विकासन्युज

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंक लि.को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार स्थानान्तरण भएको छ । हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् । स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमु्ख सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एक लाख ११ हजार सहयोग हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान–१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । एक लाख एघार हजार रुपैयाँको चेक बैंकको तर्फबाट धरान शाखाका प्रबन्धक विप्लवराज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्तरण गरेका हुन् । उक्त आर्थिक सहयोगले सिंहदेवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढासुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइएको छ ।

‘निर्दयी’ निर्देशिकाले बैंकको नाफा ३५% सम्म घट्न सक्ने, राष्ट्र बैंकलाई साँचो बुझाउनेबारे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३० बुँदे निर्देशिका जारी गर्यो । त्यसमा बैंकको सीईओ र सञ्चालकको उमेर हद तोक्ने विषय मात्र नयाँ विषय थिए । अधिकांश मौद्रिक नीतिमा आएका विषयलाई प्रष्ट पारिएको थियो । तर, निर्देशिकाको बुँदा नम्बर २० बैंकर्सहरुको शब्दमा ‘निर्दयी’ आयो, जसले बैंकहरुको नाफा कम्तिमा २० प्रतिशत र बढीमा ३५ प्रतिशत खोसिदिएको छ । एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम नखुलाउने सर्तमा भने-‘अहिले नै स्प्रेडदर साढे ४ प्रतिशत रहेको हाम्रो बैंकको नाफा २१ प्रतिशतले घट्ने छ ।  सबैभन्दा कम स्प्रेडदर भएका बैंकको २० प्रतिशत र स्प्रेडदर ५ प्रतिशतभन्दा माथि रहेका बैंकको नाफा ३५/३७ प्रतिशतले घट्ने छ ।’ यस्तो छ कारण बुँदा नम्बर २० व्याजदर अन्तर (स्प्रेडदर) गणनाको विधि उल्लेख गरिएको छ । पुरानो विधिमा सरकारी सुरक्षणपत्रमा गरिएको लगानी समावेश गरिएको थियो भने अहिले सरकारी सुरक्षणपत्रमा गरिएको लगानीलाई समावेश गरिएको छैन । राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले कुल निक्षेपका १८ देखि २० प्रतिशत सरकारी सुरक्षणपत्रमा अनिवार्य लगानी गर्नुपर्छ र त्यसको व्याजदर निकै कम हुन्छ । यसरी सस्तोमा गरिएको लगानीको व्याज आम्दानीलाई स्प्रेडदरमा बाँध्न नपाउने राष्ट्र बैंकको नीतिले बैंकहरुको नाफा घटाउने बैंकर्सको भनाई छ । त्यस्तै, विदेशी मुद्रामा ल्याएको निक्षेपको व्याज खर्चलाई पनि स्प्रेडदर निर्धारण विधिमा समाबेश गरिएको छैन । स्प्रेडदर गणना गर्दा स्वदेशी निक्षेप र कर्जा मात्र समावेश गरिएकाे छ । विदेशी मुद्रामा ल्याएको निक्षेप रकम नेपालमा मात्र लगानी गर्न पाइन्छ । यस्ताे कर्जा लगानी गर्दा स्वेदशी मुद्रामा नै हुन्छ । ‘राष्ट्र बैंकको विधिअनुसार नेपाली मुद्रामा प्रवाह गरिएको कर्जाको आम्दानी देखिने भयो, विदेशी मुद्रामा लिएको निक्षेपको व्याज खर्च देखाउन नपाइने भयो’ एक प्रमुख कार्यकारी अधिकृतिले भने । यसअघि स्प्रेडदर ४.