विकासन्युज

एनआईसी एशियाका ग्राहकलाई चौराहा हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

अशोक लेलैण्डका गाडी किन्दा ओम डेभलपमेन्ट बैंकबाट ७० प्रतिशत कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधामात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको बताइएको छ ।

आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा ९० प्रतिशत सुचारु

काठमाडौँ । इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार आगलागी भई अबरुद्ध भएको सेवा ९० प्रतिशत सुचारु भएको छ । कम्पनीले विहीबार विज्ञप्ती प्रकाशित गरी मानवीय क्षति नभएको, तर ठूलो रुपमा भौतिक क्षति हुन जाँदा सेवा केहि स्थानमा अबरुद्ध भएको जनाएको छ । आगलागी पूर्णरुपमा नियन्त्रण भएको केही समय भित्रै प्राबिधिक टोलीको सहयोगद्वारासेवा सुचारु गराउन तत्परता देखाइएको थियो । बैकल्पिक डाटा सेन्टरबाट घटना पश्चात नब्बे प्रतिशत सेवाग्राहीहरुको सेवा सुचारु गर्न सफल भएको विज्ञप्तीमा उल्लेख छ । अझैपनि क्षतिग्रस्त रहेको बालुवाटारको डाटा सेन्टरबाट आबद्व रहेका सेवाग्राहीहरुको अबरुद्व सेवा सुचारु गर्न प्रयासरत रहेको र एक दुई दिन भित्रमा नै सम्पूर्ण सेवाग्राहीको सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।

चीनको निकासी सामान्य वृद्धि, आयात निरन्तर घट्दो

बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर, चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ । तर, जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले बढेको छ । ब्लुमबर्ग न्यूजको सर्वेक्षणमा प्रक्षेपण गरिएको भन्दा यो करिब एक प्रतिशत बढी हो । चीनको समग्र अर्थतन्त्रको वृद्धि हाल ६.२ प्रतिशत रहेको छ । यो वृद्धि विगत ३० वर्षको अवधिमा सबैभन्दा न्यून हो । तर चिनियाँ अर्थतन्त्रमा सुधारको सम्भावना अहिल्यै देखिन्न किनभने घट्दो आयातले चीनभित्रै मागमा कमी हुने संकेत देखिएका छन् । गत वर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा आयात ५.६ प्रतिशतले घटेको छ, र यो घट्नेक्रम विगत तीन महिनादेखि जारी छ । चीनको व्यापार बचत जुलाईमा ४५.१ अर्ब अमेरिकी डलरमा झरेको छ, र यो गत जुन महिनामा ५१ अर्ब डलर थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि दुबै मुलुकबीचको व्यापारिक सम्बन्धमा थप तिक्तता आएको छ । अमेरिकी कदमको विरोधमा उत्रिएको चीनले पनि आफ्नो मुद्रा युआनलाई अवमूल्यन गर्नुका साथै अमेरिकी कृषिजन्य सामान खरिदलाई स्थगन गरेको छ । जुलाईमा अमेरिकातर्फ चीनको निकासीमा ६.५ प्रतिशतले कमी आएको छ भने आयात पनि १९.१ प्रतिशतले घटेको छ । रासस/एएफपी

घर वा अफिसको सामान बिग्रियो ? ‘अनलाइनबाटै सूचना, हेरचार डटकमले दिन्छ चौबीसै घण्टा सेवा’

