विकासन्युज

गाडी एसेम्बल गर्न दर्ता भएका २३ मध्ये १५ कम्पनी विदेशी, उत्पादन कहिले गर्छन् टुङ्गो छैन

काठमाडौं । पछिल्लो समय नेपालमा गाडी एसेम्बल गर्ने कम्पनी दर्ताको लहर चलेको छ । उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा कम्पनी दर्ता भएका छन् । यी मध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ वटामध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् । तर, उद्योग विभागमा दर्ता भएका ती कम्पनीले कहिलेबाट उत्पादन थाल्छन् भन्ने यकिन छैन । गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएको उद्योगहरु मध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ । स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले लगानी गर्ने भएको छ । सो उद्योगको कूल पूँजी १ अर्ब ३२ करोड रहेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहेको छ भने दर्ता भएका मध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् । गत वर्षमात्रै १२ वटा नयाँ एसेम्बल गर्ने उद्योग थपिएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएपनि यीमध्ये अधिकांश कम्पनीले काम भने थालेका छैनन् । गत वर्ष कोरियन कम्पनीले नेपालमा एसेम्बल प्लान्ट खोल्ने भएपछि अन्य लगानीकर्ताहरु पनि आकर्षित भएका हुन् । नेपालमा हाल एउटा मात्रै गोल्छा अर्गनाइजेशन अन्तरगतको कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छ । उसले ‘बजाज’ ब्रान्डका केही सेगमेन्टका बाइकहरु नेपालमै एसेम्बल गर्छ । हुलासले नेपालमै कार उत्पादनको लागि प्रयास गरिरहेको छ । नेपालमा २०६५ सालमा सबैभन्दा पहिले होङ्फा मोटरसाइकल कम्पनी दर्ता भएको विभागको तथ्याङ्कले देखाउँछ । त्यसपछि पनि लगातार विभिन्न कम्पनीहरु ‘एसेम्बल प्लान्ट’ खोल्नकै लागि दर्ता भए । नेपालमा गाडी एसेम्बल गर्ने २३ वटा उद्योग मध्ये ५ वटा उद्योगहरुको लगानी विभागको तथ्याङ्कमा उल्लेख छैन । यी उद्योगले उद्योगहरुले १ हजार ९६८ जनालाई रोजगारी दिने उल्लेख गरेको छन् । विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले गाडी एसेम्बल गर्ने उद्योग स्थापनामा विदेशीको आर्कषण हुनुमा यो क्षेत्रको लगानी नेपालमा शुरुवाती अवस्थामा रहेका हुन सक्ने बताए । उनले भने-‘विदेशीहरुसँग प्रविधिको राम्रो अनुभव, ज्ञान भएकाले पनि नेपालमा गाडी एसेम्बल गर्ने उद्योगमा आकर्षण बढेको हुन सक्छ ।’

आईसीटी अवार्ड वितरण साउन ३२ गते, विजेतालाई सहुलियतपूर्ण ऋण र १० लाखको इन्स्योरेन्स

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आईसीटी अवार्ड’ को चौथो संस्करण साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँदैछ । आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैंकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो । यसैगरी, आइसिटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ । आइसिटी अवार्ड २०१९ सफल बनाउन २ दर्जन बढी सस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सुचना प्रविधि केन्द«, नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी सस्थाहरु हुन् । यसैगरी बैंकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक, पेमेन्ट पार्टनरको रुपमा कनेक्ट आइपीएस, एजुकेशन पार्टनरको रुपमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी रहेका छन् । यसैगरी, इन्स्योरेन्स पार्टनरको रुपमा एसियन लाइफ इन्सुरेन्स, इन्टरनेट पार्टनरमा भायनेट कम्युनिकेशन, नेटवर्क पार्टनरमा डिजिकम र साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेज रहेका छन । जेठ १ गतेदेखि सुरु भएको आइसीटी अवार्डको साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ । विभिन्न ९ विधामा २ सय बढीको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ । यसवर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी, डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो ।

मानव बेचविखन मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

भद्रपुर । मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र रु पाँच लाख ३० हजार जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिप्रका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । यसैगरी, कनकाई नगरपालिका–२ जामुनखाडीका ६७ वर्षीय उदयनारायण गिरी र उनका ४० वर्षीय छोरा रनबहादुर गिरीलाई १३.८० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको छ । गिरीको घरको दराजमा लुकाएर राखेको सो अफिमसहित उनीहरुलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए । रासस

