विकासन्युज

रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीद्वारा हटाइयो

भोजपुर । ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरिद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो । क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले जानकारी दिएका छन् । षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाइ छ । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाएको २२५ क्लिप हटाएको हो । कृषकबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफूखुशी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशनअनुसार क्लिप हटाइएको प्रहरीले जनाएको छ । चिनियाँ व्यापारीले प्लाष्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अण्डा र थेप्चो आकारमा आवश्यकताअनुुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनभिज्ञ रहेका छन् । रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । रासस

क्यानले ४९ जनालाई १ करोड ८५ लाखको छात्रबृत्ति प्रदान गर्ने

काठमाडौँ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राबिधिक शिक्षा पढ्ने ४९ जनालाई १ करोड ८५ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्यान फेडेरेशनले प्रदेश ५  बुटवलमा पत्रकार सम्मलन गर्दै आइटीमा विद्यार्थीलाई आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको छात्रबृत्ति बितरण गर्न लागिएको जानकारी गराएको हो । छात्रवृत्ति प्रदान गर्ने सम्झौतामा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट अध्यक्ष पंकज जलानले प्रधानमन्त्रीको यसअघि नै हस्ताक्षर समेत गरिसकेका छन् । उक्त कार्यक्रममा क्यानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले लर्ड बुद्ध एजुकेशन फाउण्डेनको सहकार्यमा सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिने बताए । सबै प्रदेशका १–१ जना छात्रालाई पूर्ण छात्रबृत्ति दिइने छ भने अन्य ४२ जनालाई आंशिक छात्रबृत्ति दिइने बताइएको छ । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले लर्ड बुद्ध एकजुकेशन फाउण्डेसनमा स्नाकत तह अन्तरगत बीएस्सी आईटीको अध्ययन गर्न पाउने लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले बताए । ‘नेसनल आईसीटी स्कलरसिप-२०७६’ नाम दिइएको यसमा सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने क्यानले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित दश जोड दुई अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले क्यानको वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

प्राइम लाइफले कमायो ३१ करोड ३० लाख नाफा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । प्राइम लाइफले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासिक(असार मसान्त) सम्मको वित्तीय विवरणमा उक्त नाफा कमाएको उल्लेख छ । अघिल्लो वर्ष २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ४४.७०% ले बढी नाफा कमाएको हो । यस्तै, प्राइमले खुद बिमा शुल्क २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रकाशित गरेको विवरण अनुुसार यस त्रैमाससम्ममा कुल ५० करोड ७० लाख ९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल ८० लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा रहेको छ ।

पत्रकार पुडासैनी मृत भेटिए

भरतपुर । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गर्नुका साथैउनले मिसन न्यूज कार्यक्रम चलाउँदै आउनुभएको थिए । यसअघि पुडासैनीले न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका हुन् । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । रासस

१३ लाखको अवैध सामानसहित दुई पक्राउ

लहान । प्रहरीले करिब १३ लाख मूल्य बराबरको अवैध सामानसहित गए राति दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको हो । सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर३२जे १२०६ नंको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैध रूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । त्यसैगरी, सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ । स१प ९२०२ नंको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिएका हुन् । रासस