५ प्रतिशत हुनेपर्ने नियम थियो । नयाँ मौद्रिक नीतिले स्प्रेडदर ४.४ प्रतिशतमा झारेको छ । स्प्रेडदर गणना सम्बन्धी नयाँ विधिपछि वास्तविक स्प्रेडदर साढे ३ प्रतिशत मात्र हुने बैंकर्सको भनाई छ । शुन्य दशमलव १ अंकको स्प्रेडदर घटाउने मौद्रिक नीतिप्रति बैंकर्सहरुको सामान्य असन्तुष्टि थियो । तर, स्प्रेडदर गणना विधिमा आएको परिवर्तनपछि बैंकर्सहरुले तिब्र असन्तुष्टि जनाएका छन् । मौद्रिक नीतिले स्प्रेडदर ४.४ प्रतिशतमा झारेपछि खुलेकाे सेयर बजार १४ अंकले घटेकाे थियाे । स्प्रेडदर गणना सम्बन्धी नयाँ विधि जारी भएपछि खुलेकाे सेयर बजार १० अंकले घटेकाे छ । राष्ट्र  बैंकको नेतृत्वप्रति आक्रोस राष्ट्र बैंकको नेतृत्वप्रति बैंकर्सहरुले तिब्र असन्तुष्टि जनाएका छन् । ‘राष्ट्र बैंकको नेतृत्व बैंकर्सप्रति प्रतिशोधपूर्ण भावना लिएर प्रस्तुत भयो । बैंकलाई गैरसरकारी संस्थाजस्तो बनाउन खोजियो । राष्ट्र बैंक नेतृत्वले नरुचाएको बैंकका सीईओ, सञ्चालक र अध्यक्षहरुलाई कसरी हटाउने भनेर नीति बन्न थाले’ एक बैंकका सञ्चालकले भने–व्यवासाय गरेर नाफा नै नहुने गाउपालिकामा पनि बैंकले गएर सेवा दिनुपर्ने । नाफामा नियमअनुसार लाग्ने कर तिरेपछि पनि फेरी नाफाको १ प्रतिशत सामाजिक सेवामा खर्च गर्नै पर्ने । सरकारले भनेको क्षेत्रमा नोक्सान भए पनि बैंकले लगानी नै गर्नुपर्ने । यो कस्तो नियम हो ? यो कस्तो देश हो ?’ राष्ट्र बैंक नसच्चिए सबै बैंकहरुले सामूहिक रूपमा राष्ट्र बैंकमा साँचो बुझाउने स्थिति आउने उनले बताए । ‘हामी नयाँ निक्षेप लिन बन्द गर्छौ, कर्जा असुली गर्दै जान्छौं । बैंक बन्द गरेर रेष्टुरेन्ट खोल्छौ, डान्सबार खोल्छौ, क्यासिनो चलाउँछौं’–उनले भने ‘यस्तो काम गर्नेले हिसाव पनि पारदर्शि राख्नु पर्दैन । सामाजिक काममा खर्च पनि गर्नु पर्दैन । नाफा नहुने ठाउँमा शाखा खोल्नु पनि पर्दैन ।’ राष्ट्र बैंक नसच्चिए साँचो बुझाउने गरी बैैंकका अध्यक्ष, सञ्चालक र सीईओहरुबीच अनौपचारिक छलफल चलेको बताइएको छ । निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज नदिने बैंकर्स संघको भद्र सहमति पनि तोडिने भएको छ । बैंकर्स संघले बुधबार बस्ने बैठकमा सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाइ बाेलाएकाे छ । यस विषयमा छलफल गर्न सबै बैैंकका अध्यक्षहरूकाे बैठक पनि बस्ने तयारी भइरहेकाे छ । सम्बन्धित समाचार बैंकको आम्दानीमा राष्ट्र बैंकले लगायो थप ४ अंकुस, बैंकर्स भन्छन्-‘अब नाफा घट्छ’ बैंकको व्याजदर घट्दैन, बैंकर्स संघको भद्र सहमति तोडिन्छ-बैंकर्स रत्नराज बज्राचार्यको विश्लेषण बैंकहरुले अझै १.२ प्रतिशत स्प्रेड घटाउनु पर्ने, मौद्रिक नीतिको यो व्यवस्थाले यसरी घट्दैछ नाफा