बैंकिङ क्षेत्रको कोर्स फेरिदै थियो, तर राष्ट्र बैंक पछि हट्यो-अजय मिश्र

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत, युनाईटेड फाइनान्स लिमिटेड बैंकिङ क्षेत्रमा काम थालेको थोरै वर्षमा धेरै प्रकारको अनुभव समाल्नु भएको छ बैंकर्स अजय मिश्रले । टेलिभिजनको जागिर छोडेर माछापुच्छ्रे बैंकमा पब्लिक रिलेशन म्यानेजर बन्नु भएका मिश्रले बैंकिङ क्षेत्रमा प्रवेश गरेको छोटो अवधिमा नै ५ वटा बैंक तथा वित्तीय संस्थामा काम गरिसक्नुभयो । प्रुडेन्सियल फाइनान्सको सीईओ, सिद्धार्थ डेभलपमेन्ट बैंकको सीईओ, जनता बैंक नेपालको डेपुटी सीईओ हुँदै उहाँ हाल युनाईटेड फाइनान्सको सीईओ बन्नु भएको छ । उहाँले नेतृत्व समालेको तीन महिनामा नै फाइनान्सको नाफा ११४ प्रतिशतले वृद्धि भएको देखिएको छ । प्रष्ट वक्ता तथा मोटिभेटर मिश्रसँग मौद्रिक नीतिको प्रभाव र युनाईटेड फाइनान्सको भविष्यबारे कुरा गरेका छौं । मर्जरलाई प्रोत्साहित गर्ने राष्ट्र बैंककाे नीतिलाई कसरी लिनु भएकाे छ ?  मर्जरको लागि मौद्रिक नीतिले प्रोत्साहित गरेको छैन । मर्जरलाई अलिकति सहुलियत दिने नीति आएको छ । बैंकहरुले के खोजेका थिए भने करमा थप छुट हुन्छ कि, सीसीडी रेसियोमा केही सुविधा पाइन्छ कि, स्प्रेडदरमा अलि राम्रै सुविधा पाइन्छ कि । बैंकहरुले आशा गरेको जस्तो सुविधा आएका थिए भने मर्जरमा जान सबै इच्छुक देखिएका थिए । सुविधा के आयो भने बैंकका अध्यक्ष, सञ्चालक, सीईओलाई कुलिङ पिरेड नलाग्ने, स्प्रेडदरमा प्वाइन्ट वान प्रतिशत, त्यो पनि एक वर्षको लागि मात्र छुट दिने । मर्ज गर्ने भनेको लगानीकर्ताले हो । अहिलेको नीतिले लगानीकर्तालाई प्रोत्साहित गर्ने सुविधा दिन सकेन । नयाँ सुविधाले मर्जरमा कस्तो प्रभाव पर्ला ? नम्बर जस्ताको तस्तै रहन्छ । वाणिज्य बैंक २७ वटा नै रहने छन् । प्रतिस्पर्धामा आफूलाई गाह्रो महसुस गरिरहेका थोरै संख्यामा विकास बैंक र वित्त कम्पनी मर्जमा जालान् । बाध्यकारी नीति आएन भने सानोतिनो इन्सेन्टिभले ठूला बैंक मर्ज हुँदैनन् । राष्ट्र बैंकले क्रस होल्डिङको विवरण संकलन गरिरहेको छ । यसको उद्देश्य मर्ज गराउनको लागि आधार निर्माण हो भनिन्छ । यसबारे तपाईको बुझाई के छ ? बैंक तथा वित्तीय संस्थामा क्रस होल्डिङ छ र यसबारे राष्ट्र बैंकले रिपोर्ट माग गर्नुको उद्देश्य वाध्यकारी मर्ज हुन सक्छ । तर, जहाँ क्रस होल्डिङ छ, त्यहाँ मर्ज गराउन राष्ट्र बैंकसँग ठूलो आँट र शाहस चाहिन्छ । त्यस्तो आँट र शाहस राष्ट्र बैंकसँग देख्नुहुन्छ ? पोलिसीमा केही डेभिएशन आईरहेको छ । मौद्रिक नीति आउनुभन्दा केही दिन अगाडि बाध्यकारी मर्जको कुरा आयो, तर मौद्रिक नीतिमा केही पनि आएन । अहिले क्रश होल्डिङको खोजी भएको छ, तर यसकोकार्यान्वयन भईहाल्छ भनेर विश्वास गर्न गाह्रो छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकमा गभर्नर परिवर्तन हुन्छ । राष्ट्र बैंकको सञ्चालक समितिमा प्रमुख अजेण्डाहरुमा मतविभाजन हुने गरेको समाचारहरु आईरहेका छन् । यो अवस्थामा क्रस होल्डिङ भएका संस्थाबीच फोर्स मर्जर गरिएला र ? यसलाई यसरी हेरौँ । आजभन्दा एक महिना अघि राष्ट्र बैंकले फोर्स मर्जरको कुरा कडा रुपमा अगाडि ल्यायो । यति गते भित्र मर्जरको पार्टनर नै खोज्नुहोस्, मर्ज गर्नुहोस्, होइन भने बाध्यकारी मर्जरको बाटो रोज्छौं भनेर सार्वजनिक रुपमा भनिएकै हो । असारको २६-२७ गतेतिर सबै बैंकहरु मर्जरबारे