काठमाडौँ । घरमा वा अफिसमा इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्टिङ, एसी, फ्रिज लगायतका उपकरणमा समस्या आउन सक्छ । यसरी समस्या आउँदा मर्मत गर्न कसलाई बोलाउने भनेर चिन्तित हुनुहुन्छ भने यस्ता समस्याहरुलाई समाधान गर्न १ वर्षदेखि ‘हेरचार डटकम’ले सेवा दिंदै आएको छ । ‘हेरचार डटकम’ मर्मत सेवा प्रदान गर्ने(रिपेयर एण्ड मेन्टिनेन्स सोलुशन) कम्पनी हो । समस्या पर्दा ग्राहकहरुले अनलाइनबाटै खबर गर्न सक्नेछन् । कम्पनीका म्यानेजर दिवस सापकोटाका अनुसार २०७५ साउनबाट काठमाडौँमा हेरचार डटकमले काम शुरु गरेको हो । शुरुमा ३ जना प्राविधिकबाट शुरु भएको हेरचार डटकममा अहिले फुलटाइम काम गर्ने प्राविधिकको संख्या १५ पुगिसकेको छ । कम्पनीले दिने सेवाका दायरा फराकिलो बनाउँदै लगेको छ । कम्पनीले ३ मुख्य काम सहित एसी मर्मत, एल्मुनियम पार्टेशन, ग्लास क्लिनिङ, कार्पेट क्लिनिङ, मेसन वक्र्स, ड्राई क्लिनिङ, पेन्टिङ, टेलिफोन मर्मत र नेटवर्किङ सेवा पनि दिन थालेको सेल्स एण्ड मार्केटिङ म्यानेजर उत्सव भट्टराई बताउँछन् । कसरी लिने सेवा ? सेवा लिन चाहने ग्राहकले आफ्ना समस्या र लिन चाहेको सेवाबारे वेव साइट, मोबाइल एप, सामाजिक सञ्जाल र टेलिफोनबाटै हेरचार डटकमको कार्यालयमा जानकारी गराउन सक्नेछन् । त्यसैका आधारमा कम्पनीले सम्बन्धित प्राविधिकहरुलाई आवश्यक औजार÷उपकरणसहित ग्राहकको ठेनानामा पठाउने गर्छ । उपत्यकाभित्र बढीमा २ घण्टा भित्रै आफ्ना प्राविधिकहरु ग्राहकहरुसम्म पुग्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर भट्टराई बताउँछन् । प्राविधिकले समस्याको पहिचान गरी समाधान बारे बताउने छन् । सामान्य किसिमको समस्या छ भने तत्कालै समाधान गरिदिन्छन्, जटिल खाले समस्या भए त्यसको लागत सहितको विवरण तयार गरी मर्मत शुल्कबारे जानकारी दिन्छन् । विवरण तयार पारेको कुनै शुल्क लाग्दैन । ग्राहकले मञ्जुरी दिएपछि मात्र काम अघि बढाइने छ । समस्या समाधानको ठोस् काम भएपछि मात्र शुल्क लिने भट्टराईले बताए । समस्याको गम्भीरतालाई ध्यान दिई २४ सै घण्टा सेवा दिने उनले बताए । कम्पनी सञ्चालनको १ वर्षे अवधिमा नै हेरचारले चार सय भन्दा बढी आवासीय ग्राहकहरुका साथै ३ सय भन्दा बढी व्यवसायिक प्रतिष्ठानहरुमा सेवा प्रदान गरिरहेको जनाएको छ । घोराही सिमेन्ट, नबिल बैंक, माछापुछ्रे बैक, हिमालयन बैंक, जनता बैंक, प्रभु इन्स्योरेन्स, आईएमई लाइफ, डब्लूडब्लूएफ, यूएस एड, युनेस्को, रेडक्रस सोसाइटी, अक्सफाम, जगदम्बा ग्रुप, हुलास ग्रुप, गोर्खा ब्रुअरी, निम्बस, डीएचएल, जस्ता प्रतिष्ठित संघसंस्थामा समेत सेवा पुर्याउँदै आएको छ । ५ करोड चुक्ता पूँजी, प्रतिष्ठित व्यक्ति सञ्चालक ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीको सञ्चालक समितिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स सिईओ रमेशकुमार भट्टराई, आइएमई लाइफ इन्स्योरेन्सका सिईओ श्रीचन्द्र भट्ट, कमल पन्थी, सुरेश सापकोटा र विनय उपाध्याय रहेका छन् ।

हेटौँडामा ६२ जनामा भेटियाे डेङ्गु सङ्क्रमण

हेटौंडा । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेका छन । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको हो । डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि उपमहानगरपालिकाले डेङ्गु प्रभावित क्षेत्रमा लामखुट्टे मार्ने र सचेतनामूलक कार्यक्रम गरिरहेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताएका छन् । हेटौँडामा विगत चार दिनदेखि जनचेतना जगाउँदै डेङ्गुको सङ्क्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुपेन्द्र कार्कीले बताए । वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उनले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयवासीलाई आग्रह गरेका छन् । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिए । गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । उपमहानगरपालिका क्षेत्रमा यस्तो समस्या देखिएसँगै जिल्लाका अन्य क्षेत्रहरुबाट पनि बिरामीलाई डेङ्गुको आशङ्कामा स्वास्थ्यकर्मीहरुले हेटौँडा रेफर गर्ने क्रम बढेको बताइन्छ । तर ग्रामीण क्षेत्रहरुमा भने हालसम्म त्यस किसिमका प्रयास भएको पाइँदैन । लामखुट्टेबाट जोगिन र शङ्का लागेमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई उपचार गराउन प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले अनुरोधसहित सूचना समेत जारी गरेको छ । रासस

सनराइज बैंकको ११७ औं शाखा ललितपुरको कुपण्डोलमा

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रmपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका हुन् । यसरी, सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको यस बैंकले आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिएको छ । हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको र नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजनामा रहेको छ ।

कर्मचारी युनियन खारेज गर्नु पर्छः साझा पार्टी

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धी विधेयक’को दफा १२० प्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रस्तावित विधेयकको दफा १२० मा ‘निजामती कर्मचारीको हक हितका लागि सामुहिक संवाद र सहमति गर्न तथा कर्मचारीको तर्फबाट प्रतिनिधित्व गर्नका लागि एक आधिकारिक ट्रेड युनियन हुने’ व्यवस्था गरेको छ। उक्त व्यवस्थाले कर्मचारीलाई नागरिकको सेवामा भन्दा राजनीतिमा बढी अभिरुची पैदा गर्नेछ । क्षणिक राजनीतिक लाभको लागि कर्मचारीलाई राजनीतिमा तानेर फाइदा लिने राजनीतिक दलहरुको विगतलाई समीक्षा गर्दा निजामती सेवामा ट्रेड युनियन गठन गर्न दिनु भनेको अप्रतक्ष्यरुपमा कर्मचारीलाई दलीय विभाजनमा तान्नु हुनेछ-साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्तिमा उल्लेख गरेका छन् । सामुहिक दवावमार्फत राजनीतिक फाइदाको लागि उपयोग भइरहेका दलैपिच्छे रहेका कर्मचारी यूनियनले सुशासनलाई धराशायी बनाउँदै आएका छन् । सरकारी वेतनधारी कर्मचारीलाई युनियनबाजी गर्न दिएर कुनै पनि हालतमा देशले प्रगति गर्न सक्दैन। त्यसैले कर्मचारी युनियन नबनाउने घोषणा गरिसकेको साझा पार्टी विद्यमान कर्मचारी युनियनहरू पूर्णरूपमा खारेज गर्न जोडदार माग गर्दछ–विज्ञप्तिमा उल्लेख छ ।