विकासन्युज

रासायनिक मल बिक्री गर्ने जिम्मा अब स्थानीय सरकारलाई

काठमाडौं । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको यसअघिका बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले आगामी वर्षदेखि अनुदानको मल बिक्री वितरण गर्ने जिम्मा स्थानीय निकायमार्फत गर्न सकिने बताएका हुन् । युरिया मल प्रतिकेजी रु १४ पर्दा एक बोराको मूल्य ७०० र डिएपी प्रतिकेजी रु ४२ पर्दा एकबोराको मूल्य रु दुई हजार १०० मा किसानले पाउनुपर्नेमा सहकारीले युरिया रु दुई हजार ५०० र डिएपी रु छ हजार २०० सम्ममा बिक्री गरेकाले मन्त्रालयले ती मल बिक्री वितरण गर्ने जिम्मा स्थानीय निकायलाई दिन लागेको हो । रासायनिक मलको कूल आवश्यकता सात लाख मेट्रिक टन भएकामा आर्थिक वर्ष ०७६/०७७ का लागि रु नौ अर्ब छुट्टाएको छ । यस वर्ष तीन लाख २७ हजार मेट्रिक टन मल आयात भएको थियो । कूल आवश्यकता बराबर रासायनिक मल खरिदका लागि रु १८ अर्ब विनियोजन भए सबै किसानले सजिलैसँग अनुदानको मल प्राप्त गर्न सक्छन् तर अहिले ५० प्रतिशतमात्र अनुदानको मल प्राप्त भएकाले अनियमितता बढेको बताइन्छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रासायनिक मलमा अनुदान दिन शुरु गरिएको थियो । आर्थिक वर्ष ०६४/०६५ देखि विभिन्न २६ जिल्लाबाट किसानलाई अनुदानको रासायनिक मल उपलब्ध गराउन थालिएको थियो । रासस

सेयर बजारमा दोहोरो अंकको गिरावट, रसुवागढी र साञ्जेनका लगानीकर्तालाई सबैभन्दा बढी घाटा

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार विहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । ०.७९ प्रतिशतले परिसूचक घट्टा १२३८.५६ बिन्दुमा पुगेको छ । आज १६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ । सेयर परिसूचक पूरै राताम्मे भएको छ । बैंकिङ समूह ५.५४, ट्रेडिङ समूह २.०३, होटल समूह २०.८३, विकास बैंक समूह ८.१५, जलविद्युत समूह ३१.३५, वित्त समूह ४.९७, निर्जीवन बीमा समूह ७५.४५, उत्पादनमूलक समूह ११.८५, अन्य समूह ५.३४, लघुवित्त समूह २ं०.३२, जीवन बीमा समूह २६.५५ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका छन् । आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.७१ प्रतिशतले नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा व्यहोरेका छन् । सबैभन्दा बढी घाटा व्यहोर्नेमा दोश्रो नम्बरमा साञ्जेन जलविद्युत कम्पनी लिमिटेडका सेयरधनी परेका छन्, उनीहरुले ४.६८ प्रतिशत घाटा व्यहोरेका हुन् । अघिल्लो दिन २६७ रुपैयाँमा कारोबार भएर बन्द भएको रसुवागढीको सेयर आज २३७ रुपैयाँमा झरेको छ । त्यसैगरी बुधबार साञ्जेनको सेयर कारोबार २६१ रुपैयाँमा भएको थियो भने आज २३५ रुपैयाँमा झरेर बन्द भएको छ ।

लुम्बिनीकाे विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारको प्राथमिकतामा राख्छाैंः पर्यटनमन्त्री भट्टराई

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तिनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए । आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छ ।” कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुने र विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताएका हुन् । उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाइने जानकारी दिए । यसरी, विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताएका थिए । “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उनले भने । धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए । पहिलोपटक रुपन्देही आएका मन्त्री भट्टराई उक्त विमानस्थल निरीक्षण गर्नुका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए । रासस

साफ च्याम्पियनशिपः नेपालले पहिलाे प्रतिस्पर्धा भारतसँग गर्ने

भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको हो । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ भने १० गते बङ्गलादेशसँग र १२ गते भूटानसँग खेल्नेछ । यसअघि नेपालमा नै सम्पन्न अघिल्लो श्रृङ्खलाको साफ च्यापियनशिपमा बङ्गलादेश च्याम्पियन बन्दा नेपाल चौथो भएको थियो । उक्त प्रतियोगिताका लागि यू–१५ का मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राजकुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् । छनोट हुने खेलाडीमध्ये गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी छन् भने डिफेन्डरमा प्रज्ञान महर्जन, अविशेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू र रोशन थापा छन् । यसैगरी, मिडफिल्डरमा जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाईं छन् । फरवार्डमा कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी र शशाङ्क बोहरा छन् । रासस