सोच्न बाध्य भएका थिए । सबै बैंकर्स अब मर्जरको विकल्प छैन भन्नेसम्मको सोच्न बाध्य भएका थिए । कमिटमेन्ट लेटरहरु आईसकेका थिए । बैंकिङ क्षेत्रले कोर्ष फेर्दै थियो । तर, मौद्रिक नीतिपछि ग्लोबल आइएमइ र जनताबाहेक मर्जमा जान कोही पनि तयार छैनन् । हिजो राष्ट्र बैंकले बोलेको कुरा मौद्रिक नीतिमा किन राख्न सकिएन ? कहि न कहि चलखेल भए, दवाव आए । भोलि क्रस होल्डिङको विषयमा पनि यस्तो दवाव राष्ट्र बैंकलाई नपर्ला भन्न सकिन्न । क्रस होल्डिङ अर्थात एक व्यक्तिले एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा लगानी गर्नु गलत हो ? एक, गलत ठ्याम्मै होइन । दुई, क्रस होल्डिङ हिजोको दिनमा राष्ट्र बैंकले बनाएको पोलिस, उसको फ्रेमवर्कभित्र रहेर गरिएको लगानी हो । आज नीति परिवर्तन गरिदैछ । कि मर्ज गर, कि सेयर बेच भन्न सकिएला । तर,  यसैको आधारमा मर्जको लागि बाध्यकारी बनाउन गाह्रो छ । मर्जरको लागि एक महिनाअघि माहौल बनेको थियो । त्यसमा चढेर राष्ट्र बैंक अगाडि जान सकेन । लगानीकर्ताको पक्षबाट हेरौं । कस्ता लगानीकर्ता मर्जर चाहिरहेका छन्, कस्ताले चाहेका छैनन् ? हामीले आज १२ प्रतिशत लाभांश पाइरहेका छौं । मर्जपछि १५ प्रतिशत लाभांश पाउन सकिन्छ, संस्था बलियो हुन्छ भनेर बुझेका आम लगानीकर्ताले मर्ज चाहेका छन् । राष्ट्र बैंकले सबल, सक्षम संस्था बनाउन मर्जर चाहेको छ । तर, केही व्यक्तिहरु जसलाई मैले भिजिटिङ कार्ड टेन्डेन्सि भन्छु, म फलानो बैंकको डाइरेक्टर हुँ, म सीईओ हुँ, म डेपुटी सीईओ हुँ भन्न रुचाउनेहरु मर्जको विपक्षमा छन् । थोरै संस्था भएमा नियमन तथा सुपरिवेक्षण गर्न सजिलो हुन्छ भन्ने राष्ट्र बैंकको पनि स्वार्थ त छ नि ? बैंक तथा वित्तीय संस्थाको संख्या घट्दा रेगुलेटरलाई केही सहज हुन्छ नै, तर बैंकहरु ठूला बन्दा त्यसले अर्को किसिमको चुनौतिहरु पनि सिर्जना गर्छ । बैंकहरु मर्ज भएर संख्या घट्दैमा राष्ट्र बैंकलाई हाइसन्चो हुँदैन । मेरो विचारमा राष्ट्र बैंकले मर्जरलाई जोड दिएर राम्रो प्रयास गरेको छ । संसारमा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स सजिलै दिइन्न । तर विगत २० वर्षमा बैंक तथा वित्तीय संस्थालाई बढी नै लाईसेन्स बाँडिएको हो । बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भयो भन्ने महसुश १५ वर्ष अघि नै भईसकेको थियो । अब मर्जमा जानुपर्छ भन्न थालिएको पनि १० वर्ष भईसक्यो । वित्तीय क्षेत्रमा देखिएको बढ्दो अस्वस्थ्य प्रतिस्पर्धा र प्रणालीगत जोखिमले पनि मर्जरमा जान दवाव परेको छ । नेपालका बैंकहरुलाई अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन पनि मर्ज अनिवार्य छ । राष्ट्र बैंकको सोच ठिक हो, तर उसले लिएको नीतिले मर्जरलाई ठूलो सहयोग गर्दैन । साँच्चिकै मर्जमा जाने इच्छा भएको बैंकहरुले राष्ट्र बैंकसँग थप सुविधा माग्नु भनेको विवाह गर्न चाहाने, तर दाइजो बढी माग्ने जस्तो काम भएन र ? एकदमै सहि भन्नुभयो । ‘मलाई व्यवसाय वृद्धि गर्नुछ, मलाई संस्था ठूलो र बलियो बनाउनुछ, म स्वेच्छाले मर्ज गर्छु’ भन्नेहरुले हिजो पनि मर्ज गरेकै हुन्, अब पनि उनीहरु मर्जमा जान सक्छन् । उनीहरु आज पनि राष्ट्र बैंकले दिएको सुविधाको लागि होइन, आफ्नो सुविधाको लागि मर्ज गर्छन् । मन परेको संस्था, राम्रो संस्था मर्ज गर्न त हिजो पनि सकिन्थ्यो, आज पनि सकिन्छ, भोलि पनि हुन्छ । तर. राष्ट्र बैंकले जसरी भएपनि