विकासन्युज

मन्त्री योगेश भट्टराईकाे बायाँ हात लामाे ! नारीलाई अङ्गालो मार्दाकाे फाेटाे विवादित

काठमाडौं । माथिकाे तस्विर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । युवा पुस्ताले ट्रोल बनाईरहेका छन् । तस्विरमा धेरै कुरा प्रष्ट देखिन्छ । ठूलो राष्ट्रिय झण्डासहित सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो कार्यकक्षमा छन् । गत साता मात्र नियुक्त भएका मन्त्री भट्टराईलाई एक महिलाले ढाकाको टोपी लगाउँदै छिन । त्यसअघि उनले मन्त्रीलाई ढाकाको खादा लगाईदिएको तस्विर हेरेर अनुमान गर्न सकिन्छ । फोटोमा अनुहार नदेखिने ती महिलाले कालो चस्मा तालुमा लगाएकी छिन् । उनी आधुनिक पहिरन कुर्थी वा कोटमा सजिएकी छिन् । ती महिलाको दुबै हातले मन्त्रीको टोपी मिलाउँदै छन् । मन्त्री भट्टराईको दायाँ हातले टोपी मिलाउदै छ तर बायाँ हात अलि नसुहाउदै तरिकाले महिलाको ढाडमा धाप मारेको देखिन्छ । सञ्जय दाहालले ट्वीटमा लेखेका छन्-‘नारीले त टोपी मात्र लाइदिएको छ, मन्त्रीको हात अलि लामो भए जस्तो छ।’ पश्चिमा देशमा यस्तो तस्विरलाई सामान्य मानिन्छ, नेपाली समाजमा यस्ता तस्विरप्रति आलोचनात्मक टिप्पणी सुनिन्छ । मन्त्रीको बायाँ हातलाई ट्वीटेहरुले ‘छुच्चो हात’, ‘लामो हात’ जस्ता शब्दले ट्रोल (व्याङ्ग्य) गरिरहेका छन् । कल्पना अधिकारीले ट्वीट गरेको यो फोटोमा धेरै मानिसहरुले टिप्पणी गरेका छन् । कतिले मन्त्री भट्टराईले गलत ढंगले हात फैलाएको भनी आलोचना गरेका छन् भने कतिले यो फोटो पोष्ट गर्ने महिलाको कटु आलोचना गरेका छन् । इजा तामु, निरु थापा र इश्वर कार्कीले फोटो पोष्ट गर्ने महिलालाई सभ्य भाषामा गाली गरेका छन् । धेरै कमेन्टरहरुले असभ्य भाषा प्रयोग गरी कल्पना अधिकारीको आलोचना गरेका छन् । ट्वीटे राकेश रोशन गुप्ताले ‘युवा मन्त्री हुन्, युवा सोच त भईहाल्छ नि’ भने मन्त्रीलाई ट्रोल गरेका छन् । पेशल पोखरेलका अनुसार टोपी लगाई दिने नारी पर्यटन मन्त्री भट्टराईकी भतिजी पारु भट्टराई हुन् । महेश क्षेत्रीका अनुसार फोटो पोष्ट गर्ने कल्पना अधिकारी नेपाली काँग्रेसकी समर्थक हुन् । उनले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई विवादस्पद फोटो सामाजिक सञ्जालमा हालेको ट्वीटेहरुको भनाई देखिन्छ ।