छुट्टाछुट्टै स्थानमा ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा छुट्टाछुट्टै स्थानमा तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६, नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नंं. १, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिदैं आएको छ । यसरी, उक्त बैंकले रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा दिनुका साथैे मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

रेडमी के२० सिरिज नेपाली बजारमा, मूल्य रु. ४९,९९९

काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी के२० र रेडमी के२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के२० र रेडमी के २० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एमोलिड होरिजन डिस्प्ले रहेको छ । २० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९% रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होरिजन एमोलिड डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ । रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ ।यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ । यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन् ।” मूल्य र उपलब्धता रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग– फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कम डट एनपी मा ८ जीबी प्लस २५६ जीबी भेरियन्ट रु ४९,९९९ मा उपलब्ध हुनेछ । रेडमी के२० रु ३९,९९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ ।

स्थानीय पाठ्यक्रम बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको हाे । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा पाठ्यपुस्तक तयार गर्न लागिएको जानकारी दिएकाे हाे । महानगराप्रमुख रेनु दाहालका अनुसार यस क्षेत्रको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन तथा व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीबुटी तथा उपचार विधि, स्थानीय खेल, विपद् व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवनका कथा पाठ्यक्रममा समेटिनेछ । पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मङ्सिर १७ गते आठ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गरी यही भदौ पहिलो सातामा नगर शिक्षा समितिमा पेश गरिने र महानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि पाठ्यक्रम लागू गरिनेछ । एकसय पूर्णाङ्कको पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको बैठकले लगाउँदैछ । । महानगरभित्रका १२३ सामुदायिक विद्यालय र ९७ संस्थागत विद्यालयमा पाठ्यक्रम लागू हुनेछ । साथै सामाजिक, शारीरिक र सृजनात्मक कला विषयमा २० पूर्णाङ्कको परीक्षासमेत लिनुपर्ने र त्यसको व्यवस्थापन शिक्षकले नै गर्नुपर्ने प्रस्ताव गरिएको हो । अहिले यहाँका विद्यालयले स्थानीय पाठ्यक्रमका रुपमा अङ्ग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिइँदै आएको छ । रासस

कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान दिइने

वालिङ । ले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताएका छन् । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख अधिकारीले उल्लेख गरेका हुन् । नगरपालिकाले व्यावसायिक, व्यावसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी कृषकलाई चार तहमा वर्गीकरण गरिएको गल्याङ नगरपालिकाअन्तर्गत कृषि शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए । शाखा प्रमुख अर्यालका अनुसार व्यावसायिक कृषकका लागि कम्तीमा पनि ५० वटा दुधालु माउ पशु वा ५० वटा बाख्रा र दश रोपनी जमिनमा व्यावसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यावसायिक कृषिखेतीमा संलग्न भएको हुनुपर्नेछ । त्यसैगरी, व्यावसायिक उन्मुख कृषकको हकमा कम्तीमा २० देखि ४९ वटा दुधालु भैँसी वा गाई, २० देखि ५० वटा बाख्रा वा तीन रोपनीमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्ने किसान यसअन्तर्गत पर्ने मापदण्ड तोकिएको छ । साना किसानअन्तर्गत पाँचदेखि १९ वटासम्म दुधालु पशु वा सोही सङ्ख्यामा बाख्रा वा बढीमा तीन रोपनीसम्म जमिनमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्नेलाई समावेश गरिएको छ भने निर्वाहमुखीमा पाँच वटासम्म दुधालु पशु, एक रोपनीभन्दा कम क्षेत्रफलमा खेती गरेको र बढीमा १५ वटासम्म बाख्रा पालेको कृषकलाई समावेश गरिएको शाखा प्रमुख अर्यालले बताए । “नगरपालिकाले बनाएको मापदण्डका आधारमा किसान जुनजुन तहमा पर्नुहुन्छ सबैलाई सोहीअनुसारको परिचयपत्र प्रदान गर्ने छौँ”, शाखा प्रमुख अर्यालले भने, “अब यसलाई जतिसक्दो छिटो कार्यविधि बनाएर तहअनुसारको अनुदान उपलब्ध गराउने तयारीमा छौँ ।” नगरपालिकाभित्रबाट दैनिक पाँच हजार दूध उत्पादन गर्ने गरी रणनीति बनाइएको छ भने गेँडागुडी तथा कोदोजन्य खेतीलाई प्रोत्साहन गर्दै उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाले गाई भैँसी खरिद गर्न गोठ तथा भकारो निर्माण एवं मेशिन खरिदका लागि ५० प्रतिशतसम्म किसानलाई अनुदान उपलब्ध गराउने र दूध बिक्रीमा प्रतिलिटर रु १५ सम्म अनुदान दिने नीति अगाडि सारेको कृषि शाखाले जनाएको छ । रासस