बैंकहरुको संख्या  घटाउने कुरा गरिरहेको छ, उसले मर्ज गर्नेको लागि केही लोभ देखाउँदैछ, उसले बलपूर्वक मर्जको कुरा गरिरहेको छ । बलपूर्वक मर्ज गराउनको लागि अहिलेको इन्सेन्टिभ बडा सानो भयो । सामान्यतया ठूला नीति लिनु पूर्व सरोकारवालासँग घुमाउरो पाराले राय लिने काम हुन्छ, तर गर्न खोजिएको कुरा गोप्य हुन्छ । यस पटक मौद्रिक नीति आउनु पूर्व नै गभर्नरले ‘हामी फोर्सफूली मर्ज गराउँछौं, साउनपछि विहे गर्नुपर्छ, अहिले नै लभ गर’ भन्नुभयो । त्यो पनि सबै बैंकका अध्यक्ष र सीईओहरुलाई भेला गरेर । यस्तो अभ्यास सहि थियो ? त्यसको परिणाम हामीले देखिहाल्यौ । फरक फरक स्वार्थ समूहले आआफ्नो तरिकाबाट व्याख्या गरे, विचार बनाए, दवाव दिए । राष्ट्र बैंक व्याक हुनुपर्यो । चिज त राम्रो थियो । राष्ट्र बैंकको उद्देश्य सहि थियो, तर कार्यान्वयनमा जान सकेन । म त मर्जको पक्षपाति हुँ । राष्ट्र बैंकले मर्जर नीति लिएपछि सबैभन्दा पहिले प्रुडेन्सियल फाइनान्समा गोर्खा फाइनान्स गाभ्ने निर्णय गराएर एमओयूमा हस्ताक्षर गर्ने मै हुँ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्णय आएपछि सबैभन्दा पहिला एकता फाइनान्सलाई सिद्धार्थ डेभलपमेन्ट बैंकमा मर्ज गराउने व्यक्ति पनि मै हुँ । मेरो संलग्नतामा ५ वटा संस्था मर्ज भईसके । मौद्रिक नीतिमा प्रभावकारी अरु नीति के आए ? अपेक्षा धेरै थिए । बैंकिङ क्षेत्रमा मर्जरमा जानेले ठूलै लाभ पाउँदैछन् भन्ने थियो । व्यवसायीहरु जो ऋणको व्याजदर घटाउन आन्दोलित नै भएका थिए, उनीहरु व्याज घटाउन राष्ट्र बैंकले केही नयाँ नीति ल्याउने छ भन्ने थियो । बैंकिङ क्षेत्रले भोग्दै आएको तरलताको संकट समाधान गर्ने दिशामा मौद्रिक नीतिले प्रभावकारी नीति लिन्छ भन्ने अपेक्षा थियो । तर, मौद्रिक नीतिले तीनै प्रकारको अपेक्षालाई छुने प्रयास मात्र गर्यो, प्रभावकारी नीति केही पनि आएन । मर्जरलाई थोरै सुविधा दिइयो । ऋणको व्याज घटाउने नाममा पुर्नकर्जामा १ प्रतिशत मात्र घटाउने काम भयो । १५ लाखसम्मको ऋणमा सेवा शुल्क लिन नपाईने व्यवस्था गरियो । चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गनुपर्छ भनियो । विदेशबाट पैसा ल्याउनको लागि केही खुकुलो नीति आए । यी सबै नीतिले तात्विक असर पर्दैन । व्याजदर घट्ने सम्भावना कति छ ? व्याजदर घट्दैन । बैंकहरुको एभरेज बेसरेट १० प्रतिशत भन्दा माथि छ । पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्छ भनिएको छ । अहिले नै सावा १० प्रतिशत व्याजमा जारी भएको ऋणपत्र बिक्री भएका छैनन् । अब सबैले ऋणपत्र जारी गर्ने भनेपछि झनै ऋणपत्रको व्याज घट्ने देखिदैन । बेसरेट १० प्रतिशत छ, ऋणपत्रको व्याज १० प्रतिशत छ । कसरी कर्जाको व्याज घट्छ ? पुनरकर्जामा व्याज घट्यो । अहिलेसम्म २५ अर्ब पुनरकर्जा प्रयोग भएको छैन । दोब्बर अर्थात ५० अर्ब रुपैयाँ पुनरकर्जा गयो भने पनि त्यसको असर नगन्य हुन्छ । १५ लाख भन्दा कमको, त्यो पनि कृषि कर्जामा सेवा शुल्क घटायौ, त्यसको पनि ठूलो असर पर्दैन । स्प्रेडदेर शुन्य दशमलव १ प्रतिशत घटेको छ । त्यसले ठूलो असर गर्दैन । कहाँनिर ठूलो असर पर्छ ? म त देख्दिन । विदेशी मुद्रबाट निक्षेप स्वीकार गर्ने कुरा आयो । यो व्यवस्था पहिला पनि थियो । नयाँ व्यवस्थापछि पनि विदेशी निक्षेप उल्लेख्य रुपमा आउने सम्भावना छैन । सुन निक्षेप लिने कुरा बजेटमा नै आएको हो । अहिलेसम्म कार्यविधि