विकासन्युज

मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख कर्जा लिन पाइने, सेवा शुल्क पुरै छुट

काठमाडौं । मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । त्यस्तै, कृषि, उद्यम र व्यवसाय गर्नेहरुको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटरबाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा १२ फुटे मोटर बाटो नभएको जग्गा धितोको रुपमा स्वीकार गर्दैनन् थिए । राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय वृद्धि गर्न प्रवाह गर्ने १५ लाखसम्मको कर्जामा आधार दरमा थप २ प्रतिशतभन्दा बढी व्याज नदिन निर्देशन दिएको छ । यो व्यवस्था सँगै साना व्यवसायीले १२ देखि १३ प्रतिशत व्याजदरमा जुनसुकै बैंकबाट कर्जा लिन सक्ने छन् । यसअघि यस्तो प्रकृतिको कर्जामा बैंकहरुले १५ देखि १८ प्रतिशत व्याज लगाउने गरेका थिए । साथै, यस्तो कर्जा लिने ऋणिसँग बैंकहरुले कुनै पनि प्रकारको सेवा शुल्क लिन पाउने छैनन् । कर्जा भुक्तानी गर्ने भनि तोकिएको मिति अगाडी नै ऋणिले कर्जा तिरेमा त्यसमा अग्रिम भुक्तानी शुल्क लिन पनि नपाइने व्यवस्था गरिएको छ । यसअघि बैंकहरुले कर्जा प्रवाह गर्नुपूर्व सेवा शुल्क ऋण रकमको कम्तिमा १ प्रतिशत र अग्रिम भुक्तानी शुल्क १ देखि २ प्रतिशतसम्म लिदै आएका थिए । यस्तो कर्जाको लागि माग भएको ७ दिनभित्र बैंकले स्वीकृति दिनुपर्नेछ । स्वीकृति दिन नसक्ने भएको अवस्थामा कारणसहित निवेदकलाई जानकारी दिनुपर्नेछ ।

अडान १४ वर्षमा प्रवेश, ‘नाम जस्तै काम गर्नू’: महालेखापरीक्षक

काठमाडौँ । महालेखापरीक्षक टंकमणी शर्माले नेपाल अडिटर्स एशोसियशन(अडान)लाई नाम जस्तै काम गर्न निर्देशन दिएका छन् । अडानको १४ वर्ष प्रवेशको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निजी क्षेत्रमा संस्थागत सुशासनको अभिबृद्धि गर्न राजश्व प्रशासनलाई नतिजामुखी र प्रभावकारी बनाउन लेखा परीक्षकहरुको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए । लेखा परीक्षक आफ्नो निष्ठाबाट दायाँबायाँ हुनु नहुने उहाँको भनाई थियो । कार्यक्रममा अडानका अध्यक्ष मोहनराज रेग्मीले देशभर छरिएर रहेका ७ हजार भन्दा बढी लेखापरीक्षकहरुलाई आफ्नो पेशामा समर्पित भएर कार्य सम्पादन गर्न आग्रह गरे ।

बैंक तथा वित्तीय संस्थाले बीमा पोलिसी विक्री गर्न नपाउने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीहरुसँग सहकार्य गरेर बीमा पोलिसीहरु बिक्री गर्न पाउने छैनन् । राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै बैंकहरुले बीमा कम्पनीहरुको बीमालेख बिक्री गर्ने नपाउने भएका हुन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत बैंकास्योरेन्समा रोक लागएको थियो । आज राष्ट्र बैंकले सर्कुलर जारी गरेर यो व्यवस्थालाई अझ स्पष्ट पारेको हो । बैंकले ऋणीहरुलाई दबाबमा पारेर बीमा कम्पनीको बीमालेखहरु बिक्री गर्दै आएका थिए । अब बैंकास्योरेन्स गर्न रोक लागेको छ । बैंकहरूले गत आवमा दुई अर्ब १५ करोड मूल्य बराबरको (बीमा शुल्क) बीमा पोलिसी बेचेका थिए । यसको मतलव अब बैंक तथा वित्तीय संस्थाले बीमा अभिकर्ताको रुपमा काम गर्न नपाउने भएका हुन् । बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ४९ उपदफा (१) ले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणीले छनोट गरेको बीमा कम्पनीबाट मात्रै कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गारउन सकिने व्यवस्था गरेको छ । कर्जाको बीमा गराउन वा विना धितो व्यक्तिगत जमानीमा मात्र प्रवाह भएका कर्जाको हकमा कर्जा अवधि सम्मको लागि ऋणीको समेत जीवन बीमा गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

पुनरकर्जाको ब्याजदर ४ बाट ३ प्रतिशतमा झर्यो

काठमाडौँ । बैदेशिक रोजगार तथा अध्ययनबाट फर्कने युवालाई धितोमा प्रदान गरिने पुनरकर्जा कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकले घटाएको छ । हाल कायम ४ प्रतिशत ब्याज दरलाई घटाएर ३ प्रतिशतमा झारेको हो । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै सार्वजनिक गरेको निर्देशिकामा उक्त कुरा उल्लेख छ । नयाँ व्यवस्था अनुसार साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि ऋणीबाट ८ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो । यसैगरी राष्ट्र बैंकले साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १० लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने व्यवस्था गरेको छ । यसअघि यस्तो पुनकर्जा ५ प्रतिशत कायम गरिएको थियो ।

सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु(सिइओ) उमेर हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै उमेर हद तोकेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्ति सीइओ नियुक्तिका लागि योग्य हुने छैनन र ६९ वर्ष पुगेपछि सो पदमा रहन योग्य हुँदैनन् । त्यसैगरी, राष्ट्र बैंकले बैंक सञ्चालक हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको छ । ७० वर्षअघि नै सञ्चालक निर्वाचित भए ७४ वर्ष पुगेपछि पद त्याग्नु पर्ने जनाइएको छ ।

टाटा मोटर्स कार्निभल सम्पन्न, बुकिङ भए १०३ थान नयाँ गाडी

काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष टाटा मोटर्स कार्निभलका रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानएको छ । उक्तकार्निभल ४ दिन सम्म चलेको थियो । बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडी हेर्न र किन्नका लागि यो कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । यस अवधिमा कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भई लाभ समेत लिएका छन् । यो कार्यक्रमले सुस्ता भइरहेको अटोमोबाइल बजारलाई जागरुक बनाएको टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखी बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

युनि ग्लोव कलेजले गर्यो स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा सोमवारको स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्त जाँच शिविर र छाला जाँच सम्बन्धि शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत फिजियोथेरापी प्रशिक्षण समेत दिइएको थियो । कार्यक्रममाविभिन्नविषयका विशिष्ट विशेषज्ञ डाक्टरहरुको टोलिको उपस्थिति रहेको थियो । कार्यक्रममा झण्डै १२० पाउण्ड रगत संकलनभएको थियो । उक्त शिविरमा कलेजका विद्यार्थीहरु, शिक्षक, कर्मचारीलगायत टोलवासीहरुले निशुल्क स्वास्थ्य जाँच गर्ने अवसर प्राप्त गरेका थिए ।

ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा अब सेवा शुल्क नलाग्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजाक्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न लागेको छ ।