विकासन्युज

सामूहिक तरकारी खेती गर्दै बेराेजगार युवाहरू

पाल्पा । सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारीखेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक तरकारी उत्पादनमा जुटेका हुन् । विसं २०७५ माघ महिनादेखि सञ्चालित सामूहिक तरकारीखेती यस क्षेत्रकै नमूना व्यवसायका रुपमा परिचित छ । तानसेनस्थित तरकारी जोन सञ्चालन समितिका नौ युुवाको सक्रियतामा प्रभाषमा बाँझो जमिनमा व्यावसायिक तरकारी उत्पादन गर्दै आइएको उक्त समितिका सहसंयोजक ठाकुरध्वज कार्कीले बताए । बाँझो २० रोपनी जमिनमा दुई टमाटरका बिरुवा, पाँच रोपनीमा काँक्रो तथा सिमी र पाँच रोपनी जग्गामा करेला उत्पादन गरी वार्षिक रु चार लाख, ८५ हजार ९०४ को कारोवार गर्न सफल भएको उनको भनाइ थियो । पहिलो वर्ष व्यावसायिक तरकारी खेती गर्दा अनुभवको अभावका साथै असिनापानीले बाली नोक्सानी गर्दा सोचेजस्तो उत्पादन हुन सकेको थिएन । लामो खडेरी, सिँचाइको अभाव र उत्पादनका लागि पूर्वाधार निर्माणले व्यावसायिक तरकारीखेतीका लागि चुनौती थपिएको उनीहरूको भनाइ थियो । तरकारी खेतीमा नवीनतम प्रविधिको प्रयोग, थोपा सिँचाइ र मल्ङ्गि टनेलमा उत्पादित तरकारी पर्यावरणीय सन्तुलनमा आधारित छ । विषादीको प्रयोग कम, जैविक विषादी तथा पासोको प्रयोग गरी किरा नियन्त्रण गर्दा यहाँ उत्पादित तरकारीको बजार माग राम्रो रहेको व्यवस्थापक धु्रवराज भण्डारीको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइको रू सात लाखको सहयोगमा शुरु भएको सामूहिक तरकारीखेतीबाट रु १५ लाख ४२ हजार २९० बराबरको कारोबार हुँदै आएको छ । उक्त एकाइले जिल्लाको ७६० हेक्टर जमिनमा तरकारी बाली उत्पादनका लागि सहयोग पुर्याउँदै आएको छ । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा यो परिचयोजना सञ्चालित छ । रासस

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिएको हो । जापानी विज्ञ किन्जोले सो गुरुयोजना तयार गरेका थिए । कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि निर्देशन दिएको हो । उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी समेत दिएका छन् । रासस

काठमाडौं महानगरपालिकाद्वारा वडा कार्यालय भवन निर्माण शुरु, आठ करोड विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन् । नयाँ परिस्थितिमा वडा कार्यालयमा धेरै जिम्मेवारी थपिएकाले अहिले भइरहेका भवन अपर्याप्त हुँदा भवन निर्माणमा लागिएको उनले बताएका हुन् । कामपाका निर्माण हुन लागेका नयाँ वडा कार्यालयको नमूना शहरी योजना आयोगले बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयका हेर्दा सुन्दर देखिने गरी नमूना बनाइएको छ । वडा कार्यालयको भवन निर्माण गरिरहे पनि कामपाले आफ्नै भवन भने अझै निर्माण गर्न सकेको छैन । पहिले कामपाको मुख्य कार्यालय रहेको बागदरबार नभत्काउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण काम अघि बढ्न सकेको थिएन । अहिले कामपाका कार्यालयहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । रासस

आइतवारदेखि सहकारीले १६ प्रतिशत मात्रै ब्याज लिन पाउने

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशतमा नबढ्ने गरि तोकिएको हो । सहकारी नियमावली,२०७५ मा भएका व्यवस्था बममोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिले सन्र्दभ ब्याजदर निर्धारण गर्नुपर्ने आधार सिद्धान्तहरुलाई अबलम्बन गर्दै साउन १९ गते आइतबार लागु हुने गरि ब्याजदर निर्धारण गरेको जनाइएको छ । सहकारी विभागका रजिष्टार तथा सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक टोकराज पाण्डेले मुलुकभरका करिब ३४ हजार सहकारी संस्थाहरुका लागि लागुहुने गरि ब्याजदर निर्धारण गरेको बताउँदै यसले आम सर्वसाधरण र ऋणीहरुलाई थोरै भएपनि सहयोग पुग्ने बताए । संयोजक पाण्डेले ब्याजदर सूचकलाई आधार मानेर निर्णय गरेको बताउँदै सम्पूर्ण सहकारी संस्थाहरुको सुझाव सल्लाहहरु समेटेर १६ प्रतिशत ब्यादजर निर्धारण गरेको जानकारी दिए । यो नीतिले विभिन्न समयमा सहकारीहरुमा आउने गुनासाको अन्त्य हुने अपेक्षा गरेको संयोजक पाण्डेले भने । सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्यादजर १६ प्रतिशतमा नबढ्ने तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटि रहने गरी सन्दर्भ ब्याजदर तोकिएको विभागले जनाएको छ ।