पनि बनेको छैन । भनिने र गरिने कुराबीच मेल खाईरहेको छैन । अब यूनाईटेड फाइनान्सको कुरा गरौँ । तपाई जनता बैंकको डेपुटी सीईओ छोडेर यस फाइनान्सको सीईओ बन्ने वातावरण कसरी बन्यो ? तपाईलाई थाहा छ म लामो समय विभिन्न संस्थामा पहिलो पोष्टमा रहेर काम गरे । पहिलो पोष्टमा बसेर काम गरिसकेको मान्छेलाई दोस्रो पोष्टमा बसेर काम गर्दा सन्तुष्टि कम मिल्दो रहेछ । दोस्रो पदमा बस्नेलाई कसैले चिन्दैनन्, सोधीखोजी पनि नगर्ने । गत चैतमा जनता बैंकले स्वेच्छिक अवकास योजना ल्यायो । मैले स्वेच्छिक अवकाश योजना रोजेँ । बैशाख १ गतेबाट मैले जनता बैंक छोडे । यस फाइनान्सबाट अफर आयो । क बाट ग मा जान कुलिङ पिरेड पनि नलाग्ने । म बैशाख ६ गतेदेखि यो संस्थामा जोडिए । वेल प्लान थियो कि ? होइन । संयोग मात्र हो । यहाँ मात्र होइन, मैले विगतमा कुनै पनि संस्था छोडेपछि एक महिना पनि नवित्दै अर्को संस्थामा काम थालेको छु । क बाट ग मा आउँदा मनमा द्विविधा भएन ? भएन । दोस्रो पदमा बसेर मैले सन्तुष्टि लिन सकिरहेको थिइन । यहाँ मलाई सन्तुष्टि छ । पहिलो पोष्टमा बसेपछि आफ्नै सोच, योजना र शैलीमा काम गर्न पाइन्छ । संस्था सानो भए पनि भूमिका ठूलो छ । प्रभाव देखिएको छ । यस फाइनान्सको चैत मसान्तको खुद नाफा ५ करोड १२ लाख थियो । असार मसान्तमा खुद नाफा ११ करोड रुपैयाँ छ । ३ महिनाको ग्रोथ ११४ प्रतिशत छ । के गर्नु भयो जादु ? यहाँका कर्मचारीहरु सक्षम छन् । अलिकति उर्जाको कमी थियो । मैले उर्जा हालिदिए । अलिकति सिकाई दिए । १५९ जना कर्मचारी यहिका हुन् । म मात्र बाहिरबाट आएको । ३ महिनामा ११४ प्रतिशतको ग्रोथ गर्नेले केही वर्षमा हेर्नुहोस् कहाँ पुग्छ । ४ वर्षको कार्यकालमा तपाईले यो संस्थालाई कहाँ पुर्याउनुहुन्छ ? नेपालको सबैभन्दा ठूलो फाइनान्सको रुपमा तपाईले देख्न सक्नुहुने छ । एउटा मात्र होइन, सबै परिसूचकमा नम्बर वान वित्त कम्पनी हुनेछ । तपाई मर्जको पक्षपाती । मर्जको यत्रो हुइम छ । के ४ वर्षसम्म यो फाइनान्स रहिरहन्छ ? मर्ज हुन्न । किन हुन्न भने भारतको मुथुड फाइनान्सले यसमा लगानी गरिसकेको छ । लगानी सम्मेलनमा सबैभन्दा पहिला नेपालमा क्यास लगानीको घोषणा भएको थियो । युनाइटेड फाइनान्स आफैमा २५ वर्ष पुरानो संस्था । संसारको सबैभन्दा ठूलो फाइनान्स कम्पनी मुथुड फाइनान्सको संयुक्त लगानी भएको छ । जसको भारतमा मात्र ५ हजार शाखा भएका छन् । मुथुड फाइनान्सबाट औषत ४ लाख रेमिट्यान्स कारोबार नेपालसँग हुन्छ । अब हामी आक्रामक रुपमा अगाडि जान्छौ । २५ वर्षमा १५ वटा शाखा मात्र छन् । यसै आर्थिक वर्ष थप १५ वटा शाखा विस्तार गरी ३० वटा बनाउँछौं । मेरै कार्यकालमा यूनाईटेड फाइनान्सको शाखा देशभर विस्तार हुनेछन् । पुँजी १०१ करोड भईसकेको छ । विजनेश एक्पान्सनको लागि पुँजीको कमी हुँदैन । चालु आर्थिक वर्षमा १७ करोड नाफाको लक्ष्य लिएका छौं । यसको कार्यदिशा अब विस्तारित भएको छ । स्तरवृद्धि हुने अर्थात विकास बैंक बन्ने सोच पनि छ कि ? हामी मर्जरप्रति खुला हुन्छौं । उपयुक्त संस्थाहरु पाए यस फाइनान्समा गाभ्ने प्रयत्न हुन्छ । त्यो क्रममा हामी अपग्रेड पनि हुन सक्छौं । तर, हामी मासिदैनौँ । युनाईटेड फाइनान्स र नविल बैंकबीच क्रसहोल्डिङ देखियो र राष्ट्र बैंकले दुई संस्था मर्ज हुनुपर्छ भन्यो भने नि ? यो मैले बोल्ने विषय होइन । क्रस होल्डिङ छ वा छैन राष्ट्र बैंकले हेर्ने विषय भयो ।

