनीको गोपनियता अर्को कम्पनीसम्म पुग्ने जानकारहरु बताउँछन् । साथै, एक्चुरीले पेशागत मर्यादा कायम गर्ने भएकाले बीमा व्यसायमा कुनैपनि हानी नपुग्ने उनीहरुको तर्क छ ।
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी, महत्वपूर्ण सामग्री जलेर नष्ट
चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टीकाराम रिजालले राससलाई जानकारी दिएका छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
अख्तियारद्वारा पाँच प्रहरी घुस लिँदालिँदै पक्राउ
काभ्रेपलाञ्चोक । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बू राजमार्गमा पर्ने हिगुवापाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बाँनियालाई टिपर चालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो । साथै, पाँचखाल प्रहरी चौकीमा कार्यरत हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्गस्थित केराघारीबाट पक्राउ गरिएको छ । उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताएका हुन् । उनका अनुसार ओभरलोड तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपर चालकसँग रकम असुल्दै आएका थिए । उजुरीमा प्रहरीले प्रतिटिपर चालकसँग मासिक रु दुई हजार असुल्दै आएको उल्लेख गरेपछि स्थलगत अनुगमन गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएका प्रहरीले टिपरसँग रु दुई हजार लिइएको अवस्थामा रङ्गेहात पक्रिएको हो । काभ्रेपलाञ्चोकस्थित अरनिको र विपी राजमार्गमा दैनिक एक हजार ५०० टिपर गुड्ने गर्दछन् । रासस
काठमाडौँ-नारिता उडान असोजदेखि, धेरै यात्रु पाउने निगमको विश्वास
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महिनादेखि चार्टर्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । निगमले नारिता विमानस्थलमा दुई वटामात्र चार्टर्ड उडान अनुमति पाइएको बताइएको छ । वाइडबडी ए–३३० जहाजमार्फत ओसाका र नारिता उडान गरिनेछ । निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ । यो गन्तव्यमा सातामा तीन दिन उडान गर्ने निगमको योजना छ । नारिता गन्तव्यमा धेरै नेपाली यात्रु पाउने निगमको विश्वास छ । नारिता जापानको राजधानी टोकियो प्रवेश गर्ने मुख्य हवाई प्रवेशद्वार मानिन्छ । ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ ।
राष्ट्रिय प्रशारणमा २२ मेगावाट विद्युत् थप, साउन ४ गतेदेखि परीक्षण उत्पादन
फिदिम । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रशारण लाइनमा प्रवाह भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङ्बोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने छ । फिदिमस्थित थापाटारको काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा पठाउन थालिएको हो । यस आयोजनाबाट जेठदेखि मङ्सिरसम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनीयर नामेश्वर यादवले बताए । खोलाको पानी घट्ने याम मङ्सिरदेखि वैशाखसम्म १० देखि १२ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो । प्रतिसेकेण्ड १७ हजार लिटर प्रवाह हुने पानीको बहाबबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इन्जिनीयर यादवले बताए । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट रु २२ लाखसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ । तल्लो हेवा ‘माउन्टेन हाइड्रो पावर लिमिडेट’ले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यहाँ पाँच हजार ३०० मिटर दुरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातर्फको इन्टेक फिदिम नगरपालिका–११, नांगीन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ । विद्युत् गृह फिदिम–४ को सारन्तामा छ । रु तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत रु ७० करोड बढेको आयोजनाले जनाएको छ । “नाकाबन्दी, भूकम्प, आन्तरिक विवादका कारण लागत बढेको हो”, आयोजना प्रमुख गणेश सुब्बाले बताए । विसं २०७४ असारमा सक्ने सम्झौताका साथ २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ । रासस
सङ्घीय सरकारविरुद्ध रिट निवेदन, ‘वन संरक्षण कम्पनी मातहातमा ल्याउन खोजियो’
काठमाडौँ । सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक भूसंरक्षण अधिकृत वेचनकुमार महतोले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको अधिकार प्रदेश सरकारको भन्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई सङ्घीय सरकारले आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख छ । निवेदनमा संविधानको मर्म र भावना विपरीत संविधानसँग बाँझिने गरी प्रदेश सरकारको मातहतमा रहने सो वन परियोजनालाई मन्त्रिपरिषद्को गत जेठ २३ गतेको बैठकले सङ्घीय मातहतमा ल्याउन गरेको निर्णयसमेत उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । नेपालको संविधानको धारा २३२ मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहस्तित्व र समन्वयमा आधारित हुनेछ भन्ने व्यवस्था विपरीत सङ्घीय सरकारले काम गरेको रिट निवेदनमा उल्लेख छ ।
नागरिक उड्डयन प्राधिकरणमा १४० जनालाई जागिरको अवसर, ९ देखि ४ तहसम्मका कर्मचारी माग
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४० जना कर्मचारी माग गरेको छ । ९ तहदेखि ४ तहसम्म रिक्त रहेका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले साउन १९ गतेदेखि २१ दिन भित्र अनलाइन फारम भर्न सक्नेछन् । विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग भएको छ । आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभियशन फायर सर्भिसेज, फ्लाइटल अपरशन सर्भिसेज, इ.एण्ड टे. कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग भएको हो । आवेदकले आवश्यक कागजात/प्रमाण पत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुत बुझाउनु पर्नेछ ।
ग्लोबल आईएमई लघुवित्तले माग्यो ३० जना कर्मचारी
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल ठेगानामा १५ दिन भित्र आवेदन दिन सकिन उक्त वित्तीय संस्थाले जनाएको छ । शाखा प्रबन्धकका लागि स्थातक तह उत्तीण गरी २ वर्षको कार्य अनुभव वा कक्षा १२ उत्तीर्ण गरी ३ वर्षको अनुभव भएहरुले आवेदन दिन सक्नेछन् । सहायक प्रशिक्षार्थीका लागि भने स्नातक तह उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन्, उनीहरुलाई तालिम अवधि ६ महिना राखिएको छ ।