बफर बढ्दा बैंकहरूको कर्जा दिने क्षमता घट्ने, पुँजी कोष वृद्धिको असर ‘सेयर रिर्टन अन इक्विटी’मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशन २०७५ लाई संशोधन गरेर काउण्टर साइकल बफरको अनुपात कुल भारित एक्सपोजरको २ प्रतिशत तोकेको छ । बैंकहरूले यो वफर २०७७ असार मसान्तसम्म कायम गरिसक्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ । यसको सोझो अर्थ के हो भने २ प्रतिशत क्यापिटल बफर थपेपछि बैंकहरूको कर्जा प्रवाह गर्ने क्षमता घट्ने हो । राष्ट्र बैंकले गरेको यो व्यवस्थाले पुँजीको रिक्वायरमेन्ट बढ्दा बैंकहरूको ऋण दिने क्षमता कम हुने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । यसले गर्दा बैंकहरूले अहिले दिइरहेको कर्जामा २ प्रतिशत घटाएर मात्र लोन दिन पाउँछन् । अर्थात लगानीकर्ताहरूले बढी लगानी गर्नुपर्छ । बैंकहरूको न्यूनतम पुँजीकोष अनुपात अहिले ११ प्रतिशत राखिन्थ्यो भने नयाँ व्यवस्था अनुसार १३ प्रतिशत राख्नुपर्ने हुन्छ । सोमबारसम्म बैंक तथा वित्तीय संस्थाले कुल २८ खर्ब ९५ अर्ब १६ करोड कर्जा प्रवाह गरेका छन् । यसैलाई आधार मानेर नयाँ व्यवस्था लागू गर्दा अहिले भएको कर्जा प्रवाहमा २ प्रतिशत अर्थात ५७ अर्ब ९० करोड रुपैयाँ घट्ने देखिन्छ । सोमबारसम्म वाणिज्य बैंकहरूले २३ खर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो व्यवस्था अनुसार बैंकहरूले ४६ अर्ब रुपैयाँ कम कर्जा प्रवाह गर्न सक्थे । कुल गार्हस्थ्य उत्पादन(जीडीपी) र कर्जाबीचको अन्तर बढ्दा रिक्स पनि बढ्छ । हाल नेपालको जीडीपी ३४ खर्ब ६४ अर्ब रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट बढी कर्जा प्रवाह भयो भने संसारभरिका केन्द्रीय बैंकले काउण्टर साइकल बफर लगाउने प्रचलन छ । यसले कर्जा प्रवाहबाट भएको रिक्स(जोखिम) व्यवस्थापन गर्न सहयोग गर्छ । रिक्सको व्यवस्थापन गर्न शुन्यदेखि २.५ प्रतिशतसम्म बफर राख्न पाउने व्यवस्था छ । राष्ट्र बैंकले १ प्रतिशतमात्र बफर लगाएको भए बैंकहरूलाई केही सहज हुने थियो । यो व्यवस्थाले बैंकहरूको स्प्रेटदर घट्दा यसको प्रत्यक्ष असर नाफामा पर्न जान्छ । बफर २ प्रतिशतले घट्दा बैंकहरूको नाफा २० देखि ३० प्रतिशतसम्म घट्ने एक बैंकर्सले बताए । बैंकहरूको नाफा घटेपछि सेयरधनीले पाउने वोनसमा समेत यसको प्रत्यक्ष असर रहन्छ । सेयर रिर्टन अन इक्विटी पनि घट्न जाने राष्ट्र बैंक स्रोतले बताएको छ ।

निर्यात प्रवद्र्धन गर्ने नीति निर्माण गर्नु पर्नेमा सांसदहरुको एकमत

काठमाडौँ । सांसदहरुले एकै पटकमा नसके पनि विस्तारै आयात कम गर्दै गएर भविष्यमा विस्थापित गरी निर्यात प्रवद्र्धन गर्ने नीति ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा सहभागी सांसदहरुले क्रमशः आयात प्रतिस्थापन गर्ने विषयलाई प्रस्तावनामा नै उल्लेख गरिनुपर्ने बताए । बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विधेयकमा आवश्यक संशोधन गरेर अघि बढ्नुपर्ने बताए । उनले मन्त्रिपरिषद्बाट आउँदासमेत विधेयकमा कुनै कुरा अझै थप्नुपर्ने वा सच्चाउनुपर्ने देखिएमा समितिमा त्यसबारे छलफल गरिनुपर्ने बताए । मन्त्री यादवले भने, “छलफलका क्रममा कुनै कुरा थपघट गर्नु परे आवश्यक छलफल गरेरै अघि बढ्न सकिन्छ ।” उद्योग सचिव यामकुमारी खतिवडाले आयात एकै पटक प्रतिस्थापन गर्न नसकिने बताइन् । उनले भनिन्, “एकै पटकमा प्रतिस्थापन नहुने हुँदा व्यवस्थापन गर्दै प्रतिस्थापन गर्ने कुरा विधेयकमा राख्दा उपर्युक्त हुन्छ ।” समितिका सदस्य विन्दा पाण्डेले विधेयकको अनुसूचीमा रहेका कतिपय विषयमा विषय शिक्षा तथा स्वास्थ्य समितिसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् । अर्का सदस्य कृष्णकुमार श्रेष्ठले विधेयकको प्रस्तावनामा आयात व्यवस्थापनभन्दा आयात प्रतिस्थापन शब्द नै राखिनुपर्ने बताए । रासस