फिफा विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् । त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् । रासस

अशक्त आनन्दको परिश्रमः ‘न हात न खुट्टा, कोर्छन् आकर्षक बुट्टा’

काठमाडौँ । प्लिज लुक माई आर्ट, प्लिज हेल्प मी, गिभ मी द डोनेशन एण्ड आई सेल दिस पिक्चर । काठमाडौको रत्नपार्क पुग्दा यी आवाज तपाईँले पनि पटक पटक सुन्नु भएको छ । रत्नपार्कको फुटपाथमा यी आवाजहरु पटक पटक गुञ्जिरहन्छ । यही आवाज परिवार केही मानिसका जमातले घेरिएको हुन्छन् एकजना युवक । छेउमै बैशाखी, बैशाखीको नजिकै बिभिन्न रङ्गका कलमहरु, त्यसैको दायाँपट्टी उनले कोरेका विभिन्न आकृतिका चित्रहरुको संगालो, बायाँपट्टी सहयोग गुहार मागिरहेको स्पिकर, र त्यसैको सामुन्ने पैसा राख्ने बास्केट । तिनै सामानहरुको बीचैमा बसेर चित्र कोर्न ब्यस्त देखिन्थे हातखुट्टाविहीन एक युवक । दुवै हात र एक खुट्टाविहीन ती युवा आनन्द पासवान हुन् । हातखुट्टाविहीन आनन्दको चित्र कोर्ने कला देखेर तपाईँ हामी जो कोहीपनि छक्क पर्छौँ । काठमाडौंमा माग्नेहरुको संख्या उल्लेख्य छ । हातखुट्टा हुँदा हुँदै पनि पैसा माग्दै भाँडो थाप्नेहरु सयौं छन् राजधानीमा । तर, अन्य माग्नेहरु र आनन्द पासवानलाई हेर्ने नजर बेग्लै देखिन्छ । २१ वर्षीय आनन्द पासवानको घर भारतको बिहार हो । तर, उनको परिवार विगत ४०-५० वर्षदेखि नेपालमा बस्दै आएको छ । जन्मजातै अपाङ्गता भएका आनन्दको कलाले भने अचम्म कै छ । न हात छन्, न खुट्टा छन् । तर चित्र र विभिन्न आकारका बुट्टाहरु भने सुन्दर सुन्दर । उनका ती चित्रहरु सुन्दर मात्र होईन मनमोहक र आकर्षक पनि छन् । नामका आनन्द कामले भने कहिल्यै आनन्द हुन सकेनन्् । किनकी उनी आफैमा अपाङ्ग, त्यसैमाथि घरको सम्पूर्ण जिम्मेवारी उनीमाथि नै छ । ६ वर्षदेखि सडकमा ६ वर्षको उमेरमा कत्तिले त आमाको दूध पनि छोडेका हुँदैनन् । घरबाट बाहिर निस्कदैनन्, भर्खर विद्यालय जान शुरु गर्छन् । तर, आनन्द पासवानको हकमा भने त्यो अवस्था लागु हुन सकेन । त्यतिखेर उनको दैनिकी सडकको धुलोमाटो र गिट्टी वालुवासँग रम्थ्यो । दिनभरीसडकमा हिँड्ने बटुवाहरुबाट मागेर दैनिकी गुजार्थे । हुन् त उनका बुवा पनि थिए घरपरिवार चलाउने । तर, उनका बुवा धेरै रक्सी खाएका कारण त्यति काम गर्न नसकेको उनी बताउँछन् । यसरी नै उनको दैनिकी बित्न थाल्यो । उनलाई साथैदेखि चित्र कोर्ने रुचि थियो, तर त्यो सामाथ्र्य भने उनमा थिएन । किनकी चित्र कोर्नका लागि केही सामाग्रीहरुको आवश्यकता पथ्र्यो । ती सामाग्री खरिद गर्न सक्ने पनि उनको हैसियत थिएन । उनी आर्थिक अभावमा पिल्सिएका थिए । एकातिर उनको चित्र कोर्ने इच्छाले उनलाई उत्प्रेरित र उत्साहित गथ्र्यो भने अर्कातर्फ आर्थिक अभावले निरुत्साहित बनाउँथ्यो । एकदिन उनले जसोतसो मागेको पैसाबाट केही चित्र कोर्ने सामानहरु खरिद गरेर शुरु गरे चित्र र बुट्टाहरु कोर्ने काम । शारीरिक रुपमा अपाङ्ग, त्यस्तो व्यक्तिले आकर्षक चित्रहरु कोरेको देखेर मानिसहरु उनीप्रति आकर्षित हुँदै गए । कोहीले उनका चित्र खरिद गरेर त कोहीले केही पैसा उनलाई दिएर जान्थे । यसरी नै उनको दैनिकी बित्दै गयो । अहिले उनी २१ वर्षको हुँदा सम्म पनि त्यही ठाउँमा छन् । त्यही काम गरिरहेका छनु् । शिक्षाको नाममा उनलाई विद्यालय कस्तो हुन्छ थाहा छैन । तर घरमै स्व–अध्ययन गरेर उनले केही अंग्रेजी भाषा र शब्दहरु जानेका छन् । उनी भन्छन्, जाँडरक्सी पिएकै कारण मृगौला फेल भएर ६÷७ वर्ष अगाडि उनका बुवाको मृत्यु भयो, ‘बुवाको मृत्यु भएसँगै घरको सबै जिम्मेवारी थपिएको बताउँछन् । हुन् त आनन्दका २ दाजु र १ दिदी पनि छन् । तर दाजुहरु के गर्छन्, कहाँ छन् उनलाई अत्तोपत्तो छैन । अहिले उनीसँग उनकी आमा, श्रीमती र एक पाँच महिनाकी छोरीपनिछन् । अहिले आनन्द दिनभर सडकमै बसेर चित्र बनाउँछन् । दैनिक पाँच सयदेखि पन्ध्र सयसम्म आम्दानी आनन्द पासवान दैनिक २० देखि २५ वटा चित्रहरु कोर्छन । उनी चित्रका साथसाथै केही सुनौला बुट्टाहरु पनि कोर्छन् । दैनिक चित्रहरु कोरेर पाँच सयदेखि पन्ध्र सयसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । चित्रहरु बिक्री भयो भने कमाई हुन्छ, नत्र मान्छेहरुले त्यहि बास्केटमा राखेको पैसा लिएर साँझ घर जान्छु, उनले भने,–‘घर मेरो भरमा चलेको छ ।’ आनन्द शारीरिक रुपमा अशक्त अपाङ्ग/अशक्त भएपनि आफ्नो सबै काम आफँै गर्न सक्छन् । उनी आफुलाई चित्रहरु कोर्दा चाहिने सक्पूर्ण सामानहरु झोलामा हालेर बैशाखी टेक्दै ल्याउने लैजाने गर्छन । हातखुट्टा भएरपनि देशमा काम छैन भनेर बेकामे बन्नेहरुका लागि आनन्द गतिला उदाहरण बनेका छन् । उनी भन्छन्,‘मेरो न हात छन् न खुट्टा छन्, तर म मेरो परिवारलाई सन्तुष्ट बनाउने प्रयास गरिरहेको छ । संघर्ष गरेर काम गर्यो भने अवश्य सफलता हात लाग्छ । उनी भन्छन्–‘मैले विद्यालय नगएरै स्व–अध्ययन गरेर अहिले यतिको काम गर्न सक्ने भएको छु ।’ कुनै सीप सिकेर त्यसैमा लागि रह्यो भने सफलता हासिल गर्न सकिने उनी बताउँछन् ।