मस्तिस्कघात भएको २४ घण्टासम्म न्युरो ईन्टरभेन्सन विधिबाट बिरामी बचाउन सकिन्छः डा. सुवास फुँयाल

  काठमाडौं । भारतको अल ईन्डिया ईन्स्टिच्युट अफ मेडिकल साईन्समा ३ बर्षको तालिम पछि डा. सुवास फुँयालले भर्खरै नेपालमा आफ्नो पेशालाई पूर्णता दिएका छन् । डा. फुयाल नेपालको पहिलो न्युरो ईन्टरभेन्सानिस्ट हुन् । करिब ४ महिनादेखी ग्राण्डी अस्पतालमा डा. फुँयाल फुल टाइम डाक्टरको रुपमा कार्यरत छन् । ४ महिनाको अवधिमा उनले न्युरो ईन्टरभेन्सनको माध्यमाबाट ५८ जना व्यक्तीहरुको सफल उपचार गरिसकेका छन् । त्यसमा उनले ६ जना मस्तिसकघातको, ३० जनाको एन्युरिजमको , ६ जनाको ब्रेन एभिएम र १६ जनाको कारोटिड स्टेन्टिङ-बडी ईन्टरभेन्सनको माध्यमबाट उपचार गरेका हुन्। शरीरको विभिन्न भागहरु जस्तै टाउको, खुटा, हातको नशाहरु एकअर्कामा जडित हुन्छन्, जसको कारण एकको मार्फत अर्कोको अवस्था बुझ्न सकिन्छ। न्युरो ईन्टरभेन्सन यस्तो उपचार विधि हो, जसमा दिमागमा रगत पुर्याउने नशा सम्बन्धीका रोगहरुको दिमाग नखोली उपचार गरिन्छ । उदाहरणको लागि जस्तै नशा बन्द हुनु अर्थात मस्तिष्क घात, नशा सुन्निएर र फुट्नु अर्थात एन्युरिजमको उपचार यस विधिबाट गरिन्छ । यो विधि मेडिकल साइन्सको क्षेत्रमा पछिल्लो समयको निकै नै प्रभावकारी उपचार विधि हो । धेरै जनशक्तीको आवश्यक रहेको यस उपचार विधी एकदमै महँगो पनि रहेको छ । कसरी सुरु भयो न्युरो ईन्टरभेन्सन ? सन् १९६०/७० को समयमा दिमागको नशाको अध्ययनको लागि मात्र न्युरो ईन्टरभेन्सनको सुरुवात भएको थियो । जसरी सिटी स्क्यान प्रयोग गरेर दिमाग भित्र के भईरहेको छ भनेर थाहा पाईन्छ, त्यसरी नै दिमागको नशामा के भईरहेको छ भनेर थाहा पाउनको लागि अपनाइने विधि हो न्युरो ईन्टरभेन्सन । यस विधिमा सबैभन्दा पहिला खुट्टाको अथवा घाँटीका नशाहरुबाट गएर दिमागको नशामा के भईरहेको छ भन्ने थाहा पाउन सकिन्छ । बिस्तारै बिस्तारै यसका सामाग्रीहरुले दिमागको नशामा हेर्न सकिन्छ भने दिमागको नशामा भित्रैबाट उपचार पनि गर्न सकिन्छ भन्ने बिषय डाक्टरहरुले बुझे र बिस्तारै त्यसको लागि आवश्यक सामाग्रीहरु बनाउँदै गए । पछि सन् १९८० र १९९० को दशकमा आएर यस विधिबाट उपचार गर्न सकिन्छ भनेर उपचारका तरिकाहरु खोजिन थाले । अध्ययनको क्रममा सन् २००० को सुरुवाती समयमा यस विधिबाट नशा फुल्लिएका समस्याहरु उपचारपनि गर्न सकिन्छ भनेर विश्वब्यापी रुपमा यो विधि अपनाइयो । यस्तै २०१० मा आएर नशा बन्द भएकोलाई पनि उपचार गर्न सकिन्छ भनेर नयाँ पद्तीहरु सुरु हुँदै गए । अहिले २०१८ मा आएर अमेरिकी गाईडलाइन्सले यो पद्दतिलाई “highest level of evidence” भनेको छ । यस अर्थ यो पद्दती नै कुनै पनि ठूलो नशा बन्द भएको समस्याको लागि सबैभन्दा उपयुक्त र पहिलो उपचार हो। कसरी हुन्छ मस्तिष्क पक्षघात मस्तिष्क घात अथवा ब्रेन स्ट्रोक मानिसको दिमागमा रगत सञ्चारको कमीले हुने गर्दछ । दिमागको नशामा रगत सञ्चारमा कमी भएमा दिमागमा २ मिनटमा २० लाख कोषिकाहरु मर्ने गर्दछ । मस्तिष्क घात हुने बित्तिकै मानिसको मृत्‍यु भने हुँदैन । एउटा आँखाले धमिलो देख्ने, मानिसको हिँडाई लड्बडिने, हाँस्दा एकतर्फको मुख बाङो हुने, हात खुटा कमजोर भएर एउटा खुटा अथवा हात बिस्तारै झर्ने, बोली लरबराउने यसका लक्षण हुन् । विश्वव्यापी रुपमा मानिसमा भएको अपाङ्गताको पहिलो र मृत्‍युको चौथो कारण मस्तिस्कघात रहेको छ । यस्तै नेपालमा भने अपांगताको पहिलो र मृत्‍यु हुनुको तेस्रो ठूलो कारण मस्तिस्कघात हो । यसमा समयले निकै नै महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले यदी बिरामीलाई यस्तो कुनै पनि लक्षण देखिएमा समयमा नै अस्पताल ल्याउन सक्नुपर्छ। मानिसहरुलाई समयमा ल्याउन सकियो भने मानिसहरु जिन्दगीभर हात खुटा नचलेर बस्नुपर्ने अवस्था आउँदैन । मस्तिस्कघात भएको २४ घण्टामा पनि बचाउन सकिन्छ जति सक्दो मस्तिस्क घातका बिरामीलाई समयमा अस्पताल पुर्याए बिरामीलाई मृत्‍युको मुखबाट बचाउन सकिने भनिन्छ यधापी न्युरो ईन्टरभेन्सन सेवा भएको अस्पतालमा २४ घण्टा सम्म पुर्याउन सकेको अवस्थामा बिरामीलाई बचाउन सक्ने फुँयाल बताउँछन् । २००४ सम्म पुरानो विधिबाट गरिने मस्तिस्क पक्षघातको उपचार पद्दती अनुसार बिरामीलाई पक्षघात भएको ४–५ घण्टामा अस्पताल आएको अवस्थामा बिरामीलाई बन्द भएको नशा खोल्नलाई रगतको ढिक्का पगाल्ने औषधी दिइन्थ्यो । जसले बिरामी अपांग हुनबाट बन्चित हुन्छ वा हुँदैन भन्ने कुराको ग्यारेन्टी दिदैन थियो । तर पछि गएर २०१४ पछि अपनाईएको न्युरो ईन्टरभेन्सनले बिरामीलाई पक्षघात भएको २४ घण्टा पछी ल्याउँदा पनि उपचार गरी सफल भएको संख्या धेरै रहेको छ। सफल तर महँगो उपचार विधि न्युरो ईन्टरभेन्सन एउटा निकै सफल उपचार विधि भएता पनि यो निकै नै महँगो रहेको छ । यसको उपचारको लागि कम्तिमा पनि पाँच लाख देखी दश लाखसम्म लाग्न सक्ने डा. फुँयाल बताउँछन् । फुयाल भन्छन्– नेपाल आउँदा सबैभन्दा पहिला मलाई यसको उपचार खर्चमा लाग्ने खर्चको बिषयलाई लिएर निकै नै तनाव भएको थियो । यसका सामाग्रीहरु अमेरिका तथा युरोपियन देशहरुबाट बनेर नेपालमा आयत हुने भएकोले यसको उपचार खर्च महँगो भएको फुँयाल बताउँछन् । यस विधिबाट बन्द भएको नशा खोल्नको लागि मात्र लगभग दुई लाख देखी पाँचलाख सम्मको खर्च लाग्ने गर्छ । त्यस्तैगरी नशा सुन्निएर फुटेको उपचार गर्नको लागि कसैमा दुई देखी तीन लाखमा उपचार हुन्छ भने कुनैमा भने आठ लाख देखी दश लाखसम्म उपचार खर्च लाग्ने गरेको छ। यधपि यो “highest level of treatment” भएता पनि कतिपय बिरामीहरुले यसको खर्च बेहोर्न सक्दैनन् ।  