सहकारी ठगी मुद्दाकी दोषी प्रतिमा सिटौला जेल चलान

काठमाडौँ । सहकारी ठगी मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिला आज जेल चलान भएकी छिन् । ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ साल चैत ७ गतेको फैसलाबाट एक महिना कैद र रु १८ लाख ३१ हजार जरिवाना ठहर भएकी काठमाडौँ महानगरपालिका–२६ की प्रतिमा सिटौलालाई जेल चलान गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले सोमबार नुवाकोटको विदुरबाट सिटौलालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरेकामा आजै अदालतले कारागार चलान गरेको हो । काठमाडौँको टोखा नगरपालिका–९ स्थित ‘नाङ्लो दीप सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड’ सञ्चालक सदस्य सिटौलासमेतका पदाधिकारीले आर्थिक वर्ष २०७०/७१ मा २०२ निक्षेपकर्तालाई प्रलोभनमा पारी रु एक करोड ८३ लाख १८ हजार आफूखुशी खाईमासी ठगी गरेको मुद्दामा सिटौला दोषी ठहर भएकी हुन् । ब्यूरोका प्रवक्ता दीपक रेग्मीले अदालतको आदेशअनुसार सिटौलालाई आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको जानकारी दिए ।

रोपाइँ योग्य १ लाख ९१ हजार हेक्टर जमिन बाँझै, ८६ प्रतिशतमात्र सम्पन्न

काठमाडौं । साउनको तेश्रो हप्ता सकिँदा १ लाख ९१ हजार २१८ हेक्टर जमिन बाँझो रहेको छ । यस वर्ष कुल १३ लाख ७१ हजार ७०६ हेक्टर खेतियोग्य जमिन भएपनि हालसम्म ११ लाख ८० हजार ४८८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । हाल सम्म देशभरि कुल ८६.०० प्रतिशत रोपाई सम्पन्न भएको छ । गतवर्षको तुलनामा हाल ३.६२ प्रतिशत रोपाइँ कम भएको तथ्याङ्ग कृषि मन्त्रालयले सार्वजनिक गरेको छ । प्रदेशगत रुपमा रोपाइँलाई हेर्ने हो भने सबै भन्दा बढी सुदूर पश्चिम प्रदेशमा हालसम्म ९५.३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ  भने गत ९८.५६ प्रतिशत भएको थियो । १ लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफल मध्ये १ लाख ५६हजार ९४९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, यस समयमा गतवर्ष १ लाख ६२ हजार २७४ हेक्टरमा सम्पन्न भएको थियो । त्यस्तै कर्णाली प्रदेश ९४.१० प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष ९९.५५ प्रतिशत ३८ हजार ३८५ हेक्टर खेतियोग्य जमिनमा ३६ हजार १२२ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष प्रदेश नं. ५ मा ८८.८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गत वर्ष ९९.३८ प्रतिशत भएको थियो । ३ लाख ०३ हजार ५९३ हेक्टर मध्ये २ लाख ६९हजार ७७४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने गतवर्ष २ लाख ७७ हजार ४२१ हेक्टर जमिनमा रोपाइँ भएको थियो । प्रदेश नं. ३ मा ८८.६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष यो समयमा ८९.३६ प्रतिशत भएको थियो ।  १ लाख १५ हजार २९५ हेक्टर रोपाइँ योग्य जमिनमा हाल १ लाख ०२ हजार २२७ मा रोपाइँ सम्पन्न भएको छ,  गत वर्ष १ लाख ०३ हजार ०२४ हेक्टरमा भएको थियो । गण्डकी प्रदेश हाल सम्म ८६.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष यो अवधिमा ९६.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । १ लाख ०८ हजार २७८ हेक्टर जमिन मध्ये ९३ हजार ७५६ हेक्टरमा रोपाइँ सकियो भने गत वर्ष १ लाख ०४ हजार ५८४ हेक्टर जमिनमा रोपाइँ भएको थियो । प्रदेश नं. २ मा गतवर्ष साउन महिनाको १८ गतेसम्म १०७.३२ प्रतिशत रोपाइँ भएको थियो भने हाल ८१.९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष ३ लाख ९२ हजार ३७७ हेक्टर रोपाइँ भएपनि यस वर्ष ३ लाख ६५ हजार ६१५ हेक्टर मध्ये २ लाख ९९ हजार ७७६ हेक्टरमा मात्र रोपाइँ भएको छ । त्यस्तै सबै प्रदेशको तुलनामा प्रदेश नं. १ मा सबैभन्दा कम ८०.१३ प्रतिशत सम्पन्न रोपाई सम्पन्न भएको छ । गतवर्ष ८६.२९ प्रतिशत रोपाइँ भएको थियो । धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७५ हजार ९०१ जम्मा धान रोपाइँ २ लाख २१ हजार ०८७ हेक्टरमा गत वर्ष २ लाख ३८ हजार ०८५ हेक्टरमा सम्पन्न भएको थियो ।