कर्णालीमा अझै ६०० बढी कर्मचारीको अभाव

  सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताएका छन् । “हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन्, ३९८ कर्मचारी हाजिर हुन बाँकी छ”, उनले भने, “यहाँ तोकिएको दरबन्दीभन्दा ६०० बढी कर्मचारीले प्रदेश रोज्न चाहेनन्, यस वर्ष पनि सरकारले कर्मचारीको समस्या भोगिरहनु पर्ने अवस्था छ ।” उनले ६५८ कर्मचारीको अपुग रहेको बताएका हुन् । समायोजनका क्रममा कर्णाली प्रदेशका लागि एक हजार ९९२ कर्मचारीको दरबन्दी छुट्याइएको थियो । एक हजार ३३४ कर्मचारीले मात्रै कर्णालीलाई रोजेका थिए । कर्णालीलाई सबैभन्दा बढी प्राविधिक समूहका कर्मचारीहरुको अभाव रहेको छ । माथिल्लो तहका प्राविधिक कर्मचारीहरुले कर्णाली आउन नचाहेकाले योजना तथा पूर्वाधारका कार्यक्रमहरु सञ्चालन समस्या हुने उनको भनाइ छ । मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपाध्यायका अनुसार समायोजनपछि कर्णाली प्रदेशमा हाजिर हुन आएका कर्मचारीहरुमा प्रशासनतर्फ ३४०, लेखातर्फ १२२, राजश्व उपसचिवतर्फ एक कर्मचारी रहेका छन् । त्यस्तै, वनतर्फ हाजिर हुन आएका २८२ कर्मचारीमध्ये सबैभन्दा धेरै श्रेणीविहीन वनरक्षक २४० हाजिर भएका छन् । इञ्जिनीयरिङ ५९, कृषितर्फ १०३, योजना तथा तथ्याङ्कमा छ, विविधमा २९, स्वास्थ्यतर्फ तीन कर्मचारीहरु कर्णालीमा हाजिर भएका छन् । सरकारले ठूलो सङ्ख्यामा कर्मचारी अभाव हुँदा दैनिक प्रशासन सञ्चालनदेखि विकास योजना सञ्चालन गर्नसमेत समस्या हुने गरेको बताएको छ । रासस

औद्योगिक विकास निगम एकाएक बन्द, यस्ता छन् कारण

बाँके । २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्याे । सानो उद्योग सञ्चालन गर्नका लागि साहुकै भर पर्थे । वाणिज्य बैंकहरू नहुँदा भनेजस्तो ऋण पाउन पनि मुस्किल थियो । २० वर्षअघिको समयलाई नजरअन्दाज गर्ने हो भने अझ पञ्चायतकालीन अवस्थामा स्थिति झन् फरक हुन्थ्यो । अहिले जस्तो प्रशस्तै मात्रामा वाणिज्य बैंकहरू नभएको र उद्योगधन्दा तथा व्यवसाय सञ्चालन गर्न खोज्नेका लागि ऋण लगानी गरिदिने भरपर्दो सरकारी निकाय पनि थिएनन् । तत्कालीन समयमा विकास बैंकहरू नभएको अवस्थामा बैंकको विकल्पको रूपमा कार्य गर्ने गरी नेपाल सरकारको स्वामित्वमा सञ्चालित संस्थानका रूपमा विसं २०१६ मा नेपाल औद्योगिक विकास निगम लिमिटेड सञ्चालनमा आयो । यसले उद्योगधन्दा सञ्चालन गर्ने उद्योगी व्यवसायीलाई ऋण लगानी गर्ने वातावरण तयार भयो । नेपाल राष्ट्र बैंकको वर्गीकरण अनुसार ‘ख’ वर्गमा पर्ने बैंकका रूपमा सञ्चालनमा आएको संस्थानलाई नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ अनुसार यो संस्थाका रूपमा सञ्चालनमा ल्याइयो । ऋण लगानी गर्नका लागि अन्य कुनै निकाय नभएका बेला सञ्चालनमा आएको निगमले बैंकका रूपमा उद्योगीहरूका ऋण लगानी गर्दै आएको थियो । सञ्चालनकै क्रममा रहेको निगमले नेपाल सरकारको स्वामित्वमा रहने गरी साविकका पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय कार्यालय स्थापना गर्दै कार्यक्षेत्र विस्तार गरेर विसं २०१६ देखि नेपालगञ्जको रानीतलाउमा भाडाको घरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सञ्चालन गरेर सेवा दिँदै आएको थियो । विसं २०१६ देखि २०४५ सम्म भाडामै कार्यालय सञ्चालनमा रहेको निगमको कार्यालय २०४५ मा नेपालगञ्ज–१० स्थित आदर्शनगर आफ्नै भवनमा सरेको थियो । विसं २०१६ देखि औद्योगिक क्षेत्रमा ऋण लगानी गर्दै औद्योगिक विकासमा टेवा पुर्याइरहेको निगमको कार्यालय २०६० मा एकाएक बन्द भयो । निगमको कार्यालय बन्द छ । कार्यालयमा १६ वर्षदेखि ताला लागेको छ । करोडौँ मूल्यका भौतिक संरचना खण्डहरमा परिणत हुँदै गएका छन् । द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै ताला लगाइएको कार्यालय अहिलेसम्म खुलेको छैन । अहिले त्यहाँ न कर्मचारी छन्, न कुनै कारोवार नै हुन्छ, मात्र भवन अलपत्र र खण्डहर बन्दै गएको छ । करिब १० कठ्ठा क्षेत्रफलमा बनेका दुई भवन खण्डहर बन्दै गएका छन् । विसं २०४५ असोजमा उद्घाटन गरिएका भवनमा १५ कोठा छन्, कोठाभित्र फर्निचरहरू, कम्युटर, मोटरसाइकललगायतका थुप्रै सामान छरपष्ट पारेर राखिएका छन् । असुरक्षाका कारण देखाउँदै बन्द भएको कार्यालय भवनका सबै कोठामा ताला लगाइएको छ । विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गर्नेहरूका लागि धितोमा ऋण लगानी गर्दै आएको कार्यालयमा तत्कालीन नेकपा माओवादीले विसं २०६० मा बम विष्फोट गराएपछि बन्द भएको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै कारोवार नै बन्द भएको सुरक्षागार्डका रूपमा काम गर्दै आएका चन्द्रबहादुर सुनारले बताएका हुन् । क्षेत्रीय कार्यालय सदाका लागि बन्द भएपछि १७/१८ कर्मचारी कार्यरत रहेको कार्यालयमा विसं २०६० पछि एक कर्मचारी र दुई सुरक्षागार्डले मात्रै ती दुई भवनमा पहरा दिइरहेका छन् । बम विष्फोटपछि सबै कागजात केन्द्रीय कार्यालयमा पठाएर कारोवार बन्द गरिएको कार्यालय सहयोगीको रूपमा काम गरेका उद्धव फुँयालले बताए । कार्यालय बन्द भएपछि कर्मचारी अन्यत्रै सरुवा भएर गएको बताउँदै उनले विसं २०६८ देखि २०७४ फागुनसम्म आफू एक्लैले कार्यालय कुर्दै आएको जानकारी दिए । “फागुनमा मैले स्वेच्छिक अवकाश लिएको हूँ, त्यसयता दुई सुरक्षागार्डले मात्रै कार्यालय कुर्दै आउनुभएको छ”, लामो समय कार्यालय सहयोगीको रूपमा काम गरेका फुँयालले भने । यसरी, कार्यालय सहयोगी फुँयालले स्वेच्छिक अवकाश लिएपछि कार्यालयमा दुई सुरक्षागार्डबाहेक कार्यालय कर्मचारीविहीन भएको छ । औद्योगिक प्रर्वधन र व्यवसाय सुधारमा सहयोग गर्दै आएको कार्यालय सञ्चालनमा आउने आशा गरिएको पनि निगम भने राष्ट्रिय वाणिज्य बैंकसँग ‘मर्ज’ भइसकेकाले त्यो सम्भावना न्यून बनेको छ । राष्ट्रिय वाणिज्य बैंकमा मर्ज भएपछि हालसम्म उक्त भवन तथा सामानको प्रयोग भने भएको छैन । बैंकका धम्बोझी शाखाका सहायक प्रबन्धक हस्त शाहीले निगमको भवन तथा सामानहरू बैंकले आफ्नो सम्पत्तिको रूपमा राखेको बताएका छन् । उनले भने, “निगमलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय भइसकेको छ, अब छिट्टै एकीकृत कारोवार हुन्छ ।” देशभर रहेका निगमका कार्यालयलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय भइसकेको बताउँदै उसहायक प्रबन्धक शाहीले भने, “अरु क्षेत्रका कार्यालयमा नियमित रूपमा कारोवार हुँदै आए पनि नेपालगञ्ज कार्यालयमा भने कुनै कारोवार छैन, सामानहरूको रेखदेखका लागि सुरक्षागार्डको व्यवस्था गरिएको छ, निगमको भवन वाणिज्य बैंकको निगरानीमा रहन्छ ।” यति ठूलो क्षेत्रफलमा भवन निर्माण गरी सक्रिय रूपमा कारोवार गर्दै आएको औद्योगिक निगम एकाएक बन्द हुँदा कार्यालय सञ्चालनका लागि कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । नेपालगन्ज–१० का स्थानीय प्रेमराज शाहीले सरकारको स्वामित्वमा रहेको भवन तथा जग्गाको संरक्षण गरी प्रयोगमा ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । रासस

एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडको ५० औँ वैवाहिक स्वर्ण जयन्ती समापन, वरमाला सहित पुनःविवाह

काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड र उनकी श्रीमति सरोज दुगडको ५० औं वैवाहिक स्वर्ण जयन्ती काठमाडौँको हायात होटलमा सम्पन्न भएको छ । वैशाख महिनामा बारा जिल्लाको जीतपुर सिमराबाट सुरु गरिएको स्वर्ण जयन्तीको उत्सब एमभी दुगड ग्रुपका काठमाडौं स्थित हाईड्रोपावर र अटोमोवाईल्सका गरी लगभग ५ सय कर्मचारीहरुले काठमाडौंमा समापन गरेका हुन् । हायात होटेलको प्राङ्गणमा पाईला टेक्ना साथ जन्ती लश्कर र फूलमालाले सजाइएको बग्गि र त्यस्को ठीक अगाडि रोयल इन्फिल्ड र भेष्पाको दम्दार पहरा सङ्गै नेपाली पञ्चेबाजा र ब्याण्डबाजामा दम्पत्तीको बग्गी सवारी लगत्तै वरमाला सहित पुनःविवाहको कार्यक्रम सँगसँगै करिब सात घण्टाको साँस्कृतिक कार्यक्रम रहेको गरिएको थियो । कार्यक्रममा एमभि दुगड ग्रुपका अध्यक्ष, परिवार र सम्र्पूण पूरुष कर्मचारीहरु राष्ट्रिय पोसाक दौरा सुरुवाल र भादगाउँले टोपीमा प्रस्तूत भएका थिए । उक्त कार्यक्रममा प्रस्तुत गरिएका कल्चरल वाक, साँस्कृतिक नृत्य, अन्प्लग गायन, स्ट्याण्ड अपकमेडि, ¥याप लगायत विशेष प्रस्तूतिहरु कर्मचारीहरु र परिवारबाट मात्र गरिएको थियो । कार्यक्रम शूभागमल जम्मडको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन एमभी दुगड़ ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष मोतीलाल दुगड़ले कर्मचारीहरुमा लूकेको प्रतिभा देखेर प्रसन्न हूदै यस्तो अभुतपूर्व माया, आर्कषक प्रस्तूति र ऐतिहासिक सम्मान पाएकोमा आफ्नो व्यापारिक र औद्योगिक ५५बर्षको यात्रा सफल भएको बताए । उपाध्यक्ष विवेक दुगड़ले पनि आफ्ना बुबा, आमाका निमित्त आफ्ना एमभी दुगड ग्रुपका कर्मचारीहरुले हृदय देखि नै देखाएको सहासिक साँस्कृतिक प्रस्तुतिको खुलेर तारिफ गरेका थिए ।