पचास लाखमाथिको कर्जामा ‘प्यान’अनिवार्य गर्न केन्द्रीय बैंककाे निर्देशन

काठमाडौं । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु ५० लाख वा सोभन्दा बढी रकमको ऋण लिनुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि रु एक करोड वा सोभन्दा बढी रकमको ऋणमा मात्रै प्यान लिएको हुनुपर्ने व्यवस्था थियो । ऋण लिने/दिने प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ उक्त सीमा निर्धारण गरिएको हो । चालु आर्थिक वर्षको बजेटमा रु एक हजारमाथिको भुक्तानीमा प्यान अनिवार्य गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार हालसम्म २१ लाखले प्यान नम्बर लिएका छन् । गत जेठ १५ गते बजेट सार्वजनिक भएपछिमात्रै दैनिक दुई हजार २०० को सङ्ख्यामा प्यान लिने बढेको विभागको भनाइ छ । सबै नागरिकलाई प्यान अनिवार्य गराउन विभागले ‘एक व्यक्ति, एक प्यान नम्बर’ अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको छ । विभागका अनुसार पछिल्लो दुई महिनामा मात्रै झन्डै एक लाख ५० हजारले नयाँ प्यान लिएका छन् । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरी उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । रासस

कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता, दुई करोडभन्दा बढीलाई सेवा दिने

मन्ट्रियल । क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ । यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पुर्याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले कायरोको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न यस परियोजनाले ठूलो सहयोग पुर्याउने बताए । कम्पनीद्वारा जारी विज्ञप्तिमा आगामी ३० वर्षसम्म मोनोरेलको निर्माण, विकास र मर्मतसम्भारमा तीनवटा कम्पनी मुख्यरुपमा जिम्मेवार रहने उल्लेख छ । कायरोमा हाल करिब दुई करोडभन्दा बढी मानिसको बसोबास छ । मोनोरेलको पहिलो लाइन ३४ माइल (५४ किलोमिटर)को हुनेछ जसले कायरोको पूर्वी भागबाट नयाँ प्रस्तावित प्रशासकीय राजधानीलाई जोड्नेछ । दोस्रो लाइन भने २६ माइलको हुनेछ, र यसले गिजा नगरलाई जोड्नेछ । बम्बार्डियरले यसअघि ब्राजिलको साओपाउलो, थाइल्यान्डको बैंकक र चीनको उहुमा मोनोरेल निर्माण र सञ्चालन गरिरहेको छ । रासस/एएफपी

९.६६ अंकले घट्यो नेप्से, सबै सूचक राताम्मे

काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचकमा ९.३६ अंकले गिरावट आएको हो । ०.७५ प्रतिशतले घट्दा नेप्से परिसूचक १२४५.७३ बिन्दुमा पुगेको छ । सेयर बजारमा मंगलबार १६९ कम्पनीले कारोबार गरेका छन् । १४ लाख ४९ हजार ६ सय ९७ कित्ता किनबेच हुँदा ४५ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सको सबै समूहका सूचक राताम्ये देखिए । बैंकिङ समूह ९.३६, ट्रेडिङ समूह १.६९, होटल समूह २५.८८, विकास बैंक समूह ५.२१, जलविद्युत समूह ६.८३, वित्त समूह ४.७७, निर्जीवन बीमा समूह ४०.९७, उत्पादनमूलक समूह ३९.६४, अन्य समूह १.६, माईक्रोफाइनान्स २१.०९, जीवन बीमा समूह ६.११ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन् । जोशी हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी २ प्रतिशतले नाफा आर्जन गरेका छन् भने सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।