खानेपानी मन्त्रालयका सचिव शर्माको अवकाश, मन्त्री मगरले गरिन् बिदाई

काठमाडौं । निजामती सेवामा सचिव पदबाट अवकास पाएका खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई औपचारिक बिदाई गरिएको छ । मंगलबारदेखि अवकास पाएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाई गरेको हो । खानेपानी मन्त्री बिना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई मन्त्रालयबाट औपचारिक बिदाई गरिन् । बिदाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि महत्वपूर्ण हुने बताइन् । ‘समाज र राष्ट्रका लागि आगामी दिनमा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ उनले भनिन्, ‘प्रशासनिक क्षेत्रमा राष्ट्रले ठूलो लगानी गरेको छ । उहाँ जस्तो व्यक्तित्वका लागि राष्ट्रले लगानी गरेको हुँदा उहाँ आगामी दिनहरुमा थप उर्जाका साथ राष्ट्र निर्माणमा लाग्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।’ कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले सचिव शर्मा कुशल प्रशासक, क्षमतावान् र काममा लगनशील व्यक्ति भएको टिप्पणी गरे । बिदाई कार्यक्रममा बोल्दै सचिव शर्माले आफू आगामी दिनमा राष्ट्रको सेवा गर्न सधैं तयार रहेको बताए । उनले अवकासपछि पनि मन्त्रालयको कुनै पनि काममा स्वयंसेवक भएर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए । विशिष्ठ श्रेणी (सचिव) पदमा पदोन्नति भएको पाँच वर्ष पूरा भएपछि अनिवार्य अवकास हुने कानुनी व्यवस्था छ । शर्माको सचिव पदमा पदोन्नति भएको मंगलबार पाँच वर्ष पुगेकाले अवकास भएका हुन् । उनी निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गरेका थिए ।

जनसेवी लघुबित्त र मालिका गाउँपालिकाबीच संझौता

काठमाडौँ । जनसेवी लघुवित्त संस्था कूश्मा र मालिका गाउँपालिका म्याग्दीबीच ग्रामीण विपन्न समूदायको क्षमता अभिबृद्धि गर्नका लागि आम्दानीमूलक व्यवसाय संचालनमा वित्तीय सेवा प्रदान गर्ने संझौता भएको छ । मालिका गाउंपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी लघूवित्तका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीबीच भएको सहमति अनुसार गाउँ पालिका र जनसेवी दुबैको संयूक्त आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीणा भेगमा क्षमता अभिबृद्धि तथा सीपमुलक विभिन्न तालिमहरु प्रदान गर्ने उल्लेख छ । त्यसैगरी महिला जागरणा, आयआर्जन तथा महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने, गाउँपालिकाले उत्कृष्ठ व्यवसायी तथा कृषकहरुलाई अनूदान प्रदान गर्ने तथा आपसी सहकार्यमा भएको परियोजनाहरुलाई नमूना परियोजनाको रुपमा बिकसित हुने गरी कार्य गर्ने सहमति गरिएको बताइएको छ । उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष खरमाया बिटालू र प्रशासकीय अधिकृत बूद्धिराम उपाध्याय तथा जनसेवी लघुवित्तका तर्फबाट नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे र सहायक प्रवन्धक हर्षबहादूर स्याङ्तानको उपस्थिति थियो ।

झापाको हलदीबारीमा सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने क्रममा झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।