तीन जिल्लामा टेलिकमका सबै सेवा अवरुद्ध, बैंक तथा वित्तीय संस्थामा ठूलो असर

खोटाङ । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए । “राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ”, उनले भने, “मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।” टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन् । टेलिकमको सेवा अवरुद्ध भएपछि अहिले तीनै जिल्लाका सेवाग्राही एनसेल मोबाइल प्रयोग गर्न बाध्य बनेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायलगायतमा ठूलो असर पुगेको छ । जिल्लामा सञ्चालित अधिकांश बैंक तथा वित्तीय संस्थाले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ । टेलिकमको सेवा अवरुद्ध भएपछि जिल्लामा व्यापार–व्यवसायमा समेत असर पुगेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । “अहिले सबै काम टेलिफोन तथा इन्टरनेटमार्फत गरिन्छ”, उनले भने, “टेलिकमको सबै सेवा अवरुद्ध भएपछि काममा अवरोध पुगेको छ ।” सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै वैकल्पिकरूपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत बेला–बेलामा सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमले जनाएको छ । पूरै समय सञ्चालनमा ल्याउन टावरले लोड नधान्ने भएकाले बिहान, दिउँसो र बेलुकालाई लक्षित गरेर समय–समयमा मात्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ । चित्रेको टावर उदयपुर र खोटाङ दुवै जिल्लाबाट अभेगमा रहेकाले पटक–पटक अवरुद्ध हुने गरेको छ ।

तल्लो चमेलिया विद्युत् आयोजना निर्माणको पहल, प्रदेश सरकारले देखायो सक्रियता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ । यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ । केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । सो विद्युत् आयोजनाको केही तलको भागमा तल्लो चमेलिया विद्युत् आयोजनाको निर्माणको पहल प्रदेश सरकारले गरेको हो । सुदूरपश्चिम प्रदेशमा चमेलियासहित दुई वटा जल विद्युत् आयोजनाबाट हाल ३८ दशमलव ५ मेगावट विद्युत् उत्पादन भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इञ्जिनीयर लोजाङदेण्डुप शेर्पाले बताए । प्रदेशमा निर्माणाधीन अवस्थामा रहेका आठ वटा जल विद्युत् आयोजनाबाट १०६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । बैतडीको सूर्नयागाड, डोटी र कैलालीको सीमा नदी ठूलीगाड, दार्चुलाको नौ गाड तथा दह खोलामा गरी चार वटा जल विद्युत् आयोजनाका लागि गएको आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । पूर्वसम्भाव्यता अध्ययनले दह खोलामा दुई मेगावाट, नौ गाडमा छ दशमलव ९७ मेगावाट, र सूर्यनागाड तथा ठूली गाडमा पाँच मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्न सकिने देखाएको इञ्जिनीयर शेर्पाले बताए । सौर्य लगायतका ऊर्जाका लागि डोटी र डडेलधुरा जिल्ला र जल विद्युत् आयोजनाका लागि बझाङ र दार्चुला जिल्ला निकै सम्भावना भएको जिल्लाका रुपमा देखिएको अध्ययनले देखाएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रममा तीन मेगावाटभन्दा बढी क्षमताका चार वटा विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी त्यसका आधारमा उपयुक्त आयोजनाको निर्माण शुरु गरिने उल्लेख छ । यसका लागि प्रदेश सरकारले चालू आव रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै सम्भाव्यता अध्ययनको आधारमा सार्वजनिक निजी साझेदारीमा मझौलास्तरको प्रदेश गौरवको जलविद्युत् आयोजना निर्माण गर्नका लागि चालू आवमा रु १० करोड विनियोजन गरिएको छ । रासस

त्रिशूलीमा बस खस्दा तीनको मृत्यु, २५ वेपत्ता

धादिङ । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन । रासस