छुट्टाछुट्टै स्थानबाट दुई युवकको शव बरामद

गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा बिहीबार हत्या गरिएको अवस्थामा दुई युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित उखु बारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो । नाम, थर, बतन नखुलेको युवकको अनुहारलगायतको भागमा हतियार प्रयोग गरिएकाले पहिचान खुल्न सकेको छैन । त्यस्तै, बिहीबार नै जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातु खोलाको किनारमा स्थानीय रामदत साहका छोरा २१ वर्षीय सरोज साहको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । युवक साहको पनि नाक, अनुहारलगायतका भागबाट रगत बगेको र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पुर्याइएको छ भने दुवै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

हिमालको लुलु तराईमा, रामपुरमा विकास गरिंदै नयाँ जातको गाई

चितवन । हिमालको लुलु गाईले तराईको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीन वटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध दिन सकेका छन् भने त्यहाँको भन्दा बढी मोटाएका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यका अनुसार मुस्ताङबाट काठमाडौँमा दुई वर्ष राखेर ती गाई चितवन ल्याइएको थियो । विसं २०७४ को फागुन ८ गते ती गाई र बहर यहाँ ल्याइएका हुन् । आठ वटा गाई र दुई वटा बहर यहाँ ल्याइएको हो । गाईमध्ये तीनवटा ब्याइसकेको, दुई वटा गर्भिणी भएको र अन्य तीन वटा बढी मोटाएका कारण गर्भावस्था कठिन भएको आचार्यले बताए । ‘लुलु गाईको चितवनमा सफल परीक्षण भइरहेको छ, तर अनुसन्धान जारी छ’, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका वरिष्ठ प्राविधिक अधिकृत आचार्यले भने, ‘चितवनमा लुलु गाई सफल भयो भने झापासम्म लुलु सजिलै हुर्कन सक्छ, पश्चिमी तराईका सबै जिल्लामा रहन सक्छ ।’ मुस्ताङमा रहँदा झ्यापुल्ले लुलु गाई चितवनमा बस्न थालेपछि सबै रौँ झरेर खुइलिएका छन् । लुलु सहरबजारमा साँघुरो ठाउँमा पनि हुर्काउन सकिने गाईको जात हो । हाल ब्याएका गाईले बढीमा दैनिक तीन दशमलव पाँच लिटर दूध दिएका छन् । ती गाईको औषत तौल १५० किलो मात्र रहेको छ । ती गाईले दुई बाच्छी र एक बाच्छो पाएका छन् । जन्मँदा बाच्छाबाच्छीको औषध तौल आठ दशमलव ६३ किलो रहेको थियो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यले यी गाई यहाँको वातावरणमा सहज बस्न सक्ने भएसँगै अनुसन्धानमा सहजता आएको बताए । उनका अनुसार लुलु गाई, तराईको स्थानीय जातको सेतो गाई र उन्नत जातको होल स्टेनलाई क्रश गरेर नयाँ जातको उन्नत गाईको विकास गर्न लागिएको छ । यसवाट विकास हुने गाई जुनसुकै तापक्रममा पनि रमाउन सक्ने र दुई स्थानीय जातका गाईको भन्दा धेरै दूध दिन सक्ने उनले बताए । लुलुको दूधमा फ्याट पाँच दशमलव ८७ प्रतिशत, एसएनएफ नौ दशमलव ३१ प्रतिशत र ल्याक्टोज पाँच दशमलव एक प्रतिशत भएकाले दूधको गुणस्तरमा पनि वृद्धि हुने जनाइएको छ । यसरी विकास गरिएका गाईमा तीनवटै गाईको गुण रहने भएकाले बलियो हुने, झट्ट रोग नलाग्ने जस्तोसुकै हावापानीमा टिक्न सक्ने, कम आहाराले पुग्ने आचार्यको भनाइ छ । यहाँ ल्याइएका लुलु गाई समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङबाट ल्याइएका हुन् । जबकी यहाँको उचाइ १५० मिटर रहेको छ । दैनिक ४० लिटरसम्म दूध दिने होलस्टेन र तीन लिटर हाराहारी दूध दिने ती स्थानीय जात मिसाएसँगै दूध बढी दिने आचार्यले बताए । अनुसन्धान शुरु भएको भए पनि यो प्रविधि लामो भएकाले झण्डै १० वर्षसम्म कुर्नुपर्ने आचार्यको भनार्इ छ । लुलु गाई तराईमा सफल भएसँगै यसको वंश विस्तार र संरक्षणमा पनि सहयोग पुग्ने देखिएको छ । आचार्यले भविष्यमा लुलुको वीर्य नेपालमा मात्र नभएर विदेशमा पनि बेच्न सकिने बताए ।

हेटौँडा औद्योगिक क्षेत्रबाट हटाइयो १४४ मजदूर, एकको मृत्यु

हेटौंडा मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ । साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयबाट आर्थिक वर्ष ७५/७६ को प्राप्त विवरणअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल्स इण्डस्ट्रिज प्रालि तथा अन्य औद्योगिक प्रतिष्ठानबाट उक्त मजदूर हटाइएको बताइएको छ । सोही आर्थिक वर्षमा इनभाइरो प्लाष्ट प्रा.लीमा कार्यरत मजदूरको विद्युत् चुहिएर मृत्यु भएको हो । साथै उद्योगमा कार्यरत मजदूरले आफ्नो हक र अधिकारका लागि व्यक्तिगत तथा सामूहिक रुपमा करिब १०० उजुरी गरेको बताइएको छ । विवरणमा सो कार्यालयमा परेका उजुरीमध्ये सामूहिक छ वटा तथा व्यक्तिगत नौ वटा उजुरीको फछ्र्यौट गरिएको उल्लेख गरिएको छ । कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार चितवन र मकवानपुरमा सो कार्यालयमा दर्ता भएका २०६ वटा उद्योग रहेको जसमध्ये मकवानपुरमा ७२ र चितवनमा १३४ वटा उद्योग रहेका छन् । ती उद्योगमा पाँच हजार ७४३ मजदूर रहेको र उनीहरुको अवस्थाबारे अनुगमन हुने गरेको जनाइएको छ । रासस

कार्यसम्पादन सम्झौताले सरकारको कामलाई नयाँ गति दिन्छः अर्थमन्त्री

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि आगामी साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ । समितिको शुक्रबारको बैठकमा सो विधेयकमाथि संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राख्ने कार्य समाप्त भएकाले आइतबारदेखि दफावार छलफल शुुरु हुन लागेको हो । सरकारले वित्तीय सङ्घीयतालाई अझ प्रभावकारी बनाउन सो विधेयक ल्याएको हो । विधेयकले सरकारी आयोजनामा विनियोजन भएका बजेटलाई अझ पारदर्शी र नतिजामुखी बनाउने ध्येय राखेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएका नीति तथा कार्यक्रम र ती कार्यक्रम कार्यान्वयन गर्न विनियोजित बजेटलाई नतिजामुखी बनाउन प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव र सचिवले मातहतका निकायका प्रमुखसित कार्यसम्पादन सम्झौता भएको हो भने । उनले भने, “कार्यसम्पादन सम्झौताले सरकारको समग्र कामलाई नयाँ गति दिन्छ । यो उत्तरदायित्व पन्छाउने काम होइन ।” आर्थिक वर्षको अन्त्यमा रकमान्तर र बढी खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न मन्त्रालयले प्रयास गरिरहेको चर्चा गर्दै अर्थमन्त्री डा खतिवडाले रकमान्तर गर्दा विनियोजन ऐनको सीमाअनुुसार भएको स्पष्ट पारे । अर्थमन्त्री डा. खतिवडाले अघिल्लो आर्थिक वर्षमा विविध कारणले सम्पन्न हुन नसकेका आयोजनालाई चालू आवमा सम्पन्न गर्न बजेटले ध्यान दिएको उल्लेख गर्दै चालू आवको बजेट कार्यान्वयन गर्न अख्तियारी गइसकेको जानकारी दिए । वित्तीय सङ्घीयता कार्यान्वयन गर्न, विनियोजित बजेटलाई नतिजामुुखी बनाउन, वित्तीय उत्तरदायित्वलाई अझ प्रभावकारी कार्यान्वयन गर्न नयाँ आर्थिक कार्यविधिसम्बन्धी विधेयक आएको उनले जानकारी दिए । बैठकमा विधेयकका संशोधनकर्ता सांसद शान्ति पाख्रिनले आवको अन्त्यमा बढी रकम खर्च गर्ने असारे प्रवृत्तिलाई रोक्न आवश्यक रहेको उल्लेख गर्दै वित्तीय उत्तरदायित्व बहन गर्न सक्ने बनाउनुुपर्छ भने । सांसद दिव्यमणि राजभण्डारीले वित्तीय सङ्घीयता कार्यान्वयन गर्न विधेयक छिटो पारित गर्न आवश्यक रहेकोमा जोड दिँदै वित्तीय उत्तर दायित्वमा प्रदेश र स्थानीय तहलाई पनि विधेयकमा समेट्न सुझाव दिए । अर्का संशोधनकर्ता रेखा शर्माले आफ्नो संशोधन प्रस्तुत गर्दै पूूँजीगत खर्च काम हुने, आवको अन्त्यमा बढी खर्च हुने, रकम फ्रिज हुने प्रवृत्तिलाई रोक्न ध्यान दिनुुपर्छ भनिन् ।